जिल्लामा एसईई परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन हुँदै


धुलिखेल । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । एसईई परीक्षा अन्तर्गत आज अनिवार्य गणित विषयको परीक्षा सञ्चालन हुँदैछ । परीक्षा केन्द्रहरूमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले कुनै अप्रिय घटना नघट्ने शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलाञ्चोक प्रमुख देवका ढकालले बताएकी छिन् ।
परीक्षा केन्द्रहरूमा बिहानैदेखि विद्यार्थीहरू अभिभावकसहित उपस्थित भएका थिए । विद्यार्थीहरू आत्मविश्वासका साथ परीक्षा दिइरहेका छन् भने परीक्षा शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ ।
परीक्षालाई निष्पक्ष, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सरकारले समन्वय गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । परीक्षाका क्रममा कुनै पनि किसिमको अनियमितता हुन नदिन विशेष अनुगमन टोली समेत परिचालन भइरहेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेका प्रमुख ढकाललले परीक्षा मर्यादित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै पक्षसँग समन्वय गरिएको जानकारी दिएकी छन् । जिल्लामा २ हजार ८ सय ३८ छात्र, २ हजार ७ सय २३ छात्रा गरि ५ हजार ५ सय ६१ जना नियमित तर्फ र ८६ छात्र, ९२ छात्रा गरि १ सय ७८ जना प्राविधिकतर्फ, ५३ छात्र र ११८ छात्रा ग्रेडवृद्धितर्फ सहभागि रहेका छन् ।