बनेपा महोत्सव २०८१, असोज ९ गतेदेखि २४ गतेसम्म १६ दिन चल्ने

बनेपा । बनेपा ब्वाईज क्लब (बिबिसी) को आयोजनामा बनेपा महोत्सव २०८१ आयोजना हुने भएको छ । मेला बनेपा नगरपालिका वडा नं. ७ स्थित उग्रेश्वर मन्दिर परिसर र अगाडि रहेको खाली जग्गामा हुने बताइएको छ । बुधबार महोत्सवको गरिमालाई उजागर गर्न र मेलाको औचित्य बारे प्रष्ट पार्न जिल्लामा क्रियाशील संचारकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दिपावाली २०८१ को पावन अवसरमा मेला आयोजना गर्न लागिएको बनेपा ब्वाइज क्लब(बिबिसी) का अध्यक्ष महेश कुमार कर्माचार्यले जानकारी दिनुभयो । “हाम्रो अभियान खेलको शान, सँस्कृति र समृद्धि बनेपाको पहिचान” भन्ने मूल नारा सहित २०८१ असोज ९ गते देखि २४ गतेसम्म (१६ दिन) “व्यापारिक, साँकृतिक, मनोरञ्जनात्मक खेल मेला ऐतिहासिक सहर बनेपामा हुन लागेको आयोजकले बताएको छ।

२०८१ आश्विन ९ गते देखि २४ गते सम्म १६ दिनसम्म चल्ने मेलामा बनेपा ब्वाईज क्लब (बि.बि.सी) बनेपाले काभ्रे जिल्लाको सुन्दर नगरी बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, साँस्कृतिक, औद्योगिक, हस्तकलालाई प्रबर्द्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु उद्योग र ब्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्धेश्य राखेको छ ।

मेलामा कृषि, घरेलु सामाग्री लगायत १ सय भन्दा बढी व्यापारिक स्टल रहनेछन् । यसका साथै बालबालिकाहरुको मनोरञ्जनको लागि बालउद्यानको समेत व्यवस्था गरिनेछ । प्रत्येक दिन राष्ट्रिय स्तरको कलाकार सम्मिलित साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनोरञ्जन प्रदान गरिनुका साथै जिल्ला भित्रका नव प्रतिभावान् कलाकारहरुलाई विशेष प्राथमिकता दिइनेछ । साथै उक्त महोत्सवमा महिला भलिबल, युथ फुटबल, खुल्ला नृत्य तथा गायन, मार्सलआर्ट र धिमे बाजा प्रतियोगिता समेत संचालन गरिने आयोजक संस्था बिबिसीले जनाएको छ ।

महोत्सवको समय तालिका अनुरुप असोज ९ गते बिभिन्न स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, बाजागाजा, मौलिक नाच सहित महोत्सवको समुद्घाटन समारोह गरिनेछ । महोत्सवको प्रमुख सल्लाहकारमा राम राज जोशी, मूल्य संयोजकमा पारस मणि कायस्थ, सह-मूख्य संयोजकमा यश कुमार रंजितकार, प्रेस तथा मिडिया संयोजक कौशल राज खड्का, संगीत संयोजक रबिनसन श्रेष्ठ रहेका छन् ।

मेलालाई सफल बनाउन सम्पूर्ण पत्रकारहरू, खेलप्रेमी, उद्योगपति, व्यवसायी, राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, संघसंस्थाहरुको अमूल्य सल्लाह, स‌ह्योगका लागि आह्वान गर्दै व्यापक सहभागिताको अपेक्षा गरेका आयोजकको छ ।

बि.सं २०६७ सालमा खेलकुद बिधाको सुन्दर र लोकप्रिय खेल फुटबल र अन्य विधाका खेलमार्फत काभ्रे जिल्ला अनि सुन्दर नगरी बनेपालाई देशविदेश सम्म प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले बनेपा ब्वाईज क्लब (बि.बि.सी) को स्थापना गरिएको बताइएको छ ।

बिबिसी क्लबले खेलको माध्यमबाट युवाहरूलाई कुलतबाट बचाउँदै स्वस्थ जीवन जिउन सिकाउनुका साथै सामाजिक क्रियाकलापहरूमा स्थानीय संघसंस्थाहरूसँग सहकार्य गर्दै नेतृत्वदायी भूमिका निर्वाह गरी आएको जनाएको छ । यस क्लबले स्थापनाकालदेखि नै जिल्लामा छरिएर रहेका प्रतिभावान खेलाडीहरूलाई निरन्तर रूपमा दक्ष प्रशिक्षकहरूबाट प्रशिक्षण समेत गराइरहेको छ ।

क्लबबाट उत्पादित तथा प्रशिक्षित खेलाडीहरुले जिल्लामा सञ्चालन भएका प्रतियोगिताहरूमा उत्कृष्ट स्थान हासिल गर्नुका साथै राष्ट्रिय टिमको विभिन्न उमेर समुह तथा व्यावसायिक रुपमा देशका प्रतिष्ठित क्लबमा आबद्ध भई जिल्लाको प्रतिनिधित्व गरिरहेको बिबिसी क्लबका सञ्चालक कर्माचार्यले जानाकारी दिनुभयो ।

क्लबले विभिन्न उमेर समूहका खेलाडीहरुलाई फुटबल लगायत विभिन्न विधाका खेलकूद प्रतियोगिताहरुमा सहभागिता गराउँदै आइरहेको छ । सामाजिक कार्य अन्तर्गत यस क्लबले २०७२ सालमा गएको विनाशकारी भूकम्पमा परी घरबारविहीन भएका पाँचखाल नगरका विभिन्न गाउँहरूमा पुगी पीडितहरूका लागि राष्ट्रिय कलाकारहरूसँग सहकार्य गर्दै जस्ताको टनेलहरू बनाउने कार्य गरेको, लत्ता कपडा तथा खाद्यान्न वितरण गरेको, भुकम्प पिडित काभ्रेली कलाकारहरूलाई राहत सामग्री वितरण गर्नुका साथै काभ्रे र सिन्धुपाल्चोक जिल्लाको भूकम्प पीडित बस्तीहरूमा पुगी राहत सामग्री, लत्ता कपडा तथा खाद्यान्न वितरण गरेको समेत जानकारी दिएको छ ।

इस्वी संवत् २०१९ मा विश्व नै स्तब्ध हुनेगरी फैलिएको कोरोना महामारीले हाम्रो देशलाई पनि आक्रान्त पारिरहेको बेला यस क्लबले फुड बैंक र मेडिकल बैंक स्थापना गरी बनेपाका १४ वटै वडाहरुमा खाद्यान्नका साथै आवश्यक स्वास्थ्य सामग्रीहरू पनि बाँडेको बनेपा ब्बाइज क्लबद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना महामारीका कारण लकडाउनमा परेर आफ्‌नो काम धन्दा गुमाएर एक छाक हातमुख जोड्न समेत नसकेका अति आवश्यक व्यक्तिहरूका लागि “रोगले भन्दा अघि भोकले नमरुन” भन्ने मूल नाराका साथ बनेपा नगरपालिका सँगैको बसपार्कमा नगरपालिकासँग सहकार्य र दाताहरुको सहयोगमा लगातार ४४ दिनसम्म दैनिक १२५ देखि २०० जना सम्मलाई खाना खुवाउने कार्य गरेको क्लबले दाबी गरेको छ ।  त्यस अलावा कोरोनाबाट बच्न बचाउनका लागि सन्देशमुलक भिडियोहरू बनाएर सामाजिक सञ्जाल मार्फत जनमानसलाई सजग गराउने र कोरोना महामारीमा नेपाली जनताले भोग्नुपरेको समस्याको यथार्थ चित्रण गर्ने वृत्तचित्र “सकस” निर्माण गरेको । समय-समयमा रक्तदान कार्यक्रम आयोजना गर्ने, विश्व संगीत दिवस मनाउने, महिला हिंसा विरुद्ध आवाज बुलन्द पार्ने, खेलकुदमा महिलाहरूलाई प्रोत्साहन गर्न राष्ट्रिय खेल महिला भलिबल प्रतियोगिता सञ्चालन गर्ने, कला संस्कृतिको जगेर्ना गर्न परम्परागत बाजाहरुको प्रतियोगिता आयोजना गर्दै आएको बनेपा ब्वाइज क्लबका अध्यक्ष महेश कुमार कर्माचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.