काभ्रेमा २७४ जनाको उम्मेदवारी फिर्ता

धुलिखेल । स्थानीय निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेद्वार मध्ये २ सय ७४ जनाले उम्मेद्वारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । निर्वाचन आयोगले १६ गते पाँच बजेसम्म स्थानीय तह निर्वाचनमा मनोनयन गरेका उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिने समय तोकेको थियो । त्यही अनुसार काभ्रे जिल्लाका १३ वटा पालिकाका २ सय ७४ जना उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता गरेका छन् ।

विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेद्वारी मनोनयन गरेका २ सय ७४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । हरेक स्थानीय पालिकामा गठित स्थानीय निर्वाचन अधिकृतको कार्यालयका अनुसार फिर्ता लिनेहरुमा बनेपामा ४०, धुलिखेलमा १७, पनौतीमा ९, पाँचखालमा ३४, नमोबुद्धमा २७, मण्डनदेउपुरमा ५२, चौरीदेउरालीमा २६, भुम्लुमा ६, तेमालमा ८, बेथानचोकमा ३३, रोशीमा ७, महाभारतमा ३ र खानीखोलमा १२ जनाले विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यहरुले उम्मेद्वारी फिर्ता लिएका हुन् ।

सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसबाट बागी उम्मेद्वारी दिएका उम्मेद्वारहरुले पार्टीको निर्णय विपरित जानु हुँदैन भन्ने आशय राखेर उम्मेद्वारी फिर्ता लिएको पाइएको छ । स्थानीय निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिएको स्थानीय निर्वाचन अधिकृतहरुले काभ्रेपोष्टलाई जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.