Author: Kavre Post

  • प्रभा कल्याणकारी संस्था  एस एल सी ब्याच २०५२ को दोस्रो पुर्नमिलन एवं  बनभोज

    प्रभा कल्याणकारी संस्था एस एल सी ब्याच २०५२ को दोस्रो पुर्नमिलन एवं बनभोज

    चौरीदेउराली । प्रभा कल्याणकारी संस्था, एस एल सी ब्याच २०५२ को दोस्रो पुर्नमिलन एवं बनभोज कार्यक्रम सम्पन्न भएको छ। प्रभा बहुमुखी क्याम्पसका पुर्व प्राचार्य चुडा प्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो ।

    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि चौलागाईंले प्रेमको साङ्लो बनेर जुन उदेश्यका साथ एस एल सी ब्याच २०५२ का आफ्ना पुर्व बिद्यार्थीहरुले प्रभा कल्याणकारी संस्था दर्ता गरेर समाज सेवा, साथीभाइ बीच आत्मियता, मित्रता गास्न सफल हुनुभएकोमा  त्यस प्रति  आफुले गर्व महसुस गरेको बताउनु भयो ।

    आफ्नो जीवनको ४० वर्ष प्रभा माध्यामिक बिद्यालयमा सेवा गरेको स्मरण गर्दै प्रमुख अतिथि चौलागाईंले प्रेम पुर्वक सम्झना गरेर मेरा पुर्व बिद्यार्थीहरुले गरेको सम्मान प्रती खुसी व्यक्त गर्नुभयो।

    प्रभा कल्याणकारी संस्था एस एल सी ब्याच २०५२ जुन उदेश्यका साथ अगाडी बढन खोजेको छ त्यो पूरा हुँदै जाओस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमका विशेष अतिथि प्रभा एल्मुनाइ एसोसिएसनका अध्यक्ष गोकुल गौतमले प्रभा मा.वि. कात्तिके देउरालीमा अध्ययन गर्नुभएका सम्पुर्ण बिद्यार्थीहरुको छाता संस्था प्रभा एल्मुनाइको एउटै चौतारीमा सबै साथीहरूलाई जोडदै अगाडी बढेको बताउदै प्रभा कल्याणकारी संस्था र प्रभा एल्मुनाइको उदेश्य एउटै भएकोले आगामी दिनहरुमा सहकार्यका साथ अगाडी बढनुपर्ने बताउनुभयो ।

    प्रभा एल्मुनाइले पनि प्रभा मा वि मा अध्ययन गर्नुहुने पुर्व बिद्यार्थीहरुको एकता मेलमिलापलाई आत्मसात गर्दै बनभोज, तीज विशेष कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो।

    प्रभा कल्याणकारी संस्था एस एल सी ब्याच २०५२ ले बिशेष सम्मानका साथ प्रभा एल्मुनाइलाई सम्झेर आमन्त्रण गर्नुभएकोमा संस्था एवं ब्यक्तिगत तर्फबाट संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भयो।

    कार्यक्रमका बिशेष अतिथि समाज सेवी यादव कोइरालाले आफुले पनि प्रभा कल्याणकारी संस्था संग सहकार्य गर्दै कोशीपुर्व चौरीदेउरालीमा समाज सेवा र सामाजिक उत्तरदायीत्वका कार्यक्रममा सहयोग गर्ने बताउनु भयो।

    कार्यक्रममा प्रभा कल्याणकारी संस्थाका अध्यक्ष एकनाथ गौतमले प्रभा कल्याणकारी संस्थाले एस एल सी ब्याच २०५२ का साथीहरुलाई जोडदै संस्था मार्फत साथीभाइ बीच एकता, मेलमिलाप सहकार्य गर्दै स्वदेश एवं बिदेशमा रहनु भएका एस एल सी ब्याच २०५२ का साथीहरुलाई जोडदै समाज सेवा र सामाजिक उत्तरदायीत्वका कार्यक्रमलाई संचालन गरिने बताउनुभयो।

    कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिती एवं प्रभा कल्याणकारी संस्थामा आवद्ध एस एल सी ब्याच २०५२ का साथीहरू प्रति धन्यवाद व्यक्त गर्दै छुटनुभएका साथीहरूलाई संस्थामा आवद्ध हुन आग्रह गर्नुभयो। कार्यक्रमको सहजीकरण संस्थाका महासचिव दीपक प्रसाद चौलागाईंले गर्नुभएको थियो।

  • सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै राप्रपालाई काठमाडौं महानगरको १ लाख जरिवाना

    सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै राप्रपालाई काठमाडौं महानगरको १ लाख जरिवाना

    काठमाडौं। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको र फोहोरमैला व्यवस्थापन नियम उल्लंघन गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना तिर्न पत्र काटेको छ।

    २०८१ फागुन २५ गते पार्टी कार्यालयबाट आयोजित र्याली कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा, गौशाला क्षेत्रका सडक, आईल्याण्ड, रेलिङ तथा बिरुवामा क्षति पुर्याउनुका साथै जथाभावी फोहोर फालेर वातावरण प्रदूषित गरेको भन्दै महानगरले कारबाही प्रक्रिया अघि बढाएको हो।

     

    काठमाडौं महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, तथा आर्थिक ऐन, २०८१ को आधारमा जरिवाना तोकेको जनाएको छ।

    नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जारी गरेको पत्रमा निर्वाचन आयोग र प्रशासन विभागलाई समेत बोधार्थ पठाइएको छ।

    राप्रपाले यसबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

  • बनेपा नगरपालिकाको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

    बनेपा नगरपालिकाको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

    बनेपा । बनेपा नगरपालिकाले अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरूले शाखागत प्रगति प्रस्तुतीकरण गरेका थिए।

    नगरप्रमुख शान्तिरत्न शाक्यले चालु आर्थिक वर्षमा अघिल्लो वर्षजस्तो प्रगति हुन नसकेको बताउँदै कामको गतिलाई तीव्रता दिनुपर्नेमा जोड दिए। हालसम्म जम्मा ३४ प्रतिशत मात्र खर्च भएको उल्लेख गर्दै नगरप्रमुख शाक्यले सबैलाई आ-आफ्नो दायित्व पूरा गर्न आग्रह गरे। आगामी २-३ महिनामा बजेटको ठूलो हिस्सा खर्च गर्नुपर्ने भएकाले जनप्रतिनिधिहरूलाई गम्भीर भएर लाग्न अनुरोध गरे।

    उपप्रमुख विमला सापकोटा दाहालले ६०-७० प्रतिशत काम अझै बाँकी रहेको भन्दै सबैलाई ध्यान दिएर कार्य सम्पादन गर्न आग्रह गरिन्। वडास्तरका सम्झौता कार्य शीघ्र सम्पन्न गर्नुपर्ने बताउँदै, ४० सम्झौता अझै बाँकी रहेको जानकारी दिइन्। उनले जेठको अन्त्यमा सम्झौता गर्ने प्रवृत्तिको अन्त्य गर्दै असार १५ गतेभित्र योजना सम्पन्न गरी भुक्तानी प्रक्रियामा लैजान सरोकारवालाहरूलाई निर्देशन दिइन्।

    वडा नम्बर ११ का वडाध्यक्ष शिवकुमार थापाले समीक्षा गोष्ठी फलदायी रहेको बताए भने वडा नम्बर ७ की वडासदस्य दुर्गा परियारले नगरपालिकाले आयोजना गरेको समीक्षा कार्यक्रमबारे संक्षिप्त मन्तव्य राखिन्।

    बजेट खर्च र राजस्व संकलन

    आर्थिक प्रशासन शाखा प्रमुख विनोद हुमागाईंका अनुसार आ.व. २०८१/८२ मा विनियोजित कुल १ अर्ब २६ करोड ५५ लाख २६ हजार १ सय ८८ रुपैयाँमध्ये पुस मसान्तसम्म २३.९८ प्रतिशत मात्र खर्च भएको छ। चालु खर्चतर्फ ३७.५४ प्रतिशत र पूँजीगत खर्चमा ५.६८ प्रतिशत मात्र प्रगति भएको जानकारी दिए। पछिल्लो दुई महिनामा उल्लेखनीय प्रगति भएको बताउँदै, योजनाबद्ध रूपमा कार्य गरे लक्ष्य अनुसार प्रगति हासिल गर्न सकिने उल्लेख गरे।

    राजस्व शाखाले पुस मसान्तसम्म ३८.४१ प्रतिशत राजस्व संकलन भएको जानकारी दियो। घरबहाल कर, पार्किङ शुल्क, शौचालय करमा १५ प्रतिशत प्रगति भएको छ। नगरपालिकामा १,८०५ व्यवसाय सञ्चालनमा रहेकोमा १९६ थपिएर हाल २,००१ पुगेका छन्। साथै, नगरपालिकाले विज्ञापन कर संकलन सुरु गरिसकेको र मनोरञ्जन करको दायरा विस्तार गरिएको जानकारी गराइयो।

    शिक्षा, कृषि र योजना प्रगति

    शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शिवराज त्रिपाठीका अनुसार नगरपालिकामा हाल ३९८ शिक्षक दरबन्दी रहेको छ। शिक्षा शाखाको कुल बजेटमध्ये ५०.८८ प्रतिशत खर्च भइसकेको छ भने समग्रमा ४८.५१ प्रतिशत प्रगति भएको छ। निजी विद्यालयमा अध्ययनरत १५१ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

    कृषि विकास शाखाका प्रमुखका अनुसार विषादी नियन्त्रण, माटो परीक्षण लगायतका उपायहरूबाट उत्पादन र उत्पादकत्वमा १०-१५ प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ। बनेपा लायकु राजमञ्चमा सञ्चालन हुने हाटबजारबाट मासिक १४-१५ हजार राजस्व उठ्ने गरेको जानकारी दिँदै, कृषकमैत्री व्यवस्थापन आवश्यक रहेको बताए।

    योजना तथा प्राविधिक शाखा प्रमुख संगम भुजेलका अनुसार २८७ योजनाहरू कार्यान्वयनमा गइसकेका छन्। १० लाखभन्दा माथिका ठेक्कामार्फत प्रक्रिया अगाडि बढाइएको छ। हालसम्म १७७ नक्सा पास भइसकेको, एमटीएमपी तथा ई-बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) लागू भइसकेको, र १०,००० घरहरूको हाउस नम्बरिङ सम्पन्न गरिने जानकारी दिइन्।

    स्वास्थ्य क्षेत्रको प्रगति

    स्वास्थ्य शाखा प्रमुख महेश्वर काजी श्रेष्ठले क्षयरोग मुक्त क्षेत्र बनाउन घरदैलो कार्यक्रमअन्तर्गत ४४ क्षयरोगी फेला परेको जानकारी दिए। ७० जना विपन्न रोगीहरूको उपचारका लागि सिफारिस गरिएको, ५१६ जनालाई रेबिज खोप, र ८ जनालाई स्क्रब टाइफस खोप दिइएको जानकारी गराए। स्वास्थ्य शाखाको भौतिक प्रगति ५७.६३ प्रतिशत र वित्तीय प्रगति ३६.१९ प्रतिशत रहेको छ।

    नगरपालिकाभित्रका १५ वटै स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्पन्न गरिएको, प्रजनन् रोगसम्बन्धी शिविर सञ्चालन गरिएको, र एचपिभी खोप कार्यक्रममा ९८ प्रतिशत उपलब्धि हासिल गरिएको जानकारी दिइयो।

    अन्य क्षेत्रहरूका प्रगति

    पशुसेवा शाखा प्रमुख पशुचिकित्सक चिरञ्जीवी शर्माले निःशुल्क पशुबीमा कार्यक्रम, कृत्रिम गर्भाधान लगायतका योजनाहरूमा उल्लेखनीय प्रगति भएको बताए।

    प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा संयोजक शान्ता कुँवरका अनुसार ३९६ जनालाई श्रम स्वीकृति प्रदान गरिएको छ भने ४० जना रोजगारीमा संलग्न भएका छन्। कार्यक्रमअन्तर्गत ७० प्रतिशत महिला सहभागिता रहेको छ।

    कानुन शाखाका न्यायिक सहजकर्ता सविता सापकोटाका अनुसार चालु आर्थिक वर्षमा दर्ता भएका १५ मुद्दामध्ये ३ वटा फर्छ्योट भइसकेका छन् भने १२ वटा विचाराधीन छन्। साधसिमाना विवादहरू प्रमुख समस्या रहेको उल्लेख गरिन्।

    मड्या शाखा प्रमुख विकास रम्तेलका अनुसार वडा नम्बर ४, ७, र १० मा स्ल्याब राख्ने कार्य सम्पन्न भइसकेको छ। वडा नम्बर १० मा १९ वटा टोल विकास समितिहरू दर्ता भएका छन्।

    बनेपा नगरपालिका राष्ट्रिय स्तरमा अग्रणी

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बनेपा नगरपालिकालाई ७८ अंकसहित नेपालकै उत्कृष्ट नगरपालिकाको पाँचौं सूचीमा राखेको छ।

    छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से नगरपालिकासँग भगिनी सम्बन्धको २५ औं रजत जयन्ती मनाइएको छ। सामाजिक भत्ता ईएफटी प्रणालीमार्फत भुक्तानीको व्यवस्था मिलाइएको छ। गत असोज १०-१२ गतेको बाढी, पहिरो पीडितमध्ये ३९ प्रतिशतलाई अस्थायी आवास निर्माणका लागि सहायता प्रदान गरिएको छ। नगरमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म नगर प्रहरी परिचालन गर्ने गरिएको छ ।

    Banepa Municipality's semi-annual review seminar concluded
    बनेपा नगरपालिकाको अर्धवार्षिक समीक्षा गोष्ठीमा सहभागि व्यक्तिहरू
  • नेकपा एमाले बनेपा नगर कमिटीको नेतृत्वमा नवराज मानन्धर

    नेकपा एमाले बनेपा नगर कमिटीको नेतृत्वमा नवराज मानन्धर

    बनेपा । नेकपा एमाले बनेपा नगर कमिटीको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट नवराज मानन्धर अध्यक्ष पदमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो, जसले आगामी ३ वर्ष नगर कमिटीको नेतृत्व गर्नेछ।

    बनेपा नगरकमिटीको उपाध्यक्षमा शिव थापा, सचिवमा पवन केसी, उपसचिवमा विक्रम प्रजापति र महिला उपसचिवमा नारायणी शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

    शनिबार भएको अधिवेशनको उद्घाटन पूर्वमन्त्री एवं नेकपा एमाले पोलिट्ब्यरो सदस्य गोकुल प्रसाद बास्कोटाले गरेका थिए ।

    अध्यक्ष पदमा निर्वाचित भएसँगै नवराज मानन्धरले पार्टीको संगठनलाई थप मजबुत बनाउन प्रतिबद्ध रहदै बनेपामा एमाले संगठनलाई अगाडि बढाउन भूमिका खेल्ने बताएका छन् ।

  • प्रेस चौतारी नेपालको १०औं महाधिवेशनको लोगो सार्वजनिक

    प्रेस चौतारी नेपालको १०औं महाधिवेशनको लोगो सार्वजनिक

    काठमाडौं । प्रेस चौतारी नेपालले संगठनको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले सो लोगो बिहीबार संगठनको केन्द्रीय कार्यालयमा सार्वजनिक गर्नुभएको हो ।

    प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा हुँदै छ । चैत १० देखि १२ गतेसम्म कोशी प्रदेशको राजधानी विराटनगरमा हुने महाधिवेशनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस पटकको अधिवेशनको नारा ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’, राखिएको छ ।

    लोगोमा नेपालको गौरव र गरिमा विश्वको सर्वोच्च शिखर सगरमाथालाई समेटिएको छ । त्यस्तै इलामको श्रीअन्तुको सूर्योदयको दृश्य, नेपालको सबैभन्दा होचो भाग झापाको केचनाकवल, कोशी टप्पु वन्यजन्तु आरक्ष, भोजपुर, खोटाङ र सोलुखुम्बुको बिचमा पर्ने संस्कृति र सभ्यताको केन्द्र मुन्धुम ट्रेल, प्रकृति अनि इतिहासको केन्द्र कञ्चनजङ्घा, (ताप्लेजुङ), मकालु (सङ्खुवासभा) भेडेटार–हिले (धनकुटा), धरान, विराटनगर लगायतका क्षेत्रलाई पनि लोगोमा समेटिएको छ ।

    Logo of the 10th General Convention of Press Chautari Nepal
    प्रेस चौतारी नेपालको १०औं महाधिवेशनको लोगो
  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक: २५औं वर्ष प्रवेशको अवसरमा विशेष तयारी

    नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक: २५औं वर्ष प्रवेशको अवसरमा विशेष तयारी

    बनेपा । असल शासन र ग्रामीण पत्रकारितालाई आधार बनाउँदै काभ्रेमा स्थापना भएको नव क्षितिज साप्ताहिक पत्रिका २४ वर्ष पूरा गरी २५औं वर्षमा प्रवेशको दौडमा छ । काभ्रेपलाञ्चोक जिल्लाबाट हरेक सोमबार प्रकाशन हुँदै आएको पत्रिकाले २५ वर्षे यात्रा तय गरेको हो । यस अवसरमा रजत जयन्ती समारोह आयोजना गर्न व्यापक तयारी थालिएको पत्रिकाका प्रकाशक एवं प्रधानसम्पादक नवराज बजगाँईले जानकारी दिए ।
    रजत लोगो सार्वजनिक
    रजत जयन्तीको सुरुवाती कार्यक्रमअन्तर्गत पत्रिकाको रजत लोगो सार्वजनिक गरिएको छ। फागुन २३ गते शुक्रबार सभामुख देवराज घिमिरे र पत्रिकाका प्रधान सम्पादक नवराज बजगाईले संयुक्त रूपमा लोगो सार्वजनिक गरे। अध्यक्ष बजगाईका अनुसार लोगो पत्रिकाको २५ वर्षे यात्राका बिभिन्न आयामहरूको प्रतिनिधित्व गर्ने गरी तयार गरिएको छ।
    Logo of Nawakshitij Weekly
    रजत जयन्ती समारोहको तयारी
    रजत जयन्ती कार्यक्रम २०८२ बैशाख ८ गते काभ्रेको धुलिखेलमा आयोजना गरिने छ । कार्यक्रमका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, युवा व्यवसायी राजेन्द्र थापा लगायतले अग्रिम शुभकामना व्यक्त गरिसकेका छन्।
    समारोहमा विशेष कार्यक्रमहरू
    रजत जयन्ती उद्घाटन समारोहमा विभिन्न महत्वपूर्ण कार्यक्रम आयोजना गरिने बताइएको छ, जसअन्तर्गत पत्रिकालाई निरन्तर सहयोग गर्ने व्यक्तित्वहरूको सम्मान, रजत गीत सार्वजनिक, सम्बन्धित पुस्तकहरू र स्मारिका विमोचन साथै विविध अन्य कार्यक्रमहरू समेत आयोजना गरिने बताइएको छ ।
    पत्रिकाका सह–सम्पादक अरबिन्द्र गौतमले नव क्षितिज साप्ताहिकको २५ वर्षे यात्रालाई विशेष रूपमा मनाउन तयारी थालिएको जानकारी दिए ।
  • पनौतीका खानी उद्योग सञ्चालनमा रोक

    पनौतीका खानी उद्योग सञ्चालनमा रोक

    पनौती । खानी तथा ढुंगा उत्खननमा अनियमितता बढ्दै गएको भन्दै पनौती नगरपालिकाले ३ वटा खानी उद्योगको सञ्चालनमा रोक लगाएको छ । खानी उद्योगहरूले खानी तथा भूगर्भ विभागबाट लिएको उत्खनन अनुमति अवधि समाप्त भइसकेपछि पनि सञ्चालन जारी राखेका कारण नगरपालिकाले खानी उद्योग सञ्चालनमा रोक लगाउने निर्णय लिएको हो । बन्द गरिएका खानी उद्योगहरूमा डायमन्ड स्टोन माइनिङ प्रा.लि. (पनौती वडा नं. २), भालेश्वर रोडाढुंगा उद्योग प्रा.लि. (पनौती वडा नं. १२), र दीपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रा.लि. (पनौती वडा नं. १२) रहेका छन् ।

    पुनः अनुमति नलिएसम्म सञ्चालनमा रोक
    पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीका अनुसार उक्त उद्योगहरूलाई पटक–पटक उत्खनन कार्य रोक्न ताकेता गरिए पनि नियमअनुसार बन्द नगरेकाले कानुनी रूपमा नियन्त्रण गर्न बाध्य हुनुपरेको जानकारी दिनुभयो । नगरपालिकाले अर्को निर्णय नभएसम्मका लागि खानी उद्योगहरू पुनः सञ्चालन गर्न नपाउने स्पष्ट पारेको छ । उनले भने, “नगरपालिकाको आदेशको उल्लङ्घन गर्दै अनुमति सकिएको खानीहरू निरन्तर सञ्चालनमा थिए । यसले वातावरणीय प्रभाव मात्र होइन, कानुनी प्रक्रियाको समेत उल्लङ्घन भएकाले हामीले तत्काल रोक लगाउने कदम चालेका हौं ।”

    खानी उद्योगको अनियमिततामाथि निगरानी बढाइने
    नगरपालिकाले यो निर्णयसँगै खानी उद्योगहरूको नियमनमा थप कडाइ गरिने बताएको छ । हाल पनौतीका विभिन्न क्षेत्रमा सञ्चालित अन्य खानी तथा रोडाढुंगा उद्योगहरूको अनुमति तथा नियम पालना गरिएको छ वा छैन भन्ने विषयमा पनि अनुगमन तीव्र पार्ने योजना बनाइएको छ ।
    स्थानीयवासीहरूका अनुसार अनियन्त्रित खानी उत्खननले भू–स्खलन, जलस्रोतको कमी र वातावरणीय असन्तुलन निम्त्याउने खतरा बढेकाले नगरपालिकाको निर्णय आवश्यक रहेको बताए ।

  • बनेपा चारदोबाटोमा नयाँ शैक्षिक गन्तव्य ‘नेक्स्ट ग्लोबल’ एजुकेशन कन्सल्टेन्सी

    बनेपा चारदोबाटोमा नयाँ शैक्षिक गन्तव्य ‘नेक्स्ट ग्लोबल’ एजुकेशन कन्सल्टेन्सी

    बनेपा । बनेपा नगरपालिका वडा नं.७ स्थित चारदोबाटो पनौती रोडमा ‘नेक्स्ट ग्लोबल’ एजुकेशन कन्सलटेन्सी खुलेको छ । पनौती रोडस्थित शान फर्निचरको घरमा कन्सल्टेन्सी खुलेको हो ।

    शिक्षा क्षेत्रमा क्रियाशील युवाहरूले सुरु गरेको कन्सल्टेन्सी मार्फत अस्ट्रेलिया, युके, क्यानडा, जापान, कोरिया लगायतका मुलुकहरुमा उच्च शिक्षा अध्ययन गर्न जान सक्ने कन्सलटेन्सीका निर्देशक माधव गौतमले जानकारी दिए ।

    प्रमाण पत्र तहका अध्ययन पछि उच्च शिक्षा अध्ययनका लागि कुन देश जाने भन्ने अन्योलता रहदा सही परामर्श केन्द्रको अभावमा राजधानी नै धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै विद्यार्थीहरुलाई शैक्षिक गन्तव्यसम्म पु¥याउन सहयोग गर्ने उद्देश्यले कन्सलटेन्सी सञ्चालनमा ल्याइएको निर्देशक गौतमले बताए ।

  • क्रोएसियामा ग्याल्पो ल्होसारको रौनक: शेर्पा समुदायको सांस्कृतिक धरोहरको उत्सव

    क्रोएसियामा ग्याल्पो ल्होसारको रौनक: शेर्पा समुदायको सांस्कृतिक धरोहरको उत्सव

    क्रोएसियाको राजधानी जाग्रेबमा ग्याल्पो ल्होछार लक्षित कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको छ । शेर्पा समुदायको मौलिक, सांस्कृतिक पर्व ग्याल्पो ल्होछार कार्यक्रम राजधानी जाग्रेब स्थित ‘प्रेच्को २ ए’ मा सम्पन्न भएको हो ।

    २१५२ औं  स्यिङ मो डुल ल्हो ग्याल्पो ल्होछार लक्षित कार्यक्रम शेर्पा किदुग क्रोएसियाको आयोजनामा भएको हो । कार्यक्रम शेर्पा समुदाय लगायत ल्होछार प्रेमी नेपालीहरूकाबिच मनाइएको थियो । नेपालमा फागुन १६ गते मनाइएको यस पर्वलाई क्रोएसियामा कार्यरत नेपालीहरूलाई सहज हुने हिसाबले मार्च २ तारिख आइतबारको दिन भव्यताका साथ मनाइएको हो ।

    प्रवासमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मौलिक कला, संस्कति, भेषभूषा, परम्पराको संरक्षण गर्न र भावनात्मक एकतामा सूत्रबद्ध गर्न कार्यक्रम आयोजना गरिएको आयोजक शेर्पा किदुग क्रोएसियाले जनाएको छ ।

    एनआरएनए क्रोएसियाका सल्लाहकार एवं आप्पा कम्पनीका प्रबन्ध निर्देशक दावा लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम शेर्पा किदुग क्रोएसियाका अध्यक्ष निमा रिञ्जन शेर्पाको सभापतित्वमा सम्पन्न भएको हो ।

    समारोहमा विशेष अतिथि एनआरएन क्रोएसियाका उपाध्यक्ष हर्क साहु, एनआरएनए क्रोएसियाका कोषाध्यक्ष दुर्गा अधिकारी, जन प्रगतिशील क्रोएसियाका अध्यक्ष लोब्साङ लामा, सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष बासु ओझा, तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाशचन्द्र तामाङ, बरिष्ठ उपाध्यक्ष बुद्ध लामा, उपाध्यक्ष सन्जय लामा, बुद्ध मार्टका संचालक बिकास मेचे लगायतले शुभकामना मन्तव्य मार्फत कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    त्यस्तै कार्यक्रममा नेपालबाट आएका ख्यातिप्राप्त गायक प्रदिप लामाले ‘याङसारी माया’ लगायत आधा दर्जनभन्दा बढी गीतहरू गाउँदै मनोरञ्जन प्रदान गरेका थिए ।

    गायक प्रदिप लामा आफ्नो सांगितिक प्रस्तुति दिँदै

    कार्यक्रममा बेल्जियमबाट आएका गायक सोनम शेर्पा (कोसिस)ले मुटु साटेर लगायत आधा दर्जन सांगितिक प्रस्तुति दिँदै कार्यक्रमलाई सांगितिक माहौल सिर्जना गरेका थिए । त्यस्तै कार्यक्रममा गायक आङफुर्वा शेर्पाले सांगितिक प्रस्तुति दिएका थिए ।

    छुट्टाछुट्टै सांगितिक प्रस्तुति दिँदै गायक सोनम शेर्पा (कोशिस) बायाँ र गायक आङ फुर्बा शेर्पा (दायाँ)

    कार्यक्रममा तासी लामु शेर्पा, फुर्बा छोकी शेर्पा, पुदोमा शेर्पा, फुलि शेर्पा, जङ्गमु शेर्पा, शङ्गमु शेर्पाले शेर्पा सुदायको मौलिकता झल्काउने, परम्परागत नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै सुजिता तामाङ, क्यालिआना तामाङ, ग्याल्छेन तामाङ र छयोङ तामाङले सामुहिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय कलाकार गायिका दिपा तामाङ, गायक बुद्ध लामा, अजित थकाली, गगन तामाङ, विकास मेचेले आ-आफ्नो प्रस्तुति दिएका थिए । सांस्कृतिक तथा शुभकामना प्रदान गर्दै सम्पन्न भएको ल्होछार विशेष कार्यक्रमको सञ्चालन गगन तामाङले गरेका थिए ।

    कार्यक्रमको उत्तरार्धमा ग्याल्पो ल्होछार लक्षित विशेष कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्ने संघसंस्था तथा व्यक्तित्वहरूलाई शेर्पा किदुग क्रोएसियाले सम्मानपत्र, दोसल्ला र मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो ।

    यस वर्ष शेर्पा समुदायले २१५२ औं ग्याल्पो ल्होसार मनाएका हुन् । नेपालमा ग्याल्पो ल्होछारको अवसरमा राजधानी काठमाडौं लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइएको थियो । भने विश्वभर छरिएर रहेका नेपालीहरूले आफू कार्यरत विदेशी भूमिमा संगठित हुँदै ल्होछार कार्यक्रम मनाएका हुन् । कार्यक्रमले प्रवासमा नेपाली समुदायबिच भेटघाटको वातावरण बनाउने मात्र नभई एकताको भावना बढाउन, आपसी सञ्चार, सद्भाव, भातृत्व बढाउँदै सांस्कृतिक धरोहरलाई संरक्षण गर्न एकताबद्द हुने विश्वास लिइएको छ ।  व्यस्तता र नियमबद्ध दैनिक कार्यतालिकामा चलेको जीवनमा हर्ष, उमंग र सकारात्मक ऊर्जाको सञ्चार गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका निर्वाह राख्ने गर्दछन् ।

  • रोशी ११ मा निःशुल्क आँखा शिविर २५० लाभान्वित

    रोशी ११ मा निःशुल्क आँखा शिविर २५० लाभान्वित

    ♦ अशोक बुद्ध लामा


    रोशी । रोशी गाउँपालिका वडा नम्बर ११ मा रोटरी क्लब धुलिखेल र अष्ट्रेलियन रोटरी क्लबको प्राविधिक सहयोग तथा वडा कार्यालयको व्यवस्थापनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

    १० दिनसम्म विभिन्न स्थानमा घुम्ती सेवा प्रदान गर्ने योजनाअन्तर्गत पहिलो दिनमा मात्र रोशी, तेमाल र सिन्धुलीका २५० जना बालबालिका तथा वृद्धवृद्धाहरूले सेवा लिएका हुन् ।

    स्थानीय बासिन्दाहरूले आफ्नै गाउँठाउँमा आँखा परीक्षण तथा उपचारको सुविधा पाउँदा खुशी व्यक्त गरेका छन्। तेमालकी स्थायी बासिन्दा विष्णुमाया तामाङले स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता हटेकोमा हर्षित हुँदै आयोजकलाई धन्यवाद दिनुभएको छ।

    स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता शिविरहरूले ग्रामीण क्षेत्रका नागरिकहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।