Author: Kavre Post

  • नेकपा एमाले बनेपा १० को अध्यक्षमा शुशिल थापा सर्वसम्मत

    नेकपा एमाले बनेपा १० को अध्यक्षमा शुशिल थापा सर्वसम्मत

    बनेपा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बनेपा नगरपालिका वडा नं.१० कमिटीको अध्यक्षमा शुशिल थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट थापाको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्विरोध चयन गरिएको हो । शनिबार बनेपा पुलबजारमा सम्पन्न दोस्रो वडा अधिवेशनबाट उपाध्यक्षमा अशोक विष्ट, सचिवमा जीवन भुजेल, उपसचिव प्रदिप राउत, उपसचिव महिलामा यशोदा खत्री निर्विरोध भएका हुन् । अधिवेशनबाट थापाको अध्यक्षतामा गठित २१ सदस्यीय कमिटीलाई पूर्णता दिइने वडा कमिटीले जनाएको छ ।

    कार्यक्रम नेकपा एमाले पोलिटव्युरो सदस्य गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य यादव थापा, अतिथिहरूमा कुमार थापा, रिता ढकाल, जिल्ला कमिटी उपसचिव रत्नकुश रञ्जितकार, बनेपा नगरकमिटी अध्यक्ष नवराज मानन्धर, एमाले नेता कार्यकर्ताहरु लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी सचिव जीवन भुजेलले गरेका थिए ।

  • डेडीथुम्का माविमा जेठ १५ गते पूर्वविद्यार्थी शिक्षा सम्मेलन २०८२ हुँदै

    डेडीथुम्का माविमा जेठ १५ गते पूर्वविद्यार्थी शिक्षा सम्मेलन २०८२ हुँदै

    बनेपा मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ स्थित श्री डेडीथुम्का माध्यमिक विद्यालयमा यही जेठ १५ गते पूर्व विद्यार्थी शिक्षा सम्मेलन हुने भएको छ । सम्मेलनको तयारीबारे बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। बनेपामा आयोजित कार्यक्रममा सम्मेलन आयोजक मूल समारोह समितिले पत्रकारहरूलाई सम्मेलनको उद्देश्य, स्वरूप र अपेक्षित उपलब्धिहरूबारे विस्तृत जानकारी दिएको हो।

    श्री डेडीथुम्का फाउण्डेसनको संयोजनमा आयोजना हुन लागेको सम्मेलनको उद्देश्य विद्यालयका पूर्वविद्यार्थीहरूलाई एकै थलोमा ल्याई शैक्षिक सुधारमा सक्रिय बनाउन र मण्डनदेउपुर नगरको समग्र विकासमा योगदान पुर्‍याउनु रहेको छ। विद्यालयले २०३८ सालदेखि एसएलसी परीक्षा सञ्चालन गर्दै आएको इतिहास बोकेको छ। यतिबेला यो विद्यालयका हजारौँ पूर्वविद्यार्थीहरू शिक्षा, स्वास्थ्य, संचार, राजनीति, समाजसेवा, उद्योगलगायत विविध क्षेत्रमा क्रियाशील छन्।

    सम्मेलनका मूल संयोजक कश्यपप्रसाद पौडेलका अनुसार यस विद्यालयबाट एसएलसी वा एसईई उत्तीर्ण करिब ४ हजार ५ सय विद्यार्थीलाई समेट्ने लक्ष्य राखिएको छ। सम्मेलनमा सहभागी हुन प्रि–रजिष्ट्रेशन अनिवार्य गरिएको छ । प्रत्येक सहभागीले रु ५०० शुल्क तिर्नुपर्नेछ। सम्मेलनमा २०८१ सालमा एसईई परीक्षा दिएका पूर्व विद्यार्थीहरू सहभागि हुन सक्ने जानकारी दिइएको छ ।

    पत्रकार सम्मेलनमा फाउण्डेसनका अध्यक्ष टोमप्रसाद सापकोटाले यस सम्मेलनमार्फत विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पूर्वविद्यार्थीहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्दै विद्यालय र नगरको शैक्षिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने प्रयास गरिने जानकारी दिनुभयो। उहाँले सम्मेलनमा बाल शिक्षा, विद्यालय शिक्षा, प्राविधिक तथा उच्च शिक्षा र जीवनपर्यन्त सिकाइसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिने पनि जानकारी गराउनुभयो।

    कार्यक्रममा पत्रकारहरूले उठाएका जिज्ञासाको जवाफ दिंदै फाउण्डेसनका प्रतिनिधि गोकूल गौतमले पूर्वविद्यार्थीहरूको अनुभव र क्षमतालाई सदुपयोग गर्न सबैलाई सम्मेलनमा सहभागी हुन आग्रह गर्नुभयो। नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेसहित विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको कार्यक्रममा महासंघ अध्यक्ष न्यौपानेले सम्मेलनलाई सबैको सहभागिता र सहकार्यमा विवादरहित ढंगले सम्पन्न गर्न सुझाव दिनुभयो । पत्रकार सम्मेलनको सञ्चालन प्रचार उपसमितिका संयोजक यदुनाथ गौतम देउपुरेले गर्नुभएको थियो।

    श्री डेडीथुम्का मावि क्षेत्रीय रूपमा मात्र होइन, राष्ट्रिय तहमा समेत जनशक्ति उत्पादन गर्ने शैक्षिक थलोको रूपमा परिचित छ । विगतमा स्थापना भएको एल्मुनाई संस्था निरन्तर सञ्चालनमा आउन नसके पनि २०७४ सालमा डेडीथुम्का फाउण्डेसन गठन भएपछि नियमित रूपमा पूर्वविद्यार्थी भेटघाट, शैक्षिक सामग्री वितरण, समाजसेवा र सांस्कृतिक जगेर्ना लगायतका गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।

    यसै सन्दर्भमा, विद्यालयको विकासमा योगदान पुर्‍याएका अग्रजहरूलाई सम्मान गर्ने, पूर्वविद्यार्थीहरूको क्षमताको पहिचान गरी नवीनतम कार्यक्रम सञ्चालन गर्ने, शैक्षिक सुधारका सन्दर्भमा नगरपालिकालाई सिफारिस गर्ने र यस्ता सम्मेलनहरूलाई निरन्तरता दिने लक्ष्यका साथ यसपटकको सम्मेलन आयोजना गर्न लागिएको आयोजकहरूले बताएका छन्।

    शिक्षा, अनुभव र सहकार्यको यो सम्मेलनले श्री डेडीथुम्का माविको गौरवशाली इतिहासलाई थप समृद्ध बनाउने विश्वास लिइएको छ।

  • धुलिखेलमा करेन्ट लागेर एक युवाको मृत्यु

    धुलिखेलमा करेन्ट लागेर एक युवाको मृत्यु

    धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ७, संजीवनी चोकस्थित ११ हजार भोल्ट क्षमताको हाइटेन्सन लाइनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार, आज बिहान करिब ११:३० बजेको समयमा सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान घर भएका २८ वर्षिय उपेस परियारलाई करेन्ट लागेको हो। उनी पोलमा चढी विद्युत मर्मत कार्यमा खटिएका थिए।

    प्रहरीले घटनाको खबर पाउनासाथ प्रहरी निरीक्षक हरेराम नेपालको कमाण्डमा २५ जनाको टोली घटनास्थल पठाएको थियो। नेपालीको शव पोलमै झुण्डिएको अवस्थामा भेटिएको र तत्काल निकालेर पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    त्यसैगरी, घटनाको थप अनुसन्धान तथा प्रमाण संकलनका लागि प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरको नेतृत्वमा SOCO (Scene of Crime Officer) सहितको थप टोली खटिएको थियो। घटनास्थल जिल्ला प्रहरी कार्यालय काभ्रेदेखि करिब ३०० मिटर दक्षिणमा पर्ने बताइएको छ।

    काभ्रेमा यसअघि बनेपा नगरपालिका वडा नम्बर ४ मा मध्यराति विद्युत सर्ट हुँदा ठुलो क्षति र आर्थिक नोक्सानी भएको थियो ।

  • प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकको सचिवालय गठन

    प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकको सचिवालय गठन

    बनेपा । प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाको नियमित बैठकले ६ सदस्यीय सचिवालय घोषणा गरेको छ । शाखा अध्यक्ष केदारनाथ तिमल्सिनाको संयोजकत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको हो ।

    सचिवालयमा उपाध्यक्ष सन्तोष चौलागाईं, सचिव विकास तिमल्सिना, कोषाध्यक्ष मणिराम दाहाल, सहसचिव रञ्जित बोहरा र सदस्य सिर्जना सापकोटा रहेका छन् । नयाँ कार्यसमितिको पाँचौ नियमित बैठकले प्रेस चौतारी बागमती प्रदेश कमिटी र केन्द्रिय कमिटीको निर्देशन अनुसार वर्ष २०८२ लाई प्रशिक्षण वर्षको रुपमा एकीकृत पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।

    बैठकले शाखा उपाध्यक्ष सन्तोष चौलागाईंलाई सूचना अधिकारीको जिम्मेवारी तोकेको छ । शाखाको काम कारबाही र प्रगतिको विवरण सार्वजनिक गर्न र आवश्यकता अनुसार सूचना प्रवाह गर्न सूचना अधिकारीको भूमिका अहम् हुने निष्कर्ष निकाल्दै सूचना अधिकारी तोकिएको शाखाले जनाएको छ ।

  • श्रमिकको न्युनतम पारिश्रमिक पुनरावलाेकन गर्न श्रमिक संगठनकाे माग

    श्रमिकको न्युनतम पारिश्रमिक पुनरावलाेकन गर्न श्रमिक संगठनकाे माग

    काठमाडौ । `नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन´ले श्रमिकहरुकाे न्यूनतम पारिश्रमिक आर्थिक वर्ष ०८२/८३ काे बजेटमा समेटन माग गरेकाे छ। आज काठमाडौकाे रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी ट्रेड यूनियनले सरकारकाे ध्यानाकर्षण गराएकाे हो ।

    नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष `प्रेम बहादुर कार्की´ले प्रेस विज्ञप्ति मार्फत यूनियनकाे धारणा सार्वजनिक गर्नु भएको हो । नेपालकाे संविधान २०७२ काे भाग ३ धारा ३३ मा राेजगारीकाे हक तथा श्रमिक हककाे सुनिश्चितता गरेकाे छ, तर सरकारले त्यसकाे पूर्णरूपमा कार्यान्वयन नगरेकाे आराेप छ।

    उक्त कार्यक्रममा अध्यक्ष कार्कीले वाचन गर्नु भएको विज्ञप्तिमा भनिएको छ,` सरकारले आगामी बजेटमा नेपाल सरकार मातहतका कर्मचारीकाे तलब वृद्धि गर्ने निर्णय गर्दा अन्य क्षेत्रमा श्रम गर्ने मजदुरकाे पारिश्रमिक वृद्धिमा बेवास्ता गरेकाे छ। आर्थिक वर्ष ०८२/८३ काे बजेट विनियोजन भइसकेपछि श्रमिकको पारिश्रमिक निर्धारण हुँदा सरकारी,अर्धसरकारी, निजी क्षेत्रलाई बजेटमा नसमेटेकाे अबस्थामा पछि लागू गर्न नसकिने जिकिर गरिएको छ। श्रम ऐन २०७४ काे दफा १०६ मा प्रत्यक दुई- दुई वर्षमा न्यूनतम ज्याला निर्धारण भई नयाँ आर्थिक वर्ष लागू हुने कानुनी व्यवस्था छ। तसर्थ बजेट विनियोजन भई राजपत्रमा प्रकाशित पारिश्रमिक कार्यान्वयन नहुँदा मजदुरहरु मर्कामा पर्ने गरेका छन् ।´

    “मजदुरहरुकाे न्युनतम पारिश्रमिक वृद्धि कार्यान्वयनकाे लागि बजेटमा व्यवस्था नगरेर सरकारी श्रमिक र आउटसाेर्सका श्रमिक तथा संस्थान, अर्धसरकारी र निजी क्षेत्रलाई सरकारले विभेद गरेकाे ट्रेड यूनियनकाे बुझाई छ। सरकारी स्तरका तल्लो पदमा कार्यरत कर्मचारीकाे तलब २६ हजार रहेकाे तथ्यांकले देखाएको छ। अन्य श्रमिकको हकमा श्रम मन्त्रीको नेतृत्वमा रहेको पारिश्रमिक निर्धारण समितिले आर्थिक वर्ष ०८०/८१ मा आधार भूत पारिश्रमिक १० हजार ८ सय २० र महंगी भत्ता ६ हजार ४ सय ८० सहित १७ हजार ३ सय ताेकेकाे थियो । त्यो पनि निजी र राज्यका अन्य निकायका राेजगारदाताले कार्यान्वयनमा आनाकानी गरिरहेकाे र श्रम शाेषणमा उद्दत रहेकाे,´´ जारी विज्ञप्तिमा बताइएको छ।

    सरकारलाई सचेत गराउने उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा मजदुरका वास्तविक भाेगाई समेत प्रष्ट पार्ने काम गरिएको छ। अध्यक्ष कार्कीले विज्ञप्ति मार्फत थप बताउनु भएकाे छ ,`सरकारकाे नियामक निकायबाट उचित अनुगमन र कार्बाही प्रकृया अगाडी बढन नसकेको र श्रमिकलाई कानुनी र सामाजिक न्यायकाे लागि ` मर या गर´ काे अबस्थामा पुर्याएकाे छ। साथै थुप्रै श्रमिकहरु राेजगारीकाे निम्ति विदेश पलायन हुनु पर्ने बाध्यता सिर्जना भएको छ। आर्थिक वर्ष ०८२/०८३ काे नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा अनिवार्य भनिएता पनि धेरै कार्यालयले साे काेषमा आबद्ध हुन श्रमिकलाई राेक लगाएको तिताे यथार्थ जगजाहेर रहेको उल्लेख गरिएको छ।´´

    `सामाजिक सुरक्षा काेष´मा सरकारले आफ्नो कर्मचारीकाे माग कार्यान्वयन नगराए निजी क्षेत्रलाई सहयोग गर्ने विश्वास लिन नसकिने बताइएको छ। सत्र हजार ३ सयले जीवन निर्वाह गर्न नसकिने भएकोले मानवताकाे नाताले पारिश्रमिक पुनरावलाेकन गरि श्रमकाे सम्मान र राेजगारीकाे प्रत्याभूति गराउन माग गरिएको थियो । सरकार ,सरकारी कर्मचारी र उद्योगीकाे मात्रै नभई श्रमिक तथा मजदुरकाे पनि अभिभाबक रहेकाे यूनियनकाे ठम्याइ रहेको छ।

    श्रम मन्त्रीले सार्वजनिक रुपमा श्रमिकको न्युनतम पारिश्रमिक ३१ हजार हुनु पर्ने भनी बाेलिएकाे कुरा कार्यान्वयन गराउन आम श्रमिकहरुले माग गरेका छन् । श्रमिकहरुकाे माग र आबाजलाई बेवास्ता गरि सरकारले एकलौटी कदम चालेकाे खण्डमा मजदुरले सडक आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिकाे जवाफदेहीता सरकार स्वंयमले लिनु पर्ने विज्ञप्ति मार्फत अध्यक्ष कार्कीले सरकारलाई सचेत गराउनु भएको छ।

    एकीकृत ट्रेड यूनियन महासंघका अध्यक्ष विष्णु लम्सालकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुनिता थापा महासचिव दिपक पौडेल र सचिव दिनेश घिमिरे अतिथिको रुपमा रहनु भएको थियो ।

    कार्यक्रममा सुरक्षा र आउटसाेर्सका क्षेत्रमा काम गर्ने १ सय ५० भन्दा बढि श्रमिकहरुकाे उपस्थिति थियो । नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका महासचिव बेद प्रसाद हुमागाँईले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा पिडीत श्रमिकहरुकाे तर्फबाट कार्यस्थलमा भाेग्नु परेका समस्या , न्यून ज्याला र कामबाट निस्काशित हुनु परेकाे बारे पत्रकारहरुलाई जानकारी गराइएको थियो ।

  • ढलमले खोलाले बगाएकी महिलाको खोजीमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली खटियो

    ढलमले खोलाले बगाएकी महिलाको खोजीमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली खटियो

    पनौती । काभ्रेको पनौती नगरपालिका वडा नम्बर ५ सुब्बा गाउँ नजिकको ढलमले खोलाले वैशाख २९ गते साँझ बारीबाट घर फर्किंदै गरेकी ३३ वर्षीया रेणुका गिरीलाई बगाएपछि बेपत्ता भएकी थिइन्। घटना भएको दिनदेखि नै खोजी कार्य जारी रहेको छ।

    यसैक्रममा, आज २०८२ जेठ १ गते बिहान ८:२५ बजे काठमाण्डौस्थित केनाईन शाखाबाट प्रहरी नायव उपरीक्षक चेत नारायण ज्ञवालीको नेतृत्वमा ३० जनाको टोली घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी मिन बहादुर घलेले जानकारी दिनुभयो।

    खोज कार्यमा ५ वटा तालिम प्राप्त कुकुरहरू (३ वटा सर्च एन्ड रेस्क्यू र २ वटा ट्र्याकर डग) समेत प्रयोग गरिएको छ। उद्धार टोलीको प्रयास जारी रहेको छ।

     

  • विद्युत सर्ट भएर बनेपा नालामा आगलागी: १२ लाख क्षतिको अनुमान

    विद्युत सर्ट भएर बनेपा नालामा आगलागी: १२ लाख क्षतिको अनुमान

    बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ नालास्थित रामेश्वर दाहालको घरमा गए राति भएको आगलागीबाट अनुमानित १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राति करिब १:२० बजे बिजुलीको सर्ट सर्किटका कारण दाहालको इट्टाको भित्तो र जस्ताको छानो भएको दुई तल्ले कच्ची घरमा आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी र स्थानीयवासीको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। करिब २:३० बजे आगो पूर्णरूपमा निभाइएको जनाइएको छ।

    उक्त आगलागीमा घरभित्र रहेको अन्नपात, भाँडाकुडा, लत्ताकपडा र घर नै पूर्णरूपमा जलेर नष्ट भएका छन्। यद्यपि, मानवीय वा चौपाया क्षति भने नभएको काभ्रे प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार क्षतिको प्रारम्भिक अनुमान करिब १२ लाख रुपैयाँ बराबरको रहेको छ।

    बिजुली सर्ट सर्किटबाट भएको यो घटनाले स्थानीयहरूमा सचेतना र सावधानी आवश्यक भएको संकेत गरेको छ।

     

  • क्रोएसियामा भव्य रूपमा सम्पन्न भयो २५६९ औं बुद्ध जयन्ती

    जाग्रेब“बुद्धको मार्गमा हिँडौं, संसारमा शान्ति फैलाऔं” भन्ने मूल नाराका साथ क्रोएसियाको राजधानी जाग्रेबमा २५६९औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम तामाङ समाज क्रोएसियाको आयोजना तथा शेर्पा किदुग क्रोएसियातमु समाज क्रोएसियाको सह-आयोजनामा सम्पन्न भएको हो।

    एनआरएनए क्रोएसियाका अध्यक्ष सुर्य बहादुर थिङ (साइमन लामा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिहरूमा युवा व्यवसायी तथा तामाङ समाज क्रोएसियाका संरक्षक दावा लामा, शेर्पा किदुग क्रोएसियाका प्रमुख सल्लाहकार अञ्जली शेर्पा रहेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए क्रोएसियाका अध्यक्ष साइमन लामाले पहिले एसियाली देशहरूमा मनाइने बुद्ध जयन्ती पछिल्लो समय युरोपियन देशहरूमा फैलिरहेको बताए । सबैजना नेपालीहरूसँगै भएर कार्यक्रम मनाउन पाउँदा नेपालमै भएको महसुस भएको लामाले प्रस्ट्याए ।

    कार्यक्रममा शेर्पा किदुग क्रोएसिया अध्यक्ष निमा रेन्जिन शेर्पा, तमु समाज क्रोएसियाका अध्यक्ष सन्तोष गुरुङ, तामाङ समाज क्रोएसियाका वरिष्ठ उपाध्यक्ष बुद्ध लामा, तामाङ समाज क्रोएसियाका सल्लाहकार मिङमार लामा, जनप्रगतिशील क्रोएसियाको अध्यक्ष लोप्साङ लामा, नेपाली चर्चका राम कुमार थामी लगायतका व्यक्तित्वहरू उपस्थित थिए । कार्यक्रममा सबै अतिथिहरूले बुद्ध र बुद्धत्वको बारेमा बोल्दै बुद्धजयन्तीको शुभकामना व्यक्त गरेका थिए ।

    स्वागत मन्तव्य तामाङ समाज क्रोएसियाको तर्फबाट रितेश लामाले व्यक्त गरेका थिए । लामाले नेपालको अस्थिर राजनीतिक अवस्थाले गर्दा बुद्ध नेपालमा जन्मिएका हुन् भनेर समेत प्रचार गर्नुपर्ने बाध्यता रहेको बताएका थिए ।

    कार्यक्रम रिदम ग्राधा युलिका २, सेन्टर स्क्वायर, जाग्रेबस्थित सभाहलमा आयोजना गरिएको थियो । बिहान ११:४५ बजेबाट सुरु भएको कार्यक्रममा क्रोएसियामा विभिन्न पेशामा संलग्न नेपाली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    धार्मिक विधिअनुसार लामा गुरु कमल योञ्जनद्वारा मोलम पाठ गरि सुरु गरिएको कार्यक्रममा सहभागीहरूले वाङ (आशीर्वाद) पनि ग्रहण गरेका थिए । शान्ति, करुणा र सहिष्णुताको सन्देश बोकेको यस अवसरमा उपस्थित समुदायले बुद्धका शिक्षालाई आत्मसात् गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    कार्यक्रमका सभापति तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाश चन्द्र तामाङले सम्पूर्ण सहभागीहरूप्रति आभार व्यक्त गरेका थिए । यस्ता कार्यक्रमहरूले परदेशमा नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अध्यक्ष तामाङले बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ समाज क्रोएसियाका बरिष्ठ उपाध्यक्ष बुद्ध लामाले बुद्धत्वको बारेमा धारणा प्रस्तुत गरेका थिए । लामाले विश्वमा हिंसा बढिरहेको बेलामा बुद्धको मार्गदर्शनमा हिँड्न सकेमा विश्वभर शान्ति फैलिने अपेक्षा गरे ।

    औपचारिक रुपमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विशाल योञ्जन र दिपक तामाङले गरेका थिए ।

    नेपालमा जन्मिएर विश्वलाई शान्तिको मार्ग देखाउने महामावन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निर्वाण: संयोगवश एकै दिन अर्थात् वैशाख पूर्णिमामा घटेका कारण यो दिनलाई बुद्ध जयन्तीको रूपमा विशेष मनाइदै आएको छ । विश्वभर बौद्ध धर्मका अनुयायी झण्डै १ अर्ब रहेका छन् ।

     

  • क्रोएसियामा नेपाली चलचित्र ‘एन्जिला’ प्रदर्शनमा आउने

    क्रोएसियामा नेपाली चलचित्र ‘एन्जिला’ प्रदर्शनमा आउने

    जाग्रेब । नेपाली कथानक चलचित्र ‘एन्जिला’ क्रोएसियामा प्रदर्शन हुने भएको छ। क्रोएसियास्थित बुद्ध मार्टको प्रस्तुतिमा चलचित्र २०२५ जुन १ तारिख आइतबारका दिन जाग्रेबस्थित नेशनल युनिभर्सिटी सेसभेटमा प्रदर्शन गरिने तयारी भइरहेको हो ।

    चलचित्र बिहान ११:०० बजे, दिउँसो २:३० बजे र साँझ ५:३० बजे गरि तीनवटा शोमा प्रस्तुत हुनेछ । आयोजकका अनुसार टिकट दर प्रति व्यक्ति १० युरोमा चलचित्र हेर्न सकिने बताइएको छ ।

    बुद्ध मार्टको आयोजनामा प्रदर्शन हुन लागेको चलचित्र एन्जिलामा तिलक भट्ट, सुवास पोख्रेल, क्रिस्टिना शाही, शिला र प्रिन्स दिप्सनको सहकार्यबाट चलचित्र प्रदर्शन सम्भव भएको हो ।

    चलचित्रको टिकट बुद्ध मार्ट, एभरेष्ट मम, थोमस बार, योञ्जन ट्राभल्स, मार्केट बास्केट लगायतका स्थानहरूमा उपलब्ध हुनेछ । साथै, प्रदर्शनकै दिन नेशनल युनिभर्सिटी सेस्भेट परिसरमै पनि टिकट खरिद गर्न सकिने व्यवस्था आयोजकले मिलाएको छ । टिकट बुकिङका लागि उल्लेखित संस्थाहरूसँग अग्रिम सम्पर्क गर्न सकिनेछ।

    पोर्चुगलमा प्रदर्शन भइसकेको चलचित्र एन्जिलाले दर्शक श्रोताको मन जित्दै उत्कृष्ट व्यावसायिक सफलता समेत हात पारेको छ । यससँगै चलचित्रमा मुख्य कलाकार एन्जिला तुम्बापो सुब्बा स्वयं नै उपस्थित भएर दर्शकसँग खुसी साटेकी थिइन् ।

    टिमले यसअघि लाजशरणम् चलचित्रको सफल प्रदर्शन गरिसकेको छ । पछिल्लो समय क्रोएसियामा नेपाली चलचित्र प्रति दर्शकहरुको रुचि र माया ह्वात्तै बढेको छ । नेपाली कला र कलाकारको सम्मानस्वरुप चलचित्र हेर्ने र बिदाको समयको उत्कृष्ट व्यवस्थापन नेपाली प्रवासीहरूले गर्दै आएका छन् ।

    क्रोएसियामा रहेका नेपालीहरूलाई फुटबलर एन्जिला तुम्बाहाम्फेको खेल यात्रा र संघर्षलाई चलचित्रले प्रस्तुत गर्ने जमर्को गरिएको छ । नेपालको खेल परिवेशसँग जोड्ने र बिदाको समयलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा आयोजकको छ ।

    राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को दुर्गम जन्मथलोबाट व्यवसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा उनले गरेको संघर्षसम्मको कथा चलचित्रको ट्रेलरमा चित्रण गरिएको छ ।

    पारिवारिक विपन्नता र समस्याबीच घाँसदाउरा गर्दै उनले कसरी फुटबलको सपनालाई अघि बढाइन् भन्ने दृश्य समेटिएको छ । महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान बन्दासम्मको उनको यात्रालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

    मिलन चाम्स निर्देशित चलचित्रमा दयाहाङ राई उनका बुबा र सिर्जना सुब्बा आमाको रोलमा छिन् । सुनिल थापा रातेकाइँला कोचको रोलमा छन् । माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकार पनि छन् । शीर्ष भूमिकामा एञ्जिला आफैले अभिनय गरेकी छिन् ।

    प्रेमकुमार श्रेष्ठको निर्माण रहेको फिल्मलाई सुदीप बरालले खिचेका हुन् । कथालाई प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरेले मिलेर लेखेका हुन् । राजनराज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको संगीत, कविराज गहतराजको नृत्य छ । ‘अन्जिला’ फागुन २९ बाट नेपालमा प्रदर्शन सुरु भएको थियो ।

  • लायन्स क्लब अफ काठमाडौं पिस वल्डद्वारा ब्ल्याङ्केट सहयोग

    काठमाडौं । लायन्स क्लब अफ काठमाडौं पिस वल्ड, सरस्वतीनगरले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ शान्तिनगरस्थित  धर्मशालालाई ३० थान ब्ल्याङ्केट हस्तान्तरण गरेको छ ।

    शान्तिनगर उपभोक्ता समितिले सञ्चालन गर्दै आएको क्रियापुत्री सेवाका लागि सो सहयोग प्रदान गरिएको हो । क्लबका अध्यक्ष रामहरि श्रेष्ठ, उपाध्यक्ष रघुनाथ भण्डारी, सचिव नारायण कार्कीसहित पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा ब्ल्याङ्केट हस्तान्तरण गरिएको सचिव कार्कीले जानकारी दिए ।

    सहयोगप्रति आभार प्रकट गर्दै उपभोक्ता समिति अध्यक्ष बुद्धिगम्भीर थापाले सामाजिक सेवामा सक्रिय लायन्स क्लबप्रति धन्यवाद ज्ञापन गरे ।

    क्लब स्थापनाकालदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले जेष्ठ नागरिक सम्मान, धार्मिक क्षेत्रको सरसफाइ, विपन्न बालबालिकालाई शैक्षिक सामग्री, विपद् राहत वितरण, अनाथ तथा वृद्ध आश्रमका बासिन्दालाई भोजन वितरणजस्ता कार्यहरू गर्दै आएको जानकारी दिए ।