काठमाडौँ विश्वविद्यालयका १ हजार ७१२ विद्यार्थी दीक्षित हुँदै

धुलिखेल । काठमाडौँ विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी १ हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् । दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८०) रहेको छ ।

दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका १५७ रहेका छन् । कार्यक्रममा पाँच जनालाई काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । सत्ताइसौँ दीक्षान्त समारोहसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट अहिलेसम्ममा ३८ हजार ३३६ उत्तीर्ण हुनेछन् ।

कार्यक्रममा सम्माननीय प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवा, माननीय शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल, आईआईटी हैदराबादका निर्देशक प्रा. डा. बी. एस. मूर्ति, र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले सम्बोधन गर्ने भएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.