Author: Kavre Post

  • अनुराग लामाको नयाँ गीत ‘असन गल्ली इन्द्रचोक’ सार्वजनिक

    अनुराग लामाको नयाँ गीत ‘असन गल्ली इन्द्रचोक’ सार्वजनिक

    ♦ अशोक बुद्ध लामा


    बनेपा । गायक तथा संगीतकार अनुराग लामाको शब्द र संगीतमा आधारित नयाँ गीत ‘असन गल्ली इन्द्रचोक’ सार्वजनिक भएको छ। यो गीत काजल तामाङको आधिकारिक युट्युब च्यानल मार्फत दर्शक-श्रोतामाझ आएको हो।

    गीतमा अनुराग लामाको नै शब्द र संगीत रहेको छ भने एरेन्ज र मिक्सिङ प्रयास दोङले गरेका छन्। आकर्षक शब्द संयोजन र मनछुने धुनको साथ प्रस्तुत गरिएको यस गीतमा केशर तामाङ र काजल तामाङ को सुमधुर स्वर रहेको छ।

    ‘असन गल्ली इन्द्रचोक’ गीतले प्रेम, आकर्षण र सम्बन्धको भावलाई उजागर गर्ने प्रयास गरेको छ। गीतले श्रोतालाई माया–प्रेमको मीठो अनुभूति गराउने विश्वास गरिएको छ।

     

     

  • नेपाल बुद्धिजीवी परिषद् नमोबुद्ध नगरपालिका कमिटीको अध्यक्षमा पुरुषोत्तम सत्याल

    नेपाल बुद्धिजीवी परिषद् नमोबुद्ध नगरपालिका कमिटीको अध्यक्षमा पुरुषोत्तम सत्याल

    बनेपा । नेपाल बुद्धिजीवी परिषद् नमोबुद्ध नगर कमिटी गठन गरिएको छ। २०८१ चैत ९ गते बसेको भेलाले नमोबुद्ध नगरकमिटी गठन गरेको हो । नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा नमोबुद्ध नगरपालिकास्तरीय कमिटी गठन गरिएको हो । भेला नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य राकेश लामाको प्रमुख आतिथ्यता तथा बुद्धिजीवी परिषद्का बागमती प्रदेश कमिटी सदस्य बीर बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

     

    भेलाबाट नमोबुद्ध नगरपालिका कमिटीको अध्यक्षमा पुरुषोत्तम सत्याल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा इन्दिरा आचार्य (खनाल), सचिवमा सुरज न्यौपाने, उपसचिव बलराम हुमागाई, कोषाध्यक्षमा रिमा थापा (घिमिरे) चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा पवित्रा काफ्ले, बाबु तामाङ्ग, सुर्यलाल श्रेष्ठ र दिनेश सापकोटा चयन भएका छन्।

     

    उक्त कार्यक्रममा नेपाल बुद्धिजीबी परिषद् जिल्ला कमिटीका कोषाध्यक्ष निर्मला सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। पेशागत महासंघका उपाध्यक्ष बिजय मगर, भूतपूर्व सैनिक संगठन बागमती प्रदेश कमिटीका अध्यक्ष कृष्ण पाण्डे, नमोबुद्ध नगरपालिका संस्थापक नगरप्रमुख टि.पी. शर्मा तिमल्सिना, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य उद्धव हुमागाई तथा नेकपा एमाले नमोबुद्ध नगरकमिटी अध्यक्ष गणेश लामा मोक्तानले नवगठित समितिलाई शुभकामना व्यक्त गरेका थिए।

     

    प्रमुख अतिथि राकेश लामाले समाज विकासमा बुद्धिजीबीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो। कार्यक्रमको सञ्चालन नेपाल बुद्धिजीबी परिषद् काभ्रेपलाञ्चोक जिल्ला कमिटीका सचिव भीमसेन के.सी.ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नगरपालिकाका विभिन्न बुद्धिजीबीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

  • स्थानीय व्यापार प्रवर्धन गर्दै लायकु हाटबजार अघि बढ्दै

    स्थानीय व्यापार प्रवर्धन गर्दै लायकु हाटबजार अघि बढ्दै

    बनेपा । बनेपाको ऐतिहासिक लायकु राजमञ्चमा हरेक शुक्रबार लाग्ने हाटबजार स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण थलो बनेको छ । बनेपा नगरपालिकाको सहयोग एवं पहलमा व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको यस हाटबजारले किसान, साना उद्यमी तथा उपभोक्ताहरूलाई प्रत्यक्ष रूपमा जोड्दै लाभ दिइरहेको छ ।

    स्थानीय उत्पादन र व्यापारको सहज बजार
    हाटबजारमा स्थानीय व्यापारी, किसानहरूले ताजा तरकारी, फलफूल, अन्न, अचार, मह, दुग्धजन्य पदार्थ तथा हस्तकला, वास्तुकला लगायतका सामग्री बिक्रीवितरण गदर्छन् । बनेपा र आसपासका ग्रामीण क्षेत्रका किसान तथा व्यवसायीहरू आफ्ना उत्पादनहरू उपभोक्तासम्म सिधै पुर्याउन हाट बजार मार्फत सफल भएका छन्, जसले बिचौलियाको निर्भरता घटाएको छ ।

    नगरपालिकाको पहल र व्यवस्थापन
    नगरपालिकाले हाटबजारलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार सुधार, सरसफाइ तथा ट्राफिक व्यवस्थापनमा निरन्तर सहयोग गर्दै आइरहेको छ । हाटबजार स्थानीय उत्पादन प्रवद्र्धन गर्ने मात्र नभई, स्थानीय अर्थतन्त्र चलायमान बनाउने स्रोतसमेत रहेको र यसको प्रभावकारी व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख शान्तिरत्न शाक्यले काभ्रेपोष्टलाई बताए । नगरपालिकाले हाटबजारलाई अझ व्यवस्थित बनाउन तथा व्यापार विस्तार गर्न नयाँ योजना अघि सार्ने तयारी गरिरहेको छ ।

    लायकु हाटबजार मेला
    लायकु हाटबजार मेलामा उत्साहपूर्ण सहभागिता जनाउँदै स्थानीयहरू

    स्थानीय व्यापारी र उपभोक्ताको उत्साह
    स्थानीय किसान तथा व्यवसायीहरू यस हाटबजारलाई लाभदायक ठान्दछन् । एक व्यवसायीका अनुसार, “हाटबजारमा व्यापार गर्दा ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क हुन्छ, जसले हामीलाई राम्रो आम्दानी गर्ने अवसर दिएको छ ।“ उपभोक्ताहरू पनि ताजा उत्पादनहरू सहजै पाउने भएकाले खुसी भएर हप्तादिनका लागि आवश्यक सामग्रीहरु हाटबजारबाटै खरिद गर्दछन् ।

    बनेपाको लायकु हाटबजार स्थानीय कृषक र व्यवसायीहरूको लागि सस्तो, सहुलियत र स्थिर व्यापारिक अवसर प्रदान गर्दै आइरहेको छ । यसले स्थानीय अर्थतन्त्रलाई सुदृढ पार्न महत्त्वपूर्ण भूमिका निभाइरहेको छ । नगरपालिकाले यसको व्यवस्थापन र विस्तारमा थप सुधार गर्ने प्रयास गरिरहेको छ, जसले भविष्यमा यसलाई अझ प्रभावकारी र समृद्ध बनाउने सम्भावना राख्दछ । हाटबजारको सफलता स्थानीय समुदायको लागि एउटा आदर्श उदाहरण बन्न सक्नेछ । बनेपाको समृद्धि र विकासको अवसरको रुपमा हाटबजारलाई लिन सकिने आम स्थानीयबिच चर्चाको विषय समेत रहेको छ ।

  • धुलिखेल–खावा सडकखण्ड अलपत्र, अदालतको आदेशले निर्माण अन्योलमा

    धुलिखेल–खावा सडकखण्ड अलपत्र, अदालतको आदेशले निर्माण अन्योलमा

    धुलिखेल । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा विस्तार कार्य अन्योलमा परेपछि उक्त सडकखण्डबाट यात्रा गर्ने यात्रुहरु, स्थानीय बासिन्दा धुलो, दुर्घटना र असहज यात्राको समस्यामा परेका छन् । ठेक्का सम्झौता भएको झण्डै ३ वर्ष बितिसक्दा पनि सडक निर्माणको काम आधा पनि नसकिएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै राजमार्गसमेत अवरुद्ध गरेका छन् ।

    निर्माण कम्पनीले सडकस्तरोन्नति एवं विस्तारको काम २०७९ साल जेठ २० मा लिएको थियो । २२ महिनामा निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएपनि सम्झौताको समयसीमा सकिएको ११ महिना बित्दासमेत निर्माण सम्पन्न नभएको हो । निर्माण कम्पनी गौरी–पार्वती निर्माण सेवाले २०८० चैत १९ गतेभित्र बनाइसक्ने भनी रु. २० करोड १९ लाख ४६ हजार पाँच सय १ रुपैयाँमा ठेक्का हातमा लिएको थियो । गौरी–पार्वती निर्माण सेवाले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन ।

    निर्माण कम्पनी गौरी–पार्वती निर्माण सेवाले समयमा काम नगरेपछि भक्तपुर सडक डिभिजनले ठेक्का रद्द गरेको थियो । तर, निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेपछि अदालतले तत्काल कुनै कारबाही नगर्न आदेश दियो, जसका कारण निर्माण कार्य झन् अन्योलमा परेको छ ।

    dhulikhel khawa road section Araniko highway

    उच्च अदालत पाटनले निर्माण व्यवसायीको पक्षमा अन्तरिम आदेश दिएको छ । जसमा सडक डिभिजन भक्तपुरले निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी रकम जफतलगायत ‘कारबाही नगर्न तथा हालको जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश दिएपछि सडकखण्डको काममा अन्योलता छाएको हो ।

    यसैबीच, बाटो बिग्रिएको, धुलो उड्ने र दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले गत बिहीबार विरोध प्रदर्शन गरेका थिए । धुलिखेल बसपार्कदेखि खावासम्मको बाटो कतै भत्काइएको छ, कतै आधा बनेको छ भने कतै पूरै अलपत्र परेको छ । बर्खामा माटो बग्ने, हिउँदमा धुलो उड्ने समस्या झेलिरहेका यात्रुहरूले लामो समयदेखि सास्ती भोग्नुपरेको हो ।

    सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार अदालतको आदेश आए पनि पुनः ठेक्का प्रक्रिया अघि बढाउन मन्त्रालयमा छलफल भइरहेको छ । “लागत इस्टिमेट तयार पारिएको छ, मन्त्रालयको सहमति पाउने बित्तिकै प्रक्रिया अगाडि बढ्छ,” उनले बताए ।

    नेपाल–चीन जोड्ने मुख्य मार्गमध्ये एक अरनिको राजमार्गको यो खण्ड ठप्प हुँदा व्यापार तथा आवागमनमा पनि असर परेको छ । यदि तत्काल समस्या समाधान नभए यात्रुहरूको सास्ती अझै बढ्ने देखिन्छ ।

  • उपभोक्ता अदालतले जगाएको आशा

    उपभोक्ता अदालतले जगाएको आशा

    देशमा पहिलो पटक उपभोक्ता अदालत स्थापना भएसंगै उपभोक्ताका पक्षमा न्याय सम्पादन हुने आशा पलाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ मा उपभोक्ता अदालतको व्यवस्था गरेकोमा ६ वर्षपछि उपभोक्ता अदालत गठन भएको हो । उपभोक्ताका उजुरी सुनुवाइ गर्ने गरी काठमाडौं, भक्तपुर र ललितपुर ३ जिल्लामा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४४ बमोजिम उपभोक्ता अदालत गठन गरिएको छ । उपभोक्ताको अधिकारलाई संविधानले मौलिक हकका रूपमा स्थापित गरिसकेको र गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको न्यायिक उपचार समयमै हुने छ । उपभोक्ताका निम्ति छुट्टै अदालत स्थापनाले न्यायका लागि साबिककै अदालतमा जानुपर्ने उपभोक्ताको बाध्यता हटेको छ ।

    उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्न पाउने र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिमको क्षतिपूर्ति पाउने अधिकार प्रदान गरे पनि अदालत स्थापना नहुँदा उपभोक्ताले समयमै न्याय नपाउने समस्या भोग्दै आएका थिए । उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्तालाई वस्तु तथा सेवामा सहज पहुँचको अधिकार, प्रतिस्पर्धात्मक मूल्यमा वस्तु वा सेवा छनोट गर्न पाउने अधिकार, मूल्य परिमाण, शुद्धता, गुणस्तर आदिबारे सूचित हुन पाउने अधिकार प्रदान गरेको छ । यी अधिकार हनन भए उपभोक्ता सिधै अदालत जान सक्ने छन ।

    उपभोक्ता अदालतले उपभोक्ता संरक्षण ऐन, २०७५ ले व्यवस्था गरेका अधिकार हननविरुद्धका मुद्दा हेर्ने छ । उपभोग्य वस्तुमा हुने सम्पूर्ण प्रकारका ठगीजन्य कसुर तथा उपभोग्य वस्तुको प्रयोग गर्दा हुने हानिविरुद्ध उपभोक्ता अदालतमा मुद्दा सुनुवाइ हुने छ । विक्रेताले उपभोक्तालाई झुक्याएर न्यून गुणस्तरको वस्तु बिक्री गरेमा, मूल्यमा मनोमानी गरेमा वा कुनै वस्तुको उपभोगका कारण उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेमा नागरिक अदालतमा न्यायका लागि जान सक्नेछन । उपभोक्ता अदालतबाट समयमै न्याय निरुपण हुने भएकाले ब्यापारी ब्यवसायीले उपभोक्तालाई ठग्ने, झुक्याउने, गुणस्तरहिन बस्तु बिक्रीवितरण, मुल्यमा मनोमानी गर्न सक्ने छैनन् ।

  • मुखको हेरचाह नगरेमा हृदय र मस्तिष्कमा गम्भीर समस्या उत्पन्न हुने

    मुखको हेरचाह नगरेमा हृदय र मस्तिष्कमा गम्भीर समस्या उत्पन्न हुने

    धुलिखेल । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले मुख स्वास्थ्य दिवस २०२५ को अवसरमा सञ्चारकर्मी र सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यालयले मुखको हेरचाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मुखको सरसफाईमा हेलचेक्राइ गर्दा हृदयघात, अलजाइमर्स र निमोनियाको जोखिम हुन सक्ने तथ्य प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा दन्त चिकित्सक डा. दिपा आचार्यले मुख स्वस्थ नहुँदा हुन सक्ने जोखिमबारे जानकारी गराएकी हुन् । डा. आचार्यका अनुसार, मुख स्वस्थ नुहँदा धमनी बन्द भई हृदय घात र स्ट्रोकको जोखिम हुन सक्छ । मुखमा भएका केही कीटाणुहरू फोक्सोमा जाँदा यसले निमोनिया निम्त्याउन सक्ने, पेरियडोन्टाइटिस भनिने गिजाको रोग, अवधि नपुगी बच्चा जन्मिने र कम तौलको बच्चा जन्मिने समस्या देखिन सक्ने जानकारी दिइन् । मुख स्वस्थ नहुँदा गिजाको रोग लाग्न सक्ने र मानिसहरूलाई रगतमा चिनीको मात्रा नियन्त्रण गर्न गाह्रो हुने बताइएको छ ।

    नियमित मुखको हेरचाहले मधुमेह नियन्त्रणमा सुधार गर्न सकिने डा. आचार्यले बताइन् । उनका अनुसार, जिन्जिभाइटिस ब्याक्टेरिया मस्तिष्कमा जान सक्ने र मस्तिष्कका कोषहरूको सूजन र विनाश निम्त्याउँछ । यो अल्जाइमर रोगसँग जोडिएको हुन सक्छ ।

    हरेक बर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाउदै आइरहेकोमा जनस्वास्थ्य कार्यालय काभ्रेले मुख स्वास्थ्यको महत्व र समग्र स्वास्थ्यमा यसको प्रभाव बारे आम नागरिकमा जनचेतना जगाउन रोकथाममा जोड दिनुका साथै स्वस्थ मुख सम्बन्धी अभ्यासहरूलाई प्रवद्र्धन गर्न, नियमित दाँत परिक्षण गरि रोग भार कम गर्न सञ्चारकर्मी एवं सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । यस बर्ष मुख दिवस २०२५ को नारा ‘स्वास्थ मुखः सकारात्मक सोच’ रहेको छ ।

    जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक प्रमुख रागिश्री कक्षपति श्रेष्ठले मुखको स्वच्छता र आहारसँग सम्बन्धित स्वस्थ व्यवहार अपनाउनु पर्ने बताइन् । प्रमुख श्रेष्ठका अनुसार दाँत किराले खाने, गिजाको सामान्य संगै जटिल समस्या, मुखको क्यान्सर, मुख –दाँतमा चोटपटक, ओठ र तालु चिरिएको मुखका प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिएको बताइन् ।

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले मुख स्वास्थ्यका तौरतरिका र यसका जोखिमका बारे सचेतना फैलाउन सञ्चार क्षेत्रले आवश्यक भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । जनस्वास्थ्य कार्यालय काभ्रेका पद्मराज कैनीले एक साथ धेरै जनसंख्यामा स्वास्थ्य सन्देश फैलाउन विश्व मुख स्वास्थ्य दिवसका अवसरमा सञ्चारकर्मी र सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको जानकारी दिए ।

  • जिल्लामा एसईई परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन हुँदै

    जिल्लामा एसईई परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन हुँदै

    धुलिखेल । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । एसईई परीक्षा अन्तर्गत आज अनिवार्य गणित विषयको परीक्षा सञ्चालन हुँदैछ । परीक्षा केन्द्रहरूमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले कुनै अप्रिय घटना नघट्ने शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलाञ्चोक प्रमुख देवका ढकालले बताएकी छिन् ।

    परीक्षा केन्द्रहरूमा बिहानैदेखि विद्यार्थीहरू अभिभावकसहित उपस्थित भएका थिए । विद्यार्थीहरू आत्मविश्वासका साथ परीक्षा दिइरहेका छन् भने परीक्षा शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ ।

    परीक्षालाई निष्पक्ष, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सरकारले समन्वय गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । परीक्षाका क्रममा कुनै पनि किसिमको अनियमितता हुन नदिन विशेष अनुगमन टोली समेत परिचालन भइरहेको छ ।

    शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेका प्रमुख ढकाललले परीक्षा मर्यादित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै पक्षसँग समन्वय गरिएको जानकारी दिएकी छन् । जिल्लामा २ हजार ८ सय ३८ छात्र, २ हजार ७ सय २३ छात्रा गरि ५ हजार ५ सय ६१ जना नियमित तर्फ र ८६ छात्र, ९२ छात्रा गरि १ सय ७८ जना प्राविधिकतर्फ, ५३ छात्र र ११८ छात्रा ग्रेडवृद्धितर्फ सहभागि रहेका छन् ।

  • चलचित्र ‘भाइरल गोर्खे’को ट्रेलर सार्वजनिक

    चलचित्र ‘भाइरल गोर्खे’को ट्रेलर सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । सामाजिक सञ्जालको प्रभाव र यसबाट प्राप्त गर्न सकिने समृद्धिलाई लक्षित गर्दै एक साधारण व्यक्तिले भाइरल हुनका लागि गर्ने जमर्कोलाई रोमाञ्चक ढंगले चलचित्रमा प्रस्तुत टिजरबाट बुझ्न सकिन्छ । जहाँ भाइरल हुने व्यक्तिको रूपमा अभिनेता सौगात मल्ल रहेका छन् । गतिशील अभिनेता मल्ले टिजरमा गोपाल पाँडे पात्रको भाइरल हुन गरेका विभिन्न हरकत र भाइरल भइसकेपछि लाइभ बसेर फ्यानसँग साक्षात्कार गरेको, पत्रकार ऋषि धमलासँग अन्तरवार्ता गरेसम्मका दृश्यहरू रहेका छन् ।
    निगम श्रेष्ठ निर्देशित चलचित्र मौलिक तर जल्दोबल्दो विषयवस्तुलाई समावेश गरेर आकर्षक कथावस्तुले दर्शकस्रोताको मन जित्न सक्ने सम्भावना देखिएको छ । कमेडी र सोसल ड्रामा जनरामा बनेको चलचित्रमा मर महर्जनको छायांकन रहेको छ । चलचित्रलाई लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।
    द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको चलचित्रमा सौगात मल्लसँगै अभिनेत्री सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जङ्ग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् । चलचित्र आगामी २०८२ जेठ ३० गतेबाट प्रदर्शन हुनेछ ।

    चलचित्रको ट्रेलरः

     

  • डिजिटल भुक्तानी अनुभव शेयर गरेर ५० हजार नगद जित्ने मौका

    डिजिटल भुक्तानी अनुभव शेयर गरेर ५० हजार नगद जित्ने मौका

    काठमाडौं । अब डिजिटल भुक्तानी सम्बन्धी अनुभव शेयर गरेरै नगद जित्न सकिने भएको छ। फोनपेले आयोजना गरेको ‘शेयर एन्ड विन’ प्रतियोगितामा भाग लिने भाग्यशाली सहभागीले ५० हजार नगद जित्ने अवसर पाउनेछन्।

    यो अभियान आगामी मार्च ३१ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत सहभागीहरूले आफ्नो डिजिटल भुक्तानी अनुभव भिडियोमार्फत प्रस्तुत गर्नुपर्नेछ। ‘ग्लोबल मनी विक २०२५’ को अवसर पारेर फोनपेले ‘डिजी–स्मार्ट नेपाल’ अभियान सुरु गरेको हो, जसले डिजिटल भुक्तानीलाई अझ सुरक्षित, सरल, र प्रभावकारी बनाउन सहयोग पुर्‍याउनेछ।

    यस अभियान अन्तर्गत नागरिकहरूलाई डिजिटल वित्तीय प्रणालीको महत्व, सुरक्षित कारोबारका उपाय, र डिजिटल भुक्तानीको फाइदाबारे जानकारी प्रदान गरिनेछ। साथै, कलेजहरूमा स्क्रिप्ट ड्रामा, सचेतना क्विज प्रतियोगिता, वित्तीय विज्ञहरूसँग प्रश्नोत्तर लगायतका गतिविधिहरू पनि आयोजना गरिनेछन्।

  • धुलिखेलमा मृत पुरुषको वेवारिसे शव फेला

    धुलिखेलमा मृत पुरुषको वेवारिसे शव फेला

    धुलिखेल । काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका-७, घिसिङ डाँडा डम्पिङ क्षेत्रमा एक पुरुषको शव फेला परेको छ। मिति २०८१ चैत ९ गते सबेरै अन्दाजि २:४५ बजे अरनिको राजमार्ग सडक किनारमा नाम, थर, वतन नखुलेको अन्दाजि ६०/६५ वर्षको पुरुष मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जानकारी दिएको छ ।

    काभ्रे प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि धुलिखेल अस्पतालको शवगृहमा सुरक्षित राखिएको छ। यदि कसैले हराएको भए वा मृतकलाई चिन्न सक्ने कोही भएमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।