चैत ३ र ४ गते नेकपा एसको जिल्ला अधिवेशनः ५५ देखि ६१ जिल्ला कमिटी चयन गर्ने

बनेपा । नेकपा एकीकृत समाजवादी काभ्रेपलाञ्चोकले भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ । चैत ३ र ४ गते दलको दशौं जिल्ला अधिवेशन हुने भएको हो ।

अधिवेशनले ५५ देखि ६१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गर्ने नेकपा एस काभ्रेले जनाएको छ । थोरै सदस्यीय जिल्ला कमिटि बन्दा बैठक बस्न, छलफल चलाउन सहज हुने बताइएको छ । दलका अनुसार अधिवेशनमा ४ सय ७६ जना प्रतिनिधिहरु निर्वाचित भइ जिल्ला अधिवेशनमा सहभागी हुनेछन् ।

पार्टी अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अधिवेशनको उद्घाटन गर्नेछन् । अधिवेशनमा अध्यक्ष नेपालसँगै नेकपा एसका महासचिव घनश्याम भुषाल लगायतका राष्ट्रिय एवं जिल्लास्तरका नेताहरू उपस्थित रहने १० औ काभ्रे जिल्ला अधिवेशन आयोजक कमिटि संयोजक बसुन्धरा हुमागाईले जानकारी दिए ।

“समृद्ध काभ्रे निर्माण हाम्रो अभियान, सुदृढ कम्युनिष्ट आन्दोलनका लागि दशौं जिल्ला अधिवेशन” भन्ने मूल नाराका साथ दशौं अधिवेशन गर्न लागिएको संयोजक हुमागाईंले जानकारी दिए ।

एकतावद्ध कम्युनिष्ट शक्तिको निर्माण मार्फत समृद्धि र समाजवादको बाटोमा अगाडि बढ्न भोलिदेखि हुन लागेको अधिवेशनले कमसेकम एउटा ईट्टा थप्ने काम गर्नेमा एकीकृत समाजवादी काभ्रे विश्वस्त रहेको पत्रकार सम्मेलन गर्दै दलले जानकारी दिएको छ । अधिवेशनसम्म आईपुग्दाका साढे दुई वर्षमा ३९६६ संगठित पार्टी सदस्यहरु विस्तार भएको नेकपा एसले जनाएको छ । दलले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहहरुमा गाउँपालिका तथा नगरपालिका कमिटी गठन गरिसकेको जनाएको छ ।

दलको जिल्लाका १३५ वटा वडामध्ये १ सय १७ वडाहरुमा पार्टी संगठन पुगिसकेको छ । पार्टीको भातृ संगठनको रुपमा जिल्लामा २२ वटा जनवर्गीय संगठनहरु गठन भइसकेका नेकपा एस काभ्रेले जनाएको छ ।

अधिवेशन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एसका काभ्रे इन्चार्ज टोक बहादुर वाईबाले अधिवेशन सफल पार्न भुमिका खेलिदिनुहुन सञ्चारकर्मी, पार्टी सदस्य एवं काभ्रेली नागरिकलाई आग्रह गरेका थिए ।

एकीकृत समाजवादी द्वारा प्रस्तुत प्रेस नोट

ञ्चारकर्मी साथीहरु, हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पत्रकार भेटघाट कार्यक्रममा यहाँ उपस्थित सम्पूर्ण सञ्चारकर्मी मित्रहरुलाई हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछौ। देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आन्दोलनमा जीवन आहुती दिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछौं । यस अवसरमा हामी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाल, प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री कमरेड मनमोहन अधिकारी र जननेता कमरेड मदन भण्डारी लगायतका अग्रज नेताहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।

पत्रकार मित्रहरु नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी विचलन विरुद्ध हामीले विद्रोह गरेर पार्टी पुनर्गठन गरेको अढाई वर्ष पूरा भएको छ । यस अवधिमा हामीले विभिन्न आरोह र अवरोहहरु पार गर्दै आज हामी पाटीको दशौं जिल्ला अधिवेशनको संघारमा उभिएका छौं । यसबीचमा हामीले स्थानीय तहको निर्वाचन तथा आम निर्वाचन जस्ता दुई महत्वपूर्ण कार्यभारमा समय खर्च गर्नुपरेकोले पाटीको सम्मेलन तथा अधिवेशनहरु जस्ता पार्टीका महत्वपूर्ण कामहरु पछि परेका थिए । यो जिल्ला अधिवेशनपछि हाम्रो पार्टी काभ्रे जिल्लाका सबै गाउँपालिका तथा नगरपालिका र सबै वडाहरुमा पार्टी संगठन सदनीकरण तथा सदस्यता विस्तार जस्ता अभियानहरु लिएर जनताको बीचमा पुग्नेछ ।

यो अधिवेशनसम्म आईपुग्दाका साढे दुई वर्षमा ३९६६ संगठित पार्टी सदस्यहरु विस्तार भएर हाम्रो गौरवशाली पार्टीमा गोलवद्ध भएका छन् । पार्टीले यस जिल्लाका १३ वटै स्थानीय तहहरुमा गाउँपालिका तथा नगरपालिका कमिटी गठन गरिसकेको छ । जिल्लाका १३५ वटा वडामध्ये १ सय १७ वडाहरुमा पार्टी संगठन पुगिसकेको छ । हाम्रो पार्टीको भातृ संगठनको रुपमा जिल्लामा २२ वटा जनवर्गीय संगठनहरु गठन भइसकेका छन् । यस अधिवेशनमा वडा, नगर, गाउँ तथा जनवर्गीय संगठनहरुबाट संगठित पार्टी सदस्य संख्याको अनुपातमा ४ सय ७६ जना प्रतिनिधीहरु निर्वाचित भइ जिल्ला अधिवेशनमा सहभागी हुनेछन् ।

“समृद्ध काभ्रे निर्माण हाम्रो अभियान, सुदृढ कम्युनिष्ट आन्दोलनका लागि दशौं जिल्ला अधिवेशन” भन्ने मूल नाराका साथ आयोजित पार्टीको यो दशौं अधिवेशनले नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक अडान, रणनैतिक र कार्यनैतिक प्रश्न, क्रान्तिको कार्यदिशा आदिमा राष्टिय रुपमा टुट्दै गएको कडीलाई जोड्दै पुनः एकपटक एकतावद्ध कम्युनिष्ट शक्तिको निर्माण मार्फत समृद्धि र समाजवादीको बाटोमा अगाडि बढ्न यो अधिवेशनले कमसेकम एउटा ईट्टा थप्ने काम गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।

 

यस अधिवेशनले काभ्रेली समाजमा देखापरेको अन्तरद्वन्द, सामाजिक समस्या र नकारात्मक सामाजिक मनोविज्ञानबारे सघन छलफल र विश्लेषण गरी सामाजिक एकतातर्फ दिशानिर्देश गर्ने काम गर्नेछ । हाम्रो पार्टी विद्रोह पश्चात गरिएका पार्टी कामको समीक्षा गर्नेछ । पार्टीमा देखिएका समस्याको समाधान पहिल्याउनेछ । वर्तमान राजनीतिक परिस्थितिको ठोस विश्लेषणको आधारमा आगामी कार्ययोजना तय गर्नेछ । नेकपा एकीकृत समाजवादीलाई जिल्लाको नेतृत्वदायी कम्युनिष्ट पार्टी बनाउन यो अधिवेशन सार्थक रहने विश्वास हामीले लिएका छौं । आगामी दिनमा हाम्रा सबै सामाजिक र राजनीतिक तथा सांगठानिक प्रयासहरु त्यसैका लागि केन्द्रित रहनेछन् ।

यस अधिवेशनबाट निर्माण हुने जिल्ला कमिटीमा ४० वर्षमुनि उमेर समूहका कम्तीमा २० प्रतिशतको संलग्नता सुनिश्चित हुनेछ । यसले पार्टीमा युवा नेतृत्व विकासको लागि कोशेढुंगाको काम गर्नेछ । कमिटीमा कम्तिमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनेछ । उत्पीडित दलित समुदाय, अल्पसंख्यक तथा अति सीमान्तकृत समुदाय र अपांगता भएका व्यक्तिको समेत अब बन्ने जिल्ला कमिटीमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ । संगठनको स्वरुप र संरचनालाई चुस्त दुरुस्त बनाइनेछ । भद्दा र बैठक नै बस्न नसक्ने गरी ठूलो संख्यामा सदस्यहरु रहेको कमिटी बनाउने, बैठक बसे पनि छलफल चलाउन नसकिने र बैठक नै भेला वा आमसभाजस्तो हुने गरी कमिटी सञ्चालन हुने प्रणालीको अन्त्य गरी कामयाबी कमिटीहरु बनाउने तर्फ यो जिल्ला अधिवेशन अग्रसर हुनेछ । हामी अब बन्ने जिल्ला कमिटी ५५ देखि ६१ सदस्यीय मात्रै बनाउनेछौ ।

मार्क्सवाद लेलिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने र वैज्ञानिक समाजवाद लक्ष्य भएको हाम्रो पार्टीको दशौं जिल्ला अधिवेशन २०८० चैत्र ३ र ४ गते यस जिल्लाको ऐतिहासिक नगरी बनेपामा सम्पन्न हुँदैछ । अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड माधवकुमार नेपालले चैत्र ३ गते अरनीको सभाहलमा गर्नुहुनेछ । अधिवेशनमा पार्टीका महासचिव, तथा वामपन्थी विचारधाराका नेता कमरेड घनश्याम भुषालको समेत विशेष सहभागिता रहनेछ । यो अधिवेशनलाई भव्य रुपले सफल पार्न हामी तपाई सञ्चारकर्मी मित्रहरु, पार्टीका सदस्य तथा शुभचिन्तकहरु र आम काभ्रेली नागरिकहरुमा हार्दिक अपील गर्दछौं ।

बसुन्धरा हुमागाई संयोजक १० औ काभ्रे जिल्ला अधिवेशन आयोजक कमिटि

टोकबहादुर वाईवा
इन्चार्ज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.