सोनाम ल्होछारको अवसरमा बनेपामा भव्य महोत्सव हुने
२०८१ माघ १० गते २०:१०

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिर परिसरमा प्रथम ऐतिहासिक सोनाम ल्होछार मेला तथा महोत्सव २०८१ आयोजना हुने भएको छ ।
तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व, नयाँ वर्ष, मञ्जुश्री संवत २८६१ डुल ल्हो (सा पुख्री) सर्प वर्ग सोनाम ल्होछारको अवसरमा आयोजना हुने मेला उग्रेश्वर मन्दिरको खाली जग्गामा हुने आयोजक औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। महिला, वृद्धवृद्धा, बालबालिका र विद्यार्थीहरूलाई महोत्सव स्थल प्रवेशमा निःशुल्क वा विशेष छुट दिइने जनाइएको छ । जिल्लाको केन्द्र एवं व्यापारिक क्षेत्रमा महोत्सव हुँदा सबैलाई समेट्न सहज हुने अपेक्षा लिइएको छ ।
मेलामा लघु उद्यम प्रर्दशनी, अटो प्रर्दशनी, कृषि प्रर्दशनी, गार्मेन्टका उत्पादन, जुत्ता चप्पल, वैकल्पिक उर्जा, पर्यटन प्रवर्द्धन, गुणस्तरिय दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री तथा औजार, सूचना प्रविधि तथा विद्युतिय सामाग्री, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवाहरु, साँस्कृतिक कार्यक्रम, हाँस्यव्यङ्ग, स्थानीय पहिचान झल्काउने झाँकी तथा जातिविशेषको नाच, पर्यटन क्षेत्रको विस्तृत जानकारी, स्थानीय खानाका विशेष परिकारहरु, वाल उद्यानहरु यस मेलाका मुख्य आकर्षण रहने छन् । यस मेलामा विशेष गरि तामाङ समुदायका रहनसहन, भेषभुषा र खानाका परिकार तथा नृत्य प्रस्तुत हुने जनाइएको छ ।
७ दिनसम्म चल्ने महोत्सव माघ १६ गते सुरु भएर माघ २२ गतेसम्म सञ्चालन हुनेछ। तामाङ जातिको बाक्लो बसोबास रहेको काभ्रेपलाञ्चोक जिल्लामा सांस्कृतिक रूपमा संरक्षण गर्न, प्रचारप्रसार गर्न र सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने हेतुले महोत्सव गर्न लागिएको आयोजकले उल्लेख गरेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लास्थित प्रशासनिक इकाइ र सुरक्षा निकायसँगको सहकार्यमा महोत्सव आयोजना गरिनेछ । बनेपा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बनेपालगायत सम्बन्धित निकायसँगको सहकार्य, समन्वय र अनुमतिमा महोत्सव भव्य एवं सभ्य रुपमा सम्पन्न गर्ने आयोजकको तयारी रहेको छ ।
कृषि क्षेत्रको प्रवर्द्धन तथा आधुनिक कृषि तर्फ किसानहरुलाई प्रोत्साहित गराई स्थानिय स्तरमा तथा स्वदेशमै उत्पादित वस्तु र सेवाको विकास तथा वजार विस्तार गर्न, सम्पूर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रचार-प्रसार तथा प्रवर्द्धन गर्न, घरेलु, साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका वस्तुको वजार प्रवर्द्धनमा टेवा पुर्याउने मेलाको ध्येय रहेको महोत्सव संयोजक क्षेत्रबहादुर वाईबाले बताए ।
ग्रामीण क्षेत्रमा उत्पादन हुने हस्तकलाका सामग्रीहरु, सीप मुलक तालिम र तालिमबाट उत्पादन वस्तुको प्रवर्द्धन गर्ने मेलाका मुख्य उद्देश्य रहेका छन् ।
‘प्रथम ऐतिहासिक सोनाम ल्होछार मेला तथा महोत्सव २०८१’ नाम दिइएको महोत्सवमा काभ्रे जिल्लाको डाँडापारि क्षेत्रमा उत्पादित कृषिजन्य सामग्रीहरूको प्रदर्शनी समेत गरिनेछ । ७ दिनसम्म सञ्चालन हुने मेलामा ६० भन्दा बढी स्टलहरु रहने छन् । मेला २ लाख अवलोकनकर्ताले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया
ताजा खबर