हप्तामा दुई दिन बिदा कति प्रभावकारी ?
सरकारले जेठ १ गतेदेखि लागु हुनेगरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सबै सरकारी कार्यालय र शैक्षिक संस्थाहरु समेत हप्तामा दुई दिन बिदा दिने निर्णयसँगै यसले पार्ने प्रभावका बारेमा सर्वत्र चर्चा हुन थालेको छ । सरकारले आर्थिक मन्दीलाई नियन्त्रण गर्न र व्यापार घाटा कम गर्न भनेर चालेको यस कदमले सार्थकता पाउनेमा शंका व्यक्त गरिएको छ । सरकारको यस कदमले स्वास्थ्य, शिक्षा र अन्य अत्यावश्यक सेवाहरु झन् बढी प्रभावित हुने आंकलन गरिएको छ । सरकारले तयारी बिना हप्तामा दुई दिन बिदा दिने निर्णयले शिक्षा क्षेत्र र शैक्षिक क्यालेन्डर नै प्रभावित हुने देखिन्छ । साँच्चिनै पेट्रोलियम पदार्थ कम खपत गर्न विशिष्ट श्रेणीका कर्मचारी बाहेक सरकारी कार्यालयहरुले प्रयोग गर्ने हजारौँ सवारी साधनको दुरुपयोगलाई रोकेर गाडी सुविधा बन्द गर्न सकेमा पनि करोडौँ बजेट जोगाउन सकिन्छ । सहरी क्षेत्रमा ठुला विद्युतीय बसहरु सञ्चालन गरेर इन्धन खपत कम गर्न सकिन्छ ।
कार्यालय समयमा रुट अनुसार गाडी व्यवस्था गरेर कर्मचारी लाने ल्याउने गर्न सकेमा पनि राज्य कोषबाट खर्च हुने ठुलो रकम जोगाउन सकिन्छ । आर्थिक संकटको मूल कारण सरकारले हचुवाको भरमा ल्याउने आर्थिक योजना र त्यसको सही कार्यान्वयन गराउन नसक्नुले पनि ठुलो आर्थिक व्ययभार थपिँदै गएको पाइन्छ । हप्तामा दुई दिन बिदा दिँदैमा पनि सरकारी स्रोत र साधनको दुरुपयोग रोकिन्छ भन्ने कुनै आधार छैन । विद्यालय बन्द गरेर इन्धनमा खपत घटाउन सकिन्छ भन्नु कुनै तर्क सँगत देखिदैन । सहरी क्षेत्र र सदरमुकाम बाहेक धेरै विद्यालयहरुमा विद्यार्थी बोक्ने गाडीहरु नै छैन । नेपालजस्तो विकासोन्मुख देशमा हप्तामा दुई दिन बिदा दिएर अत्यावश्यकीय सेवा प्रदान गर्ने कार्यालयहरु राहदानी विभाग, यातायात, मालपोत नापीजस्ता कार्यालयहरुमा झन् अधिक भिडभाड हुने देखिन्छ । बिना अनुसन्धान हचुवाको भरमा आउने यस्ता निर्णयले मुलुकलाई सही दिशामा पक्कै लैजान सक्दैन । तसर्थ सरकारले शिक्षा, स्वास्थ्य लगायत अत्यावश्यकीय सेवा प्रवाह हुने सेवाहरुलाई नै प्रभावित हुने गरी गरेको निर्णयलाई सच्याउन आवश्यक छ ।