वडाबासीको आयस्तर बढाई आत्मनिर्भर बनाउन कामहरु गरिरहेका छौँ: वडाध्यक्ष खड्का

चन्द्र बहादुर खड्का
वडाध्यक्ष
बनेपा नगरपालिका १० नं. वडा कार्यालय
बनेपा, काभ्रेपलाञ्चोक

देशमा संघीयताको मर्म अनुसार स्थानीय सरकार गठन भएपछि वि.सं.२०७४ सालको स्थानीय तह निर्वाचनमा बनेपा नगरपालिका वडा नं. १० मा वडाध्यक्ष पदमा चन्द्र बहादुर खड्का निर्वाचित हुनुभयो । वि.सं. २०७९ सालको स्थानीय तह निर्वाचनमा पुनः जनमत प्राप्त गर्दै वडाध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिको रुपमा कार्यरत हुनुहुन्छ । अनुभवी जनप्रतिनिधिको हिसाबमा कार्यसम्पादन गरिरहनु भएका खड्का बनेपा नगरपालिका वडा नं.१० का वडावासीको दैनिकी र समग्र विकास निर्माण र योजनासँग कसरी काम गरिरहनु भएको छ ? वडाबाट प्रवाह गरिने सेवाहरु वडाबासीले कसरी पाइरहेका छन् ? निर्वाचित भएको झण्डै अढाई वर्ष बितिसक्दा वडामा केकस्ता जनपक्षीय कामहरु भइरहेका छन् । लगायतका विषयमा काभ्रेपोष्ट साप्ताहिकका लागि संवाददाता बालकृष्ण बजगाईंले कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश:

◊ वडा अध्यक्षको दोस्रो कार्यकालको झण्डै अढाई वर्ष बितिसकेको छ । तपाईंको वडामा केकस्ता काम भए ?
पछिल्लो कार्यकाल दुई वर्ष पुगेर ३ वर्ष लागिसकेको छ । साविक उग्रतारा गाविसका ५ वटा वडा मिलेर हाम्रो १० नं. वडा बनेका हो । त्यसताका सबै बस्तीमा एम्बुलेन्स समेत नजाने अवस्था थियो । अहिले सडकको पहुँच पुगेको छ । वि.सं. २०७९ मा विजयी भए यता सामाजिक क्षेत्रमा गरेका काम मध्येमा एक घर एक धारा पहिलो नारा हो । खानेपानीको एजेन्डा बोकेर हामी जनतामाझ गएका थियौँ । करिब १४०० घरधुरीमा धारा जडान भइसकेको छ । बाँकी घरधुरीलाई राजमार्गको विस्तारको कारणले दायाँबायाँको क्षेत्रमा केही कठिनाई भएको छ । बाँकी घरमा हामी असोज कात्तिक महिनाभित्रमा यो उद्घाटन गरेर प्रत्येकको घरमा पानी वितरण गर्ने योजनामा छौँ । हामीले घोषणापत्रमा बोले अनुसार यो वडामा विशेषत विकासका पूर्वाधारकै कुराहरु वेशी छ । वडाबासीका आधारभूत आवश्यकता कै कुरा आउँछन् । सडकहरु अलि अव्यवस्थित थिए । व्यवस्थित गरेर त्यसका मापदण्ड पुर्याएर घरघरमा टोलटोलमा गाडी पुर्याउने र पूर्वाधारकै कुराहरुलाई पहिलो प्राथमिकता दिइएको छ । गत साल र यो साल पनि त्यसलाई नै निरन्तरता दिइएको छ । यो साल नगरस्तरिय हामीलाई १६ वटा योजना परेको छ । वडास्तरिय ७ वटा योजना परेको छ । नगरस्तरिय योजना पास भइसकेको छ । वडास्तरिय पनि काम भइरहेको छ । दररेट आइपुगेको छैन, भदौको पहिलो हप्ताबाट दररेटआएपछि योजना कामहरू सुरु हुन्छन् । तत्पश्चात काम तीव्र रुपले अगाडि बढ्छ ।

◊ वडाध्यक्षको रुपमा अनुभवी जनप्रतिनिधिको हिसाबले काम गरिरहँदा आउने चुनौती र बाधा व्यवधानको कसरी सम्बोधन गरिरहनु भएको छ ?
त्यस्तो खास बाधा अड्चन बाधा अड्चन आएको छैन । काम गर्दै जाने क्रममा सानोतिनो बाधा अड्चन समाधान गर्दै आइएको छ । सामाजिक क्षेत्रमा धेरै अनुभव गरेको हिसाबले आउने चुनौतीको समाधान गर्ने गरेका छौँ । त्यति मात्र नभएर हामी सबै जनप्रतिनिधि बसेर छलफल गरि समाधान गर्ने गरेका छौँ । मुद्दाका विषयलाई सम्बोधन गर्न नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा समिति छ । त्यस्ता मुद्धालाई नगरपालिका पठाउने गरेका छौँ । छिटपुट भन्दा बाहेक त्यस्तो अवस्था आएको छैन ।

◊ वडामा केकस्ता योजनाहरुलाई मुख्य प्राथमिकता दिँदै आउनुभएको छ ?
पहिलो नम्बर विकास पूर्वाधार सडक, दोस्रो नम्बर शिक्षा हो । तेस्रो नम्बर खानेपानी, चौथोमा स्वास्थ्य छ । साथै जनताको रोजगारी आयआर्जन बढाउने, उद्यमशीलता वृद्धि गर्ने कार्यमा लक्षित छौँ । आवश्यक तालिम, खेती हुनेलाई कृषि तालिम, खेती नहुनेलाई कौशीखेती तालिम, बाख्रापालन, सिलाई लगायतका तालिम दिएर वडाबासीको आयस्तर बढाउने कुरामा हामी क्रियाशील छौं ।

◊ वडाबासी जनतालाई रोजगारी बढाउन बनेपा नगरपालिका वडा नं. १० के गरिरहेको छ त ?
रोजगारीको सन्दर्भमा भन्दा जनताले सरकारी जागिर नै खोज्छ । जागिर सबैलाई दिन सम्भव छैन । कृषिमा आवद्ध, सिप विकास, उद्यमशीलता, तालिमको सिपबाट आत्मनिर्भर बनाउने भन्ने सरकारको नीति छ । वडाले पनि त्यही सोच राखेको छ । खेती योग्य जमिन हुनेले कृषिमा । कृषिमा आवद्ध नभएकाहरुले तालिम मार्फत सिप अभिवृद्ध गरि आ–आफ्नो क्षमता अनुसार स्वीटर बुनाई, ढाका बुनाई, काम गर्ने, बाख्रा पालन, कुखुरा पालन लगायतका पेशा अपनाउने गरि वडाले सकेसम्म पहल गरेको छ । वडाले नसकेको खण्डमा नगरपालिकासँग समन्वय गरेर वडाबासी दाजुभाइ दिदीबहिनीको आयस्तर बढाई आत्मनिर्भर बनाउन कामहरु गरिरहेका छौँ ।

◊ निर्वाचनमा वडाबासी समक्ष विभिन्न बाचा गर्नुभएको थियो होला । कति पूरा भए ? कति बाँकी छन् ?
त्यस्तो नसक्ने बाचा गरिएको छैन । हामी सडक तहमा हिँड्ने नेताहरुले ठुलो बाचा गर्ने गरेका छैनौँ । जति सकिन्छ, त्यति बाचा गरिएको थियो । बोलेका कुराहरु पूरा गर्दैछौँ । पछिल्लो चोटि निर्वाचित भएको गत वैशाखमा २ वर्ष पूरा भएर ३ वर्ष लागिसकेको छ । खानेपानीको योजना पाँच वर्षसम्म पुर्याउने लक्ष्य छ । डिप बोरिङ सञ्चालन गरेर वडाबासीको घरघरमा पानी पुर्याउने लक्ष्य छ । मागेको जति पुयार्उन सकिदैन । स्रोत नभएको हुनाले अलि कठिनाई छ ।

सडकको विषयमा भन्नुपर्दा राजमार्गमा जोडिएको वडा देखिएपनि भित्र छिर्दा दुर्गम छ । १० नम्बर वडालाई गहिरिएर हेर्दा अधिकांश क्षेत्र दुर्गम छ । बाहिरबाट हेर्दा १० नम्बर राजमार्गसँग जोडिएको छ । भनेर बजेट बिनियोजन गरिएको छैन । बजेट कम छ । दलका मुख्य नेतृत्वले माथिबाट हामीलाई आवश्यक बजेट बिनियोजन नगर्दा महत्वपूर्ण काम गर्न सकेका छैनौँ । स्रोत साधनको अभावले गर्दा आशातीत काम गर्न सकिएको छैन ।

◊ तपाईंले आफ्नो वडाबाट जनतालाई दिनु भएको सेवा सुविधाबाट स्थानीय वडाबासी कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
आफूले गरेको काम आफूलाई राम्रो लाग्छ नै । त्यो कुरा जनतालाई सोध्नुपर्छ । त्यो विषयमा जनतासँग बुझ्नुभए उत्तम हुन्छ जस्तो लाग्छ । हामीले सकभर दुःख दिने काम गरेका छैनौँ । कानुनको विधिले भ्याएसम्म र उहाँहरुको सामाजिक हिसाबले भ्याएसम्म आजको कामलाई भोलि भन्ने गरिएको छैन । आजको आजै काम गरिदिने गरेका छौँ । वडाले गर्न सक्ने काममा ढिलासुस्ती भएको छैन ।

◊ वडामा वडाबासीको हित र जीवनयापन सुधार गर्न विशेष योजना ल्याउनुभएको छ कि ?
आर्थिक उन्नतिको कुरा नै मुख्य हो । कृषि उत्पादन हुने घडेरी विक्री भएको अवस्था छ । मानिसलाई उद्यमशीलता, रोजगारी, व्यापार वाणिज्यका क्रियाकलापमा सहभागि नभइकन सुख छैन । नेपालमा १२ कक्षा पढ्दै विदेशिने क्रम बढेको छ । वडाबासीलाई विदेश पठाउने हाम्रो नीति हैन । यही केही गरेर रोजगारी गरुन् । उद्यमशीलता विकास गरून् भन्ने हाम्रो धारणा छ । नगरपालिका, प्रदेश र संघले यो परिस्थितिलाई मध्यनजर गर्दै कानुन बनाएर स्थानीय क्षेत्रमै उहाँहरुलाई आत्मनिर्भर बनाउनुपर्दछ भन्ने लाग्दछ ।

वडालाई चिनाउन अथवा देशमै उदाहरणीय नमुना वडा बनाउन तपाईंको संकल्प के छ ?
पक्कै पनि छ । संकल्प नगरिकन राजनीति गरिदैन । तर नगरमा चाहिँ सबै काममा हाम्रो वडा उत्कृष्टमा नै गनिएको छ । जनताको नजरमा केकस्तो छ त्यो जनताले भन्ने कुरा हो । वडाबासीको हितलाई मध्यनजर गरि काम गर्ने संकल्प रहेको छ । योजनाहरुमा सबैलाई चित्त बुझाउन गाह्रो नै हुने रहेछ । हामीलाई साधन स्रोत कम छ । नगरको आदेशले काम गर्नुपर्दछ । संघ र प्रदेश सरकारले सुगमको पगरि गुथाएको छ । नगरमा भाग लगाएको रकमले विकास, वडाबासीको आर्थिक उन्नति, सडक, शिक्षा लगायतका पूर्वाधारको विकासमा हाम्रो साधन र स्रोतले भ्याएसम्म राम्रो काम गर्दै आएका छौँ ।

◊ बनेपा पुलबजार वडा नंं.८ र १० जोड्ने पुल जीर्ण हुँदै गएको छ, प्वाल समेत परेर दुईपांग्रे सवारी साधन र पैदल यात्रु जोखिममा यात्रा गरिरहेका छन्, यसको समाधानको लागि तपाईंको तर्फबाट के गरिरहनुभएको छ ?
तपाईंले राम्रो कुरा उठाइदिनुभयो । सम्बन्धित ठाउँमा पुर्याइदिनुहोला । पुरानो, नजिकको पुल । यसको मर्मत सुधारको काम मेरो भन्दा पनि माथिको कुरा हो । वडाले यस समस्याको समाधान गर्न स्रोत साधन छैन । यो ऐतिहासिक पुलको मर्मत सुधार गर्नुपर्दछ भनेर माथिल्लो निकायको ध्यानाकर्षण गराएको छु । राणाको पालादेखिको सञ्चालित यो पुल ऐतिहासिक र महत्वपूर्ण छ । हामी जन्मिनुभन्दा अगाडि देखि नै सवारी गुड्ने भन्ने कुरा सुनिएको थियो । मैले यो पुलको मर्मत सम्भारको निम्ति प्रस्ताव भवन विकास, पुल निर्माण महाशाखामा पुर्याएको छु । नगरपालिकामा नगरप्रमुखसँग कुरा राखेको छु । उहाँहरुले पटकपटक अवलोकन पनि गरिसक्नुभएको छ । केही समय अगाडि अवलोकनमा आउनुभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई पनि पुलको जीर्ण अवस्था देखाएको छु । मैले सकेसम्म मैले जानेबुझेसम्मलाई पहल गरेको छु । पुलको मर्मत सुधार वडाको क्षमता भित्र पर्दैन । प्वाल परेको पुल टाल्न नगरपालिकाले गर्न सक्दछ । नगरपालिकासँग स्रोत साधन छ । वडासम्म स्रोत साधन छैन । प्रदेश, नगर र संघमा यस सम्बन्धी गुनासो पुगोस भन्ने मेरो पनि गुनसो छ । मैले प्रदेश सरकार, र संघका सांसदसँग यो कुरा राख्ने जमर्को गरेको छु । यथाशक्य यो विषय सम्बन्धी कुरा म गम्भीरता साथ राख्नेछु ।

◊ अरनिको राजमार्ग अन्तर्गत सुर्यविनायक धुलिखेल सडक विस्तार भइरहदा तपाईको वडा भएर यो सडक चौडा गर्ने काम भइरहदाँ केही समस्या, कठिनाईहरु देखा परेका छन् कि ?
अरनिको रागमार्ग करिडोर हाम्रो वडाको माग हो । नेपाल सरकारले भने अनुसारको काम गुणस्तरिय हुनुपर्दछ । मेरो सिमानासम्म अरनिको राजमार्गको मापदण्ड पुगिसकेको छ । त्यस भन्दा बाहेकको क्षेत्रमा मेरो जिम्मेवारी विषय भएन । मेयर र उपमेयरले गर्ने कुरा हो । मेरो वडामा केही विवाद छैन । खानेपानीको पाइपहरु क्षति भएको छ । त्यो समाधान हुन्छ । यो विषयमा राम्रो नै छ । हाम्रो सिमानासम्म कुनै बाधा अड्चन छैन । कोर एरिमा छिरेपछि विवाद भएको छ । त्यसको समाधान सबै मिलेर गर्नुपर्दछ भन्ने मेरो धारणा छ ।

◊ अन्त्यमा, काभ्रेपोष्ट मार्फत के भन्न चाहनुहुन्छ ?
काभ्रेपोष्ट साप्ताहिकलाई वडाबासीसामु आफ्नो धारणा राख्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । साथै बनेपा नगरपालिकालाई राम्रो र सुगम बनाउने हो भने करिडोर सडकलाई निकासा दिनुपर्दछ । यसमा सबैले सकारात्मक भूमिका खेलौँ भन्न चाहन्छु । बनेपा निर्माणको अभियानमा हातेमालो गर्न आह्वान गर्दछु ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.