महानगरका ५५ सामुदायिक विद्यालयका शिक्षकलाई स्काउट एडभान्स तालिम

काठमाडौं | काठमाडौं महानगरपालिका शिक्षा विभागको सहयोगमा महानगरका ५५ वटा सामुदायिक विद्यालयका आधारभूत तहको स्काउट तालिम लिएका शिक्षकहरुलाई स्काउटको एडभान्स तालिम दिइएको छ । अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीमा शिक्षकहरुको ७ दिने एडभान्स तालिम कोर्स सञ्चालनमा रहेको नेपाल स्काउट राष्ट्रिय कार्यकारी समिति आयुक्त कोर्स लिडर शिवराम अर्यालले बताउनुभयो ।

स्काउट तालिम केन्द्र ककनीमा सञ्चालनमा रहेको एडभान्स तालिमको गत शनिबार काठमाडौं महानगरपालिका सहरी योजना आयोग विज्ञ सदस्य शैलेन्द्र झा, काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख गोविन्द्र प्रसाद शर्माले अवलोकन गर्नुभएको थियो । तालिम हलमा एडभान्स कोर्स गरिरहनुभएका शिक्षक शिक्षिकाहरुलाई सम्बोधन गर्दै विज्ञ सदस्य झाले काठमाडौं महानगरपालिकाको नीति बमोजिम सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीहरुलाई सामाजिक क्षेत्र, विपद्का बखत आइपर्ने स्वयंसेवकीय भूमिका निर्वाह गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताउनुभयो । आगामी दिनमा आधारभूत तहका विद्यालयहरुमा पनि स्काउटको तालिम सञ्चालन गर्ने गरि आ.व. २०८१÷८२ को शैक्षिक कार्यक्रममा आधारभूत तहका सामुदायिक विद्यालयहरुलाई सहभागि गराउने महानगरको नीति रहेको सदस्य झाले बताउनुभयो ।

तालिममा सहभागि शिक्षक शिक्षिकाहरुले राखेका जिज्ञासाको सम्बोधन गर्दै झाले पवित्र उद्देश्यका साथ सामाजिक स्वयंसेवक उत्पादन गर्ने हेतुले सञ्चालनमा ल्याइएको यस कार्यक्रमलाई सफल पार्न र सहयोग गर्न तालिममा सहभागिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा विभागका विभागीय प्रमुख गोविन्द प्रसाद शर्माले महानगरको सीमित स्रोत र साधनकाबिच आधारभूत तहको स्काउट कोर्स सम्पन्न गरि एडभान्स कोर्स गर्दै रहनुभएका शिक्षक शिक्षिकाहरु आफैँमा दक्ष शक्ति उत्पादन गर्ने हैसियतमा सहभागि हुन आग्रह गर्नुभयो । एडभान्स कोर्स पूरा गरिसकेपछि शिक्षक शिक्षिकाहरुले नै आ–आफ्नो विद्यालयमा स्काउट तालिम दिन सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्काउट शिक्षकशिक्षिकाहरुले राखेका जिज्ञासाहरुको सम्बोधन गर्दै विभागीय प्रमुख शर्माले स्काउट विद्यार्थी तथा शिक्षकहरुको लागि पोशाक लगायत अन्य सेवा सुविधाका सम्बन्धमा आफ्नो तर्फबाट महानगरमा प्रस्ताव लैजाने र आगामी आ.व.देखि त्यसलाई कार्यक्रममा समेट्न लागिपर्ने बताउनुभयो । स्काउट ब्वाइज, गल्र्स शिक्षकहरुको ७ दिने तालिम सफलतापूर्वक सम्पन्न हुने विश्वास गर्दै दक्ष प्रशिक्षक भएर महानगरको नीति बमोजिम प्रत्येक सामुदायिक विद्यालयमा स्काउट स्वयंसेवक उत्पादन गर्नमा सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकृत नेत्र नारायण पौडेल, ओम प्रसाद गौतम, केशव ज्ञवाली, लक्ष्मी अधिकारी, वि.नि.धनकुमारी भण्डारी, विनिता महत, लेखा अधिकृत तोयन्द्रराज सापकोटा, प्रा.स. प्रल्हाद खतिवडा लगायत महानगर वित्त विभाग एवं आ.ले.प. का कर्मचारीहरूको सहभागिता रहेको थियो ।

स्काउट एडभान्स कोर्सको तालिम प्रशिक्षक कोर्स लिडर शिवराम अर्याल, अनिता मानन्धर, तालिम आयुक्त मिना लामा, प्रशिक्षक लिला श्रेष्ठ, सुरज खनाल प्रमोद सिग्देल, कृष्ण चालिसेले गर्नुभएको छ । कार्यक्रममा सामुदायिक विकास आयुक्त पुष्पराज शिंखडाको पनि सहभागिता रहेको थियो । जेठ ३० गतेबाट सञ्चालनमा रहेको तालिम असार ४ गते समापन हुने कोर्स लिडर अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.