जलवायु परिवर्तनको असर
पछिल्लो समय विश्वको चुनौती जलवायु परिवर्तनले पार्ने असरले प्रभावित बन्दै गएको छ। जलवायु परिवर्तनको असर कृषि उत्पादन देखि भौतिक सम्पत्ति, जैविक र सामाजिक जीवनमा पनि यसको उत्तिकै प्रभाव पारेको छ। समय अनुकुल वर्षा नहुने, हिमाली क्षेत्रहरुको हिउँ पग्लिएर खाली हुँदै जानू, तापक्रम वृद्धि आफू बस्दै आएको थातथलो र भूभागमा हुने हानि, सांस्कृतिक सम्पदा, स्थानीय तथा परम्परागत ज्ञानको नाशले समग्र समाजलाई हानि पुग्नुको साथै व्यक्तिगत हिसाबले स्वास्थ्यमा समेत यसले प्रभाव पारेको हुन्छ। जलवायुजन्य हानि/नोक्सानी बिश्वसामु जटिल विषय बन्दै गएको छ। दुबईमा सम्पन्न संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२८) ले हानि/नोक्सानी कोष सञ्चालन गर्ने निर्णय गरेपश्चात यो विषयको व्यावहारिक कार्यान्वयनमा सबैको ध्यान तानिएको छ।
नेपालमा पनि जलवायुजन्य विपद्का असर देखिन थालेको छ। गैरआर्थिक प्रभाव गम्भीर देखिएको छ। बाढी पहिरो, नदि नाला, खेतीयोग्य जमिन, पुलपुलेसा, सडक, विद्युत लगायत विभिन्न क्षेत्रमा ठूलो क्षति ब्यहोर्दै आउनुपरेको छ।
विशेषगरी जलवायु विपद्ले मानसिक आघात, चिन्ता, अनिद्रा, व्यवसाय तथा कृषिजन्य नोक्सानीका कारण मानसिक तनाव अत्यधिक देखिएको छ। यो विपद्का कारण मानिसमा ज्वरो, जल तथा छालाजन्य रोग जस्ता स्वास्थ्य समस्या बढेको तथा ४० प्रतिशत सर्वसाधारणको स्वास्थ्य सेवा बिथोलिएको अध्ययनले देखाएको छ।
जलवायु विपद्ले सामाजिक अन्तरक्रिया, सांस्कृतिक तथा धार्मिक अभ्यास, प्राकृतिक पारिस्थिकीय प्रणाली, बसाइँ सराइ तथा लैंगिक समस्या जस्ता गैरआर्थिक हानि/नोक्सानी समेत बढाउदै लगेको छ।
जलवायु बिपदकै कारण अर्बाैँको नोक्सानी हुँदै आएको अवस्थामा क्षतिपूर्ति बितरण र पुनर्निर्माण अगाडि बढाउन स्थानीय सरकारसँग साधनस्रोतको अभाव छ।
संघीय सरकारले पनि यसका लागि थप बजेट विनियोजन गर्न आवश्यक छ। त्यसो गर्न सकेमा प्राकृतिक विपदले पार्ने डरलाग्दो वित्तीय संकटबाट राष्ट्रलाई जोगाउन सकिन्छ । भविष्यमा आउन सक्ने प्रलयकारी जलवायु परिवर्तन र यसले पार्ने असरले झन् ठूलो मानसिक समस्या निम्त्याउन सक्छ। त्यसैले जलवायुबाट हुने असरलाई न्यून गर्न तीनवटै सरकार गम्भीर भई यसको रोकथामको पुर्वतयारीमा लाग्नुपर्ने देखिन्छ ।