काभ्रेपलाञ्चोकमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सुरु

बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सुरु गरिएको छ । सुरक्षित यात्रा गरौं, ट्राफिक नियमको पालना गरौं भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले दशैं, तिहार, छठ लगायतका चाडपर्व लक्षित यात्रु सहायता कक्ष सुरु गरेको हो ।

शुभारम्भ कार्यक्रममा बोल्दै बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले हतारमा दुर्घटना हुने भएकाले हतार नगरिकन सवारी चलाउन आग्रह गर्नुभयो । सकेसम्म आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न र अरूलाई परेको अप्ठ्यारोको फाइदा नउठाउन मेयर शाक्यको आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक वसुन्धरा खड्काले चाडवाडको बेलामा छिटो पुर्याउने, छिटो कुद्ने, छिटो मान्छेहरू टिप्ने होडबाजी हुने कारणले धेरै दुर्घटनाको सिकार हुने तथ्य बताउनु भयो । सुरक्षालाई मुख्य केन्द्रमा राखेर सवारी हाक्न सवारी चालकहरूलाई प्रमुख खड्काले निर्देश गर्नुभयो । यससँगै यात्रुहरूलाई धेरै भाडा असुल्ने, यात्रुहरू सबै धनी छन् भनेर केही सवारीहरूले तोकिएको भन्दा बढी भाडा लिने कारणले सम्पूर्ण सवारी धनी, चालक र सहचालकहरूलाई गाल पर्ने गरेको बताउनुभयो। विपदको चाडमा सबैको आआफ्नो पीडा भएकाले यसको फाइदा उठाउन नहुने उहाँले बताउनुभयो ।

विपदको समयमा आएको चाडवाडको वाध्यतालाई बाहाना बनाएर त्यसको मौका छोपी बढी भाडा नलिन आग्रह गर्नुभयो । बढी शुल्क असुलेर असहयोग गर्ने, एउटा गन्तव्यमा पुग्नुपर्नेलाई अर्को गन्तव्य पुर्याइदिने लगायतका अमानवीय कार्य नगर्न आग्रह गरिएको छ । प्रमुख खड्काले लागु पदार्थ र मादक पदार्थ सेवन गरेर सवारी नहाक्न निर्देशन दिनुभयो ।

चाडपर्वको समयमा हुने सक्ने सम्भावित दुर्घटना, यात्रुलाई पर्न सक्ने हैरानी र सुरक्षित यात्रा गर्न सहज बनाउन प्रहरीले यात्रु सहायता कक्षको स्थापना गरेको हो । यात्रु सहायता कक्ष जिल्लाको ६ स्थानमा स्थानपना गरिएको  जिल्ला ट्राफिक कार्यालय बनेपाका कार्यालय प्रमुख प्रहरी निरिक्षक विकास कुमार तामाङले जानकारी दिनुभयो । प्रमुख तामाङका अनुसार यात्रु सहायता कक्ष जिल्लाका विभिन्न ६ स्थानमा स्थापना गरिएको छ । साँगा, बनेपा, धुलिखेल भकुण्डे चोक, धुलिखेल बसपार्क, काभ्रेभञ्ज्याङ्ग, पाँचखालमा कक्ष स्थापना गरि यात्रुहरूलाई सहायता प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा काभ्रे पुण्यवती यातायात प्रालिका अध्यक्ष राजेश सुन्दर सैजु, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी ज्ञानेन्द्र खड्का, प्रहरीहरू, ट्राफिक प्रहरीहरू, सञ्चारकर्मी लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.