Author: Kavre Post

  • प्याब्सन जिल्ला स्तरिय छात्रा फुटसलको उपाधि माउण्ट भ्युलाई

    प्याब्सन जिल्ला स्तरिय छात्रा फुटसलको उपाधि माउण्ट भ्युलाई

    बनेपा । निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सन) काभ्रेको आयोजनामा भएको जिल्लास्तरिय फुटसलको उपाधि माउण्ट भ्यु स्कुल धुलिखेलले जितेको छ ।

    २४ वटा टिम सहभागि खेलमा द्वितिय नवरत्न, तृतीय पनौती स्थित सिद्धार्थ बनस्थली र सान्त्वना दाप्चास्थित जिन सुनमी एडभेन्टिस्ट एकेडेमी हुन सफल भएको प्याब्सन काभ्रेकी कार्यालय सचिव रेणुका सापकोटा पौडेलले जानकारी दिइन् ।

    माध्यमिक तहका छात्राहरू सहभागि खेलमा वेस्ट गोलकिपरको उपाधि समेत माउण्ट भ्यु विद्यालयमा कक्षा १० की छात्रा आस्था सुनुवारले हात पार्न सफल भएकी थिइन् ।

    प्रतियोगिता बनेपा स्थित एबिएम स्कुलको फुटसल ग्राउण्डमा भएको थियो ।

    बिजयी खेलाडीहरूलाई मेडल, सर्टिफिकेट र ट्रफी सहित सम्मान गरिएको थियो ।

    खेलकुदको सुरुवात प्याब्सन जिल्ला सदस्य एवं इसिए इन्चार्ज चन्द्र प्रसाद ताजपुरियाले गर्नुभएको थियो ।

    समापन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुजिन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्तराज नेपाल, सचिव विमल न्यौपाने, कोषाध्यक्ष अर्जुन थापा, बनेपा नगर अध्यक्ष महेन्द्र विष्ट,  पनौती नगर अध्यक्ष रामचन्द्र देउजा, पनौती प्याब्सनको सचिव ओमकृष्ण श्रेष्ठ लगायतले उत्कृष्ट खेलाडी र टिमलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

  • डिओपी ब्याण्डः छोटो समयमा सांगितिक उडान र दर्शकको प्रेम

    डिओपी ब्याण्डः छोटो समयमा सांगितिक उडान र दर्शकको प्रेम

    जाग्रेब । क्रोएसियामा बसोबास गरिरहेका नेपाली युवाहरूको मिहिनेत र लगनले जन्मिएको डिओपी ब्याण्ड छोटो समयमै सफलता र दर्शकको मन जित्दै अगाडि बढिरहेको छ। संगीतमा प्रेम र समर्पण बोकेर सुरू भएको यो समूह आज नेपाली समुदायका अधिकांश सांस्कृतिक कार्यक्रममा पहिलो रोजाइ बन्न सफल भएको छ।

    सन् २०२३ मा स्थापित डिओपी ब्याण्डले कभर गीतहरू मार्फत सांगीतिक यात्रा थालेको थियो। अहिले भने ब्याण्ड आफ्नै मौलिक गीत सार्वजनिक गर्ने तयारीमा जुटिरहेको छ। विदेशको भूमिमा नेपाली कला र संस्कृति जोगाउने प्रयत्नमा यो ब्याण्ड एक प्रेरणाको कथाजस्तै बन्दै गएको छ।

    ब्याण्डको ड्रममा प्रविन लामा तामाङ र बिम्स गुरुङ, गितारमा सुमित सुब्बा र ब्रिजेस पाल्पाली, भोकलमा अजय घिसिङ र नेमा नेगी लामा, साथै बेसमा मनोज लोप्चन तामाङ रहेका छन्। लोक, पप र सफ्ट रक संगीतमा विशेष पहिचान बनाएको यो समूहले नेपाली गीतसंगीतलाई परदेशमा जीवन्त बनाइरहेको छ।

    डिओपीले नेपालबाट आएका कलाकारहरूसँग समेत मिलेर एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिएको छ। धुर्मुस-सुन्तली, इन्दिरा जोशी, तुलसी शिवाकोटीजस्ता चर्चित कलाकारहरूसँग सहकार्य गर्दै ब्याण्डले दर्शकको मन जित्न सफल भएको छ। हालै सम्पन्न जेमसी नाइट कार्यक्रममा ब्याण्डले दिएको प्रस्तुति ‘अहिलेसम्मकै उत्कृष्ट’ भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।

    ब्याण्डका म्यानेजर मनोज लोप्चन तामाङका अनुसार संगीतप्रतिको गहिरो लगाव, केही विशेष गर्ने हुटहुटी र सहकर्मीहरूबीचको विश्वासले डिओपी ब्याण्डको जन्म भएको हो । उनका अनुसार सबै सदस्यहरूको समर्पणले नै ब्याण्डलाई आजको स्थानसम्म पुर्‍याएको हो।

    ब्याण्डमा रहेका सबै सदस्यहरू आ–आफ्नो सांगीतिक पृष्ठभूमिबाट आएका छन्। बिम्स गुरुङ नेपालमै स्त्री ब्याण्ड मार्फत सशक्त प्रस्तुति दिँदै आएकी थिइन् भने सुमित सुब्बाले उपासा ब्याण्डसँग सहकार्य गरेका थिए। विदेशिएका यी युवाहरूले क्रोएसियासँगै विदेशी भुमिमा नेपाली सांगीतिक माहौल फैलाउन क्रियाशील छन् ।

    डिओपी ब्याण्ड केवल प्रस्तुति दिनमा सीमित छैन। यो समूहले नेपाली गीत–संगीतको झिल्को परदेशी भूमिमा फैलाउने सपना देखेको छ। दर्शक र श्रोताको मायाले हामी अझ उत्साहित भएको बताउँदै ब्याण्डले क्रोएसिया मात्र होइन, अन्य देशहरूमा पनि आफ्नो संगीत सुनाउने योजना रहेको बताएको छ ।

    नेपालीपनलाई गीत संगीतमार्फत जगेर्ना गर्न प्रतिबद्ध डिओपी ब्याण्डले परदेशमा आफ्नै छुट्टै परिचय बनाउँदै, हरेक सुर, ताल र शब्दमा मौलिकता प्रदर्शन गर्दै आएको छ ।

     

    ब्याण्डमा मनोज लोप्चन तामाङ म्यानेजर, नेमा नेगी लामा, प्रविण बम्जन तामाङ, ब्रिजेश पाल्पाली, अजय घिसिङ तामाङ, सुमित सुब्बा, बिम्स गुरुङ रहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा परदेशिएका नेपाली युवाहरूको सहकार्य स्वरुप डिओपी ब्याण्डको जन्म भएको हो ।

    गीत संगीतको प्रस्तुतिसँगै अगाडि बढिरहेको डिओपी ब्याण्ड सफलता चुम्न ओजिला पाइलाहरू चालिरहेको छ । स्थापनाको छोटो अवधिमा चर्चित कलाकारहरूसँग सहकार्य गर्दै ब्याण्ड आफ्नो दमदार प्रस्तुति पस्कदै आइरहेको छ । कार्यक्रम अवलोकन गर्दै आएका दर्शकहरू र सहकार्य गर्ने कलाकारहरूले ब्याण्डको प्रस्तुति उत्कृष्ट भएको प्रतिक्रिया दिने गरेका छन् । आगामी दिनहरूमा समूहमा मिलेर काम गर्दै क्रोएसिया लगायत अन्य देशहरूमा समेत उत्कृष्ट प्रस्तुति दिने ब्याण्डले जनाएको छ ।

  • राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करूणा’ विमर्श कार्यक्रम काभ्रेपलाञ्चोकको धुलिखेलबाट सुरु

    राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करूणा’ विमर्श कार्यक्रम काभ्रेपलाञ्चोकको धुलिखेलबाट सुरु

    धुलिखेल । राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करूणा’ विमर्श कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलबाट सुरु भएको छ । शनिबार धुलिखेलबाट सुरु भएको कार्यक्रम देशका सातै प्रदेशमा हुने बताइएको छ । पुस्तक विमर्श कार्यक्रम घट्दो पठन संस्कृतिलाई बढाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ । मृत्युको मुखबाट संघर्ष गरि प्रथम महिला बन्न सम्मको राधिका शाक्यको संघर्ष र भोगाईको साक्षी बन्दै जीवनलाई बुझ्न र मानवीय करूणाको भाव जगाउन पुस्तक सफल रहेको पाठकहरूले प्रतिक्रिया दिएका छन् । देशको प्रथम महिला भइकन पनि शालीन र इमान्दार व्यक्तित्वको छवि बनाउनुभएको प्रधानमन्त्री पत्नी शाक्यले जीवनका भोगाई र उतारचढावका श्रृङखलाहरूलाई शब्द, भावना, इमान्दारिता र कलामा उनेर प्रस्तुत गर्नुभएको छ ।

    ‘करूणा’ पुस्तक विमर्श कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राधिका शाक्य

    विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रथम महिला शाक्यले सामाजिक सञ्जालले समाजलाई नकारात्मकतातिर डोहोर्याइरहेको बताउनुभयो । केपी ओलीलाई गाली गर्नमै त्यसको प्रयोग भएको दुखेसो व्यक्त गर्नुभयो । पञ्चायतकालीन दमन सहेर अगाडि बढिरहेको अवस्था स्मरण गर्दै उहाँले अहिलेको स्वतन्त्र वातावरणमा गरिएको नकारात्मक टिप्पणीले व्यक्तिगत रुपमा असर पार्न नसक्ने बताउनुभयो । केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुसी हुनेहरूकै भविष्य अन्धकार हुने टिप्पणी शाक्यको छ । ‘उहाँहरूले आफ्नो गोडामा आफैले बन्चरो हान्दै हुनुहुन्छ’, आफ्ना सन्तानका भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ, शाक्यले भन्नुभयो । सामाजिक सञ्जालका नकारात्मक टिप्पणीले आफूहरूलाई तनाव नहुने बताउनुभयो । आफूले बिराएको छैन, नराम्रो काम गरेको छैन, देश माथि घात गरेको छैन भने आफूलाई असर नपार्ने प्रष्ट पार्नुभयो ।

    शाक्यको जीवनमा आमा र बुबाको कति ठुलो सम्बन्ध छ भन्ने विषयलाई पुस्तकले बोलेको छ । आफ्नो जीवनमा महत्वपूर्ण दुई पुरुषहरू बा र केपी सर भनेर उहाँले पुस्तकमा चर्चा गर्नुभएको छ । बा जसले जन्माउनुभयो । भयो केपी सर जोसँग आफू अन्मिएर गएँ भन्ने प्रसंगलाई उहाँले पुस्तकमा सुन्दर एवं कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ ।

    धुलिखेलको विकास र यहाँको समग्र वस्तुस्थितको बारेमा राधिका शाक्यलाई जानकारी दिनुहुँदै नगरप्रमुख अशोक कुमार व्याञ्जु

    कार्यक्रममा धुलिखेल नगरपालिका मेयर अशोक कुमार ब्याञ्जुले स्वागत गर्दै पुस्तक बिमर्श कार्यक्रम धुलिखेल नगरपालिकाबाट सुरु गर्नुभएकोमा लेखिका एवं प्रकाशकलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, नबिल बैंकका कामु सिइओ मनोज ज्ञवाली, पाणिनी पुस्तक प्रकाशन गृहका अध्यक्ष रामबाबु नेपालले पुस्तकको विषयमा जीवन र जगत्का विषयहरू समेटिएको र त्यसमा करूणा पात्र स्वयं लेखिका शाक्य भएको बताएका छन् । कार्यक्रमको सञ्चालन पाणिनी प्रकाशनका शिवशक्ति आचार्यले गर्नुभएको थियो ।

    कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघका अध्यक्ष विनोद कुमार न्यौपाने, पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौपाने लगायत
  • विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काभ्रेमा प्रभातफेरी र स्वास्थ्य परीक्षण कार्यक्रम

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काभ्रेमा प्रभातफेरी र स्वास्थ्य परीक्षण कार्यक्रम

    बनेपा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले आज प्रभातफेरी तथा स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरेको छ ।

    बिहानी समयमा आयोजित प्रभातफेरी कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, पूर्व अध्यक्षहरू, अग्रज पत्रकारहरू तथा सञ्चार सम्बन्धित संघ-संगठनका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमको विशेष आकर्षणको रूपमा नसर्ने रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य परीक्षण सेवा पनि सञ्चालन गरिएको थियो । कार्यक्रममा काभ्रेमा क्रियाशील सञ्चारकर्मीहरूले सहभागिता जनाएका थिए।

    कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकलाई विशेष धन्यवाद दिँदै अध्यक्ष विनोदकुमार न्यौपानेले सञ्चारकर्मीहरूका लागि यस्ता स्वास्थ्योपयोगी कार्यक्रम आवश्यक रहेको बताउनुभयो । व्यवस्थापन सहयोगका लागि जिल्ला सहकारी संघ काभ्रेलाई पनि महासंघले आभार प्रकट गरेको छ।

    अध्यक्ष न्यौपानेले आगामी दिनमा पनि यस्तै प्रकारका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै प्रेस स्वतन्त्रता, पत्रकारहरूको स्वास्थ्य र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा उपस्थिति र सहभागिताको लागि नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा सचिव नगेन्द्र अधिकारीले सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो।

    लोकतन्त्रलाई थप उन्नत र मजबुत बनाउन स्वतन्त्र प्रेस अपरिहार्य रहन्छ । प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था पनि त्यतिनै सुदृढ र सबल हुँदै जानेमा दुइमत छैन । नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक सुनिश्चित लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहन्छ ।

  • सरकारको नीति तथा कार्यक्रममा उत्साह छैन

    सरकारको नीति तथा कार्यक्रममा उत्साह छैन

    संघीय सरकारले आ.व.०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । वर्तमान परिप्रेक्षमा सरकारको तर्फबाट आउने नीति तथा कार्यक्रम अग्रगामी अपेक्षा राखिएको भएतापनि खासै उत्साह ल्याउने देखिदैन । विपक्षी दल एवं राजनीतिक विश्लेषकहरूले सार्वजनिक नीति तथा कार्यक्रम अघिल्लो वर्षका कार्यक्रमको निरन्तरता भएको बताएका छन् । सरकारले कृषि, शिक्षा, रोजगारीको क्षेत्रमा सुधारात्मक अपेक्षा राख्दै प्राथमिकीकरणमा राखेको छ । सरकारले पछिल्ला आर्थिक वर्षको नीति तथा कार्यक्रमहरू धेरै ठाउँमा दोहोऱ्याको छ । कृषि मल कारखाना स्थापना, आयात प्रतिस्थापन, कमाउँदै पढ्दै नीति, रेल र जलयात्रा प्राथमिकता, स्वास्थ्य कार्यक्रम लगायतका दर्जनौं कार्यक्रम दोहोरिएका छन् ।

    कागजमा घोषणा गरिएका सरकारका नीति कार्यक्रम कागजमै सीमित रहेको देखिन्छ । पछिल्ला वर्षहरूमा भएका उपलब्धि र प्रगति शुन्य प्राय: छन् । करिब १ घण्टा समय लगाएर सार्वजनिक भएको ५६ पृष्ठको नीति तथा कार्यक्रममा सत्ता पक्षकै सांसदहरूले टेबुल समेत ठोकेनन् । यसबाट पनि के आंकलन गर्न सकिन्छ भने सरकाको नीति तथा कार्यक्रमप्रति सत्तासिन दलका सांसदहरू नै सन्तुष्ट छैनन् । ठुला दुई दल सामेल रहेको बलियो सरकारले पहिलोपटक ल्याएको नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदहरूमा खुसी छैन भने कार्यान्वयनको पक्ष कस्तो रहला त्यो हेर्न बाँकी नै छ । एकाध बाहेक पुराना वर्षका कार्यक्रमलाई निरन्तरता दिइएको नीति तथा कार्यक्रमले मुलुकमा सुशासन, रोजगारी सिर्जना, युवाहरूको विदेश पलायन रोक्ने, उत्पादनमा वृद्धि, आयातमा सन्तुलन ल्याउन सक्ला कि भनेर अपेक्षा राखिएको भएता पनि आशा राख्ने ठाउँ विरलै देखिन्छ ।

  • साइबर अपराध जोखिम न्युनीकरण गर्न सचेतना कार्यक्रम

    साइबर अपराध जोखिम न्युनीकरण गर्न सचेतना कार्यक्रम

    बनेपा । “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” भन्ने नाराका साथ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२५ को अवसरमा “Digital Literacy for Cyber Security” नामक कार्यक्रम २०८२ साल बैशाख १५ गते सोमबारका दिन बनेपा नगरपालिका सभाहलमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको मूल उद्देश्य स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा क्यान महासंघका सदस्यहरूलाई डिजिटल साक्षरतासँगै साइबर सुरक्षाबारे सचेत गराउनु रहेको थियो। सूचना प्रविधिको तीव्र विकाससँगै साइबर अपराधको जोखिमसमेत बढ्दै गएको वर्तमान सन्दर्भमा यसको न्युनिकरण तथा सुरक्षित डिजिटल प्रयोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो।

    कार्यक्रमको सभापतित्व क्यान महासंघ काभ्रेका अध्यक्ष देबकी आचार्यले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यको उपस्थिति थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि शान्ति रत्न शाक्यले ब्यानर पढेर गर्नुभएको थियो। अन्य विशिष्ट अतिथिहरूमा नगर उपप्रमुख बिमला सापकोटा दाहाल, क्यान महासंघ केन्द्रका उपाध्यक्ष तथा क्यान काभ्रेका पूर्व अध्यक्ष शेखरनाथ दुलाल, क्यान बागमती प्रदेश समितिका उपाध्यक्ष तथा क्यान काभ्रेका पूर्व अध्यक्ष बिकाश पन्त, तथा काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष रबिन्द्र बैदार रहनुभएको थियो। साथै बनेपा नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्षहरू, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू तथा सम्पूर्ण शाखा प्रमुखहरूको सक्रिय उपस्थिति रहेको थियो।

    कार्यक्रमका स्रोत व्यक्तिहरूमा क्यान महासंघका कार्यसमिति सदस्य बन्दना शर्मा ज्ञवाली तथा इलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक कुल बहादुर कुँवर रहनुभएको थियो।  ज्ञवालीले साइबर सुरक्षाका आधारभूत सिद्धान्तहरू, सुरक्षित पासवर्ड प्रयोग, डिजिटल उपकरणको सुरक्षा, फिसिङ आक्रमण तथा अनलाइन ठगीबाट बच्ने उपायहरूबारे अत्यन्त सहज र व्यावहारिक तरिकाले प्रशिक्षण दिनुभयो। त्यसैगरी प्रहरी निरीक्षक कुँवरले साइबर अपराधको कानुनी पक्ष, प्रहरीमा उजुरी दिने प्रक्रिया, तथा कानुनी उपचारका उपायहरूबारे सहभागीहरूलाई जानकारी गराउनुभयो। कार्यक्रममा सहभागीहरूसँग अन्तर्क्रिया, प्रश्नोत्तर सत्र तथा अनुभव आदानप्रदान पनि गरिएको थियो, जसले विषयवस्तु अझ स्पष्ट बनाउन मद्दत गर्यो ।

    करीब ८० भन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा उनीहरूको सक्रियता र जिज्ञासा अत्यन्त प्रेरणादायक रह्यो। सहभागीहरूले डिजिटल सुरक्षा सम्बन्धी नयाँ जानकारी हासिल गर्नुका साथै व्यवहारमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे। विशिष्ट अतिथि शेखरनाथ दुलालले डिजिटल युगमा जनप्रतिनिधि तथा नीति निर्माता स्वयं साइबर सुरक्षा साक्षर हुनु अनिवार्य भएको र यस्ता तालिमहरू स्थायी संरचनाभित्र ल्याउनु आवश्यक रहेको धारणा राख्नुभयो। प्रमुख अतिथि शान्ति रत्न शाक्यले डिजिटल सुरक्षालाई स्थानीय तहको प्राथमिकतामा राख्दै, बनेपा नगरपालिकातर्फबाट यस्ता कार्यक्रमहरूमा निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउनुभयो।

    कार्यक्रमको समापन सत्रमा सभापति देबकी आचार्यले सम्पूर्ण सहभागी, अतिथि, स्रोत व्यक्ति तथा आयोजक टोलिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी, व्यावसायिक र फराकिलो रूपले यस्ता कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो। कार्यक्रममा सञ्चालनको भूमिका क्यान महासंघ काभ्रेका सचिव केवल प्रसाद तिमल्सिना (राजकुमार) ले निर्वाह गर्नुभयो। समग्रमा, कार्यक्रम अत्यन्त सफल, उद्देश्यकेन्द्रित र सामुदायिक तहमा डिजिटल सुरक्षाको चेतना विस्तार गर्नका लागि महत्वपूर्ण कोशेढुंगा सावित भएको बताइएको छ।

  • काभ्रेमा अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु

    काभ्रेमा अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु

    धुलिखेल । २०८१ सालको असोज दोस्रो साता परेको भीषण वर्षाले क्षतिग्रस्त घरहरूको पुनःनिर्माणका लागि राहत रकम वितरण कार्य सुरु भएको छ । बाढी, पहिरो र डुबानका कारण घरवार गुमाएका काभ्रेपलाञ्चोक जिल्लाका नागरिकहरूलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वितरण थालिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ।

    जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको समन्वयमा सम्बन्धित स्थानीय तहमार्फत लाभग्राहीको बैंक खातामा रकम जम्मा गरिने व्यवस्था मिलाइएको छ। यसअनुसार पहिलो किस्ताको रूपमा प्रतिघरधुरी २५ हजार रुपैयाँ वितरण प्रक्रिया सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो।

    अस्थायी आवास निर्माणका लागि जिल्लाभित्र रहेका १० वटा पालिकाले आवश्यक विवरण दर्ता गरिसकेका छन्। तीमध्ये नमोबुद्ध नगरपालिकामा ८२४ घरधुरी, बेथानचोक गाउँपालिकामा २३९, महाभारत गाउँपालिकामा १७, पनौती नगरपालिकामा ६३४, पाँचखाल नगरपालिकामा ८८, धुलिखेल नगरपालिकामा ८६, मण्डनदेउपुर नगरपालिकामा १३३, खानीखोला गाउँपालिकामा ४६, चौरीदेउराली गाउँपालिकामा २८०, तथा रोशी गाउँपालिकामा ५४८ घरधुरी छन्। कुल २,७६२ घरधुरीलाई लक्षित गर्दै ७ करोड २३ लाख ७५ हजार रुपैयाँ वितरणका लागि जिल्लाको विपद् व्यवस्थापन समितिमार्फत सम्बन्धित पालिकाहरूको विपद् व्यवस्थापन खातामा रकम पठाइएको हो ।

    तर, जिल्लाका ३ पालिकाहरू — बनेपा नगरपालिकामा ३९ घरधुरी क्षतिको विवरण छ । जसको लागि निकासी प्रक्रिया भइरहेको छ । त्यस्तै तेमाल गाउँपालिका र भुम्लु गाउँपालिकाबाट भने अझैसम्म क्षतिको पूर्ण विवरण प्राप्त नभएकाले उपरोक्त पहिलो किस्ता वितरण सुरु हुन नसकेको श्रेष्ठले बताए। तेमाल गाउँपालिकामा १,२०० र भुम्लु गाउँपालिकामा ४२ घरधुरीको क्षतिको प्रारम्भिक विवरण रहेको छ।

    यस योजनाअनुसार पहिलो किस्ताको २५ हजार रुपैयाँ प्राप्त गरेपछि लाभग्राहीले आवास निर्माण कार्य सुरु गर्नुपर्नेछ। यस्तै छाना छाउने काम सम्पन्न गर्नु अघि वा निर्माण कार्य समाप्त गरेपछि मात्र लाभग्राहीले दोस्रो किस्ताका लागि निवेदन दिनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ।

    साथै, अस्थायी आवास निर्माणका लागि प्रदान गरिएको अनुदान रकम लिएर पनि निर्माण नगर्ने लाभग्राहीहरूलाई नेपाल सरकारबाट प्राप्त पुनर्निर्माणसम्बन्धी अन्य सहुलियत, सेवा तथा सुविधाबाट वञ्चित गरिने छ। त्यस्ता लाभग्राहीहरूबाट अस्थायी आवास निर्माणबापत लिएको रकम सरकारी बाँकी सरह असुल गर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ। लाभग्राहीलाई अस्थायी आवास निर्माण सहयोग स्वरूप प्रदान गरिने रकम बैंक खातामार्फत मात्र उपलब्ध गराइने व्यवस्था पनि अनिवार्य गरिएको छ ।

    जिल्ला विपद् विपद व्यवस्थापन समितिमार्फत सम्बन्धित पालिकाको खातामा रकम निकासा गरिएको भए पनि पालिकाहरूले उक्त रकम वितरण सुरु गरेका छैनन् । चौरीदेउराली गाउँपालिकाले आइतबारबाट वितरण गर्ने जनाएको छ । बेथानचोक गाउँपालिकाले आगामी हप्तासम्म किस्ता रकम वितरण गरिने प्रवक्ता मधुसुदन तिमल्सिनाले जानकारी दिनुभयो । त्यस्तै अन्य पालिकाका जिम्मेवार व्यक्तिहरूनै यस विषयमा बेखबर भएर बसेको पाइएको छ । अर्को वर्षा आउन लागिसक्दा पनि आफूहरूले राहत वापतको अस्थायी आवास निर्माणको किस्ता समयमै नपाउँदा पीडितहरू थप मर्कामा परेका छन् ।

  • सम्पादक राम खड्का सम्मानित

    सम्पादक राम खड्का सम्मानित

    काठमाडौँ । युनिटी भ्वाइसका सम्पादक एवं समाजसेवी रामचन्द्र खड्कालाई काठमाडौँमा आयोजित एक बिशेष कार्यक्रम बीच बिशेष नागरिक क्रिसयन सम्मान गरिएको छ।

    व्यावसायिक पत्रकारिताको माध्यमबाट सामाजिक जागरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै नागरिक क्रियसनले खड्कालाई सम्मान गरेको हो।

    विगत लामो समय देखी खड्का पत्रकारितामा पेसामा सक्रिय हुनुहुन्छ । उनीसँगै विभिन्न क्षेत्रमार्फत् समाजमा सकारात्मक परिवर्तनका लागि क्रियाशील समाजसेवी, व्यवसायी, पत्रकार तथा विभिन्न क्षेत्रका माध्यमबाट समाज परिवर्तनमा विशेष योगदान पुर्‍याइरहेका व्यक्तिहरूलाई सम्मान गरिएको संस्थाका अध्यक्ष यमबहादुर जिसीले जानकारी दिए ।

    राजधानीको राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि माननीय रक्षामन्त्री मानवीर राई र अध्यक्ष यमबहादुर जिसीले संयुक्त रुपमा सम्मान गरेका थिए।

    कार्यक्रममा बोल्दै मन्त्रि राइले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आबद्धताबाट मुक्त हुनुपर्नेमा जोड दिएका थिए । उनले जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भावनाबाट माथि उठ्न सके मात्रै जनताको पीडालाई सही ढङ्गबाट उजागर गर्न सकिने प्रष्ट पारे।

    पूर्व राजा ज्ञानेन्द्र प्रति संकेतगर्दै उनले अब कुनै पनि हालतमा राजतन्त्र स्वीकार गर्ननसकिने बताए । कार्यक्रम संचालन महासचिब बिष्णु गिरीले गरेका थिए भने कार्यक्रमको संयोजक नागरिक क्रियसनका उपाध्यक्ष कविन्द्र त्रिपाठीले गरेका थिए । सम्मानसाथै २०८२ को क्यालेण्डर बिमोचन पश्चात बद्री पराजुलीको संगतिक साझ कार्यक्रम सुरु भएको थियो।

  • युवा सेलिब्रेसनमा काभ्रेपलान्चोकबाट ५ हजार युवा सहभागी हुने

    युवा सेलिब्रेसनमा काभ्रेपलान्चोकबाट ५ हजार युवा सहभागी हुने

    बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आयोजनामा काठमाडौमा बिहिबार हुन लागेको बृहत युवा सेलिब्रेसनमा काभ्रेपलाञ्चोक जिल्लाबाट करिब ५ हजार युवाको सहभागिता हुने भएको छ ।

    बैशाख ११ गते लोकतन्त्र दिवसको दिन काठमाडौको भृकुटीमण्डपमा हुन लागेको युवा सेलिब्रेसन युवाहरुले जितेको दिनको रुपमा मनाउन लागिएको हो।

    बिशेष गरि नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न युवाहरूको भुमिका रहेको सन्देश दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा देशभरीबाट एक लाख युवा काठमाडौमा उतार्ने नेकपा एमालेले जनाएको छ।

    नेकपा एमाले काभ्रे जिल्ला कमिटी सचीव राजकुमार सापकोटाले बैशाख ११ गते युवाले जितेको दिनलाई उत्सबको रुपमा मनाउन सबैलाई आह्वान गर्नुभएको छ। “२०६२/०६३ को आन्दोलनपछि लोकतान्त्रिक गणतन्त्रको अभ्यास प्रारम्भ भयो।बैशाख ११ गते निरंकुसताले हारेको र नेपाली युवाहरूले जितेको दिनलाई उत्सबको रुपमा मनाउन साथै नयाँ पुस्तालाई लोकतान्त्रिक गणतन्त्र कसरी आयो भन्ने सन्देश दिन युवा सेलिब्रेसन गर्न लागिएको हो “सापकोटाले भन्नुभयो।

    नेकपा एमाले काभ्रे जिल्ला कमिटीको पदाधिकारी बैठक बसी युवा सेलिब्रेसन सफल बनाउन जिल्ला कमिटी, सबै पालिका कमिटी, सबै वडा कमिटी र सबै जनसंगठनहरुलाई सर्कुलर पठाईसकेको छ। युवा सेलिब्रेसनमा जिल्लाको १३५ वडाबाट प्रतमयेक वडाबाट २५ जनाका दरले सहभागि गराइने बताइएको छ ‌। पार्टीका विभिन्न जनवर्गीय संगठन गरि काभ्रेबाट करिव ५ हजार युवा सहभागी गराउने एमाले काभ्रेको तयारी रहेको छ ।

  • क्रोएसियामा नेपाली चलचित्र ‘आउट ल : दफा २१९’ प्रदर्शनमा आउने

    क्रोएसियामा नेपाली चलचित्र ‘आउट ल : दफा २१९’ प्रदर्शनमा आउने

    जाग्रेब । नेपाली द्वन्द्वप्रधान चलचित्र ‘आउट ल : दफा २१९’ क्रोएसियामा प्रदर्शन हुने भएको छ। क्रोएसियास्थित पोइड हब डिजिटल र एसियन फेसन हबको सहकार्यमा उक्त चलचित्र २०२५ मे ४ तारिख आइतबार जाग्रेबस्थित नेशनल युनिभर्सिटी सेसभेटमा प्रदर्शन गरिने तयारी भइरहेको छ।

    चलचित्र बिहान ११:०० बजे, दिउँसो २:३० बजे र साँझ ५:३० बजे गरि तीनवटा शोमा प्रस्तुत हुनेछ। प्रदर्शन व्यवस्थापन सम्हालिरहेकी क्यालिआना तामाङका अनुसार टिकट दर प्रति  १० युरो तोकिएको छ।

    चलचित्रको टिकट थोमस बार, बुद्ध मार्ट, काठमाडौं मार्ट, एभरेष्ट मम लगायतका स्थानहरूमा उपलब्ध हुनेछ। साथै, प्रदर्शनकै दिन नेशनल युनिभर्सिटी सेस्भेट परिसरमै पनि टिकट खरिद गर्न सकिने व्यवस्थापन पक्षले जनाएको छ । टिकट बुकिङका लागि उल्लेखित संस्थाहरूसँग अग्रिम सम्पर्क गर्न सकिनेछ।

    क्रोएसियामा बसोबास गर्दै आएका नेपाली समुदायका दर्शकहरूलाई लक्षित गर्दै चलचित्र प्रदर्शन गर्न लागिएको हो।

    पछिल्लो समय एक्सन प्रधान चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् । सोही अनुरुप क्रोएसियाका दर्शकको मागलाई सम्बोधन गर्दै पोइड हब डिजिटल र एसियन फेसन हबले चलचित्र ‘आउट ल: दफा २१९’ प्रदर्शन गर्न लागेका हुन् । टिमले यसअघि १२ गाउँ, छक्का पञ्जा ५ लगायतका चलचित्रको सफल प्रदर्शन गरिसकेको छ । पछिल्लो समय क्रोएसियामा नेपाली चलचित्र प्रति दर्शकहरुको रुचि र मायाले गर्दा नयाँ चलचित्र प्रदर्शन हुने क्रम बढिरहेको छ ‌ ।

    नेपाली चलचित्र प्रदर्शन गरी, क्रोएसियामा रहेका नेपालीहरूलाई नेपालको राजनीतिक र सामाजिक परिवेशसँग जोड्ने र फुर्सदको समयलाई मनोरञ्जनात्मक बनाउन मद्दत पुग्ने अपेक्षा आयोजकको छ ।

    विक्सी महर्जनद्वारा लिखित तथा निर्देशित यो बहुप्रतिक्षित चलचित्रमा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम मान गुरुङ, सोनी लागुन, विशाल पहरी, महेश त्रिपाठी, मारिया कार्की र आयान परियारलगायतका कलाकारहरूको अभिनय रहेको छ।

    चलचित्रको निर्माण अमित अग्रहरि र निशा गुइडेले गरेका हुन्। चलचित्रले नेपालमा सर्वसाधारण नागरिकले सहज रूपमा न्याय नपाउने यथार्थ चित्रण गर्दै, राजनीतिक चलखेलमाथि व्यङ्गात्मक टिप्पणी प्रस्तुत गर्छ ।

    विगत एक वर्षदेखि पोइड हब डिजिटलले इलेक्ट्रोनिक्स ग्याजेट, अनलाइनका विभिन्न सेवा, मोबाइल मर्मत लगायतका डिजिटल सर्भिस उपलब्ध गराउँदै आएको सञ्चालक गगन तामाङले जानकारी दिए । त्यस्तै छिट्टै सञ्चालनमा आउन लागेको एसियन फेसन हबमा क्रोएसियामा नेपालीपन झल्काउने पोशाकहरू उपलब्ध हुने प्रोपाइटर अर्जुन मोक्तान ‘अविरल’ले जानकारी दिएका छन् ।