Author: Kavre Post

  • नक्कली मैना: नयाँ गीत अडियो रिलिजको तयारीमा

    नक्कली मैना: नयाँ गीत अडियो रिलिजको तयारीमा

    ♦ अशोक बुद्ध लामा


    बनेपा । नेपाली संगीत पारखीहरूका लागि खुसीको खबर छ । चर्चित कमेडी अर्टिस गोकुल तामाङ क्यालोको शब्द र संगीत रहेको नयाँ गीत “नक्कली मैना” यही शुक्रबार अडियो रिलिज हुँदैछ।

    विशाल काल्तान र लक्ष्मी स्याक्तानको सुमधुर आवाजमा सजिएको यस गीतलाई शुक्र लाल दोङले एरेन्ज तथा मिक्सिङ गरेका छन्। गीतको रेकर्डिङ बनेपास्थित ल्हास्सो रेकर्डिङ स्टुडियोमा सम्पन्न भएको हो।

    संगीतप्रेमीहरूले छेटुप लामा युट्युब च्यानलमार्फत गीतको अडियो सुन्न सक्नेछन्। गायक तथा संगीतकारको अनुसार, गीतले प्रेम, भावना र वास्तविक जीवनका कथाहरूलाई संगीतमय रूपमा प्रस्तुत गर्नेछ।

    “नक्कली मैना” गीतको अडियो रिलिजलाई लिएर दर्शक तथा श्रोताहरू उत्साहित छन्। तामाङ संगीतमा नयाँपन ल्याउने उद्देश्यले तयार पारिएको यस गीतलाई धेरैले मन पराउने विश्वास गरिएको छ।

    अझ विस्तृत जानकारीका लागि शुक्रवार छेटुप लामा युट्युब च्यानलमा गीत सुन्न सकिनेछ ।

  • २०८२ भदौ १ गतेदेखि सहकारी स्थापना दिवस मनाइने

    २०८२ भदौ १ गतेदेखि सहकारी स्थापना दिवस मनाइने

    बनेपा । नेपालमा सहकारीको प्रादुर्भाव र काभ्रेपलाञ्चोक जिल्ला विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विन्धवासिनी बचत तथा ऋण सहकारीको आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

    बनेपामा २००० साल भदौबाट नै सहकारीता अभ्यास गरिएको विषय संसदिय समितिले समेत पुष्टि गरिसकेको छ । दिन यकिन गर्न नसकिएको सन्दर्भमा १ गते मान्नुपर्ने सुझावहरू अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएका छन् ।

    नेपालको सहकारी इतिहासअनुसार, तत्कालीन पूर्व १ नम्बर (हालको काभ्रेपलाञ्चोक जिल्ला) बनेपा नगरपालिकामा नै सहकारी प्रणालीको सुरुआत भएको तथ्य संसदको संसदीय समितिले पुष्टि गरिसकेको छ। सांसद सुर्य थापाको संयोजकत्वमा गठित समितिले सहकारी स्थापना सम्बन्धी प्रतिवेदन संसदबाट पारित गराएपछि नेपाल सरकारले यसको कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। तथापि, हालसम्म २०१३ साल चैत २० लाई सहकारी दिवसको रूपमा मनाइँदै आएको छ, जसप्रति सम्बन्धित निकायहरूले पुनर्विचार गरी ऐतिहासिक वास्तविकता स्वीकार्न सरकारको ध्यानाकर्षण गराएका छन्।

    ऐतिहासिक दस्तावेज र सहकारी अभियन्ताहरूको आवाज

    प्रदेशसभा सदस्य तथा पूर्व राज्य मन्त्री कञ्चनचन्द्र बादेले सहकारी स्थापनाको प्रारम्भिक कालखण्डमा बनेपाका समाजसेवी तथा राजनीतिज्ञ स्व. राजदास बादेले खेलेको महत्त्वपूर्ण भूमिकालाई स्मरण गर्दै तत्कालीन श्री ३ जुद्ध शमसेरको अनुमतिमा सहकारी स्थापना भएको तथ्य प्रस्तुत गरे। उनले सहकारी इतिहासलाई पुनः स्थापित गर्न सरकारबाट स्वीकृत प्रतिवेदनको कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।

    विन्धबासिनी सहकारीका अध्यक्ष शान्तकुमार श्रेष्ठले बनेपा नगरको गौरवमय इतिहासलाई उचित रूपमा मान्यता नदिइएकोमा खेद व्यक्त गर्दै पछिल्लो अनुसन्धान र दस्तावेजहरूले ऐतिहासिक सन्दर्भलाई पुनः उजागर गरेको बताए। सहकारीको सही इतिहासलाई प्रवर्द्धन र कार्यान्वयन गर्न सबै पक्षको ध्यानाकर्षण गराउँदै यस कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए। बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सहकारीको मौलिक इतिहासलाई जोगाइराख्ने प्रतिबद्धता जनाउँदै सहकारी दिवस मनाउन कार्यदल गठन गरी थप योजनाहरू अघि बढाइने घोषणा गरे। नगरप्रमुख शाक्यले जानकार व्यक्तित्वहरू सपक्ष सहयोगको अपेक्षा गर्दै आवश्यक समय, मार्गदर्शन र सुझावहरू प्रस्तुत गर्न आग्रह गरे ।

    कार्यक्रममा विज्ञहरूको टिप्पणी

    कार्यक्रममा सहकारी प्रादुर्भाव विषयमा कार्यपत्र प्रस्तुत गर्दै बुद्धिजीवी एवं समाजसेवी केशव थापाले सहकारी स्थापनासम्बन्धी ऐतिहासिक दस्तावेजहरू कार्यपत्रका रूपमा प्रस्तुत गरेका थिए।

    वरिष्ठ साहित्यकार तथा इतिहासकार मोहन दुवालले इतिहास खोजी गर्न जनप्रतिनिधिहरू क्रियाशील हुनुपर्ने सुझाए । इतिहास तोडमोड नगरि त्यसको रक्षा गर्नुपर्नेमा दुवालको जोड थियो ।

    सहकारी अभियन्ता दीपकप्रसाद पौडेलले सहकारी अभियान्ता स्व. राजदास बादे, स्व. कैलाशभक्त प्रधानाङ्गको योगदानको चर्चा गरे ।

    नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मोतीराम तिमल्सिनाले २०७२ देखि २०७४ सालसम्म खरिद विक्री गरिएका सहकारी समस्याग्रस्त देखिएको बताए । पत्रकार तिमल्सिनाले राम्रो सहकारीलाई पछिल्ला गतिविधिहरूले असर पारेको निष्पक्ष समाचार सम्प्रेषण गर्दा पक्षपातपूर्ण तवरले हेर्ने गरिएको गुनासो व्यक्त गरे ।

    सक्षम साकोस बनेपाका अध्यक्ष रमेशकाजी श्रेष्ठले कार्यपत्रमा महत्वपूर्ण टिप्पणी गर्दै सहकारी इतिहासलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए।

    नेफ्सकुनका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश अध्यक्ष उद्धव सापकोटा, राष्ट्रिय सहकारी महासंघका संचालक समिति सदस्य सुमन नेपाल तथा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे लगायतका वक्ताहरूले सहकारी इतिहास कार्यान्वयनका लागि सर्वपक्षीय सहकार्य र समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।

    कार्यक्रममा पनौती नगरपालिका नगरप्रमुख रामशरण भण्डारी, विन्धबासिनी सहकारीका पूर्व अध्यक्ष प्रदीप थापा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, सहकारीकिर्मी, बिन्धवासिनी सहकारीका कर्मचारीहरू, जिल्लामा क्रियाशील सञ्चारकर्मी लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    सहकारीको भविष्य र कार्यान्वयन योजना

    कार्यक्रममा सहकारी संचालक समिति उपाध्यक्ष रामहरी शर्मा तिमल्सिना, प्रमुख कार्यकारी अधिकृत केबी लामा स्याङतान लगायतले विन्धबासिनी सहकारीका गतिविधि तथा सहकारी इतिहास कार्यान्वयनमा संस्थाहरूले खेल्नुपर्ने भूमिकाबारे आफ्नो धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन नायब प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले गरेका थिए ।

    बनेपा नगरपालिकाले सहकारी इतिहासको संरक्षण, प्रवर्द्धन तथा कार्यान्वयनलाई प्राथमिकता दिँदै २०८२ भदौ १ गतेलाई सहकारी स्थापना दिवसको रूपमा मनाउने निर्णयसँगै सहकारी अभियान र काभ्रेपलाञ्चोक जिल्ला र बनेपा नगरपालिकाको गरिमा बढ्ने अपेक्षा गरिएको छ ।

  • ‘लहरे बाली आधारभूत व्यावसायिक तालिम’ सम्पन्न

    ‘लहरे बाली आधारभूत व्यावसायिक तालिम’ सम्पन्न

    पनौती । सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत देवीस्थान सेवाकेन्द्र र महांकाल सेवाकेन्द्रको संयुक्त व्यवस्थापन तथा कृषि तथा सामाजिक कार्य उप–समितिको आयोजनामा चैत्र १४ र १५ गते दुई दिने “लहरे बाली आधारभूत व्यवसायिक तालिम” सफलतापूर्वक सम्पन्न भएको छ ।

    तालिममा सहकारीका सदस्यहरुलाई नगदे वाली उत्पादन सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको थियो । तालिममा काक्रों, तितेकरेला र घिरौलाजस्ता लहरेबालीहरुको व्यवसायिक खेती प्रविधि सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।

    तालिम उद्घाटन समारोह पनौती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिपकप्रसाद दाहालको प्रमुख आतिथ्यता तथा कृषि तथा सामाजिक कार्य उपसमितिका संयोजक किसन बहादुर बस्नेतको सभाध्यक्षतामा भएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले कृषकले प्रत्यक्ष या अप्रत्यक्ष रुपमा समाज र राष्ट्रलाई सहयोग गरिरहन्छ, कृषि कर्म बिना कसैले पनि जीवनको कल्पना गर्न नसकिने भन्दै किसानलाई सम्मान र ज्ञान दिन कसैले पनि कञ्जुस्यांई गर्न नहुने धारणा राख्नु भएको थियो ।

    समारोहमा देवीस्थान सेवाकेन्द्र संयोजक धिरजकुमार काफ्ले तथा महांकाल सेवाकेन्द्र संयोजक कृष्णबहादुर श्रेष्ठले आ– आफ्नो मन्तव्य राखेका थिए ।

    तालिम कार्यक्रम पनौती नगरपालिका वडा नं ४ को कार्यालयमा सन्चालन गरिएको थियो । जहाँ ३५ जना सदस्यहरुले सहभागिता जनाएका थिए । २ दिने तालिम प्रशिक्षणमा गणेशकुमार श्रेष्ठ (JTA), यादव सुवेदी (IPM) प्रशिक्षक तथा मोटिभेसनल प्रशिक्षक देव तामाङले बिभिन्न विषयहरुमा सहजीकरण गरेका थिए ।

    संस्थाको सेवा सुविधा, बचत तथा ऋण योजना तथा संस्थाको भावी योजनाबारे जानकारी संस्थाका प्रमुख व्यवस्थापक गौतम प्रजापतिले प्रस्तुत गर्नुभएको थियो ।

    तालिम समापन कार्यक्रममा सहभागी कृषक सदस्यहरुलाई प्रमाणपत्रका साथै सहभागीहरुलाई लहरेबालीको उन्नत जात तथा रैथाने बिऊ समेत वितरण गरिएको थियो । उनीहरुको व्यावसायिक कृषि उत्पादनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । संस्थाका प्रमुख व्यस्थापक गौतम प्रजापतिले यस्ता कृषिमैत्री तालिमहरु निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता जनाएका थिए ।

  • विनायक बाल विद्यालयको २६ औं वार्षिकोत्सव : जेहेन्दार विद्यार्थी नगदसहित सम्मानित

    विनायक बाल विद्यालयको २६ औं वार्षिकोत्सव : जेहेन्दार विद्यार्थी नगदसहित सम्मानित

    धुलिखेल। धुलिखेल नगरपालिका वडा नं ८ बडालगाँउ स्थित विनायक बाल आधारभुत विद्यालयको २६ औ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

    समारोह धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ‌।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ब्यान्जुले नगरको शैक्षिक गुण स्तरीयता वृद्धिमा लगानी गरेको बताउनु भयो। नगर प्रमुख ब्यान्जुले ज्ञान, सीप र क्षमताको सहि उपयोग गरि विद्यार्थीहरुको शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन शिक्षक वर्ग एकता बद्ध भैइ अनुशासित ढंगले प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

    वडा अध्यक्ष बिनोद गौतमले वडाले बिगतको तुलनामा समग्र दिगो बिकासका योजनाहरु क्रमागत रुपमा सम्पन्न हुदै गएको बताउनु भयो।

    रेडियो एबिसीका अध्यक्ष रमेश प्रसाद न्यौपानेले विद्यालयका कक्षा -८ को छात्र सन्देश ढलकोटी र कक्षा-३ बिनिता तामाङलाई नगद सहित पुरस्कृत गर्नुभयो । उनीहरूले क्रमश: ३.६ जिपीए र ४ जिपिए ल्याएका थिए ।

    कार्यक्रममा धुलिखेल नगरपालिका शिक्षा शाखा अधिकृत भोज कुमार ठकुरी, सरस्वती माविका प्रधानाध्यापक रमेश प्रसाद बडाल , स्थानीय शैक्षिक सरोकारवाला बिष्णु मिजार, विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी , अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियोे ।

    कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम सहित आ आफ्नो प्रतिभा प्रस्तुति गरेका थिए । संचालक अध्यक्ष चोला बहादुर गौतमको सभापतित्वमा सप्पन्न भएको कार्यक्रमको संञ्चालन श्याम ढलकुटीले गर्नुभएको थियो ।

  • सामसुङ नेपालद्वारा 5G सिरिजका ग्यालेक्सी A56 , A36 र A26 सार्वजनिक

    सामसुङ नेपालद्वारा 5G सिरिजका ग्यालेक्सी A56 , A36 र A26 सार्वजनिक

    काठमाडौं । सामसुङ नेपालले आफ्नो लोकप्रिय ग्यालेक्सी A सिरिज अन्तर्गत ग्यालेक्सी A56 5G, ग्यालेक्सी A36 5G र ग्यालेक्सी A26 5G सार्वजनिक गरेको छ। यस पटक, ग्यालेक्सी A सिरिजमा ‘असम इंटेलिजेन्स’ समावेश गरिएको छ, जसले AI प्रविधि मार्फत मोबाइल अनुभवलाई नयाँ परिभाषा दिएको छ। यो प्रविधिले सिर्जनात्मकता, सुरक्षा, गोपनीयता तथा टिकाउपनमा सुधार ल्याउने विश्वास गरिएको छ। ग्यालेक्सी A56 5G र A36 5G अहिले नै बजारमा उपलब्ध छन् भने ग्यालेक्सी A26 5G अप्रिलको पहिलो साताबाट उपलब्ध हुनेछ।

    नयाँ ग्यालेक्सी A सिरिजमा असम इंटेलिजेन्स

    असम इंटेलिजेन्स, ग्यालेक्सी A56 5G, A36 5G र A26 5G मा उपलब्ध एक विशेष मोबाइल AI प्रविधि हो, जसले प्रयोगकर्तालाई शक्तिशाली र रमाइलो टुल्स प्रदान गर्दछ। One UI 7 द्वारा सञ्चालित यो प्रविधिले खोज तथा भिजुअल अनुभवलाई नयाँ स्तरमा पु-याएको छ।

    ‘सर्कल टु सर्च’ विशेषता थप प्रभावकारी भई मोबाइल स्क्रिनबाट सजिलै नम्बर, इमेल ठेगाना, URL पहिचान गर्न सकिन्छ। साथै, ‘म्यूजिक बटन’ ट्याप गरेर वरपर बजिरहेको गीतको नाम तथा कलाकारको जानकारी तुरुन्तै प्राप्त गर्न सकिनेछ।

    उन्नत क्यामेरा प्रविधि

    ग्यालेक्सी A सिरिजका नयाँ स्मार्टफोनहरूमा 50MP मुख्य क्यामेरा दिइएको छ। ग्यालेक्सी A56 5G र A36 5G मा 10-bit HDR फ्रन्ट क्यामेरा समावेश गरिएको छ, जसले उच्च गुणस्तरका सेल्फी प्रदान गर्दछ। A56 5G मा 12MP अल्ट्रा-वाइड लेन्स तथा ‘बेस्ट फेस’ विशेषता रहेको छ, जसले समूह फोटोहरूलाई अझ आकर्षक बनाउँछ। साथै, ‘नाइटोग्राफी’ प्रविधिले न्यून प्रकाशमा पनि उत्कृष्ट फोटो लिन मद्दत गर्दछ।

    Object Eraser सुविधा उपलब्ध भएकोले प्रयोगकर्ताले अनावश्यक वस्तुहरू सजिलै हटाउन सक्छन्। साथै, Filters फिचरले प्रयोगकर्तालाई आफ्नो फोटोहरूमा मनपर्ने शैली तथा रंग प्रयोग गर्ने सुविधा प्रदान गर्दछ।

    डिस्प्ले, टिकाउपन र प्रदर्शन

    ग्यालेक्सी A56 5G र A36 5G मा 6.7 इन्च FHD+ सुपर AMOLED डिस्प्ले समावेश गरिएको छ, जसको ब्राइटनेस 1200 निट्ससम्म पुग्न सक्छ। स्टेरियो स्पिकरले ध्वनि अनुभवलाई अझ उत्कृष्ट बनाउनेछ।

    यस सिरिजमा 5000mAh ब्याट्री दिइएको छ, जसले दिनभरि टिक्ने पावर प्रदान गर्छ। A56 5G र A36 5G मा 45W सुपर-फास्ट चार्जिङ सपोर्ट रहेको छ।

    प्रदर्शनको हिसाबले, ग्यालेक्सी A56 5G मा Exynos 1580 चिपसेट तथा A36 5G मा Snapdragon 6 Gen 3 प्रोसेसर राखिएको छ। ठुलो भेपर च्याम्बर प्रविधिको कारण गेम खेल्न तथा मल्टिटास्क गर्न सजिलो बनाएको छ।

    सुरक्षा र टिकाउपन

    ग्यालेक्सी A26 5G मा पहिलो पटक IP67 धुलो तथा पानी प्रतिरोध क्षमता समावेश गरिएको छ, जसले A36 5G र A56 5G जस्तै मजबुत सुरक्षा प्रदान गर्छ। Corning® Glass को प्रयोगले स्क्र्याच तथा चर्किने समस्याबाट मोबाइललाई सुरक्षित राख्छ।

    One UI 7 को साथमा, Samsung Knox Vault प्रविधिले थप सुरक्षा प्रदान गर्छ, जसले गोपनीय डेटा सुरक्षित राख्न मद्दत गर्छ।

    मूल्य र उपलब्धता

    डिभाइस RAM/Storage रंगहरू मूल्य (NPR)
    Galaxy A56 5G 12 GB / 256 GB Awesome Graphite, Light Grey, Olive 70,999
    8 GB / 256 GB 65,999
    Galaxy A36 5G 12 GB / 256 GB Awesome Black, White, Lime 59,999
    8 GB / 256 GB 54,999
    8 GB / 128 GB 48,999
    Galaxy A26 5G 8 GB / 256 GB Awesome Black, White, Light Green 45,999

    ग्यालेक्सी A56 5G, A36 5G र A26 5G मार्च 28 देखि सबै सामसुङ नेपालका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछन्। EMI सेवा समेत उपलब्ध रहेको छ, जसमा 0% ब्याज दरमा NPR 2,300/महिनाबाट किस्ताबन्दीमा फोन खरिद गर्न सकिनेछ। साथै, पुरानो स्मार्टफोन साट्न चाहने ग्राहकहरूले ‘सबकोफोन’ वा ‘Arkostore’ मार्फत एक्सचेन्ज सुविधा प्राप्त गर्न सक्नेछन्।

  • सवारीको ठक्करबाट ४ वर्षिय बालिकाको मृत्यु

    सवारीको ठक्करबाट ४ वर्षिय बालिकाको मृत्यु

    बनेपा । बनेपा नगरपालिका वडा नम्बर ४ त्रिवेणीचोकस्थित शुभकामना सप्लायर्स (गिट्टी बालुवा डिपो) भित्र भएको सवारी दुर्घटनामा परी ४ वर्षिय बालिकाको मृत्यु भएको छ।

    बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान गाडी ब्याक गर्ने क्रममा सोही गाडीका चालक सरोज बरालकी छोरी समिक्षा बराललाई ठक्कर लागेको थियो। ठक्करपछि गम्भीर घाइते भएकी बालिकालाई तत्कालै धुलिखेल अस्पताल पुर्‍याइएको थियो ।  उपचारका क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनास्थलमा प्रहरी चौकी नालाबाट प्रहरी निरीक्षक रामदास थारुको कमाण्डमा टोली खटिएको थियो। दुर्घटनामा संलग्न गाडीलाई ईलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ।

  • काठमाडौँ महानगरपालिकाद्वारा महिलाहरूका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

    काठमाडौँ महानगरपालिकाद्वारा महिलाहरूका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा महिलाहरूमा बढ्दो क्यान्सर जोखिमलाई ध्यानमा राख्दै स्तन, पाठेघर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचार सेवा सुरु गरेको छ।

    विशेषज्ञहरूका अनुसार समयमै क्यान्सर पत्ता लगाइएमा उपचार सम्भव हुन्छ। तर, लक्षण नदेखिँदासम्म परीक्षण नगराउने प्रवृत्तिले धेरैको ज्यान गइरहेको छ।

    महानगरपालिकाले ३०-६० वर्ष उमेर समूहका दिदीबहिनीहरूलाई नजिकको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर नाम टिपाउन र रेफरल स्लिप लिएर परीक्षण गर्न अनुरोध गरेको छ।

     

    यो सेवा पूर्ण रूपमा निःशुल्क भएकाले परीक्षण गरि ढुक्क हुन काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले आग्रह गरेकी छिन् ।

    पछिल्लो समय महिलाको पाठेघरको क्यान्सर विरुद्ध खोप नै आविष्कार भइसकेको छ ‌। पाठेघर क्यान्सर र स्तन, मुख लगायतमा बढ्दै गएको क्यान्सरबाट जोगाउन उक्त अभियान सुरु गरिएको हो । यसलाई देशका अन्य स्थानीय सरकारले पनि कार्यान्वयन गर्न जरुरी देखिएको छ ।

  • बुडोल सामुदायिकले सप्ताहव्यापी कार्यक्रम गरी मनायो ग्लोबल मनी विक

    बुडोल सामुदायिकले सप्ताहव्यापी कार्यक्रम गरी मनायो ग्लोबल मनी विक

    बनेपा । बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले ग्लोबल मनी विकको १३ औँ श्रृंखला अन्तर्गत ‘बुद्धिमानीपूर्वक खर्च गर्नुहोस्, भोलि राम्रो हुनेछ’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम गरी ग्लोबल मनी विक २०२५ मनाएको छ ।

    विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका र युवाहरुलाई लक्षित गरी संस्थाले चैत्र ४ गतेदेखि १० गतेसम्म सञ्चालन गरेको विद्यालयमा बुसा कार्यक्रम मार्फत ३३१ जनालाई वित्तीय सारक्षता प्रदान गरेको हो । कार्यक्रममार्फत बालबालिका, किशोरकिशोरीहरू र युवाहरूलाई संस्थाले श्रव्य दृश्य सामग्रीको प्रस्तुतीमार्फत वित्तीय बजार, वित्तीय संस्था र यसका प्रकारहरु, बचतको महत्व, पैसाको प्रयोग, ऋणको परिचय, व्यक्तिगत बजेट निर्माण, सहकारीको परिचय, जंक फुडको प्रयोग र यसले पार्ने नकारात्मक असर लगायतका विषयमा प्रशिक्षण गराएको थियो ।

    संस्थाको व्यवस्थापनमा सञ्चालित कार्यक्रममा श्री पूर्ण सञ्जिवनी लंखनामाई धुलिखेलको कक्षा ११ र १२ मा अध्ययनरत ३६ जना, ए.बि.एम स्कुल बनेपाको कक्षा ११ मा अध्ययनरत ६५ जना, प्रगति प्रभात स्कुल बनेपाको कक्षा ११ मा अध्ययनरत ५६ जना, सिद्धार्थ मा.वि. बनेपाको कक्षा ११ मा अध्ययनरत ५१ जना, श्री पञ्चकन्या आधारभूत विद्यालय धुलिखेलको कक्षा ६, ७ र ८ मा अध्ययनरत ४५ जना, निस्ट स्कूल बनेपाको कक्षा ११ मा अध्ययनरत ५० जना र संस्थाको मुख्य कार्यालयको सभाहलमा २८ जना युवाहरुमाझ गरेको कार्यक्रमबाट समेत गरी जम्मा ३३१ जना विद्यार्थीहरुको सक्रिय सहभागिता जनाएका थिए ।

    कार्यक्रमपश्चात पृष्ठपोषण लिने क्रममा विद्यालयहरुबाट संस्थाले निकै व्यवहारिक शिक्षाको माध्यमबाट विद्यार्थीहरुलाई पैसाको व्यवस्थापन गर्न सिकाएको हुँदा कार्यक्रम निकै प्रभावकारी भएको र आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमहरुको अपेक्षा रहेको भनी बताएका थिए ।


    बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठनको संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ । यसै सन्दर्भ पारेर बुडोल सामुदायिक साकोसले वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रम गर्दै हरेक वर्ष ग्लोबल मनी विक मनाउँदै आएको छ ।

  • बनेपा मेयर कप २०८१ को उपाधि वडा नं.६ लाई

    बनेपा मेयर कप २०८१ को उपाधि वडा नं.६ लाई

    बनेपा । बनेपा नगरस्तरीय अन्तर वडा मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १४ लाई १–० ले पराजित गर्दै वडा नम्बर ६ ले च्याम्पियनको उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। खेल निकै प्रतिस्पर्धात्मक रहे पनि वडा नम्बर ६ का खेलाडी पारस नेपालले गरेको एक मात्र गोल नै निर्णायक बन्यो।

    बनेपा नगरपालिकाको आयोजनामा तथा वडा नम्बर ९ को संयोजनमा भएको यस प्रतियोगितामा वडा नम्बर ६ र वडा नम्बर १४ बीचको फाइनल खेल निकै रोमाञ्चक रह्यो। खेलको सुरुवातदेखि नै दुवै टिम आक्रामक देखिएका थिए। पहिलो हाफमा दुवै टिमले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। दोस्रो हाफमा भने वडा नम्बर ६ का पारस नेपालले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि वडा नम्बर १४ ले बराबरी गर्न भगिरथ प्रयास गरे पनि वडा नम्बर ६ को कडा डिफेन्सका कारण सफल हुन सकेन।

    प्रतियोगिताको विजेता बनेको वडा नम्बर ६ ले नगद एक लाख पाँच हजार रुपैयाँ, सिल्ड, प्रमाणपत्र, र मेडल प्राप्त गर्‍यो। त्यस्तै, उपविजेता बनेको वडा नम्बर १४ ले नगद ५५ हजार रुपैयाँसहित सिल्ड, प्रमाणपत्र, र मेडल प्राप्त गर्‍यो। विजेता टिमका खेलाडी तथा समर्थकहरू उपाधि जितेपछि खुसीयालीमा रमाए।

    प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष उपाधिहरू प्रदान गरियो। म्यान अफ द म्याच वडा नम्बर ६ को तर्फबाट गोल स्कोरर पारस नेपाल घोषित भए। बेस्ट प्लेयरको उपाधि वडा नम्बर १४ का वीरेन्द्र थापाले प्राप्त गरे। बेस्ट डिफेन्सको उपाधि वडा नम्बर ११ का प्रभात बोगटीले जिते भने बेस्ट मिडफिल्डर वडा नम्बर ९ का पुनम आलेमगर घोषित भए।

    इमर्जिङ प्लेयरको उपाधि वडा नम्बर ६ का फुमी केसीले जिते भने बेस्ट किपरको उपाधि पनि वडा नम्बर ६ कै सौगात खत्रीले प्राप्त गरे। यस्तै, हाइ स्कोररको पुरस्कार रोहन शाही र सुजल राजबाहकले पाएका छन्। उनीहरूले प्रतियोगितामा समान २–२ गोल गरेका थिए।

    प्रतियोगिताका विजयी टिम, खेलाडी तथा प्रशिक्षकहरूलाई बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल र वडा नम्बर ९ की कार्यबाहक वडाध्यक्ष मनीषा तामाङले ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरे। प्रतियोगितालाई सफल बनाउन स्थानीय निकाय तथा विभिन्न संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए। चैत ३ गते सुरु भएको थियो ।

    प्रतियोगितालाई सफल बनाउन बनेपा फुटबल एकेडेमी, बनेपा पोलिटेक्निक फुटबल मैदान संरक्षण उपभोक्ता समिति, काभ्रे जिल्ला फुटबल संघ, माउन्ट एभरेस्ट फुटबल क्लब, शिर मेमोरियल अस्पताललगायतका संस्थाहरूले प्राविधिक सहयोग प्रदान गरेका थिए। आयोजकका अनुसार आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिनेछ।

    यस प्रतियोगिताले बनेपाका खेलप्रेमीहरूलाई निकै उत्साहित बनायो। फाइनल खेलमा स्थानीय फुटबलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। खेल अवधिभर समर्थकहरूले दुवै टिमलाई हौसला प्रदान गरे। खेल अवधिमा भएको रोमाञ्चक क्षणहरूले दर्शकहरूलाई उत्साहित बनाएको थियो ।

    बनेपा नगरपालिकाले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न तथा फुटबललाई प्रवर्द्धन गर्न यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

  • पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव चैत २१ देखि

    पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव चैत २१ देखि

    पनौती । पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । महोत्सव राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा हुने भएको हो । रामनवमी, चैते दशैं तथा नव वर्ष २०८२ को पावन अवसरमा हुन लागेको महोत्सव २०८१ चैत्र २१ गते देखि २०८२ बैशाख ३ गते सम्म चल्नेछ ।

    पनौती बसपार्कबाट कुशादेवी जाने बाटोमा १०० मिटर अगाडि मुल सडकको देब्रेपट्टि व्यक्तिगत जग्गामा महोत्सव आयोजना गर्न लागिएको हो।

    “नेपाली मौलिक संस्कृतिको छुट्टै पहिचान, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने हाम्रो अभियान” भन्न नारालाई आत्मसात गर्दै महोत्सव आयोजना गर्न लागिएको हो ।

    मेला पनौती उद्योग वाणिज्य संघसँगको सहकार्यमा अयोजना गर्न लागिएको हो भने व्यवस्थापनको जिम्मा संयुक्त नेपाल मेला महोत्सव ग्रुपले गर्नेछ । महोत्सवको संरक्षकमा पनौती वडा नं. ७ को कार्यालय रहेको छ ।

    काभ्रे जिल्लाको सुन्दर नगरी पनौतीको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, साँस्कृतिक, औद्योगिक, हस्तकलालाई प्रबर्द्धन गर्ने, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिनुभयो ।

    महोत्सव स्थल प्रवेशमा साधारण शुल्क रु. ८०, विद्यार्थीलाई रु.६० लाग्ने बताइएको छ । त्यस्तै जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएका छन् ।

    १४ दिनसम्म चल्ने मेलामा कृषि, घरेलु सामाग्री लगायतका व्यापारिक स्टल रहनेछन् । यसका साथै बालबालिकाहरुको मनोरञ्जनको लागि बालउद्यानको समेत व्यवस्था गरिनेछ। प्रत्येक दिन राष्ट्रिय स्तरको कलाकार सम्मिलित साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनोरञ्जन प्रदान गरिनुका साथै जिल्ला भित्रका नव प्रतिभावान् कलाकारहरुलाई विशेष प्राथमिकता दिइने बताइएको छ ।

    महोत्सवमा हिरा देखि जिरा, सुनदेखि नुनसम्म पाइने आयोजकले जानकारी दिएका छन् ।

    कार्यक्रमको शुभारम्भ चैत्र २१ गते हुनेछ ‌। स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, बाजागाजा, मौलिक नाच सहित महोत्सवको समुद्घाटन समारोह गरिने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

    पत्रकार सम्मेलन कार्यक्रममा पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाको सभापतित्वमा भएको थियो । कार्यक्रममा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका सानु केसी, पनौती नगरपालिका वडा नं ७ का वडाध्यक्ष सबिन ताम्राकार, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक अध्यक्ष विनोद कुमार न्यौपाने, संयुक्त नेपाल मेला तथा महोत्सव ग्रुपका संयोजक अरबिन्द्र जैसवाल लगायत काभ्रेपलाञ्चोकमा आधारक्षेत्र बनाएर क्रियाशील पत्रकारहरुको सहभागितामा रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार सचित खड्काले गर्नुभएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले कार्यक्रममा उद्योग वाणिज्य संघ सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । ऐतिहासिक क्षेत्र पनौती लाई चिनाउन, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन र पनौतीलाई अन्तराष्ट्रिय रुपमा चिनाउन महोत्सव राम्रो माध्यम हुने थापाले बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सबिन ताम्राकारले पनौतीलाई राष्ट्रिय अन्तराष्ट्रिय जगतमा चिनाउन महोत्सव प्रभावकारी हुने बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक अध्यक्ष बिनोद न्यौपानेले पनौतीमा महोत्सव हेर्न आउदा आन्तरिक पर्यटक बढ्ने, विलासी वस्तुहरू भन्दा स्थानीय वस्तुहरूको प्रवर्धनमा महोत्सवले प्राथमिकता दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । ओजेल परेको पनौती बजारको प्रवर्धन गर्न र स्थानीय भेषभुषा प्रवर्धनमा महोत्सव केन्द्रित हुनुपर्ने अध्यक्ष न्यौपानेको भनाइ थियो ।

    महोत्सवलाई सफल बनाउन अमूल्य सल्लाह, सहयोग र सहभागिताको लागि आह्वान गरिएको छ ।