धुलिखेलमा विपी कोइरालाको पूर्ण कदको प्रतिमा अनावरण

धुलिखेल । नेपालका २२ औं प्रधानमन्त्री एवं नेपाली कांग्रेस दलका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको प्रतिमा निर्माण भएसँगै अनावरण गरिएको छ ।

धुलिखेल नगरपालिका वडा नं. ६ जरणडाँडास्थित धुलिखेल अस्पताल चोकमा निर्माण गरिएको राजनीतिज्ञ वी.पी. कोइरालाको प्रतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अनावरण गरेका हुन् ।

विपीको पूर्ण कदको प्रतिमा निर्माणको निमित्त १५ लाख रुपैयाँको लागत लागेको महामानव वी.पी. कोइराला प्रतिमा निर्माण मूल समितिका संयोजक समेत रहेका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं धुलिखेल नगर पूर्व सभापति जितकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतिमाको २०७१ सालमा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेका थिए । १२ औं र १३ औं महाधिवेशनमा नगर सभापति निर्वाचित भएका श्रेष्ठको संयोजकत्वमा काम बढेपनि आर्थिक श्रोत जुट्न नसक्दा निर्माण सम्पन्न हुन सकेको थिएन ।
१४ औं महाधिवेशनबाट निर्वाचित नगर सभापति विदुर बहादुर बस्नेत नेतृत्वले पनि श्रेष्ठकै संयोकत्वमा समिति गठन गरेपछि कामले गति लिएको हो । जिल्ला सभापति तीर्थ लामा नेतृत्वको कार्यसमितिले श्रोत सुनिश्चित गरेर पहलकदमी लिएपछि निर्माण कार्यले गति पाएको थियो ।

अनावरण कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं वी.पी.कोइरालाका छोरा शसांक कोइराला, ने.का. केन्द्रीय सदस्यहरु मोहन बहादुर बस्नेत, शिवप्रसाद हुमागाई, उमेश श्रेष्ठ, मधु आचार्य, गणेश लामा, जिल्ला सभापति तीर्थ लामा, काभ्रेपलाञ्चोक जिल्लामा क्रियाशील सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

विपी कोइराला समकालीन राजनीतिज्ञ, नेपाली र हिन्दी भाषाका उच्च कोटिका साहित्यकार समेत थिए । कोइराला नेपाली साहित्यमा मनोविज्ञान विशेष गरि यौन मनोविज्ञान भित्र्याउने साहित्यकार समेत हुन् । भारतमा व्रिटिश उपनिवेश हटाउन भूमिका खेलेका र त्यहीबाट राजनीतिक यात्रा शुभारम्भ गरेका कोइरालाको राजनीतिक चिन्तन आजपनि सान्दर्भिक, मननीय र प्रभावकारी छन् । उनलाई नेपाली कांग्रेस दल र यसका अनुयायीले मात्र नभई नेपाली जनताले उच्च राजनीतिक चिन्तकको रुपमा लिने गरेका छन् ।

यसरी नेपाल र नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा  कोइरालाको निधन २०३९ साउन ६ गते भएको थियो। नेपाली राजनीतिक परिवर्तनको लागि विशेष योगदान दिने एक योद्धा विपीको नाममा विभिन्न संघ, संस्थाहरू स्थापना भइ सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.