Author: Kavre Post

  • मिस र मिसेस नेपाल क्यानडाको उपाधी अनु र मेग्नालाई

    मिस र मिसेस नेपाल क्यानडाको उपाधी अनु र मेग्नालाई

    टोरोन्टो, क्यानडा । मिस नेपाल क्यानडाको उपाधी अनु सुबेदी र मिसेस नेपाल क्यानडाको उपाधी मेग्ना गजमेरले जितेकी छिन् । दुवै बिजेतालाई मिसेस नेपाल क्यानडा २०२४ को बिजेता सृस्‍टि श्रेष्ठले ताज लगाइदिईन ।

    त्यस्तै गरी फस्ट रनर अप मिसेस मन्जु बस्नेत, फास्ट रनरअप मिस प्रशंशा भट्ट, सेकेन्ड रनर अप मिसेस प्रतिक्षा कुवंर र सेकेन्ड रनर अप मिस स्वर्णपरी श्रेष्ठले पाईन ।

     

    त्यस्तै अन्य बिधाहरुमा क्याटवक – अनु सुबेदी, फोटोजेनिक प्रतिक्षा कुवंर, विस्डम सरिता पन्त, पिपुल्स च्वइस अवार्ड पुष्पन्जली आचार्य, एलेकुअन्त मन्जु बस्नेत, कन्फिडेन्स स्वर्णपरी श्रेष्ठ, वेष्ट ड्रेस प्रसंशा भट्ट, काइन्डनेस मेग्ना गजमेर, सोसियल इम्प्याक्ट अनु सुबेदी र इन्स्पिरेशन बिधामा पुष्पन्जली आचार्यले अवार्ड पाईन ।

     

    क्यानडाको ब्राम्टोन स्थित स्प्रेन्जा पार्टी हलमा सम्पन्न भएको यो कार्यक्रममा १० प्रतीयोगीले सहभागीता जनाएका थिए। यो पटक वन्टारियो सहित अन्य प्रोविन्सबाट पनि प्रतियोगिले सहभागीता जनाएका थिए ।

     

    नेपलिज क्यानेडियन पाजेन्ट इन्कले आयोजना गरेको कार्यक्रम नेपाली समुदायका प्रतीनिधी, ब्याबसायीहरु, साउथ एसियन क्यनेडिएन फेसन एन्ड इन्टरटेनमेन्ट फिल्डका प्रतिनिधीहरु लगायको उपस्थिती थियो ।

     

    प्रवासमा बसोबास गर्ने नेपाली महिलाहरुको शसक्तीकरण, आत्मविश्वास र नेत्रित्वबिकासमा सहजता होस् भनेर यस्तो किसिमको प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था नेपलिज क्यानेडियन पाजेन्ट इन्कका डाईरेक्टर चन्दा श्रेष्ठले बताइन् ।

  • नव क्षितिज साप्ताहिक २५औं वर्ष प्रवेश: सहसम्पादक गौतम नगदसहित अभिनन्दित

    नव क्षितिज साप्ताहिक २५औं वर्ष प्रवेश: सहसम्पादक गौतम नगदसहित अभिनन्दित

    धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाबाट निरन्तर रूपमा प्रकाशन हुँदै आएको नव क्षितिज साप्ताहिकले स्थापनाको २४ वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेको छ। रजत वर्षको उपलक्ष्यमा साप्ताहिकले विविध कार्यक्रमहरूको आयोजना गर्दै उत्सवमय वातावरणमा वार्षिकोत्सव मनाएको हो।

    पत्रिकाको रजिष्टार्ड कम्पनी क्षितिज प्रकाशन प्रालिका अध्यक्ष नवराज बजगाईंको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रम पूर्व राष्ट्रपति डा. रामवरण यादव प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तव्य दिँदै पूर्व राष्ट्रपति डा. यादवले साप्ताहिक पत्रिकाहरूले देशको राजनीतिक, ऐतिहासिक र सामाजिक घटनाक्रमलाई गहिरो ढंगले विश्लेषण गर्दै तथ्यमा आधारित निष्पक्ष समाचार प्रकाशन गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, नव क्षितिजलाई सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिताका लागि शुभकामना पनि व्यक्त गरे।

    कार्यक्रममा प्रदेशसभा सदस्यहरू रत्न ढकाल, लक्ष्मण लम्साल राजनीतिक दलका नेतागण, समाजका विभिन्न क्षेत्रमा सक्रिय विशिष्ट  व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सो अवसरमा नव क्षितिज साप्ताहिकको रजत वर्षको लोगो सार्वजनिक गरिनुका साथै विशेष स्मारिका प्रकाशन र गीतको भिडियो विमोचन पनि गरिएको थियो ।  कार्यक्रममा पत्रिकाको यात्रामा विभिन्न कोणबाट योगदान पुर्‍याउँदै आएका  व्यक्तिहरुलाई कदर गर्दै सम्मानित गरिएको थियो।

    पत्रिकाका सह-सम्पादक अरबिन्द्र गौतम समेत कार्यक्रमको दौरान नगरदसहित सम्मानित भएका छन् । गौतमले प्राप्त अभिनन्दनले आफूलाई पत्रकारिता थप सशक्त भएर लाग्न प्रेरणा मिलेको उल्लेख गरेका छन् ।

  • भो तिमी विदेशको कुरै नगर !

    भो तिमी विदेशको कुरै नगर !

    म हराई रहेछु कतै, मन डराइ रहेछु कतै

    कतै उहीँ प्रकृति ले नै पो नचिन्ने हो कि

    कतै उहीँ बहुलमान डाँडाले नै पो नचिन्ने हो कि

    कतै उहीँ डाडाको काफलको बोटले नै पो नचिन्ने हो कि

    म हराई रहेछु कतै, मन डराई रहेको छु कतै

     

    म उहीँ डाँडामा बस्थे, चुच्चे ढुङ्गाको आड लाएर

    पुराना ती झ्याउरे, घाँसे अनि सेलो गित गाएर

    म नियालिरहन्थे टाढाको क्षितिजलाई

    कल्पना गर्थे क्षितिज पारीको त्यो बस्तीको

    सम्झन्थे कति सुखसंयमा छन ती बस्तीको

    सोच्दथे अहिल्यै उडेर गैदि हालुम

    उतैको भैदि हालुम

    उत्तर तिर हेर्दथे, ठुलो पिलेन उडेर आउँथ्यो

    त्यसलाई हेर्दै म पनि सपनाको जाल बुनिरहन्थे

    उहीँ क्षितिज पारीको बस्तीमा घुमिरहन्थे

    आहा! सपनाको संसार त्यहाँ छ

    यहाँ त के छ?

     

    र ————–

    नजिकै आएर न्याउली रोइदिन्छे

    म झल्यास्स बिउँझिन्छु

    कल्पनाको सागरमा डुबेको मेरो मन

    न्याउली लाई सोध्न मन लाग्छ,

    किन? अन्त रुने ठाउ पाएनौ र

    मेरै अगाडि आएर रुनुपर्छ ?

    थाहा थिएन मलाई कि मेरै अगाडि आएर किन रोएको।

    म ब्युझना साथ रुदै भुर्र उडेर भागिन्।

    अहिले म बुझ्दै छु किन रोइन न्याउली।

     

    उनी भन्दै थिइन, क्षितिज पारीको बस्ती कल्पना नगर

    त्यो टाढा छ, तिमिले सोचेको भन्दा गाढा छ

    तिमी जान्छौ, कहिले फर्कन्छौ थाहा छैन

    तिमी अहिले रहिरहेको डाँडा नहुन सक्छ

    म नहुन सक्छु, यी काफल को बोट नहुन सक्छ

    अनि आएर तिमी कसलाई घासे गीत सुनाउछौ

    अनि आएर तिमी कसलाई सेलो सुनाउछौ

    तिमी बिदेश को कुरै नगर,

     

    फिक्का हुनेछ यी जंगल, सुनसान हुनेछ यी पाखा पखेरा

    तिमी आएर सेलो गाउदा, मेरो बिरह बिसाउने ठाउँ हुन्छ

    चिभे चरीको चिरबिर हुन्छ, कोकिल मधुर स्वरमा गाउँछन

    मृगशावकहरु नाच्छन, वानरहरु तरुलतिकामा झुण्डिन्छन

    तिमी प्रकृति प्रेमी हौ, तिमी आएको जब चाल पाउँछ

    बिनाको वासना खोज्न भौतारिरहेको हरिण पनि फर्की आउँछ

    भो तिमी बिदेशको कुरै नगर!

     

    भनेर……….भनेकी रहिछिन ती न्याउलीले

    राती स्वप्नामा आईन र खुसुक्क भनेर गईन

    फेरि झसङ्ग भए म

    र फेरि उहीँ पुराना दिन सम्झिए——-

     

    म हराई रहेछु कतै, मन डराई रहेछु कतै

    कतै उहीँ प्रकृति ले नै पो नचिन्ने हो कि

    कतै उहीँ बहुलमान डाँडाले नै पो नचिन्ने हो कि

    कतै उहीँ डाँडाको काफलको बोट ले नै पो नचिन्ने हो कि

    म हराइ रहेछु कतै, मन डराइ रहेको छु कतै

     

    र फेरि कल्पनामा नै रहदा

    बिरानो देश, बिरानो भेष, बिरानो चालचलन

    फर्केर हेर्दा, पुरानो दिन चसक्क भयो मन

    चिन्दैनन रे अब ति प्रकृतिले मलाई

    चिन्दैनन रे अब बहुलमान डाँडाले

    चिन्दैनन रे अब काफलको बोटले

    चिन्दैनन रे अब हरिण मृग वानरले

    चिन्दैनन रे अब चिभे र कोईलीले

    किन?

    किनभने,,,,

    उफ—–यी सबै छैनन रे अब

    प‍ोहोर साल डोजरले बाटो खन्यो अरे

    बिकास भयो तर बहुलमान डाँडा भत्क्यो अरे

    ठूलो काफलको बोट र चुच्चे ढुङ्गा लड्यो अरे

    पोहोर साल जंगलमा ठुलो डढेलो लाग्यो अरे

    छिनभर मै हरियो पाखा कालो भयो अरे

    चरिको गुड र हरिण मृगको घर छिनभर मै जल्यो अरे

    वानर झुन्डिने तरुलतिका पनि सबै जल्यो अरे

    बन्यजन्तु सबै बसाइँ सरी गयो अरे

    हरियाली प्रकृति जलेर कालो भयो अरे

    चिन्दैनन् रे अब यी कसैले मलाई

    ✍️ तेजकुमार ठाडामगर “सर्गमयात्री”

    महाभारत-५, काभ्रेपलान्चोक

    हाल प्रवास

  • ३१ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त

    ३१ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त

    धुलिखेल । कर्तव्य ज्यान मुद्दामा फरार रहँदै आएका एक अभियुक्त ३१ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार ५७ वर्षीय दान बहादुर प्रधानलाई २०८१ चैत ३१ गते धुलिखेल नगरपालिका वडा नम्बर ७ बाट पक्राउ गरिएको हो।

    साविक नाग्रेगागर्चे गाविस वडा नम्बर ९ (हाल चौरीदेउराली गाउँपालिका–२) का प्रधानले २०५० साल वैशाख १६ गते साँझ करिब ७ बजेतिर सोही स्थानका उत्तर बहादुर प्रधानमाथि छुरी (चक्कु) प्रहार गरी हत्या गरेका थिए। घटनापछि फरार रहेका प्रधानको खोजी गर्दै जाँदा हालै धुलिखेलमा फेला पारी प्रहरीले पक्राउ गरेको हो।

    घटनासम्बन्धी मुद्दामा २०७६ साल माघ २८ गते अदालतले जन्मकैदको फैसला सुनाएको थियो। अदालतको आदेश कार्यान्वयनका लागि पक्राउ परेका प्रधानलाई वैशाख ३१ गते नै कारागार कार्यालय धुलिखेल पठाइएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए।

  • नव प्रतिभा विद्यालयका  युकेजीबाट ४३ विद्यार्थी दीक्षित

    नव प्रतिभा विद्यालयका युकेजीबाट ४३ विद्यार्थी दीक्षित

    ♦ अशोक बुद्ध लामा


    नमोबुद्ध नगरपालिका वडा नं. ७ भकुण्डेबेशीमा अवस्थित श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयले यस वर्षको वार्षिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरणका तथा कक्षा यु.के.जी उतीर्ण भएर कक्षा एकमा पुगेका विद्यार्थीहरुलाई दीक्षित गरेको छ ।

    दीक्षान्त समारोहबाट ४३ जना विद्यार्थीहरु दीक्षित भएर कक्षा एकमा पुग्न सफल भएका छन् । उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका सहायक प्रधानाध्यापक विवेक कुमार तामाङ नमोबुद्ध नगरपालिकामै उत्कृष्ट विद्यालयको रुपमा स्थापित यस विद्यालयलाई काभ्रे जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित गराउन आफूहरु लागि परेको बताए ।

    कार्यक्रम विद्यालयका माध्यमिक तह प्रमुख शिक्षक मोहन खड्काले सञ्चालन गर्नु भएको थियो ।

  • काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दुर्घटना : ११ घाइते, एकको अवस्था गम्भीर

    काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दुर्घटना : ११ घाइते, एकको अवस्था गम्भीर

    बनेपा । बिहीबार बिहान करिब ८:२५ बजे काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका–९ दाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। विपी राजमार्गअन्तर्गत उक्त स्थानमा पानी परिरहेको बेला बस चिप्लिएर अनियन्त्रित भई अर्को सवारीसंग ठोक्किएपछि सडकबाट करिब २० मिटर तल खसेको थियो।

    प्रदेश ३-०१-००६ ख १३३९ नम्बरको यात्रुबाहक बस पानी परेको कारण ब्रेक नलागी चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे १ ख ३३९४ नम्बरको हाईस गाडीमा ठोक्किएको थियो। दुर्घटनामा बसमा सवार १५ मध्ये ११ जना यात्रु घाइते भएका थिए। हायसमा सवार यात्रुहरू सकुशल रहेको प्रहरीले जनाएको छ।

    घाइतेहरूको तत्काल उपचारका लागि उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र, मंगलटारमा लगिएको थियो। घाइतेहरूमध्ये सोलुखुम्बुकी ७३ वर्षीया सुन्तली बि.क.को अवस्था गम्भीर रहेको जनाइएको छ। अन्य घाइतेहरूको अवस्था मध्यमदेखि सामान्य रहेको छ। घाइतेहरूलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको मंगलटार प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक पुस्कर श्रेष्ठले जानकारी दिए।

    दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख पुस्कर श्रेष्ठको कमाण्डमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो। बस चालक हाल प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल मंगलटार प्रहरी कार्यालयबाट करिब १ किलोमिटर पश्चिमतर्फ पर्दछ।

    घाइतेहरूको विवरण:

    १) सुन्तली बि.क., ७३, सोलुखुम्बु – टाउकोमा चोट (अवस्था गम्भीर)

    २) छत्र ब. बि.क., ७०, सोलु – टाउकोमा चोट (मध्यम अवस्था) ३) रामसरण बि.क., ३४, रामेछाप – टाउको र दाहिने पाटोमा चोट

    ४) सिता श्रेष्ठ, ३३, काभ्रे – टाउको ठोक्किएको

    ५) पुजन श्रेष्ठ, २७, रामेछाप – बायाँ करङमा चोट

    ६) कुमुद देवकोटा, ३५, काठमाडौं – टाउको र ढाडमा चोट

    ७) जनक बुढाथोकी, ६२, भक्तपुर – नाकमा चोट (डिस्चार्ज)

    ८) पदम सुनुवार, ३५, रामेछाप – टाउकोमा चोट

    ९) ङावा शेर्पा, ५०, रामेछाप – करङमा चोट

    १०) ङिमा शेर्पा, १०, रामेछाप – नाकमा चोट (डिस्चार्ज)

    ११) सुजता सुनुवार, २०, रामेछाप – सामान्य (डिस्चार्ज)

    प्रहरीको प्रारम्भिक अनुमानअनुसार पानी परेका कारण सडक चिप्लो भई ब्रेक नलाग्दा दुर्घटना भएको हो। घटनाको विस्तृत विवरण र अनुसन्धान जारी रहेको काभ्रे प्रहरीले जनाएको छ।

  • एलओडी क्लबः ४४औं स्थानमा, नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा

    एलओडी क्लबः ४४औं स्थानमा, नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा

    काठमाडौं । नेपालको क्लबिङ संस्कृतिमा नयाँ कीर्तिमान स्थापित गर्दै, ठमेलस्थित चर्चित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिंक्स)ले विश्वका प्रतिष्ठित क्लबहरूको सूचीमा ४४औं स्थान प्राप्त गर्दै एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । बेलायतबाट प्रकाशित हुने प्रतिष्ठित म्यागजिन डीजे म्यागले प्रत्येक वर्ष विश्वभरका उत्कृष्ट नाइट क्लबहरूको मूल्याङ्कन गर्दै तयार गर्ने यो सूची, क्लबिङ उद्योगमा उच्चतम मान्यता प्राप्त गर्नको लागि एक प्रमुख चुनौती हो ।

    यसपटकको मूल्याङ्कनमा ५ सय भन्दा बढी क्लबहरू सहभागी थिए, जहाँ एलओडीले आफ्नो स्थानमा ४४औं स्थान प्राप्त गर्दै नेपाललाई विश्व क्लब नक्शामा सशक्त रूपमा चिनाएको छ । यसअघि ४९औं, ५२औं र ५०औं स्थानमा रहेका एलओडी क्लब, यसपटक ४४औं स्थानमा उक्लिएर अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभावलाई अझ गहिरो र दृढ बनाएको छ ।

    “यो सफलता राष्ट्रकै पहिचान हो” — निर्देशक कुँवर

    क्लबका निर्देशक भुपेन कुँवर भन्छन्, “एलओडीको यो सफलता हाम्रो समर्पण, कठिन परिश्रम र निरन्तरताको उत्साहको फल हो, तर यसले नेपालको क्लबिङ संस्कृतिलाई विश्व मञ्चमा एउटा नयाँ पहिचान दिलाएको छ । हामीलाई गर्व छ कि एलओडीले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात बनाउने एउटा प्रमुख सेतुको भूमिका निभाउन सकेको छ । यो केवल क्लबको मात्र सफलता होइन, नेपालको सांस्कृतिक धरोहर र समृद्धिको प्रमाण पनि हो ।”

    उनका अनुसार एलओडी क्लबले सुरुवातदेखि नै सुरक्षित, सम्मानजनक र पारिवारिक क्लबिङ अनुभव प्रदान गर्दै आएको छ । क्लबले उच्च प्रविधि, अन्तर्राष्ट्रिय स्तरको साउन्ड सिस्टम, भिजुअल इफेक्ट, सशक्त व्यवस्थापन र विविध संगीत प्रस्तुतिहरू समावेश गर्दै नेपाली नाइटलाइफको नयाँ मापदण्ड स्थापित गरेको छ ।

    विदेशी पर्यटक र स्थानीय युवाको पहिलो रोजाइ

    आज एलओडी क्लब केवल नेपालीहरूको लागि मात्र नभएर विदेशी पर्यटकहरूका लागि पनि अत्यधिक लोकप्रिय गन्तव्य बनिसकेको छ । यसको विश्वस्तरीय संरचना, उत्कृष्ट ग्राहक सेवा, र नवीनतम कार्यक्रम व्यवस्थापन शैलीले क्लबलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्न सक्षम बनाएको छ । क्लबले इभेन्ट म्यानेजमेन्ट, थीम नाइट्स, सांगीतिक प्रस्तुती, र डान्स फ्लोरमा प्रस्तुत गरेको अनुभवलाई नयाँ उचाइमा पुर्याउँदै, नेपालको क्लब संस्कृतिलाई आधुनिक र व्यवसायिक रूपले विकास गरेको छ ।

    एलओडी क्लबले नेपाली नाइटलाइफलाई विश्वस्तरीय मापदण्डमा पुर्याएर, स्थानीय युवासहित विदेशी पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको हो । क्लबको नवीन र आकर्षक कार्यक्रम व्यवस्थापन र आधुनिक प्रविधि प्रयोगले गर्दा, एलओडी क्लबलाई अन्तर्राष्ट्रिय क्लबिङ समुदायमा एउटा प्रतिष्ठित स्थान प्राप्त भएको छ ।

    एलओडीको उपलब्धिः सम्पूर्ण क्लबिङ उद्योगको प्रेरणा

    नेपालको नाइटलाइफ उद्योग अझै विकासशील अवस्थामा रहेकाले, एलओडीको यो उपलब्धिले सम्पूर्ण क्लबिङ क्षेत्रका व्यवसायीहरूलाई उत्कृष्टता र प्रतिस्पर्धाको नयाँ मापदण्ड प्रस्तुत गरेको छ । एलओडीको सफलता नेपालको क्लबिङ संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने एउटा प्रेरणादायक उदाहरण बनेको हो ।

    डिजे म्यागको विश्वको १०० उत्कृष्ट क्लबहरूको सूचीमा निरन्तर स्थान राख्दै, एलओडीले नेपालको क्लब उद्योगलाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने दीर्घकालीन सम्भावनालाई अझ बलियो बनाएको छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय क्लबिङ दृश्यमा प्रमुख स्थानमा पुर्याएको छ र अन्य क्लबहरूलाई पनि एलओडीको सफलता बाट शिक्षा लिन प्रेरित गरेको छ । एलओडीको यो उपलब्धि, क्लबिङ उद्योगका सबैका लागि प्रतिस्पर्धा र सिर्जनात्मकताको प्रेरणा हो । क्लबको सफलता नेपालको नाइटलाइफ उद्योगमा विकास र विस्तारको नयाँ युग सुरु गर्ने संकेत हो ।

  • ज्ञानकुञ्ज किन्डरगार्टेनमा अध्ययनरत ५३ विद्यार्थीहरु दीक्षित

    ज्ञानकुञ्ज किन्डरगार्टेनमा अध्ययनरत ५३ विद्यार्थीहरु दीक्षित

    बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको अग्रणी शैक्षिक संस्था ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५३ जना विद्यार्थीहरु दीक्षित भएका छन् । एक भव्य समारोहका बिच विद्यार्थीहरूलाई स्मार्ट प्यालेस बनेपामा दीक्षित गरिएको हो । कार्यक्रम शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक प्रिन्सिपल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष, प्याबसन, एन. प्याबसन, प्याबसन नगर कमिटि अध्यक्ष, अभिभावक, शिक्षक÷शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्य

    कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै निर्देशक वैद्यले भन्नुभयो, प्रतिष्ठानले बालमैत्री वतावरणमा बाल मनोपरामर्शदाताहरु सहितको उपस्थितिमा शिक्षण सिकाई क्रियाकलाप गर्दे शैक्षिक सत्र २०८२ मा पनि विद्यार्थीहरुको शिक्षाका साथ साथै नेतृत्व विकास, सम्बन्ध निमार्ण, भावनात्मक व्यवहार, क्षमाशीलता लगायत पढाइसँग सम्बन्धित युग सुहाउदो थप कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता गर्नु भयो ।

    ‘शिक्षा’ मानव जीवनको अपरिहार्यता र जीवनशैलीसँग सम्बन्धित रहेकोले समयको माग अनुरुप शिक्षाको संरचना परिवर्तन गर्दे नैतिक, व्यावहारिक शिक्षाका लागि ज्ञानकुञ्ज सदैव लागि रहने बताउनु भयो । कार्यक्रममा बोल्दै वैद्यले आजको शिक्षाको अवधारणनामा किताबी ज्ञानले मात्र पूर्णता नहुने निष्कर्ष निकाल्दै सबै शैक्षिक संस्थाहरुले किताबी ज्ञानका साथ साथै जीवन उपयोगी शिक्षामा पनि जोड दिनु पर्ने आवश्यकता रहेको पुष्ट्याउनु भयो ।

    शैक्षिक सत्र २०८२ देखि विद्यार्थीहरुलाई किताबी ज्ञानको साथ साथै जीवन उपयोगी शिक्षाको लागि मौसम अनुसारको तरकारी बाली तथा कृषि सम्बन्धी शिक्षा(कौसी खेती), दैनिक दिन चर्यामा आवश्यकीय शिक्षा अन्तर्गत कुकिङ्ग, सिलाइ बुनाई, विभिन्न किसिमको अचार, गुन्द्रुक, मस्यौरा तथा विभिन्न सिजनमा उत्पादन बढी हुने फललाई स्टोरेज तथा ड्राइ गरी अफ सिजनमा प्रयोग गर्न मिल्ने शिक्षा प्रदान गरी विद्यार्थी जीवनबाट नै उद्यमी, व्यवसायी तथा आ–आफ्ना समयको सही सदुपयोग देखि, विभिन्न किसिमको वचत तथा मितव्ययिता के हो ? भन्ने शिक्षा प्रदान गर्ने जानकारी समेत दिनुभयो ।

    समाज रुपान्तरणको लागि आफूहरुले सदैव शिक्षामा जोड दिई उद्यमी, व्यवसायीका साथै राष्ट्र निमार्णमा अब्बल भई साथ दिने जनशक्ति उत्पादन गरिरहेको जानकारी दिनु भयो । काभ्रेमा पनि एकै छानामुनि प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने सन्देश ज्ञानकुञ्जले प्रदान गरेको वैद्यले बताए । ‘हामी एकै छानामुनि सबै प्रकारको शिक्षा दिन सकिन्छ भनेर लागेका छौँ । राष्ट्रका कर्णधारहरु शिक्षाको सुनौलो प्रकाशबाट कोही पनि टाढा नहुन् भन्ने उद्देश्यले सयौँ विद्यार्थीहरुलाई ३० लाखको छात्रवृत्ति समेत प्रदान गरेको बताए ।

    कार्यक्रमको उद्घाटन गर्नुहुँदै ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्य

    प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाइ, वैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरुका बिच लोकप्रिय रहेको विद्यालय आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुँदै सबैको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नु भयो । साथै उहाँले दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना समेत गर्नुभएको थियो ।

    सोही अवसरमा प्रतिष्ठानका सहायक प्रिन्सिपल मिरा मानन्धरले एक वर्षमा विद्यालयले हाँसिल गरेको उपलब्धिलाई सार्वजनिक गरेका थिए । एक वर्षमा प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्म अध्ययन, खेलकुद तथा संगीतमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रतिष्ठानले सम्मान गरेको बताए ।
    कार्यक्रममा किन्डरगार्टेन तहमा अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले दर्जनौं प्रस्तुतिहरु दिएका थिए ।

    कार्यक्रममा दीक्षित भएका विद्यार्थीहरुका अभिभावकहरुले यस्ता प्रकारका समारोहले नानी÷बाबुहरुमा शिक्षण सिकाइमा रुचि बढ्नुका साथै व्यक्तित्व विकासमा समेत वृद्धि भई भविष्यमा असल नागरिक बन्नेमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा समेत यस्तै विविध शैक्षिक तथा अतिरिक्त किृयाक्रलाप सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

  • व्यावहारिक, नैतिक र जीवनोपयोगी शिक्षा प्रदानमा प्रतिबद्ध छौंः मुक्तिनाथ रिजाल

    व्यावहारिक, नैतिक र जीवनोपयोगी शिक्षा प्रदानमा प्रतिबद्ध छौंः मुक्तिनाथ रिजाल


    माउण्ट भ्यु अङ्ग्रेजी माध्यमिक विद्यालय २०३७ सालमा स्थापना भई वि.सं. २०४१ मा विधिवत रूपमा दर्ता भई सञ्चालनमा छ । संस्थापक सूर्य प्रसाद ब्यान्जु श्रेष्ठले धुलिखेलमा अंग्रेजी शिक्षाको पहुँच बढाउन दार्जिलिङबाट शिक्षक ल्याएर विद्यालय सञ्चालन गर्नुभएको हो । विद्यालयमा हाल रोमी प्रसाद ब्याञ्जु सञ्चालक अध्यक्ष हुनुहन्छ । धुलिखेल नगरपालिका वडा नम्बर ७ स्थित यस विद्यालयमा हाल ४१० विद्यार्थी र ३२ जना शिक्षक-कर्मचारी कार्यरत छन् ।

    विद्यालय व्यावहारिक,  नैतिक र जीवनोपयोगी शिक्षामा केन्द्रित छ । नियमित परीक्षा, परियोजना-आधारित सिकाइ र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूलाई सक्षम बनाइन्छ । जिल्लास्तरिय, प्याब्सनस्तरिय र नगरस्तरिय प्रतियोगिताहरूमा विद्यालयले उल्लेखनीय सफलता प्राप्त गरेको छ । यातायात, स्वास्थ्य सेवा, छात्रवृत्ति तथा प्रविधिसहितको प्रयोगशाला उपलब्ध छन् । शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिम प्रदान गरिन्छ । भौतिक संरचना विस्तार गर्दै आधुनिक विद्यालय भवन निर्माणको योजना विद्यालयको रहेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकबीचको सुमधुर सहकार्यले शिक्षालाई प्रभावकारी बनाएको छ ।

    नयाँ शैक्षिक सत्र २०८२ सुरुवातको संघारमा विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ रिजालसँग काभ्रेपोष्ट साप्ताहिकका लागि संवाददाता बालकृष्ण बजगांईले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः


    विद्यालयको स्थापना कहिले र कसरी भयो?

    विद्यालयको सुरुवात २०३७ सालतिर भएको देखिन्छ । नेपाल सरकारमा विधिवत रूपमा २०४१ सालमा दर्ता भएको तथ्यांक छ। विद्यालयका संस्थापक रोशी प्रसाद श्रेष्ठका बुबा सूर्य प्रसाद ब्यान्जु श्रेष्ठले दार्जिलिङबाट शिक्षकहरू ल्याएर बनेपा, भक्तपुर, काठमाडौं जानु नपरोस् भन्ने सोचले र अंग्रेजी शिक्षा आवश्यक छ भन्ने मान्यताका आधारमा अध्ययन-अध्यापन सुरु गर्नुभएको हो।


    हाल विद्यालयमा कति विद्यार्थी र शिक्षक छन्?

    विद्यालयमा शिक्षक तथा कर्मचारीसहित ३२ जना स्टाफ कार्यरत छन् । हाल विद्यार्थी संख्या ४१० जना रहेको छ ।


    विद्यालयले कस्तो शिक्षा प्रदान गरिरहेको छ?

    हाम्रो विद्यालयले व्यावहारिक, पारिवारिक, र जीवनोपयोगी शिक्षा प्रदान गरिरहेको छ । विद्यार्थी केन्द्रित, विद्यार्थी उन्मुख, परियोजना आधारित शिक्षामा विशेष ध्यान दिइएको छ। साथै, बाहिरी वातावरण तथा नैतिक शिक्षालाई पनि प्राथमिकता दिइएको छ । घरमा नसिकिएका विषयहरू विद्यालयमा सिक्ने अवसर उपलब्ध गराइएको छ ।


    विद्यालयको शैक्षिक उपलब्धि कस्तो छ ?

    शैक्षिक उपलब्धि एकदमै राम्रो छ । कोरोनापछिको शैक्षिक स्तर पुनः सुधार भइसकेको छ। विद्यार्थीहरूको नतिजा र प्रस्तुतिमा पनि उत्कृष्ट प्रगति भइरहेको छ ।


    अतिरिक्त क्रियाकलाप, बिलई र एसईई परीक्षामा विद्यार्थीहरूको प्रगति कस्तो छ?

    वर्षेनि विद्यार्थीको नतिजा राम्रो आइरहेको छ । यसका साथै विद्यार्थीहरू हाजिरी जवाफ, नृत्य, चित्रकला लगायतका प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गर्दै आएका छन् । २०८१ सालमा हेल्पिङ ह्यान्ड्सले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएका छन् । त्यस्तै विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलाञ्चोकले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा हामीले दोस्रो स्थान हाँसिल गर्न सफल भयौं । प्याब्सन स्तरिय फुटसल प्रतियोगितामा ३७ वटा विद्यालयमध्ये हाम्रो विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ भने बेस्ट प्लेयर र बेस्ट गोलकिपरको उपाधि पनि हाम्रै विद्यार्थीहरूले जित्न सफल भएका छन् ।


    विद्यार्थीहरूका लागि उपलब्ध सुविधाहरू के के छन्?

    विद्यालयमा यातायात सुविधाका लागि ठूला गाडी तथा साना बालबालिकाका लागि भ्यानको व्यवस्था गरिएको छ। अतिरिक्त शुल्क नलिई नृत्य, चित्रकला, कम्प्युटर सिकाइने गरिएको छ। स्वास्थ्य सेवामा ध्यान दिँदै धुलिखेल अस्पतालसँग सहकार्य गरि आँखा परीक्षण, दन्त परीक्षण गर्ने गरेका छौं । राष्ट्रसेवक कर्मचारी नेपाल आर्मी, सशस्त्र र नेपाल प्रहरीका बालबालिकालाई १०-१५% छुट, दलित तथा पिछडिएका विद्यार्थीहरूलाई विशेष छुट प्रदान गर्दै आएका छौं । खेल क्षेत्रमा सफलता हाँसिल गरेका विद्यार्थीहरूलाई आगामी शैक्षिक सत्रदेखि विशेष छुट प्रदान गर्ने योजना छ । विद्यालयमा हाल ३४ जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।


    विद्यालयले शैक्षिक गुणस्तर सुधार्नका लागि अपनाएका नीति तथा कार्यक्रमहरू के के छन्?

    विद्यालयले शिक्षकमाथि नियमित अनुगमन तथा निरीक्षण गर्दछ। अभिभावकसँग समन्वय गरी विद्यार्थीको प्रगति विवरण दाँज्ने गरिन्छ। विभिन्न परीक्षा प्रणाली (युनिट टेस्ट, पाठ समाप्ति परीक्षा) को माध्यमबाट विद्यार्थीको स्तर मूल्यांकन गरिन्छ। प्रोजेक्टरमार्फत गीतिनाटक, सन्देशमूलक चलचित्र, भिडियो प्रस्तुत गरेर शिक्षण विधिमा नवीनता ल्याउने अभ्यासमा हामीहरू छौं ।


    विद्यार्थीहरूलाई अनुशासित, कर्तव्यनिष्ठ, र जिम्मेवार बनाउन विद्यालयले के गर्दै आएको छ?

    विद्यालयमा करियर काउन्सेलिङ, विद्यार्थीको व्यक्तिगत समस्या सुन्ने तथा समाधान दिने, नैतिक शिक्षा प्रदान गर्ने, बाह्य वक्ताको सहकार्यमा नैतिक शिक्षाका कार्यक्रम सञ्चालन गरिन्छ। साथै, योग अभ्यासद्वारा स्मरण शक्ति वृद्धि तथा सकारात्मक सोचको विकास गराउने कार्यक्रमहरू गर्दै आएका छौं ।


    विद्यालयमा नियमित अध्ययन बाहेक गैर-पाठ्यक्रम क्रियाकलाप कत्तिको हुन्छ?

    नियमित रूपमा गैर-पाठ्यक्रम गतिविधिहरू सञ्चालन गरिन्छ। हप्तैपिच्छे पुनर्ताजगी कक्षाहरू, अन्तरंग र बहिरंग खेल, चलचित्र प्रदर्शन, सेक्सन स्तरका प्रतियोगिता, समूहगत प्रतिस्पर्धाहरू आयोजना गरिन्छन् ।


    विद्यालयमा सूचना प्रविधिको प्रयोग कसरी गरिएको छ?

    कक्षा ४ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रयोगात्मक पढाईका लागि इन्टरनेट जडित कम्प्युटर सेटहरू उपलब्ध छन् । कम्प्युटर ल्याबमा १२ वटा कम्प्युटर राखिएको छ । त्यस्तै विज्ञान प्रयोगशाला छ । जहाँ विद्यार्थीहरूले शिक्षकको समन्वय र निर्देशनमा प्रयोगात्मक ज्ञान लिन सक्दछन् ।


    विद्यालयको भौतिक संरचना कस्तो छ? पर्याप्त छ?

    हाल विद्यालयको भौतिक संरचना पर्याप्त छैन। तर, विद्यार्थीहरूलाई खाँदेर नराखी, ३० जनाभन्दा बढी विद्यार्थी भएमा अर्को सेक्सन खोल्ने व्यवस्था गरिएको छ। निकट भविष्यमा नै विद्यालयको लागि आवश्यक भौतिक संरचना बनाउने सोच विद्यालको रहेको छ ।


    विद्यालयलाई अझ उत्कृष्ट र आधुनिक बनाउनका लागि केकस्ता योजनाहरू छन्?

    निकट भविष्यमा सुविधासम्पन्न विद्यालय भवन निर्माण गर्ने योजना छ । विद्यालयमा खेल मैदान पर्याप्त छ। टिफिन समय दुई चरणमा विभाजन गरिएको छ, जसले विद्यार्थी तथा क्यान्टिन व्यवस्थापनमा सहजता ल्याएको छ। कक्षाकोठा तथा विद्यालय परिसरमा सिसी क्यामरा जडान गरिएको छ । ट्रस्ट भवनमा फल्स सिलिङ लगाइएकाले गर्मी तथा पानी पर्दा असर नपर्ने व्यवस्था मिलाइएको छ । विषय शिक्षकको अनुरोधमा ल्याबमा आवश्यक सामग्री थप्ने तथा कम्प्युटर मर्मत सुधार गर्ने कार्य निरन्तर भइरहेको हुन्छ ।


    विद्यालयमा अभिभावकको संलग्नता कत्तिको छ, यसलाई वृद्धि गर्न के गरिँदैछ?

    विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघमा अभिभावकहरूको सक्रिय सहभागिता रहेको छ। हालै अभिभावक दिवसमा १० जना उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको थियो। अभिभावकका सुझावलाई विद्यालयले उच्च प्राथमिकता दिने गर्दछ ।


    शिक्षकहरूको क्षमता विकासका लागि विद्यालयले कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ?

    विद्यालयले प्रत्येक दुई वर्षमा प्रि-प्राइमरी शिक्षकहरूको लागि रिफ्रेसमेन्ट तालिम सञ्चालन गर्दछ। शिक्षकहरूलाई नगरपालिका तथा प्याब्सनले आयोजना गर्ने तालिमहरूमा सहभागी गराइन्छ। साथै, वार्षिक रूपमा शिक्षकहरूका लागि रिफ्रेसमेन्ट टुर तथा पिकनिकको आयोजना गरिन्छ। शिक्षकहरूको दीर्घकालीन सेवालाई सम्मानित गर्ने परम्परा पनि विद्यालयमा छ ।


    अन्त्यमा के भन्न चाहनुहुन्छ?

    विद्यालयको गतिविधि र समग्र शैक्षिक अवस्थाबारे आफ्नो भनाई राख्ने अवसर दिनुभएकोमा काभ्रेपोष्ट र तपाईंलाई व्यक्तिगत, विद्यालय, अभिभावक र सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु । साथै आउँदै गरेको नव वर्ष २०८२ सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थीहरू, शिक्षकशिक्षिका, कर्मचारी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्दछु । सुस्वास्थ्य, दीर्घजीवी, निरोगी जीवन रहोस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

  • पलाञ्चोक भगवती मन्दिरमा दानपेटिका फोडी नगद चोरी गर्ने पक्राउ

    पलाञ्चोक भगवती मन्दिरमा दानपेटिका फोडी नगद चोरी गर्ने पक्राउ

    धुलिखेल । पलाञ्चोक भगवती मन्दिरमा रहेको दानपेटिका फोडी नगद चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–०७ निवासी ३० वर्षीय रविन खुलाल हुन्।
    २०७९ कार्तिक १६ गते राति काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ९ स्थित पलाञ्चोक भगवती मन्दिरमा रहेको दानपेटिका फोडी करिब रु. ७० हजार नगद चोरी भएको घटनाको अनुसन्धानका क्रममा खुलालको संलग्नता पुष्टि भएको थियो।
    यसअघि, खुलालले रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–०७ स्थित खाँडादेवी मन्दिरको दानपेटिका फोडी त्यहाँ रहेको नगद चोरी गरेको आरोपमा पक्राउ परी रामेछाप कारागारमा थुनामा रहेको जानकारी प्राप्त भएपछि काभ्रेपलाञ्चोक प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।
    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेका अनुसार काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी टोलीले खुलालको सनाखत गरी उनलाई किटानी जाहेरीका आधारमा झिकाई बयान लिई थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।