चौथो ज्ञानकुञ्ज रोड रेस २०८१ हुँदै

बनेपा । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा यही असार १ गते शनिवार “चौथो ज्ञानकुञ्ज रोड रेस २०८१” प्रतियोगिता हुने भएको छ । नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको लागि ज्ञानकुञ्ज भन्ने मूल नारा बोकेको प्रतिष्ठानले एस.ई.ई. परिक्षा दिएर बसेका विद्यार्थी लक्षित रोडरेस प्रतियोगिता आयोजना गर्न लागेको हो ।

खेलकुदले अनुशासन सिकाउँछ, अनुशासनले जीवन जिउने कला सिकाउँछ, ,भन्ने धारणा अनुसरण गरि रोडरेस प्रतियोगिता आयोजना गर्न लागिएको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप बैद्यले बताउनु भयो । रोडरेस प्रतियोगितामा भाग लिनका लागि ४० भन्दा धेरै विद्यार्थीहरुले दर्ता गराइसकेका छन् । प्रतिष्ठानका निर्देशक वैद्यका अनुसार दौडमा सहभागि हुन दर्ता शुल्क रु. १०० लाग्नेछ । साथै सहभागि विद्यार्थीहरुलाई टिसर्ट, खाना र खेलमा सहभागिता जनाएको प्रमाणपत्र समेत वितरण गरिनेछ । एस.ई.ई. दिएर बसेका विद्यार्थी कुलत, लगायतका नराम्रो क्रियाकलापमा सहभागि हुन सक्ने भन्दै फुर्सदको समयलाई सिर्जनशील बनाउन दौड प्रतियोगिता आयोजना गरिएको निर्देशक वैद्यको भनाइ छ ।

प्रतियोगिता असार १ गते शनिबार बिहान ६.०० बजेदेखि सुरु हुनेछ । दौड प्रतियोगितामा छात्रा÷छात्र दुवै विधा समावेश गरिएको छ । छात्राहरुको रोड रेस ३.६ किलोमिटरको रहनेछ भने छात्रको ७ किलोमिटरको हुने बताइएको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागी हुन २०८० को एस.ई.ई. परीक्षा दिएको प्रवेशपत्रको सक्कलप्रति वा प्रधानाध्यापकद्वारा प्रमाणित प्रतिलिपि र हालसालै खिचेको रंगिन फोटो आवश्यक पर्दछ । दौडमा सहभागि हुन २०८१ जेठ ३२ गतेसम्म ज्ञानकुञ्जमा सम्पर्क राखी दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ । दौडमा जुनसुकै विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् ।

१०० औँ स्वयंसेवक रहने दौड प्रतियोगितामा ५–७ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाई छ । कार्यक्रममा ४ सय जनालाई निःशुल्क खानाको समेत व्यवस्था रहने बताइएको छ । प्रतिष्ठानले यसअघि आयोजना गरेको २०७६, २०७८ र २०७९ सालको प्रतियोगितामा क्रमशः ५५ जना, १०० जना र १५० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । यस पटकको चौथो संस्करणको दौड प्रतियोगितामा २०० भन्दा धेरै विद्यार्थीलाई सहभागि गराउने प्रबन्ध निर्देशक वैद्यले बताए ।

दौड प्रतियोगिताको बारेमा जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष महेश पौडेलले विद्यार्थीहरुलाई एस.ई.ई. पछि कुन विषय अध्ययन गर्ने भन्ने सम्बन्धमा जानकारीमूलक कक्षा राख्न सुझाउनुभयो । निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले विद्यार्थीहरुलाई कुलतसम्बन्धी कक्षा सञ्चालन गर्नुपर्ने बताएका थिए । तिमल्सिनाले काभ्रे प्रहरी निरिक्षक स्वयंलाई बोलाएर प्रतियोगितामा कुलतसम्बन्धी सचेतना कक्षा सञ्चालन गर्न सुझाएका थिए ।

पत्रकार सम्मेलनमा सहायक विद्यालय प्रमुख रत्नराज खतिवडा, सहायक कलेज प्रमुख नवराज चौलागाईं, क्याम्पसका प्रशासन प्रमुख अर्जुन खड्का, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बद्रीराज तिमल्सिना एवं जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

प्रस्तुत छ, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यद्वारा जारी प्रेस विज्ञप्तिः

‘नैतिक, व्यवहारिक तथा व्यवसायिक शिक्षाको लागि ज्ञानकुन्ज’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै विगत् २२ वर्षदेखि काभ्रेको व्यापारिक तथा साँस्कृतिक नगरी बनेपामा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षाको क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।
शिक्षा विद्यार्थीको लागि, विद्यार्थी राष्ट्रको लागि भन्ने अभिप्रायबाट किन्डर गार्टेनदेखि स्नातकोत्तर तहसम्म उत्कृष्ट शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । हाम्रा उत्पादनहरुले उद्योगी व्यवसायीका साथसाथै सामाजिक सेवामा निरन्तर आफूलाई उभ्याएका छन् । हाम्रा उत्पादनहरु डाक्टर, इञ्जिनियर, बैंकर, उद्योगी, व्यापारी, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवा, प्रशासन तथा शिक्षक, खेलाडीसँगै अन्य क्षेत्रमा असल नागरिक बनेर राष्ट्र निर्माणमा योगदान पुऱ्याउँदै आएको छन् ।
हामीले विगतदेखि नै शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सांस्कृतिक, धार्मिक, साहित्य, खेलकुद तथा समाजलाई प्रत्यक्ष सरोकार राख्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं । खेलकुद समग्र विकासको अभिन्न पाटो हो । हामीले एस.ई.ई परीक्षा दिएर बसेका विद्यार्थीहरु बिच स्वास्थ्य प्रतिस्पर्धा गराउने उद्देश्यले चौथो ज्ञानकुञ्ज रोड रेस–२०८१ आयोजना गर्न लागेका छौं । यसको खास दुईवटा उद्देश्य छन् । पहिलो उद्देश्य विद्यार्थीहरु विच प्रतिस्पर्धा गराई भोलिको दिनमा जुनसुकै क्षेत्रमा पनि कुशल नेतृत्व स्थापित गर्न सक्नु रहेको छ । त्यस्तै, एस.ई.ई. को तयारीको लागि कडा अनुशासन भित्र पठनपाठन गरी एस.ई.ई. लगत्तै फ्रि समयमा अनावश्यक कुलतमा तथा गलत बाटोमा हिँड्न सक्ने भएकाले उनीहरुलाई खेलकुद मार्फत् सही बाटो र अनुशासनमा राख्नको लागि चौथो ज्ञानकुञ्ज रोड रेस–२०८१ को आयोजना गर्न लागेको हौं । हामीलाई विश्वास छ ’खेलकुदले अनुशासन सिकाउँछ, अनुशासनले जीवन जिउने कला सिकाउँछ ।’

यही असार १ गते शनिबार बिहान ६.०० बजेदेखि रोड रेस सुरु हुनेछ । रोड रेसमा छात्रा÷छात्र दुवै विधा समावेश गरिएको छ । छात्राहरुको रोड रेस ३.६ किलोमिटरको रहनेछ भने छात्रको ७ किलोमिटरको हुने छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागी हुन २०८० को एस.ई.ई. परीक्षा दिएको प्रवेशपत्रको सक्कलप्रति वा प्रधानाध्यापकद्वारा प्रमाणित प्रतिलिपि र हालसालै खिचेको रंगिन फोटो आवश्यक पर्दछ । नाम दर्ताको अन्तिम मिति २०८१ जेठ ३२ गतेभित्र दर्ता गरिसक्नु पर्नेछ ।
सफल जीवनको लागि स्वास्थ्य, स्वास्थ्यको लागि खेलकुद भन्ने जानकारी गराउँदै उक्त रोड रेस कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गराउन सञ्चारकर्मी मित्रहरुले विगतमा जस्तै यस वर्ष पनि सहयोग निरन्तर रुपमा गर्नु हुनेछ भन्ने आशा लिएका छौं । धन्यवाद ।

सुरकृष्ण वैद्य अध्यक्ष
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान
बनेपा–८, काभ्रे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *