धार्मिक महत्व बोकेको ताराकुण्ड, रोशीको चुचुरोमा अनौठो पोखरी
रोशी । यस्तो ठाउँ जहाँ आकाशबाट ताराको टुक्रा खस्यो, पानीको उत्पत्ति भयो पोखरी बन्यो अनि रहन गयो नाम तारा खसे पोखरी । अर्थात ताराकुण्ड । वरिपरि घना जङ्गल छ, वर्षौ पुराना रुखहरू बिचमा पाइला स्वरुपमा सजिएको छ पोखरी । पानीको स्वरुप हेर्दा कालो तर स्वच्छ पानीले पोखरीको सुन्दरता र आयामलाई बचाई रहेको छ । अनौठो त यो छ कि वरिपरि रुखबाट झरेको पात पोखरीमा तैरिएर रहदैन । बाटोमा हिँड्ने बटुवा, गोठाला र घाँस दाउरा जानेहरु यही पोखरीको पानी पिई आफ्नो प्यास मेटाउँछन् ।
महाभारत पर्वत श्रृङखलाको चुचुरोमा सदावहार किसिमले पानी पोखरी रहनु अनि बाह्रै महिना नसुक्नुले धार्मिक शक्ति रहेको स्थानीय बुद्धिजीवीको तर्क छ । यस लेकमा लौठसल्ला, अलो, सिस्नु लगायतका धेरै प्रकारका जडिबुटीहरू पाईन्छन्, जसलाई विभिन्न रोगको उपचारमा प्रयोग गर्न सकिन्छ । काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलदेखि झण्डै ४०-५० किलोमिटरको हाराहारीमा पुग्न सकिन्छ । छोटो दुरीमा नै रहेको तर सडकको दुरावस्थाको कारण यात्रा केही लम्बिने भएतापनि मनोरञ्जक र यादगार हुनेमा दुईमत छैन ।
काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नम्बर ३ शिखर आम्बोटे स्थित निगालेको चुचुरोमा अवस्थित यस ताराकुण्डले पर्यटकीय, धार्मिक र पौराणिक महत्व बोकेको छ । ताराकुण्ड जहाँ वर्षेनी जनैपूर्णिमाको दिनमा मेला लाग्ने गर्दछ । जहाँ रोशी गाउँपालिकासँगै छिमेकी नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका तेमाल लगायतका स्थानबाट पर्यटकहरू मेला भर्न, दर्शन गर्न र अन्नबाली चढाउन आउने गरेका छन् ।
यसैबिच धार्मिक एवं पर्यटकीय महत्व बोकेको तारा कुण्ड (ताराखसे पोखरी) मा भौतिक संरचना निर्माण भएसँगै उद्घाटन गरिएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रिबन काटेर उद्घाटन गर्नुभएको हो । काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नम्बर ३ शिखर आम्बोटे स्थित निगालेको चुचुरोमा अवस्थित यस क्षेत्र मनोरम, आकर्षक हुनुको साथै पदयात्रा, बनभोजका लागि महत्वपूर्ण संगम स्थलको रुपमा विकास भइरहेको छ । यसको प्राकृतिक सुन्दरतामा मलजल गरि थप आकर्षक बनाउन मानव निर्मित संरचनाको समेत विकास गरिएको छ । महाभारत पर्वत श्रृङखला अन्तर्गतको यस क्षेत्र समुन्द्री सतहबाट २ हजार ५ सय ५० मिटरको उचाईमा रहेको छ । जहाँ हरेक वर्ष जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गरेको छ ।
अघिल्लो वर्ष जनैपूर्णिमा यही मेलाको अवसरमा त्यस क्षेत्रको संरक्षण, सम्बर्धन गर्न र दर्शनार्थी पर्यटक भित्र्याउन लेआउट तयार गरि भौतिक संरचना निर्माण गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । प्राविधिक रुपमा डिजाइन गरेपश्चात संघ सरकारको विशेष अनुदानमा ताराखसे, हात्ती आहाल पर्यटन क्षेत्र प्रवर्धन र संरक्षण भनेर १ करोड बिनियोजित भएको थियो । बिनियोजित बजेट पालिकाको व्यवस्थापनमा ३ वटा आश्रयस्थल, खानेपानीको धारा, शौचालय, पोखरी वरपरी रेलिङ बार लगायतका संरचना निर्माण गरिएको हो । यस क्षेत्रमा थप संरचनासँगै १२ महिना नै सुचारू हुने सडकको स्तरोन्नति गरिने गाउँपालिका अध्यक्ष लामाले बाचा गर्नुभएको छ ।
यस क्षेत्रसम्म आउने सडक पूर्वाधार कम्तीमा ग्रावेल गर्ने जनप्रतिनिधिहरूको साझा प्रतिबद्धता छ । यस रमणीय स्थल मेला लाग्ने समयमा मात्र नभइ त्यसबाहेकको समयमा पनि आएर अवलोकन, भ्रमण गर्न आह्वान गरिएको छ ।
रोशीको दृष्टि: पर्यटन र कृषि भन्ने नारा बोकेर अगाडि बढिरहेको रोशी गाउँपालिका पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको गाउँपालिका भएको गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईबा (ज्वाला)ले बताउनुभयो । यहाँ फुलचोकीबाट तारा खसेपोखरी हुँदै सिन्धुली र काभ्रेको दोसाध घ्याङलेखको सातदोबाटोसम्म डिपिआर तयार भएको उपाध्यक्ष वाईबाले जानकारी दिनुभयो । जुन पदमार्ग हुँदै सिन्धुली गढी सम्म पुग्न सकिन्छ ।
यस क्षेत्रमा बौद्ध धर्म र हिन्दु धर्मका अनुसार विभिन्न किंबदन्ती रहदै आएको छ । हिन्दु धर्मावलम्बीका अनुसार सीता बिरामी हुदाँ रामले हनुमानलाई जडिबुटी खोज्न जङ्गल पठाएका हनुमानले जडिबुटी पत्ता लगाउन नसकेर पहाडको एक भाग उचालेर ल्याएको र त्यस भागमा सीतालाई निको पार्ने औषधी फेला परेको समेत बताइन्छ । किनकि ताराखसे लेकमा हजारौ प्रकारका जडिबुटी उपलब्ध हुने किंवदन्ती रहेको छ । बौद्ध धर्मावलम्बीले गुरु रिन्पोछे पद्मसम्भव ज्ञानको सुरुवात हलेसी मन्दिरमा भएर भएको रहेछ । त्यसपश्चता हात्ती आहाल, ताराखसे पोखरी (तारा कुण्ड), नगरकोट (महादेव पोखरी) र गोसाइकुण्डमा गएर पाइला टेक्नुभएको रहेछ । यस क्षेत्रलाई मोक्षद्वारीको नामले समेत चिनिन्छ ।
२०२०, २२ सालतिर डाँडापारिबाट दुईजिउको महिला आएर यस क्षेत्रमा सन्तान जन्माएकी र सन्तान जन्माए पश्चात त्यस कुण्डमा कपडा सफा गरेकोले २-३ वर्ष पानी सुकेको र गाउँलेहरूले क्षमा पुजा गरेपछि पुन: पानी भरिएर आएको किंवदन्ती रहेको रोशी गाउँपालिका वडा नम्बर ३ वडाध्यक्ष धनजित लामाले जानकारी दिनुभयो ।
महादेव भने पनि गुरु रिन्पोछे भनेपनि धार्मिक आस्था र परम्परासँग जोडिएको छ ताराखसे पोखरी । धर्ममा आस्था राख्नेहरू आफ्नो मनोकांक्षा पूरा गर्न वा वरदान माग्न आउने गर्दछन् । यहाँ अन्नपातको संरक्षण गर्नको लागि अन्न चढाइने गरिन्छ । त्यस स्थलमा चढाइसकेपछि मात्र मकै लगायतका अन्न बेच्ने र खाने गरिएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । मेलामा झाँक्रीहरु (महिला/पुरुष) ले भूमिको रक्षा एवम् अन्नबालीहरुको संरक्षणका लागि पुजा गरेका थिए । साथै बर्षभरी रोगी भईरहने, विरामी हुने, डराउनेहरुलाई सातो बोलाएर मन्छाउने काम गरेका थिए ।
तस्बिर स्रोत: जीवन तामाङ