एमाले धुलिखेल नगर कमिटीकाे अधिवेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन


धुलिखेल । नेकपा एमाले धुलिखेल नगर कमिटीको अध्यक्षमा विष्णु धिताल ‘काभ्रेली’ निर्वाचित भएका छन् । धुलिखेल नगर कमिटीको दोस्रो अधिवेशनबाट धिताल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि उनी नगर कमिटी सचिव थिए । धुलिखेल नगरपालिका वडा नम्बर ११ का पुर्व वडा अध्यक्ष रहेका धितालले यसपटक अध्यक्षकाे जिम्मेवारी पाएका हुन्। अधिवेशनबाट उपाध्यक्षमा पुष्पराज राउत, सचिवमा कृष्णहरी कोइराला, उप सचिवमा गणेश आचार्य र सरस्वती श्रेष्ठ निर्वाचित भएका छन् ।
अधिबेशनको उद्घाटन पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज, पुर्व मन्त्री गोकुल बास्कोटाले गरेका थिए । नयाँ नेतृत्वका कार्यभार, नेतृत्वले खेल्नु पर्ने भूमिका तथा संगठनहरुको संचालन सक्रिय बनाउन निर्देशन दिदै बास्कोटाले जनता र कार्यकर्ताहरुको हितका लागि हरेक कार्यहरु प्राथमिकतामा राख्न अनुरोध गरे ।
कार्यक्रममा केन्द्रिय सदस्य रेशम लामा, प्रदेश कमिटी सदस्य एवं एमाले काभ्रे जिल्ला कमिटीका पुर्व अध्यक्ष अशोक ब्याञ्जु, जिल्ला अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्य तथा क्षेत्र इन्चार्ज रिता ढकाल, प्रदेश कमिटी सदस्य विमला शर्मा लगायतले एमालेले खेल्नु पर्ने भूमिका र दायित्वका बारेमा धारणा राखेका थिए । कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु, जनसंगठनका अध्यक्ष तथा पदाधिकारी र प्रतिनिधिहरु सहभागि थिए ।