सडक दुर्घटना नियन्त्रण पहिलो प्राथमिकताः ट्राफिक प्रहरी प्रमुख तामाङ, काभ्रेपलाञ्चोक

जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकमा २०८१ जेठ २ गतेबाट कार्यालय प्रमुखको भुमिकामा कार्यरत प्रहरी निरिक्षक विकास कुमार तामाङसँग काभ्रे जिल्ला र यहाँको ट्राफिक व्यवस्थापनसँग काभ्रेपोष्टको लागि संवाददाता बालकृष्ण बजगाँईले विशेष कुराकानी गरेका छन् । काभ्रे जिल्ला देशकै दुई ठुला राजमार्ग अरनिको राजमार्ग र विपी राजमार्गसँग जोडिएको छ, ट्राफिक व्यवस्थापनको हिसाबले चुनौतीका साथै व्यवस्थापन गर्न भइरहेका अभ्यास र थप चुस्त दुरुस्त गर्न काभ्रे ट्राफिक प्रहरीको योजना र त्यसमा जिम्मेवार निकायलाई थप जिम्मेवार बनाउने हिसाबले कुराकानी गरिएको हो । प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

♦ सडक दुर्घटना हुनुको मुख्य कारण के हो?
काभ्रेपलाञ्चोक जिल्लाको सन्दर्भमा हेर्दा दुर्घटनाको कारणहरूमा मैले विश्लेषण गर्दाखेरि विशेषगरि सडकको अवस्था देखिन्छ । त्यसको अलावा चालकको लापरबाही पनि देखिन्छ । किनभने सडकको खराव अवस्थाले गर्दाखेरि चालकले धुलो धुवा खानुपरेको छ । ओभर स्पिडमा चलाउनेहरूले लापरबाही गरेको देखिन्छ । यही नै हो सडक दुर्घटनाको मुख्य कारण । त्यसको लागि हामीले विद्यालयदेखि सडकसम्म विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं । एउटा अभियान जस्तो कार्यक्रम गर्दाखेरि मान्छेमा ट्राफिक नियम सम्बन्धी ज्ञानको पनि अभिवृद्धि भएको पाइएको छ । त्यससँगै दुर्घटनामा पनि कमी आएको देखिन्छ ।

♦ सडक दुर्घटनाको कुरा गर्नुभयो । दुर्घटना राजमार्गमा बढी हुन्छ कि सहायक मार्गमा बढी भएको पाउनुभएको छ ?
जिल्लाको सन्दर्भमा भन्नुपर्दा अरनिको राजमार्ग स्तरोन्नतिको क्रममा छ । विपी राजमार्ग भने बनिसकेको तर घुम्ती धेरै छन् । पूर्वबाट सवारीहरु विपी राजमार्ग हुँदै बनेपा काठमाडौँ उपत्यका प्रवेश गर्दछन् । अरनिको राजमार्गमा धेरै खाल्डाखुल्डी रहेको र गाडीहरु फस्ने एवं टिपरहरु ओभरस्पिडमा हुइकिने कारण साना सवारीहरु मारमा परि दुर्घटना हुने गर्दछ भने विपी राजमार्गमा ओभरस्पिड र घुम्ती सडकका कारण दुर्घटना हुने गर्दछ । सहायक मार्गमा सडकको अवस्था र चालकको लापरबाहीले गर्दा दुर्घटना बढेको देखिन्छ । सडक चाहिँ सिधा भन्दा पनि जिल्लामा धेरै घुम्तीहरू छन् । जसले घुम्तीमा एकले अर्कोलाई नदेखिने चालकले ओभरस्पिडमा सवारी हाँक्दा दुर्घटना घटेको पाइएको छ ।

♦ जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति कति रहेको छ ?
अहिले हामीसँग जिल्लामा ४३ जनाको जनशक्ति रहेको छ । जिल्ला ट्राफिक कार्यालय मार्फत हामीसँग ९ ओटा पोस्ट छ । यो जिल्लाको जनशक्ति जनसंख्याको अनुपात र राजमार्गमा खटिनुपर्ने ड्युटी डिप्लोइमेन्टको आधारमा हामीसँग आवश्यक जनशक्ति कम नै हो भन्नुपर्छ ।

♦ जिल्लाका हरेक स्थानीय पालिकासम्म गएर टाफिक प्रहरीबिट स्थापना गरेर सेवा प्रवाह सुरु गर्नुभएको छ ?
छैन, अहिलेसम्म हामीसँग त्यस्तो संयन्त्र नै छैन । तर स्थानीय तह, जिल्ला प्रहरी कार्यालय र सरोकारवाला निकायहरुसँग समन्वय भइरहेको हुन्छ । समन्वय गरेर हामीले गर्नुपर्ने फास्ट रेस्पोन्स चाहिँ घटना हुने बित्तिकै उद्धारमा जुटिहाल्छौं ।

♦ यस वर्ष कति सवारी कारबाहीमा परे? ती बाट कति राजस्व उठ्यो? तथ्याङ्क सहित बताइदिनुहोस् न?
गत आर्थिक वर्ष ०८०।८१ मा चाहिँ हामीले गरेको जम्मा कारबाही ३७ हजार २ सय ५२ रहेको छ । कारबाहीमा ट्रक, बस, जिप, भ्यान, ट्रयाक्टर, मोटरसाइकल र अन्य सवारी टेम्पो, रिक्सा परेका छन् । जसबाट संकलित राजस्व गत आर्थिक वर्षमा २ करोड ५१ लाख ५७ हजार ५ सय रुपैया रहेको छ । यो तथ्यांक २०८१ सालको असार मसान्तसम्मको रेकर्ड अनुसार हो ।

♦ बेला–बेला ट्राफिक प्रहरीले विशेष अभियान अन्तर्गत जनचेतना दिने गरेको छ । यस्ता अभियान आम जनतासम्म पुगेको छ त ? कत्तिको प्रभावकारी भएको पाउनुभएको छ ?
विशेषगरि जिल्ला ट्राफिका कार्यालयमा म आइसकेपश्चात मापसे मादक पदार्थ सेवन नियन्त्रण अभियानलाई तीव्रता दिएको छु । सार्वजनिक यातायातका चालकलाई केन्द्रमा राखेर हामीले जिल्ला प्रहरी कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर हामीले चालकको लापसे परीक्षण गरेका थियौं । जसअन्तर्गत लापसे गरि सवारी चलाएका चालकहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरि कारबाहीको दायरामा ल्याएका छौँ । सार्वजनिक यातायातमा यात्रा गर्दाखेरि एउटा यात्रीले सुरक्षित महसुस गर्नुपर्दछ भन्ने कुरा हो । जसमा चालक स्वयं जिम्मेवार हुनुपर्दछ । उसको साथमा आफ्नो मात्र नभएर उसले धेरै जनाको जिन्दगीको जिम्मेवारी लिएको हुन्छ, जसले गर्दा हामीले लापसे अभियान सुरु गरेका थियौं । साथै हामीले विभिन्न विद्यालय, कलेजसँग जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं । जसलाई हामी यसवर्ष पनि निरन्तरता दिँदै जानेछौं ।

♦ जिल्लामा २ राजमार्ग रहेका छन् ? विशेष कहाँ–कहाँ ट्राफिक प्रहरीको चेकिङ्ग गर्ने गर्दछ?
हामीले हाम्रो ट्राफिक कार्यालयको उपस्थिति भएको ठाउँमा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर दोलालघाट, पाँचखाल, खावा, पनौती, काभ्रे भञ्ज्याङ्ग, मंगलटार, ढुंखर्क, भकुण्डेवेशी, साँगा लगायतको स्थानमा चेकिङ गर्दछौँ । जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरि आवश्यक ठानेको स्थानमा नियमित र सर्प्राइज चेकिङ्ग समेत गर्दै आएका छौं ।

♦ यसरी चेकजाँच गर्ने क्रममा त्यहाँका स्थानीय सरकार र पालिकासँग समन्वय हुन्छ ?
स्थानीय तहका जनप्रतिनिधिहरूले सवारी चेकिंगलाई सकारात्मक रुपमा लिनुहुन्छ । साथै आवश्यक सहयोग पनि गर्दै आउनुभएको छ । कहिलेकाही सामान्य व्यावहारिक कुरा आउँदा मिल्नेसम्मको दायरा हेर्ने गरेका छौं । अन्यथा हामीले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना मार्फत कारबाही गर्दै आएका छौँ ।

♦ ट्राफिक जरिवाना कति समयपछि तिर्न सकिन्छ ?
अहिले देशभरि नै टिभिआरएस सिस्टम आएको छ । ट्राफिक भायोलेसन रेकर्ड सिस्टम देशैभरि आएको छ । अनलाइन सिस्टम मार्फत काम हुन्छ । देशैभरि पूरै सञ्चालन हुन नसकेपनि अधिकांश ठाउँमा यो प्रविधि सञ्चालनमा आएको छ । जसले गर्दा के हुन्छ भने ट्राफिकको पुर्जी काटेपछि आफैंले अनलाइन माध्यमबाट जरिवाना तिर्न सकिन्छ । तिरिसकेपछि बिलबुक, कागजपत्र फिर्ता पाउन सकिन्छ । यसले आमचालक तथा आमजनतालाई सजिलो बनाइदिएको छ । जसले गर्दा मान्छेले आफूसँग पैसा नभएपनि आफूले चिनेको मान्छेको माध्यमबाट समेत तिर्न सकिन्छ । ट्राफिक प्रहरीबाट जरिवानाको पुर्जी पाएपश्चात तत्काल विभिन्न अनलाइन माध्यमबाट ट्राफिक जरिवाना तिर्न सकिन्छ ।

♦ राजस्व संकलनको अनलाईन प्रणालीलाई थप व्यवस्थित बनाई नागरिकमैत्री बनाउन के गर्नुपर्छ ?
यो एक हिसाबले राम्रो र परिष्कृत प्रणाली हो । यसलाई नेपाल प्रहरी प्रधान कार्यालयले सञ्चालन, नियमन गर्ने काम गर्दछ । अनलाइन प्रणालीलाई थप व्यवस्थित गराउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको देखिन्छ । विद्यालय कलेज लेभलदेखि सो कार्यक्रम गर्न सके ट्राफिक प्रहरीको अनलाइन सेवा सजिलो र थप व्यवस्थित हुन सक्छ ।

♦ सवारी दुर्घटना नियन्त्रण गर्नका निम्ति के गर्नुपर्छ ?
सवारी दुर्घटना न्युनिकरणका गर्नका निम्ति हामीले सम्पर्क कार्यक्रम सञ्चालन गर्ने हो । हामीले विशेषगरि चालक, सहचालक, विद्यार्थीहरू लगायतलाई ट्राफिक नियम उल्लंघन सम्बन्धी विभिन्न कक्षा लिने गरेका छौं । साथै हामीले दुर्घटना हुने मुख्य सम्भावित क्षेत्रहरूमा ट्राफिक सचेतना जगाउने होडिङ बोर्ड समेत राखेका छौं ।

♦ अन्त्यमा, काभ्रेपोष्ट मार्फत के भन्न चाहनुहुन्छ ?
सुरक्षित यात्रा गर्नुहोला । तपाईंको आफ्नो ज्यानको सुरक्षा तपाईको लागि मात्र होइन, तपाईको परिवारको लागि पनि हो । त्यसले गर्दा एउटा सामान्य व्यक्तिको मृत्यु हुँदा वा चोटपटक लाग्दा त्यसले समाजमा, परिवारमा, सामाजिक, आर्थिक, पारिवारिक रुपमा ठुलो क्षति पुर्याउन सक्छ । त्यसले गर्दा चालक भएर यात्रा गर्दा सुरक्षित यात्रा गर्नुहोला । हतारमा यात्रा नगरौं, सुरक्षित यात्रा गरौं भन्न चाहान्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.