पाँचखालमा मृत भेटिएका विनोद खड्गीको हत्यामा संलग्न ५ सार्वजनिक

धुलिखेल । पाँचखाल नगरपालिका वडा नम्बर ८ को ४९ किलोमा मृत अवस्थामा भेटिएका विनोद खड्गीको हत्यामा संलग्न ५ जनालाई काभ्रे प्रहरीले सार्वजनिक गरेको छ ।

“अपहरण, फिरौती रकम असुल गरी कर्तव्य गरी मारेको” भन्दै उनीहरूलाई पक्राउ गरि सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक प्रमुख वसुन्धरा खड्काले जानकारी दिनुभयो । ‘अपरेसन सोरेन्टो’ नाम दिएर घटनाको अनुसन्धान थालिएको थियो ।

अपराधको शिकार हुन पुगेका व्यक्तिको शव २०८१ असोज ६ गते पाँचखाल नगरपालिका वडा नम्बर ८ स्थित ४९ किलोमा वेवारिसे अवस्थामा फेला परेको थियो । मृत अवस्थामा रहेको पुरुषको शवलाई सामाजिक सञ्जाल लगायतका प्रविधि अपनाई पहिचान गर्ने क्रममा निजको छोरा विशाल खड्गीले सनाखत गरि जाहेरी दरखास्त समेत दिएका थिए ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. वडा नं.९ बस्ने २१ वर्षिय मनिषा महत, काठमाण्डौ जिल्ला शंकरापुर नगरपालिका वडा नं. ५ बस्ने २२ वर्षको सरिन घिमिरे, महोत्तरी जिल्ला गौशला नगरपालिका वडा नं. ६ घर भई हाल भक्तपुर कौशलटार बस्ने २० वर्षको आशिष पासवान, ४. काठमाण्डौ जिल्ला शंखरापुर नगरपालिका वडा नं. ५ बस्ने २१ वर्षिय रिकेश पौडेल, ५. बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नं. ७ घर भई हाल काठमाण्डौं जिल्ला कोटेश्वर महादेवस्थान बस्ने १९ वर्षको प्रतिक गौतम रहेका छन् ।

घटना घटाउने मनिषा महत लगायतका हत्यामा संलग्नहरूले मृतक विनोद खड्‌गीलाई अपहरण गरी फिरौती रकम ५ लाख रुपैयाँ लिएका थिए । फिरौती रकम लिई हात, खुट्टामा डोरिले बाँधी क्रुरता पूर्वक संवेदनशील अङ्ग लगायत शरीरको विभिन्न भागमा कुटपिट गर्दा खड्गीको मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ । घटनामा संलग्न ५ जनालाई २०८१ असोज ८ गते पक्राउ गरेर काभ्रेपलाञ्चोक जिल्ला अदातलबाट पटक पटक गरी दिन-१७ को म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिनुभयो ।

प्रहरी अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरु:

करिव ३ महिना अगाडी मनिषा, भारतीय भन्ने बुझिएका अन्सु र शिवम भारतको ग्रेटर नोईडा भन्ने ठाउँमा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरी फिरौती रकम १ लाख ५० हजार लिई नेपाल फर्किने क्रममा नेपालमा पनि मनिषा मार्फत यसरी नै कुनै धनि व्यक्तिलाई यौन कुण्ठामा पारी पैसा/रकम लुट्ने योजना बनाएका थिए । २०८१ साल असोज ४ गते साँझको अं. ०५:०० वजे मनिषा महतको भक्तपुर स्थित राधेराधेमा रहेको डेरा कोठा (फ्ल्याट) मा मनिषा, अन्सु, शिवम, सरिन र रिकेश मिली भोली एक जना पैसावाला गाडी भएको व्यवसायी आउँछ सुरुमा रक्सी खुवाउने, तत्पश्चात खाना खाई सके पछि कुटपिट गरी हातखुट्टा बाँधेर डर त्रास देखाई फिरौती रकम माग्ने योजना बनाएका थिए ।

२०८१ असोजको ५ गते अन्सु खानले बानेश्वरमा प्रतिक गौतमलाई भेटी योजना बताई दुवै जना अन्सु खानको घरमा आउँछन । अन्सु खानले आशिष पासवानको फलफुल पसलमा समेतमा गई योजना बताई त्यहाँबाट चार जना मनिषाको डेरा जाने हिमालय गेटमा भेला हुने योजना बनाउँछन । असोज ५ गते अं. १०:०० वजे मनिषाले मेरो नागरिकताको प्रतिलिपी बनाउन जान सहयोग गर्नु पर्यो भनि फोन गरी जिल्ला काठमाण्डौ किर्तिपुर नगरपालिका वडा नं.५ बस्ने शान्ति खड्‌गीको श्रीमान वर्ष ५० को बिनोद खड्गीलाई खाना खान बोलाएको हुँदा मृतक विनोद खड्गी अन्दाजी ११:३० वजे KIA SORENTO गाडीमा चढी मनिषाको डेरामा आएका थिए ।

शिवम र मनिषा खाना पकाउँदै गर्दा विनोद अण्डा र रक्सी बैठक रुममा बसी खादै खाना तयार भए पश्चात खाना छिटो खाएर शिवम हिमालय गेट तर्फ गएको, विनोदले खाना खाईरहेको समयमा मनिषा खुर्सानी किन्ने बाहानामा बाहीर गई अन्सुलाई फोन गरी सबै तयार छ अवको ५ मिनेटमा हिमालय गेटबाट हिँड्नु भन्छिन । त्यस पछि हिमालय गेटमा जम्मा भएका अन्सु, शिवम, सरिन, रिकेश, प्रतिक र आशिष मध्ये प्रतिक र शिवम स्कुटरमा गएका जाने क्रममा सबै जना मिली ढोका खोल्ने वित्तिकै झ्याम झुम हानी हाल्ने सल्लाह गरी आएपछी सबैजनाले लातीले संवेदनशील अंग लगायत शरीरको विभिन्न भागमा प्रहार गरी सक्त घाईते बनाएका थिए ।

त्यस पश्चात सबै जना मिली फिरौती रकमको बार्गेनिङ सुरु गरे । सुरुमा सबैले ३० लाख माग्ने कुरामा सहमति भएको थियो । मनिषाले ३० लाख बढी भयो १० लाख सम्म मागौ भनेर माग गर्छिन । विनोदले म सँग तेती पैसा छैन ५ लाख सम्म हुन्छ भने म दिन तयार छु भने पछि विनोदले आफ्नै मोबाईलबाट फोन गर्न खोज्छ । त्यही समयमा मोबाईल ह्याङ भएको कारणले गर्दा अन्सुको फोनमा विनोदको सिम हाली विनोदको बधशालामा काम गर्ने कर्मचारी प्रदिप थापा मगरलाई फोन गर्छन् । फोन संवादमा उनले मलाई तुरुन्त ५ लाख रुपैंया चाहियो एक जना मानिस भक्तपुर स्थित राधेराधे भाटभटिनी अगाडी R15 मोटरसाईकलमा आउँछ उसैलाई सो रकम दिनु भनेर अह्राउँछन् ।

अन्दाजी साँझको ०५:१० वजे पैसा लिन जाने व्यक्ति आशिषले उक्त पैसा लिएर आएको स्थानमा पुग्ने वित्तिकै विनोदले पठाएको मानिस म नै हुँ भने पश्चात प्रदिप थापा मगरले विनोदलाई फोन गरी सुनिश्चित गरी सो रकम निज आशिष पासवानको साथमा दिएर पठाउँछन् । करिब १५/२० मिनेटमा आशिष पैसा लिई मनिषाको कोठामा आई अन्सुलाई पैसा दिएका थिए ।

त्यसपछि मनिषा, अन्सु, शिवम, आशिष र प्रतिक मिलेर यसले हामीलाई भोलीको दिनमा छोड्‌दैन यसलाई मारेर फालिदिम भनेर योजना बनाउँछन् । योजना बमोजिम आशिषले गाडी चलाउने, अन्सु र शिवमले गाडीको विचमा विनोदलाई राख्ने, मनिषाले गेट खोल्ने गाडीको ढोका खोल्ने घर वरिपरी रेक्की गर्ने र प्रतिकले गाडीको अगाडी स्कुटरबाट स्कटीङ गर्दै जाने भनि सल्लाह गर्छन् ।  योजना बमोजिम राती अन्दाजी १०:०० बजे मनिषाको कोठाबाट भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं.७ स्थित पुर्व पश्चिम सुर्यविनायक गणेश मन्दिर हुँदै गुन्डु तर्फ जाने पक्की सडक खण्डमा लगि गाडी रोकी ढु‌ङ्गाले छातीमा हानी हत्या गरेको र साँगा धुलिखेल हुँदै पाँचखाल स्थित ४९ किलो स्थित अरनिको राजमार्गबाट ८ मिटर तल झाडीमा मृतक लाशलाई फाली सोही गाडी चढी भक्तपुर जिल्ला पुरानो ठिमी भित्री सडक खण्डमा गाडी पार्किङ गरी आ-आफ्नो घर तर्फ लागेका थिए ।

उनीहरूले फीरौति लिएको रकम २०८१ साल असोज ६ गते विभिन्न स्थानमा भेटि अन्सुले मनिषालाई १ लाख, प्रतिकलाई १० हजार आशिषलाई २० हजार र अन्सुले आफ्नो दिदी रोश्नी महत समेतलाई ५० हजार गरी जम्मा १ लाख ८० हजार दिएको देखिन्छ।

सोही दिनमा सबैलाई घटनाको सम्बन्धमा प्रहरीलाई थाहा भयो भने मनिषाको कोठामा तास खेल्ने क्रममा विनोदले पैसा हारेको कारण विवाद गरेपछि सामान्य कुटपिट झै-झगडा भएपछि निज निस्की गएको हो । हामीलाई अरु कुरा केही थाहा छैन भन्नु भनी सहमति गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.