चौरी र भुम्लुमा बजार अनुगमन

चौरीदेउराली । चौरीदेउराली गाउँपालिका र भुम्लु गाउँपालिकामा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको अध्यक्षतामा रहेको जिल्ला बजार अनुगमन समितिले चौरीदेउराली गाउँपालिकाको केन्द्र ढाडँखर्क भञ्ज्याङ र कात्तिकेदेउराली, भुम्लु गाउँपालिकाको केन्द्र सल्ले भुम्लुमा अनुगमन गरेको हो । जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका प्रमुख यज्ञबहादुर ओलीले कोशीपारी क्षेत्रका प्रमुख बजारका पसलहरुको अनुगमन गरिएको जानकारी दिए ।

यसअघि बजार अनुगमन समितिले जिल्लाको अन्य क्षेत्र बेथानचोक, बनेपा, पनौती, धुलिखेल, रोशी, पाँचखाल तथा मण्डनदेउपुर नगरपालिकामा विभिन्न समयमा अनुगमन गरेको थियो । कोशीपारीका दुई पालिकाको संयुक्त अनुगमनमा कैफियत भेटिएको सदस्यसचिव ओलीले बताए । कैफियत भेटिएका पसलहरुलाई जरिवाना समेत गरिएको छ । अनुगमनको क्रममा पसलहरुमा म्याद गुज्रेका औषधिहरु, जंकफुट सामाग्री नष्ट गरिएको छ । २० भन्दा बेसी पसललाई सचेत गराइएको छ ।

व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको, म्याद सकेका खाद्य सामाग्री विक्री गरेको, होटेलहरुमा सरसफाइमा ध्यान नदिएको, मूल्य सूची नभएको, पेट्रोलियम पदार्थ र खाद्य सामाग्री एकै ठाउँमा राखेर विक्री गरेको लगायतका त्रुटि अनुगमनको क्रममा भेटिएको थियो । भुम्लु गाउँपालिकाको केन्द्र सल्लेमा रहेको आर आर स्टेशनरीले औषधि वितरण गरेको पाइएपछि ५ हजार जरिवाना गराइएको थियो । स्टेशनरी सञ्चालन गर्दै आएका राजकुमार लामाले अनुभवको आधारमा औषधि समेत विक्री वितरण गर्दै आएको पाइएपछि अनुगमन समितिले जरिवाना गराएको हो । ती सामानहरु अनुगमन समितिले जफत समेत गरेको छ ।

सदस्य सचिव रहेका उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका प्रमुख ओलीका अनुसार चालु आर्थिक बर्षको हालसम्मको अवधीमा ४ सय ५० भन्दा बढी फर्म, पसल, उद्योगमा अनुगमन गरी अखाद्य वस्तुहरु जफलत गर्नुका साथै २ लाख २७ हजार ५ सय जरिवाना गराइएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.