विद्यार्थीको रोजगारी र उद्यमशीलता विकासमा ज्ञानकुञ्ज प्रतिबद्ध छ

नवराज चौलागाईं
सहायक क्याम्पस प्रमुख

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान

बनेपा, काभ्रेपलाञ्चोक
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान काभ्रेपलाञ्चोक जिल्लाकै प्रतिष्ठित शैक्षिक संस्था हो । नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको लागि ज्ञानकुञ्ज भन्ने मुल नारालाई आत्मसात गर्दै प्रतिष्ठान अगाडि बढिरहेको छ । गुणस्तरिय शिक्षा प्रवाहमा अघि बढिरहेको यस प्रतिष्ठानको २०५९ सालमा स्थापना भएको हो । सुरुमा कक्षा १० सम्म अध्यायपन हुनेगरि स्थापित प्रतिष्ठान २०६२/६३ बाट कक्षा ११, २०६४/६५ बाट स्नातक तह र २०७० सालदेखि स्नातकोत्तर शिक्षण हुँदै आएको छ ।
बनेपा नगरपालिका वडा नम्बर ८ स्थित यस प्रतिष्ठानमा प्ले ग्रुपदेखि स्नाकोत्तरसम्म अध्यापन भइरहेको छ । क्याम्पस तहमा व्यवस्थापन संकाय अन्तर्गतका बिभिन्न कोर्षहरू अध्ययन अध्यापन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डसँग सम्बद्ध संस्थाले गुणस्तरिय शिक्षा प्रदान गरि विभिन्न क्षेत्रका लागि विश्व प्रतिस्पर्धी जनशक्ति निर्माण गर्दै आएको जनाएको छ । हालै सम्पन्न कक्षा १२ को परिक्षामा पनि ज्ञानकुञ्जका विद्यार्थीहरुले उत्कृष्ट नतिजा प्राप्त गरेका छन् ।
विद्यालयले उत्कृष्ट नतिजा ल्याउनका लागि आधुनिक सिकाई प्रणाली तथा विद्यार्थी मैत्री सिकाई प्रविधि आत्मसात गरेको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले सिकाई सहजीकरण र त्यसपछिको करियर निर्माणमा विद्यार्थीलाई आत्मनिर्भर र स्वरोजगार बनाउन केकस्ता शैक्षिक वातावरण तयार गरिरहेको छ ? कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले ज्ञानकुञ्जलाई नै किन आफ्नो शैक्षिक गन्तव्य बनाउने त? लगायतका विषयमा काभ्रेपोष्ट साप्ताहिकका लागि संवाददाता बालकृष्ण बजगाईंले सहायक कलेज प्रमुख नवराज चौलागाईंसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
◊ क्याम्पसको सुरुवाती दिन र त्यसताका क्याम्पसको अवस्थाको विषयमा बताइदिनुहोस् न ?
सुरुवाती दिन सामान्य ढंगबाट थोरै विद्यार्थी हुँदै अध्ययन अध्यापन सुरु भएको थियो । हामीले क्रमशः क्याम्पस सञ्चालन गर्दै गयौँ र आजको दिनसम्ममा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान जिल्लाकै उत्कृष्ट क्याम्पसको रुपमा स्थापित भएको छ । उज्वल, प्रगतिशील हिसाबले आफूलाई वृद्धि गर्दै हामी अगाडि बढ्दा समाजले हामीलाई पत्याइदिएको छ । हामीलाई विश्वास गरेर आएका भाइबहिनीहरूको नतिजा पनि उत्कृष्ट निस्किरहेको अवस्था छ ।
◊ काभ्रे जिल्लाको ऐतिहासिक सहर बनेपामा स्थापित यस क्याम्पसले कस्ता जनशक्ति उत्पादनको लक्ष्य राखेको छ ?
यस प्रतिष्ठानले समाजको लागि दक्ष जनशक्ति उत्पादन गरेको छ । ती दक्ष जनशक्तिहरू हाम्रो अगाडि उदाहरण बनेर काम गरिरहेका छन् । भावी योजना त्यस्ता लक्ष्य नितान्त व्यवस्थापन पढ्ने विद्यार्थीहरू ठुला ठुला वाणिज्य बैंक, विकास बैंक लगायतका फाइनान्स कम्पनीहरू यस भन्दा बाहेक एनजिओ, आइनजिओ, सरकारी कार्यालय, सरकारी प्रतिष्ठानहरू, संस्थानहरू लगायत हस्पिटलहरू, कन्स्ट्रक्सन कम्पनी, इन्जिनियरिङ संस्थानहरूमा व्यवस्थापकको रुपमा उत्कृष्ट र उच्च तहको व्यवस्थापन लिडरको रुपमा स्थापित भएका छन् । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको लक्ष्य भनेको उत्कृष्ट विद्यार्थी उत्पादन गरि उच्च तहको नेतृत्व सम्हाल्न सक्ने बनाउने हो । ठुला ठुला कर्पोरेट हाउसहरू, उद्यमशीलता विकास गराउने लक्ष्य प्रतिष्ठानले विद्यार्थीहरुमाझ लिएको छ । यहाँबाट उत्कृष्ट शिक्षा लिएर गएका विद्यार्थीहरू अरुका लागि काम गर्ने कर्मचारी मात्र नभई ठुलो ठुलो बिजनेस मेन बनुन् र देशको आर्थिक अवस्थालाई उच्च तहमा पुर्याउन भुमिका खेल्न सकुन भन्ने लक्ष्य हामीले लिएका छौँ ।
◊ ज्ञानकुञ्ज नै किन? 
 ज्ञानकुञ्जका उत्पादन उच्च तहको कर्मचारी बनाउने एउटा लक्ष्य छ । साथै त्यस्ता हजारौं कर्मचारी सिर्जना गरेर उनीहरूलाई रोजगारी दिने बिजनेस, संस्था एवं उद्यमशीलता विकास गर्छु भन्ने जनशक्ति निर्माण गर्ने हाम्रो लक्ष्य हो । उत्कृष्ट नतिजा निकाली देशलाई टेवा पुर्याउँछु भन्ने जनशक्ति बन्नको लागि ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान उत्कृष्ट शैक्षिक गन्तव्य हो ।
◊ अहिले व्यवस्थापन संकायमा भर्ना खुलेको छ कुन कुन विषय अध्यापन भइरहेको छ? 
हाम्रो ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान नितान्न व्यवस्थापन अध्ययन अध्यापन हुने क्याम्पस हो । हामीले व्यस्थापन संकाय तर्फ विविएस र एमबिस संकायका कक्षा सञ्चालन गर्दै आएका छौं । बिबिएस तहमा पठनपाठन भइरहेको छ । त्यसतर्फ हामीले बित्त शास्त्र (फाइनान्स), बजार शास्त्र (मार्केटिङ), व्यवस्थापन संकाय (जनरल म्यानेजमेन्ट) त्यसैगरि यसभित्र पर्ने कमर्सियल बैंकिङ म्यानेजमेन्ट, बैंकिङ एन्ड इन्सुरेन्स विद्यार्थीको चाहना बमोजिम अध्यापन गराउँदै आइरहेका छौं ।
◊ व्यस्थापन संकाय अन्तर्गत स्नातक तहमा कम्प्युटर विषय पनि समावेश छ ?
कम्प्यटर साइन्स विषय चाहिँ ११ र १२ मा मात्र छ । प्लस टुमा विशुद्ध व्यवस्थापन संकाय अन्तर्गत कम्प्युटर साइन्स पढाई हुन्छ । स्नताक तहमा बिबिएसमा कम्प्युटर विषय नै त छैन । तरपनि हामीले कम्प्युटरका भोकेसनल कोर्स हामीले दिएका हुन्छौं । ट्याली सफ्टवेयर कोर्स र एड्भान्स कम्प्युटर ट्रेनिङ, एडभान्स एक्सेल ट्रेनिङ हामीले प्रदान गर्दछौं । विद्यार्थीबाट हामी समक्ष त्यस्ता विषयको माग भएको खण्डमा हामीले तालिम प्रदान गर्नेछौं । त्यस्ता माग विद्यार्थीले हामीलाई प्रस्तुत गर्नुपर्दछ । बजारको मागलाई सम्बोधन गर्दै यस्ता तालिम प्रदान गर्न हामी लागि परिरहेका छौं ।
◊ क्याम्पसप्रति आकर्षण बढाउन के गरिरहनुभएको छ?
आजक समयमा व्यवस्थापनको कलेजमा विद्यार्थीहरूको आकर्षण बढेर गइरहेको छ । विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय,  पूर्वाञ्चल विश्वविद्यालयमा विद्यर्थीको संख्या व्यवस्थापन संकायमा बढेर गएको छ । अन्य संकाय अन्तर्गत शिक्षा शास्त्र, मानविकी भन्दा व्यवस्थापनमा विद्यार्थीको चाप बढेको पाइन्छ । विज्ञान विषय भन्दा यता विद्यार्थीको चाप बढेको पाइन्वछ । विज्ञानमा सोचेजस्तो प्रतिफल ल्याउन नसकिने तर त्यतिनै मेहनत गर्दा व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा ल्याउन सकिने भएकाले यो संख्या बढेको हो ।
हामीले हाम्रो विद्यार्थी भाइबहिनीहरुलाई ३, ४ वटा कुराहरूमा फोकस गराउने गरेका छौं । जसअन्तर्गत पहिलो अनुसन्धानमुखी शिक्षा, रिसर्च बेस्ड स्टडी छ । अनि दोस्रोमा छ, ईन्डस्ट्री एकेडेमी कनेक्सन । औधोगिक क्षेत्र भिजिटमा लैजाने र त्यसको रिजल्ट केकस्तो छ? औधोगिक क्षेत्रमा नेपालको अवस्था के कस्तो छ ? हामी गएर त्यो औधोगिक क्षेत्रमा के कति काम गर्नुपर्दछ ? प्रशासनिक, वित्तीय, लगायतका बजारशास्त्र सम्बन्धी काम केकस्तो गर्नुपर्दछ भनेर प्रत्यक्ष रुपमा भिजिट गराउछौं । जसबाट विद्यार्थीहरूले व्यावहारिक ज्ञान हाँसिल गर्न सक्दछन् । तेस्रो नम्बरमा हाम्रो विद्यार्थीहरूलाई अर्गनाइजेसनल कर्पोरेट कल्चर डेभलप गर्न सिकाउँछौं । त्यसलाई संरक्षण गर्न पनि सिकाउँछौं । हामी नितान्त नेपाली पन भएका कल्चरलाई प्रमोसन गर्दछौं । नेपाली पन सहितको संस्था स्थापना भएर जानुपर्दछ भन्ने हाम्रो मूल्य मान्यता हो । त्यस्तै हामीले विद्यार्थीलाई प्रत्यक्ष लाभ दिने खालको कार्यक्रम मध्ये इन्टर्नसिप र जब प्लेसमेन्ट समेत गर्दै आइरहेका छौं ।
◊ प्राविधिक जनशक्तिले देशमै रोजगारी प्राप्त गर्न सक्छन् भनिन्छ, प्राविधिक शिक्षा अध्ययन अध्यापनमा केही सोच्नुभएको छ कि?
पक्कै पनि हामीले विश्वविद्यालयसँग सम्पर्कमा छौं । प्राविधिक संकाय हामीले ल्याएर विद्यार्थीको माग सम्बोधन गर्दै अगाडि जाने भन्ने हाम्रो सोच छ । त्यो सोच बमोजिम हामीले बिभिन्न किसिमका प्राविधिक संकाय ब्याचलर र प्लस टुमा ल्याउने योजना बनाएका छौं । त्यसलाई सार्थकता दिन र परिणाम आउन १,२ वर्ष समय लाग्छ होला !
◊ अध्ययनसँगै कमाई गर्न नेपाली विद्यार्थीहरू विदेशिने क्रम बढी नै रहेको छ, यसलाई न्यूनीकरण गर्न के गर्नुपर्दछ?
सक्षम एवं प्रगितिशील युवाहरू आज बाहिरिने क्रम बढिरहेको छ । यसको मुख्य कारण भनेको नेपालको शिक्षा नीतिलाई परिवर्तित रुपमा संशोधित रुपमा नलगेसम्म यो खालको परिणाम अझै बढ्दै जाने देखिन्छ । नेपालको शिक्षा नीति विश्वविद्यलायहरूले तयार पारेका पाठ्यक्रमहरू चाहिँ प्रत्यक्ष, व्यावहारिक र सहजै जागिर पाउने खालका छैनन् । अनुसन्धानमूलक पाठ्यक्रम छैनन्, प्रोजेक्ट बेस्डका पाठ्यक्रम छैन । विद्यार्थीहरू पढ्दै जाँदा उसले त्यो अनुसन्धानको क्रममा बजार, उद्योग र संघसंस्था, संस्थानको माग अनुसार सेटलमेन्ट हुने खालको दक्ष जनशक्ति परिपूर्ति गर्न हाम्रो पाठ्यक्रम अलि पुराना भएका हुन् ।
ती पाठ्यक्रमहरू विश्वयविद्यालहरूले संशोधन गर्नैपर्ने देखिन्छ । बजार, उद्योग अनुकूल पाठ्यक्रम बनाउनुपर्यो । ती पाठ्यक्रमलाई परिमार्जित गर्दै गएपछि बजारको माग अनुसारको पाठ्यक्रमलाई अद्यावधिक गर्दै गइयो भने पक्कै पनि हाम्रा विद्यार्थीहरू बिदेशिने क्रमबाट रोकिनेछन् ।  विद्यार्थीहरू बिदेसिनुको कारण विदेशी विश्वबिद्यालहरू क्रेडिट आवरमा अध्ययन अध्यापन गराउँछन् । केही क्रेडिट उनीहरूले कक्षामा पढाउँछन् र त्यही पढाएका कुराहरूलाई रिसर्च गर्न कुनै उद्योगहरूमा पठाउँछन् । त्यहाँ पेड बेसिस, घण्टाको आधारमा पारिश्रमिक पाउँछन् । र रिसर्च पनि गर्छन् । त्यसलाई उनीहरूले प्रोफेसरलाई रिभ्युको लागि कलेजमा पठाउँछन् । हो यस्ता किसिमका पढाई पाठ्यक्रम हामीसँग छैनन् । पुराना ढर्राका पाठ्यक्रम अझै छन् । देशको समस्याको रुपमा विद्यार्थीहरू विदेशिनु परेको छ । जुन देशकै समस्याको बारेमा आइपरेको छ । हामीले यसलाई नकार्न सकेका छैनौं ।
हाम्रा उत्पादन विद्यार्थीहरू थप अध्ययन र रोजगारीका लागि बाहिरिएका छन् । त्यसलाई रोक्न हामीले रिसर्च बेस्ड औधोगिक भ्रमण, अनुसन्धानमा आधारित शिक्षाका कुराहरू, पाठ्यक्रममा नभएपनि हामीले हाम्रो इन्टरनल बेसमा त्यहाँ लगाएका छौं । विभिन्न संघ, संस्थाहरूमा रोजगारीको व्यवस्था मिलाएका छौं । विभिन्न बैंक, इन्सुरेन्स कम्पनी, कर्पोरेट हाउसहरूमा नीजि व्यावसायिक घरनामा उत्कृष्ट विद्यार्थीहरूलाई पठाएका छौं । उनीहरू आवश्यक प्राविधिक ज्ञान, सिप, तालिम दिलाएर त्यसमा उत्प्रेरित गराएर पठाउने गरेका छौं । विद्यार्थीलाई विदेशिनबाट रोक्नचाहिँ नेपाल सरकार, शिक्षा मन्त्रालय, विभिन्न विश्वविद्यालयहरू एवं सरोकारवाला नीति निर्माताहरू नै यसमा गम्भिर हुनुपर्ने देखिन्छ । सकभर हामीले रोक्ने प्रयासचाहिँ गरिरहेका छौं । केही हदसम्म रोक्न सफल भएका छौं । जागिर पाएका छन् । जागिरसँगै आफ्नो उद्यमशीलता विकास गरिरहेका छन् । यसलाई नै निरन्तरता दिने हाम्रो प्रयास जारी छ ।
◊ अध्ययनसँगै कमाई भन्ने कार्यक्रम अन्तर्गत ज्ञानकुञ्जका केही कार्यक्रम छन् कि? 
विभिन्न संघ, संस्थाहरूमा रोजगारीको व्यवस्था मिलाएका छौं । विभिन्न बैंक, इन्सुरेन्स कम्पनी, कर्पोरेट हाउसहरूमा नीजि व्यावसायिक घरनामा उत्कृष्ट विद्यार्थीहरूलाई पठाएका छौं । उनीहरूलाई आवश्यक प्राविधिक ज्ञान, सिप, तालिम दिलाएर त्यसमा उत्प्रेरित गराएर योग्य बनाई पठाउने गरेका छौं ।
◊ यहाँ अध्ययन गर्न आउने नवप्रवेशी विद्यार्थीहरूलाई के भन्न चाहानुहुन्छ ?
नव आगन्तुक विद्यार्थी भाइबहिनीहरूलाई अलि नयाँ ढंगले अगाडि बढाउने हामीले प्रयत्न गरिरहेका छौं । कोर्षको सिलेबस अनुसार नियमित अध्यापन गर्छौं । त्यसको अतिरिक्त विभिन्न किसिमका क्रियाकलाप गराउँछौं । अनुसन्धानमुखी क्रियाकलापहरूलाई हामीले लैजान्छौं । प्राक्टिकल बेस्ड प्रोजेक्ट वर्कमा गराउँछौं । मल्डिमिडिया, डिजिटल डाइमेन्सन, समुहगत कार्य प्रिजेन्टेसन गराउँछौं । साथै च्याप्टर इन्ड  प्रस्तुतिकरण गराउने छौं । त्यस्तै रोजगारी प्राप्त गर्ने परिक्षाको सन्दर्भमा लिखित परीक्षा, मक टेस्ट, इन्टरभ्यु टेस्ट जस्ता प्राविधिक ज्ञानमा विद्यार्थीहरूलाई सहभागि गराउनेछौं । त्यसबाट विद्यार्थीको ज्ञानमा परिपक्वता आइ सक्षम जनशक्ति तयार भएको पाएका छौं। त्यसमा हामी गर्व गर्दछौं ।
◊ ज्ञानकुञ्जका उत्पादनले कस्तो रोजगारी वा उद्यम गर्दै आएका छन् ?
हाम्रो कलेजबाट पास भएर गएका विद्यार्थीहरू बैंक, नेपाल सरकारको उच्च ओहदामा, आम पुलिस फोर्स, आर्मी, इन्सुरेन्स, माइक्रोफान्स लगायत अन्य सरकारी एवं औधोगिक क्षेत्रमा सेवा गरिरहेका छन् ।
◊ विद्यालयले दिने सेवा, सुविधा कसरी परिष्कृत गर्दै आउनुभएको छ ?
परिष्कृत गर्ने कुराहरूको विषयमा भन्नुपर्दा २ वटा विषय छन् । एउटा हाम्रो सेवाहरू बजारमुखी र अर्को समाजमुखी हुनुपर्दछ । समाजमुखी भनेको सामाजिक उत्तरदायित्व प्रति संस्थाको लगाव हुनुपर्दछ । संस्थाको लगाव भनेको एक विद्यार्थी समाजप्रति उत्तरदायी हुनुपर्दछ । व्यवस्थापन पढेका विद्यार्थीहरूले आर्थिक मन्दीले गाँजेको समाजलाई सुधार, गर्न भूमिका खेल्न सक्दछ । पाठ्यक्रमले तोकेअनुसार व्यावसायिक परियोजनालाई यी यी प्रकारले अगाडि बढाउनुपर्छ भन्ने रणनीति समाजमा लैजान सफल हुन्छ । जसले सामाजिक उत्तरदायित्वको भूमिकाको साथै बजारमुखी भूमिका निर्वाह गरेको हुन्छ । बजारको माग के छ त्यसको अनलाईसिस गरेर माग अनुसारको आपूर्ति गर्नुपर्दछ । ती आपूर्ति गर्ने संस्थाहरू धेरै भन्दा धेरै उद्योगहरू स्थापना र विकास गर्दै जानुपर्दछ भन्ने भनाइलाई अनुसरण गर्दै ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अगाडि बढिरहेको छ ।
◊ क्याम्पसका योजना बनाउँदा क–कसको सुझाव लिने गर्नुभएको छ ?
कक्षा १२ को लागि राष्ट्रिय परीक्षा बोर्डले सुझाव दिएको हुन्छ । साथै स्नातक तह र सोभन्दा माथिल्लो तहको लागि वार्षिक पाठ्यक्रम तयार गरि त्रिभुवन विश्वविद्यालयले कार्ययोजना दिएको हुन्छ । हामीले त्यसलाई दुई किसिमले लान्छौं, एउटा शैक्षिक गतिविधिको लागि शैक्षिक विशिषज्ञहरू, आन्तरिक शैक्षिक फ्याकल्टी अर्को त्यसको साथै टिचिङ एकेडिमीक फील्डलाई अगाडि बढाउन हामीले भिजिटिङ फ्याक्टी, प्रोफेसर र विभिन्न विज्ञ ल्याएर हामीले वार्षिक योजनाहरू तयार गर्छौं । साथै विद्यार्थीलाई थप हामी ठुलठुला कर्पोरेट हाउस उद्यमी व्यवसायीहरूसँग विजनेस टक शो, अन्तरक्रिया, इन्करेजमेन्ट र उत्प्रेरणा कार्यक्रम, फाइनान्सल लिटरेसी अभिवृद्धि कार्यक्रम, ठुलठुला बैंक र कर्पोरेट म्यानेजरहरूसँग हामी अन्तरक्रिया गरेर यो वर्षभरि यस यस किसिमका उद्यमशीलता विकास गर्ने,  रोजगारी विकास गर्नका लागि विद्यार्थीहरूलाई यो किसिमका तालिम सुझाव दिदै जाने भन्ने हाम्रो योजनामा समाविष्ट भएको छ ।
◊ सहायक क्याम्पस प्रमुखको भुमिकामा कार्यरत रहँदा व्यवस्थापन पक्ष, शिक्षक, विद्यार्थी, कर्मचारी एवं अभिभावकसँग कसरी समन्वय गरिरहनु भएको छ ? 
हाम्रो संस्थाका अभिन्न अंग भनेको बोर्ड अफ डिरेक्टर हाम्रा लगानीकर्ताहरू, दोस्रो हाम्रो कर्मचारीहरू, हाम्रा शिक्षक साथीहरू, कर्मचारीहरू, अनि सबैभन्दा महत्वपूर्ण अंग भनेका हाम्रा विद्यार्थीहरू हुन् । अनि विद्यार्थीहरूलाई यही संस्थामा पढाउनुपर्छ भनेर उत्प्रेरित गर्दै यहाँ पठाउनु हुने अभिभावकहरू हुनुहुन्छ । यसकारण विद्यार्थीको सिकाईलाई प्रमुख केन्द्रमा राखेर उहाँहरूसँग हाम्रा क्रियाकलाप कसरी सञ्चालन भइरहेकको छ । त्यो क्रियाकलापले विद्यार्थीहरूको नतिजामुखी आएको छ कि छैन । हाम्रो शैक्षिक, अतिरिक्त गतिविधिहरूले हाम्रा विद्यार्थीहरू विश्वका हरेक बजारमा गएर त्यस ठाउँमा बिकाउ भएका छन् कि छैनन्, त्यो हामीले बुझिरहेका हुन्छौं । हामीले सेमिनार, बैठक गरेर नियमित रुपमा सल्लाह, सुझाव लिइराखेका हुन्छौं । उहाँहरूको सल्लाह सुझाव ग्रहण गरि आफूलाई परिमार्जित गरि अगाडि बढिरहेका हुन्छौं । हाम्रा अभिभावक, हाम्रा मान्यजनहरू, हाम्रा प्राध्यापक संघ, प्राध्यापक, उद्यमीहरू र विद्यार्थी भाइबहिनीहरूको सल्लाह सुझाव निरन्तर लिइरहेका हुन्छौं । सबै पक्षहरूसँग समन्वय एकदम सकारात्मक रुपले अगाडि बढिरहेको छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ? 
समाजमा शिक्षाको विकासका लागि सञ्चारगृह एवं मिडियाको एकदमै महत्वपूर्ण भूमिका रहन्छ । यो राज्यको चौथो अंगले विद्यार्थी, अभिभावक एवं सरोकारवालाहरूलाई झक्झक्याउन आवश्यक छ । साथै उत्कृष्ट अभिभावक, यसप्रति चासो राख्ने व्यक्तिहरू, सरोकारवालाहरु लगायतका पक्षहरुलाई निरन्तर सजग, सचेत र उत्प्रेरित गराइरहनु पर्दछ भन्ने लाग्दछ । धन्यवाद ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.