Category: स्थानीय खबर

  • बेथानचोकमा दलित एवं महिला सशक्तिकरण विषयक कार्यशाला सम्पन्न

    बेथानचोकमा दलित एवं महिला सशक्तिकरण विषयक कार्यशाला सम्पन्न

    ढुंखर्क । बेथानचोक गाउँपालिका र दलित अधिकार तथा विकास केन्द्र नेपालको सहकार्यमा स्थानीय जनप्रतिनिधिहरुको सशक्तिकरण तथा कानुनी शिक्षा विषयक दुई दिवसीय पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

     

    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दलित आयोगकी सदस्य मिनादेवी सोवले नेपालमा ऐतिहासिक कालखण्डदेखि केन्द्रिकृत, सामन्तवादी र राजतन्त्रात्मक शासन व्यवस्थाका कारण दलित एवं महिलाहरू चौतर्फी शोषण र दमनम परेको बताउनुभयो ।

    दलित, महिला तथा सिमान्तकृत समुदायको पूर्ण मुक्ति बिना लोकतान्त्रिक गणतन्त्र संस्थागत र दीगो हुन नसक्ने बताउनुभयो ।

    पछाडि पारिएका दलित, महिला र सीमान्तकृत समुदायको बहुआयामिक सबलीकरण र सशक्तिकरण बिना समुन्नत, समावेसी र समतामूलक राज्य निर्माण हुन नसक्ने पनि जीकिर गर्नुभयो । त्यसका निम्ति तीनै तहका सरकारले पछाडी पारिएको वर्ग समुदायको उत्थानका निम्ति विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको सोवले प्रष्टयाउनुभयो ।

    कार्यशालाको समापन गर्नुहुँदै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिकाले दलित, महिला एवं सीमान्तकृत समुदायको उत्थानका लागि समन्यायिक रुपमा अवसरहरुको वितरण गर्ने बताउनुभयो ।

    दलित, महिला तथा सीमान्तकृत समुदायको आर्थिक सबलीकरण, सामाजिक एवं राजनीतिक सशक्तिकरण र शैक्षिक पहुँचको अभिवृद्धिका निम्ति उहाँहरुलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आएको र बजेटको सुनिश्चिता पनि त्यसै अनुरुप गरिने बताउनुभयो ।

    बेथानचोक गाउँपालिकाको लक्ष्य मानवीय विकासमा पनि जोड दिने रहेको भन्दै समतामूलक तथा समावेशी विकासका निम्ति उहाँहरु आफैँपनि सचेत, जागरुक र सशक्त हुन आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा विश्व र नेपालको महिला आन्दोलनको संर्घर्षको ईतिहास विषयक कार्यपत्रमाथि आफ्नो प्रशिक्षण समेत प्रस्तुत गर्नुहुँदै बेथानचोक गाउँपालिका तारा राना तिमल्सिनाले नेपालको महिला आन्दोलन योगमाया न्यौपाने, मंगलादेवी सिंह, सहना प्रधान आदि महिलाहरुको उच्च त्याग, बलिदानी र योगदानबाट निरन्तर सफलतातर्फ उन्मूख हुँदै गैरहेको धारणा राख्नुभएको थियो ।

    उहाँले गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटमा महिलाहरुको उत्थान, सबलीकरण र विकासमा प्राथमिकताका साथ जोडदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

    समाजशास्त्री माधव तिमल्सिनाले समतामूलक तथा समावेसी विकासको अभ्यास र चूनौती विषयक कार्यपत्र पेश गर्नुहुँदै स्थानीय सरकारले विकासमा उत्पिडित वर्ग समुदायको समानता र पहुँच सुनिश्चित गर्न विशेष नीति तथा कार्यक्रम ल्याउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाले समतामूलक एवं समावेशी विकासमा मिडियाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    सत्यतथ्य सूचनामाथि जनताको पहुँच नपुगेसम्म राज्यका कार्यक्रमहरुबाट सूसुचित हुन नसक्ने हुँदा त्यसले विकासमा अपेक्षित प्रतिफल दिन नसक्ने ढुंगानाले दाबी गर्नुभयो ।

    कार्यशालामा राष्ट्रिय दलित आयोगको विज्ञ सल्लाहाकार, दलित अधिकार तथा विकास केन्द्र नेपालका अध्यक्ष मेघेन्द्र बिश्वकर्माले लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात जातीय विभेद, अन्र्तजातीय विवाह र छुवाछुतको आवरणमा चौसट्ठी जना दलितहरुको हत्याभएको भन्दै दलित समुदायमाथिको ज्यादती बन्द गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    उहाँले गरिबी, भूमिहीनता, अशिक्षा, भोकमरी र अभाव झेलिरहेका दलित समुदायको मुक्तिबिना राजनीतिक दल र नेताहरुले परिकल्पना गरेको समृद्ध वा समुन्नत नेपालको तस्वीर निकै दुर रहेको बताउनुभयो ।

    कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र अधिकारकर्मीहरु, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, प्रेस काउन्सिल नेपालका पूर्वसदस्य ईश्वरी ओझा, दलित अधिकारकर्मी विष्णु मिजार लगायतले विषयवस्तुमा आफ्नो भनाई राखेका थिए ।

  • पालिकाहरु योजना तर्जुमामा व्यस्त

    पालिकाहरु योजना तर्जुमामा व्यस्त

    बनेपा । काभ्रे जिल्लामा ७ वटा गाउँपालिका र ६ वटा नगरपालिका रहेका छन् । संघीय सरकारले गत जेठ १५ गते बजेट प्रस्तुत गरिसकेको छ भने प्रदेश सरकारले पनि बजेट निर्माण गरिसकेको छ ।

    केन्द्र र प्रदेश सरकारबाट स्थानीय तहलाई वित्तिय हस्तान्तरण र स्थानीय तहले आफ्नै स्रोतबाट सुनिश्चित रकमले बजेट निर्माण गर्दछ । अहिले पालिकाका प्रमुख नीति निर्माताहरु आगामी वर्षको बजेट लक्षित योजना तर्जुमा कार्यमा व्यस्त छन् ।

    आगामी वर्षको नीति तथा कार्यक्रम निर्धारित मितिमा ल्याउनका लागि नगर/गाउँपालिकाले योजनाहरु समेट्दै गएका छन् ।

    विभिन्न पालिकाले गोष्ठी सम्मेलनको आयोजना गरि आफ्नो पालिकाभित्र के के योजना समेट्दा हुन्छ भन्ने जनगुनासोलाई समेत सम्बोधन गरेका छन् ।

    काभ्रेका जिल्लाका पालिकाहरुले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्यम विकास, पूर्वाधार विकास, आयआर्जनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तर्जुमा गरिरहेका छन् ।

  • विद्यालयहरूमा घुम्ती पुस्तकालय ‘बुक बस’

    विद्यालयहरूमा घुम्ती पुस्तकालय ‘बुक बस’

    पनौती । पनौती नगरपालिका भित्र रहेका विभिन्न विद्यालयहरुमा घुम्ती पुस्तकालय (बुक बस)को कार्यक्रम सञ्चालन गरिएको छ । अमेरिकी दूतावासको सहयोगमा ‘स्टोरी सेन्टर फर द आर्टस्’द्वारा सञ्चालित बुक बसले पनौतीका विद्यालयमा शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सुरु गरेको हो ।

    गत जेठ ३० गतेदेखि असार ९ गतेसम्म पनौतीका विभिन्न विद्यालयहरुमा घुम्ती पुस्तकालय सञ्चालन गरिनेछ । पनौतीका पाँच विद्यालय र एउटा पुस्तकालयमा विज्ञान, प्रविधि, संरक्षणबारे कार्यशाला तथा पुस्तक पठनपाठनका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

    विद्यार्थीहरुलाई शैक्षिक, सांस्कृतिक तथा नदी र वरिपरिको वातावरणबारे रुचि बढाउन कार्यक्रमको आयोजना गरिएको आयोजकले काभ्रेपोष्टलाई जानकारी दिए ।
    गत जेठ ३० र ३१ गते पनौती आधारभूत विद्यालयमा बुक बसको कार्यक्रम सञ्चालन गरिएको थियो ।

    त्यस्तै जेठ ३२ र असार १ गते पुण्य हाईस्कुलमा कार्यक्रम सञ्चालन भएको थियो । असार ३ र ४ गते इन्द्रेश्वर माविमा बुक बस कार्यक्रम सञ्चालन हुनेछ भने असार ५ र ६ गते सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, असार ७ र ८ गते सामुदायिक बोर्डिङ स्कुल र असार ९ गते ज्ञान विकास सामुदायिक पुस्तकालयमा कार्यक्रम तथा प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

    कार्यशाला र कार्यक्रम अन्तर्गत पुस्तक पठन र कथा वाचन, पुस्तकालय प्रदर्शन र स्टीम कार्यशाला हुने आयोजकले जनाएको छ ।

     

  • बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम

    बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम

    मण्डनदेपुर । मण्डनदेपुर नगरपालिकाको वडा नम्बर ४ बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम सुरु भएको छ ।

    दुबै तालिमको आज नगर प्रमुख टोक बहादुर वाईबाले संयुक्त रुपमा उदघाटन गर्नुभयो । तालिम उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख वाईबाले शिक्षासंगै सीप पनि अपरिहार्य रहेको बताउनुभयो । पढाईको तह बृद्धि संगसंगै सीप भयो भने जीवन आत्मनिर्भर बन्न निकै ठूलो सहयोग पुग्ने नगर प्रमुख वाईबाको भनाई छ ।

    सिकेको सीपलाई ब्यवहारमा लागु गर्न सहभागीहरूलाई नगरप्रमुख वाईबाले आग्रह गर्नुभयो । सीप र ज्ञान कहिल्यै पूर्ण हुँदैन । समय अनुकुल सीप र ज्ञान लिदैँ र बाड्दै जानुपर्छ । सर्टिफिकेट जम्मा गर्ने काम मात्रै नगर्नु होला ।’ नगरप्रमुख वाईबाले भन्नुभयो ।

    उपप्रमुख विष्णुमणी नेपालले नगरपालिका उत्पादनको क्षेत्रमा काम गर्न तत्पर रहेको बताउनुभयो । उहाँले पढाईलाई ब्यवसायमुलक बनाउनुपर्नेमा जोड दिनुभयो । सीप सिकेर नमुना बनेर समाज रुपान्तरणमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डा. लोक बहादुर लोप्चन, वडा नम्बर ४ का वडा अध्यक्ष मैतेसिं तामाङ र वडा नम्बर ८ का वडा अध्यक्ष निरञ्जन विष्ट, नगरपालिकाका स्वरोजगार संयोजक सुरज पौडेल लगायत सहभागि हुनुभएको थियो ।

    गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको सिलाई कटाई तालिममा वडा नम्बर ४ र ८ का गरी १५ जना महिला सहभागिता रहेको छ ।

    त्यस्तै ब्यूटी पार्लर तालिमा ७ जना महिला सहभागि छन् । यो तालिम १ महिनासम्म सञ्चालन हुनेछ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम नगरपालिकाको विभिनन ४ वटा वडामा सञ्चालन भैरहेको छ । वडा नम्बर ४, ५, ८ र १० मा कार्यक्रम सञ्चालन भैरहेको स्वरोजगार संयोजक पौडेलले जानकारी दिनुभयो ।

    वडा नम्बर ४ मा पार्लर, सिलाई कटाई र वर्क शपको तालिम सञ्चालन भैरहेको छ । वडा नम्बर ५ मा सिलाई र तरकारी खेती तालिम चलिरहेको छ । वडा नम्बर १० मा सिलाई र गलैँचा बुनाई तालिम सञ्चालन भैरहेको छ । वडा नम्बर ८ का लागि सञ्चालन गरिएको बाख्रा पालान तालिम भने आजै सकिएको छ ।

     

  • दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ भकुण्डेवेंशीमा हुने

    दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ भकुण्डेवेंशीमा हुने

    बनेपा । सेलिब्रेटी नेपालको आयोजनामा दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ काभ्रेपलान्चोकको भकुन्डेबेशीमा हुने भएको छ ।

    सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइएको छ ।

    महोत्सवमा २६ वटा फिल्महरु सहभागी हुने आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए । नेपाली मौलिक कथा बोकेका चलचित्रहरू महोत्सवमा देखाइने सापकोटाले जानकारी दिए ।

    महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरु स्क्रिनिङ हुनेछन् ।

    महोत्सवमा स्क्रिनिङ हुने फिल्महरुमध्ये उत्कृष्टलाई अवार्ड समेत प्रदान गरिने सापकोटाले जानकारी दिए । स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु र नेपाली चलचित्र हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य हो ।

    दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु, नियमित नेपाली फिल्म हेर्ने बानी बसाल्नु, स्थानीय भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सेलिब्रेटि नेपालका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

    चलचित्र महोत्सव सम्पन्न गर्न १५ लाख अनुमान आयोजकको छ । महोत्सव सञ्चालनका निम्ति चलचित्र विकास बोर्डले सहकार्य गरेको छ ।

    महोत्सव अघिल्लो वर्ष बैशाखमा गोरखाको लाप्राकमा सम्पन्न भएको थियो ।

  • काभ्रेमा मनाइयो १६ औँ गणतन्त्र दिवस

    काभ्रेमा मनाइयो १६ औँ गणतन्त्र दिवस

    बनेपा । १६ औं गणतन्त्र दिवस काभ्रेमा विशेष रुपले मनाइएको छ ।  गणतन्त्र दिवस जिल्ला समारोह समिति काभ्रेपलाञ्चोकको आयोजनामा सहिदका परिवारलाई सम्मान गरिएको छ ।

    आफुले परिवारको सदस्यलाई गुमाइरहदा सरकारले सहिदको सम्मान स्वरुप काम गर्न नसकेकोमा दुख व्यक्त गरे । देशमा विधिको शासन स्थापना हुनुपर्नेमा जोड दिए । विभिन्न स्वरुपमा अवसान गराइएका सहिदलाई राज्यले हेर्ने दृष्टिकोण फरक हुनुपर्ने भन्दै सहिदको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएकोमा धन्यवाद समेत व्यक्त गरे ।

    कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतमको अध्यक्षतामा सम्पन्न भएको छ ।

    सहिदको सपना साकार गर्न जनप्रतिनिधिहरू लागि पर्नुपर्ने जिसस प्रमुख गौतमले बताउनुभयो । जिल्लाका सबै सहिदहरूको सम्मानस्वरूप साझा सहिद पार्क निर्माण गरिने बताउनुभयो ।

    कार्यक्रममा जिसस उपप्रमुख रिम बहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरू, सहिदका परिवार, पत्रकार महासंघ काभ्रे अध्यक्ष बद्रिराज तिमल्सिना, स्थानीय, बुद्धिजीवी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ‌।

  • नमोबुद्धका जनप्रतिनिधिको जनताको सेवामा पहिलो एक वर्ष

    नमोबुद्धका जनप्रतिनिधिको जनताको सेवामा पहिलो एक वर्ष

    भकुण्डेवेंशी । नमोबुद्ध नगरपालिकाले स्थानीय निर्वाचन २०७९ पदभार सम्हाले पश्चात पहिलो एक वर्षमा भए गरेका कार्यक्रमहरुको प्रगति सार्वजनिक गरेको छ । कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतमको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । जनताको सेवामा पहिलो वर्षमा सुरु गरिएका, पूरा भएका र आगामी दिनमा गरिने कार्यक्रमको जानकारी गराइएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख गौतमले नगरपालिकाले नागरिकको विश्वास जित्नेगरि काम गर्नुपर्ने बताउनुभयो । गरिबी, निरक्षरता, बेरोजगारी हाम्रो शत्रु भएकाले त्यसको अन्त्य गर्न जनप्रतिनिधिहरु प्रतिबद्ध हुनुपर्ने गौतमले जिकिर गर्नुभयो । एकले अर्कोलाई आरोप लगाउने भन्दा पनि नागरिकका जनजीविकासँग सम्बन्ध राख्ने विषयहरुमा मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रमुख गौतमले जिसस काभ्रेलीको आवाज बोल्ने गरि अघि बढ्ने बताउनुभयो । गाली गर्ने र नकारात्मक छाप छोड्ने भन्दा पनि खबरदारी र रचनात्मक सुझाव सञ्चार भएमा समृद्धि सम्भव भएको उहाँको तर्क थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कुनसाङ लामाले सीमित स्रोत र साधनको उचित प्रयोग गरि जनताको आवश्यकता पूरा गर्दै जाने बताउनुभयो । आर्थिक, सामाजिक, पूर्वाधारको क्षेत्रमा स्थानीय नगरवासीको आवश्यकताको आधारमा विकास गर्दै जाने बताउनुभयो । सामाजिक विकास र सुशासनलाई प्राथमिकतामा राखेको नगरप्रमुख लामाकोे भनाई छ ।

    उहाँले वृहत रोजगार र आयआर्जनसँग जोड्ने वितरणमुखी भन्दा उत्पादनमुखी क्रियाकलापमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरबासीले दिएको म्यान्डेड क्रमशः पूरा गर्दै बताउनुभयो । नगरबासीका जायज मुद्दामा हरपल सेवामा तत्पर रहेको बताउनुभयो । नगरपालिकामा निष्पक्ष रुपमा काम गर्ने वातावरणको सिर्जना भएको बताउनुभयो । नगर समृद्ध बनाउने अभियानमा नगरपालिका जनप्रतिनिधि र कर्मचारी टिमको सहयोग प्राप्त भएको बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख रत्न बहादुर लामाले नगरले कृषिको क्षेत्रमा विशेष सुधारको काम गर्ने बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले नमोबुद्ध नगरकमिटीका अध्यक्ष कृष्ण प्रसाद खनालले विकास र परिवर्तन जादुको छडी जस्तो नभई विस्तारै हुँदै जाने बताउनुभयो । त्यसैगरि  भनाई राखेका थिए ।
    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले नागरिकलाई सत्य, तथ्य तथा जानकारी गराउने सूचना एवं समाचार प्रशारण गर्न पत्रकार लागिपर्ने बताउनुभयो । नगरपालिकाले गरेका राम्रा र अनुकरणीय कामहरुको पत्रकारहरुले उजागार गरेको प्रष्ट्याउनुभयो ।

    कार्यक्रमकै अवसर पारेर नमोबुद्ध नगरपरिसरमा निःशुल्क वाइफाइको सेवा सुचारु गरिएको थियो । FREE WIFI ZONE को अवधारण अनुसार नगरपालिकासँगको समन्वयमा निःशुल्क वाइफाई सेवाको सुरु गरिएको वल्र्ड लिङ्क कम्युनिकेशन प्रा.लि.का बागमती प्रदेश म्यानेजर निकेश अधिकारीले बताउनुभयो । देशका विभिन्न सार्वजनिक क्षेत्रहरुमा वल्र्ड लिङ्कले १४ हजार भन्दा धेरै स्थानमा वाइफाई राखेको अधिकारीको दाबी छ ।


    कार्यक्रममा जिसस उपप्रमुख रिम बहादुर तामाङ, नमोबुद्ध नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराज अर्याल, नमोबुद्ध नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षहरु, राप्रपा नगर अध्यक्ष नवराज सत्याल, रास्वपा नगर अध्यक्ष पुष्कर न्यौपानेले, नगरपालिका क्षेत्रका जनप्रतिनिधिहरु, कर्मचारीहरु, नगरबासीहरु, सञ्चारकर्मीहरु लगायत सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नमोबुद्ध नगरपालिका वातावरण अधिकृत सन्तोष काफ्लेले गर्नुभएको थियो ।

  • बेथानचोकमा निःशुल्क लोकसेवाको कक्षा सुरु

    बेथानचोकमा निःशुल्क लोकसेवाको कक्षा सुरु

    बेथानचोक । बेथानचोक गाउँपालिकाले युवा तथा विद्यार्थीहरू लक्षित गरी निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । सो कक्षामा ३ सय ७५ जनाले सहभागिता जनाउनु भएको छ ।

    गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्दै गरेका वा अध्ययन सकेर खाली बसेका विद्यार्थीहरूका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनु भयो ।

    काठमाडौंको शंखमूलस्थित चैतन्य एकेडेमीसँगको सहकार्यमा जुममार्फत लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो । कक्षा उद्घाटन गर्दै अध्यक्ष अधिकारीले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने घोषणा गर्नुभयो ।

    अध्यक्ष अधिकारीले सबै विद्यार्थीहरूलाई मुलुकको खरिदार, शाखा अधिकृत, प्रमुख प्रशासकीय अधिकृत वा कुनै अन्य सरकारी सेवाको सम्भावना बोकेका व्यक्तिका रूपमा हेरिरहेको बताउनुभयो । सोही अनुरुप तयारी गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो ।

    शिक्षित युवा जनशक्ति विदेश पलायन हुनुभन्दा पनि सरकारी सेवामा आकर्षित भएर स्वदेशमै सेवा गर्न प्रेरित हुन् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको अवधारणा अगाडि सारिएको गाउँपालिका अध्यक्ष अधिकारीको बताउनुभएको छ ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले गत वर्षदेखि नै यो अभियान थालिएको जानकारी दिँदै युवाहरूका लागि प्रभावकारी देखिएकाले आगामी वर्षमा पनि यस कार्यक्रमले निरन्तरता दिइएको र विद्यार्थीहरूलाई लोकसेवा आयोगका कक्षा लिन आफूहरूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

    तालिम कक्षा नेपाल सरकारको लोकसेवा, शिक्षक सेवा, सेना तथा प्रहरी, संस्थान आदिका लागि सहयोगी प्र.प्र.अ. भण्डारीले हुने बताउनु भयो ।

    कक्षा आइक्यु र जिके गरी २ सेसनमा सञ्चालन गर्ने र मुलुकका ख्यातिप्राप्त प्रशिक्षकबाट कक्षा सञ्चालन गरिएको हुँदा यसले प्रभावकारिता पाउने विश्वास राख्नु भएको छ । कार्यक्रममा चैतन्य एकेडेमीका निर्देशक गणेश जोशीले लोकसेवाको तयारी कक्षा लिने विद्यार्थीहरूलाई पूर्ण रूपमा सहयोग गरिने भन्दै आफूहरुले यहाँका विद्यार्थीहरूलाई पूर्ण रूपमा सहयोग गर्ने बताउनु भयो ।

    जोशीले अनलाइनमै नियमित नोट तथा अतिरिक्त सिकाई सामग्रीहरू उपलब्ध गराउने भन्दै गाउँपालिकाले बोकेको लक्ष्यलाई लोक सेवामा सफल भइ सार्थक तुल्याउन आग्रह गर्नुभयो । उहाँले कडा मिहिनेतपछि मात्र सरकारी सेवामा प्रवेश गर्न सहज हुने भन्दै औसत भन्दा अतिरिक्त ज्ञान लिन आवश्यक रहेको र यसैका लागि आफ्नो अनुभवको भरपुर प्रयोग गरि प्रभावकारी कक्षा सञ्चालन गर्ने बताउनु भयो ।

  • बेथानचोकका विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा

    बेथानचोकका विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा

    बेथानचोक । बेथानचोक गाँउपालिकाले मुख्य बजारहरुमा निःशुल्क इन्टरनेट सेवा संचालन गरेको छ । बेथानचोक गाँउपालिकाको आ.ब २०७९/८० को बार्षिक नीति तथा कार्यक्रम अन्तर्गत प्रत्येक वडा कार्यालयका आसपासका मुख्य बजार क्षेत्रहरुमा निःशुल्क इन्टरनेट सेवा सुचारु गरेको हो ।

    नि:शुल्क वाईफाई क्षेत्रहरु वडा न. १ को कार्यालय परिसर, वडा न. २ गेल्डुङ बजार, वडा न. ३ महांकालस्थान , वडा न. ४ को कार्यालय परिसर , वडा न. ५ च्याल्टी र वडा न‌‌‌‌‌. ६ को कार्यालय भुग्देउमा उपलब्ध हुने बेथानचोक गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिनुभयो ।

    डिजिटल बेथानचोक बनाउने उद्देश्य अनुरुप आज बेथानचोक गाँउपालिकाको छ वटै वडामा स्थानीय बासिन्दाहरको अधिक आवतजावत हुने स्थानमा फ्रि वाईफाई सेवा सुरुवात गरिएको हो । कार्यक्रमको  बेथानचोक गाउपालिकाका अध्यक्ष भगवान अधिकारीले शुभारम्भ गर्नुभएको हो । डिजिटल बेथानचोकको नारा साकार पार्न इन्टरनेट सेवाको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

    इन्टरनेट सेवा प्रदायक संस्था अल्ट्रानेट कम्युनिकेशन प्रा.लि संगको सहकार्यमा संचालित फ्रि वाईफाई जोन शुभारम्भ कार्यक्रमा उपाध्यक्ष तारा राना वडा अध्यक्षहरु पुरुषेत्तम तिमल्सिना, कुवेर ढकाल, कृष्ण बहादुर पाख्रिन, प्रमुख प्रसाशकीय अधिकृत राजेन्द्र भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

  • पाँचखालमा रोजगारीको अवसर

    पाँचखालमा रोजगारीको अवसर

    पाँचखाल । पाँचखाल नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा ३ जना कर्मचारी माग गरेको हो ।

    नगरपालिकाको अनुसार प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि बमोजिम पाँचखाल नगर स्वास्थ्य शहर निर्माणको लागि नमुना सर्वेक्षण गर्न आवश्यक पर्ने तथ्यांक संकलक माग गरेको हो । नगरपालिकाले जनस्वास्थ्य अधिकृत सातौं तहमा १ जना र हेल्थ असिस्टेन्ट पाचौं तहमा ३ जना गरी ४ कर्मचारी माग गरिएको हो ।

    योग्यता पुगेका व्यक्तिले नगरपालिकाले तोकेको दस्तुर तिरी आवेदन दिन सक्ने जनाइएको छ । सूचनाको अनुसार सातौं तहका लागि १००० रुपैयाँ र पाचौं तहका लागि ६०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ ।

    सुचना यस प्रकारको रहेको छ ।