Category: स्थानीय खबर

  • गुरु पद्यसम्भवको ४३ फिट अग्लो प्रतिमा अनावरण

    गुरु पद्यसम्भवको ४३ फिट अग्लो प्रतिमा अनावरण

    गहते । नमोबुद्ध नगरपालिका वडा नं ९ स्थित गहतेमा गुरु पद्यसम्भव (गुरु रिम्पोछें) को ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको छ ।

    विभिन्न आर्थिक बर्षमा गरी वडाबाट ५० लाख, बागमती प्रदेश सरकारको २५ लाख, स्थानीयको सहयोग ३० लाख र श्रमदान समेतबाट करिब १ करोड १५ लाखको अनुमानित लागतमा प्रतिमा स्थापना गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर तामाङले जानकारी दिए ।

    लामाका अनुसार प्रतिमा निर्माण स्थलमा पर्खाल निर्माणको लागि थप २५ लाख विनियोजन भएको थियो ।

    प्रतिमामा सोमबार प्राण प्रतिष्ठान गरिएको छ । धर्म गुरु क्याब्जे खेन्टुल ग्याङखाङ रिम्पोछे, नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा र उपप्रमुख रत्नबहादुर लामाले संयुक्त रुपमा प्रतिमा अनावरण गर्नुभयो ।

    नगर प्रमुख लामाले सो स्थानमा अन्य पूर्वाधार निर्माण समेत गर्न बाँकी रहेको भन्दै संघ, प्रदेश र स्थानीय सरकारबाट पनि बजेट बिनियोजन गर्ने बताउनुभयो ।

    धर्मगुरु रिम्पोछेले गुरु पद्यसम्भवको प्रतिमा स्थापनाले सो क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना बढ्नुको साथै प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।

  • सचेतनामूलक कार्यक्रम सम्पन्न

    सचेतनामूलक कार्यक्रम सम्पन्न

    चौरीदेउराली । विश्व हातधुने दिवस अक्टोबर १५ को अवसरमा धुसेनी शिवालय अस्पतालको परिसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

    चौरीदेउराली गाउँपालिका प्रमुख रेणुका चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आम सर्वसाधारण जनतालाई राम्रोसँग हात धुन र स्वच्छता अपनाउन सचेतनामूलक कार्यक्रम आयोजना गरिएको धुसेनी शिवालय प्राथमिक अस्पतालका प्रमुख राजु चौलागाईंले जानकारी दिए ।

     

    दैनिक रुपमा दिसा पिसाब गरिसकेपछि, खाना खानु अघि र पछि नियमित रुपमा सही तरिकाले हात धुने विधि प्रर्दशन गरि सिकाइएको थियो । कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष चौलागाईंले मानिसको शरीरमा ९० प्रतिशत भन्दा बढी रोगहरु हातको माध्यमबाट शरीरमा पुग्ने भएकाले हातको सरसफाईलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

    सचेतनामूलक कार्यक्रममा चौरीदेउराली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर घिसिङ, अस्पतालका डाक्टर, कर्मचारी, सेवाग्राही र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

    त्यसैगरी विश्व हातधुने अवसरमा चौरीदेउराली वडा नं. ६ कात्तिके बजारमा स्वास्थ्य शाखाको नेतृत्वमा अस्पतालका नर्स, कर्मचारीहरुले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै राम्रोसँग हातधुने विधि प्रदर्शन गरेका थिए ।

    राम्रोसँग हात धोएमा संक्रमण रोग लाग्नबाट बच्न सकिने भन्दै दिसापिसाब गरिसकेपछि, कुनै काम गरिसकेपछि र खाना खानुअघि नियमित रुपमा सही तरिकाले हात धुन सचेतनामूलक कार्यक्रमको माध्यमबाट आम सर्वसाधारणहरुलाई जानकारी गराइएको थियो ।

    धुसेनी शिवालय प्राथमिक अस्पताल स्वास्थ्य शाखाको आयोजनामा भएको सचेतनामूलक कार्यक्रममा कात्तिकेदेउरालीमा स्थानीय बजार क्षेत्रका धेरै मान्छेहरुको उपस्थिति रहेको थियो ।

     

  • धुलिखेल र चीनको सियान बिच भगिनी सम्बन्ध

    धुलिखेल र चीनको सियान बिच भगिनी सम्बन्ध

    धुलिखेल । धुलिखेल नगरपालिका र चीनको सियान महानगरपालिका बीच भगिनी सम्बन्ध बिस्तार भएको छ ।

    कोरियाको देजोङ्ग शहरमा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ र सियान महानगरपालिका प्रमुख लि जाङ्ग मिङ्युन बीच भगिनी सम्बन्ध विस्तार गर्ने पत्रमा हस्ताक्षर भएको हो ।

    भगिनी सम्बन्ध सम्झौता पत्रमा हस्ताक्षर भएपछि दुई नगरबीच सांस्कृतिक, मैत्री र साझेदारिता, विज्ञान र प्रबिधिको बिकास, शिक्षा, स्वास्थ, खेलकुद विकास गर्ने र दुई पक्षबीच अनुभव आदानप्रदान गर्ने उल्लेख गरिएको छ । सम्झौता पश्चात दुई नगरबीच आवश्यक भ्रमण, सूचना र बैदेशिक सम्बन्धको बिकास हुने विश्वास नगरप्रमुख ब्याञ्जुले लिएका छन् ।

    प्रमुख व्याञ्जु अन्तर्राष्ट्रिय विज्ञ सल्लाहकारमा मनोनित


    त्यस्तै धुलिखेल नगरपालिका नगरप्रमुख अशोक व्याञ्जु चीनको सियान महानगरपालिकाको अन्तर्राष्ट्रिय विज्ञ समूहको सल्लाहकार पदमा मनोनित भएका छन् ।

    प्रमुख व्याञ्जुले स्थानीय सरकार र संघीयता, सहरीकरण र सुशासन, स्थानीय प्रजातन्त्र र दिगो विकासको लक्ष्य पूरा गरेकोले सियान महानगरपालिकाले अन्तरािष्ट्रय विज्ञ समूहको सल्लाहकार पदमा मनोनित गरेको हो ।

    प्रमुख व्याञ्जुले सियान महानगरपालिका बासी र चीन सरकारलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन् । व्याञ्जु धुलिखेल नगरपालिकाको प्रमुखसँगै नेपाल नगरपालिका संघका अध्यक्ष र युसएलजी एसिया प्यासिफिकका अध्यक्ष समेत हुन् ।

  • धुलिखेल २८ किलोमा आगलागी हुँदा २ करोड भन्दा धेरै क्षति

    धुलिखेल २८ किलोमा आगलागी हुँदा २ करोड भन्दा धेरै क्षति

    धुलिखेल । आज धुलिखेल नगरपालिका वडा नं. ४, अठ्ठाईस किलो स्थित एक घरमा आगलागी भएको छ ।

     

    शम्भु कार्कीको चार तले पक्की घरमा आगलागी हुँदा करोडौँ मालसामान जलेर नष्ट भएका छन् ।

     

    चाउमिन फ्याक्ट्रीमा चाउमिन पकाउने क्रममा ग्याँसबाट अचानक आगोलागी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धुलिखेलेलबाट प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेको नेतृत्वमा ४० जनाको प्रहरी टोली घटना स्थल पुगेको थियो ।

     

    प्रहरी नायव उपरीक्षकको समन्वयमा धुलिखेल नगरपालिकाबाट–१ वटा, भक्तपुर नगरपालिकाबाट–१ र पाँचखालबाट–१ वटा गरी जम्मा ३ वटा दमकल, बनेपा नगरपालिकाबाट–२ वटा पानीट्याङ्कर, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियहरु समेत भई दिनको २ः३५ बजे आगलागी पूर्ण रुपमा नियन्त्रण गर्न सफल भएको प्रहरीले जनाएको छ ।

     

    प्रहरी र सम्बद्ध पक्षको सक्रियतामा आगलागी ४० मिनेटमा नै नियन्त्रणमा लिइएको थियो ।  आगलागीबाट घाइते शम्भु कार्की सामान्य घाईते भएको र उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

     

    प्रहरीका अनुसार आगलागी भएको घर आसपासको घरहरुमा जोखिम छैन ।  आगलागीबाट चाउचाउ बनाउने १५ थान मेसिनहरु, चाउचाउ बनाउने सामाग्रीहरु, लत्ता कपडा तथा अन्य सरसामानहरु पुर्ण रुपमा जली नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट २ करोड २५ लाख बराबरको क्षति भएको छ ।

  • नमोबुद्ध सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम

    नमोबुद्ध सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम

    आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम दोश्रो नगर सभाको पहिलो अधिवेशन नगर प्रमुख श्रीमान् कुनसाङ लामाज्यूबाट प्रस्तुत आर्थिक बर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम

    आदरणीय नगरसभाका सदस्यज्यूहरु,         

    नमोबुद्ध नगरपालिकाको दोश्रो नगर सभाको पहिलो अधिवेशन अर्थात बजेट अधिवेशन मा आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न पाउँदा सर्वप्रथम म नगरकार्यपालिका तथा नगर सभाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु।
    १. सर्वप्रथम अघिल्लो कार्यकालमा निर्वाचित भई स्थानीय तह घोषणा भए पश्चात सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन, २०७४ मा निर्वाचित भएका जनप्रतिनिधिहरुले गरेका उल्लेखनीय, उदारणीय, असल अभ्यास र कार्यहरुलाई निरन्तरता दिदै विपद् तथा महामारीको चपेटामा परिरहेको चुनौतीपूर्ण र असहज अवस्थामा नेपालको राज्य पुनः संरचना पछि सम्पन्न भएको दोश्रो चरणको स्थानीय तहको निर्वाचन पश्चात नमोबुद्ध नगरपालिकाका तर्फबाट दोश्रो नगर सभाको पहिलो अधिवेशनमा पहिलो पटक आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम यहाँहरु समक्ष पेश गर्न पाउँदा म गौरवान्वित भएको छु।
    २. प्रथमतः म मुलुकको राजनीतिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात/अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। साथै विभिन्न लोकतान्त्रिक आन्दोलनका घाईते योद्धा, अपाङ्ग, बेपत्ता नागरिक र तिनका परिवारहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु।
    ३. नमोबुद्ध नगरपालिका लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, मानव अधिकारको संरक्षण, सुशासन, उत्तरदायी सरकार, भ्रष्टाचार नियन्त्रण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, विधिको शासन र जनताका आधारभूत हक अधिकार प्रति प्रतिवद्ध छ।
    ४. यस नमोबुद्ध नगरपालिकाले आपसी संवाद, सहमति र सहकार्य मार्फत लोकतान्त्रिक विधि, मूल्य र मान्यताका आधारमा नगरको समग्र शासन व्यवस्थाको संचालन, विकासको व्यवस्थापन एवं सार्वजनिक सेवा प्रवाहमा सुधारात्मक कार्यप्रणालीको अनुसरण गरेको छ। गणतान्त्रिक संघीयतासँगै बढेका जनताका आकांक्षा, चाहना र भावनालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ यस विषम परिस्थितिको बीचमा पनि नेपालको वर्तमान संविधानले अवलम्वन गरेको संघीय शासन प्रणाली कार्यान्वयनका क्रममा स्थानीय तहको समग्र विकास तथा सम्वृद्धिको परिकल्पनालाई साकार पार्न आम नगरबासीको भावनाको प्रतिनिधित्व गर्दै सम्वृद नमोबुद्ध नगर निर्माण भन्ने आत्मा विश्वासका साथ विगतका सफल नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिदै नमोबुद्ध नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा हामी सवै गौरवान्वित र भाग्यमानी भएको मैले महसुस गरिरहेको छु र ठूलो र महत्वपूर्ण जिम्मेवारी काँधमा रहेको अनुभूति र बोध भैरहेको छ।
    ५. नेपालको संविधान जारी भएपश्चात संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो स्थानीय तहको निर्वाचन, २०७४ सम्पन्न भई संघीयताको राजनीतिक कृयान्वयन प्रारम्भ भयो र जनताको निकटस्थ सरकारको गठन भयो। स्थानीय सरकारको पहिलो ५ वर्षे कार्यकाल पुरा भैसक्दा लोकतन्त्रको सबैभन्दा बढी अभ्यास हुने स्थानीय तह मार्फत जनताले आफ्नो घरदैलोमा राज्य र सरकारको उपस्थिति राम्रोसँग अनुभव गर्न पायो वा पाएन त्यो तपशिलका विषयवस्तु भित्रै राखौं तर श्रोत साधन र जानआकांक्षा बीचको फराकिलो र गहिरो खाडल, थिति विधि बसाल्नुपर्ने, संरचना निर्माण गर्नुपर्ने, नेपालको लागि विल्कुलै नयाँ अभ्यासमा अनुभवको कमि, महामारीको आक्रान्तता आदि समस्या र चुनौतीहतु विद्यमान थिए र रहनेछ। अब यी र यस्तै समस्या र चुनौतीहरुको सामना गर्दै, उपलब्ध श्रोत र साधनको सर्वोतम प्रयोग गर्दै जनआकांक्षा पुरा गर्ने तर्फ अगाडी बढ्नुको विकल्प छैन।
    ६. आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको लागि आफ्नो अमुल्य सल्लाह सुझाव प्रदान गर्नुहुने सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिज्यूहरु विद्वत वर्ग, कर्मचारीहरु, प्राध्यापकहरु, शिक्षकहरु, नागरिक समाज, संचार जगत, विभिन्न संघसंस्था, निजी प्रतिष्ठान र आम नागरिकहरुलाई अन्तरस्करणदेखि नै धन्यवाद व्यक्त गर्दछु र कार्यान्वयनका लागि निरन्तर सहयोग, सहकार्य र समन्वयको पनि अपेक्षा गर्दछु।
    यिनै र यस्तै विषयवस्तुको पृष्ठभूमिमा नमोबुद्ध नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नगर विकास नीति तथा कार्यक्रम तयार गरीएको छ।
    “कृषि, व्यापार र पर्यटनः हाम्रो सशक्त अभियान” भन्ने मूल नारालाई आत्मसात् गर्दै संविधानको मर्म र भावना अनुरुप सबै प्रकारका विभेदहरु अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चितताका लागि समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्न टोल र वडास्तरबाट अभ्यास गर्ने गरी एक विकसित, सुशासनयुक्त र भ्रष्टाचार मुक्त स्थानीय सरकार, उत्तरदायी सरकार, विकासशील सरकार, जनमुखी सरकार, बलियो सरकार सबैको उन्नतिको आधार भन्ने मान्यतालाई साकार पार्न आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नगर विकास नीति तथा कार्यक्रम संविधान प्रदत्त हक अधिकार सहित गठित यस नगरपालिकाको प्रमुखको हैसियतले यस गरीमामय सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु।
    यस गरीमामय सभाका आदरणीय नगरसभाका सदस्यज्यूहरु,
    नगरपालिकाको समग्र विकास जनताको उन्नति र सार्वजनिक सेवा प्रवाहलाई जनमुखी र नतिजामुखी बनाउने कुरा लाई केन्द्र विन्दुमा राखी नेपालले नेपालले सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा ग्र्याजुएट हुने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्ने प्रतिवद्दतासँग एकाकार हुँदै ठोस योजना र कार्यक्रम कार्यान्वयनमा ल्याईनेछ । हरेक योजना र कार्यक्रमलाई उत्पादन र उत्पादकत्व वृद्धि, आय वृद्धिसँग रोजगार प्रवद्धनसँग जोड्दै नगरबासीको लागि वितरणमुखी भन्दा उत्पादनमुखीमा आधारित कार्यक्रम संचालन गर्ने गरी आर्थिक वर्ष २०७९/०८० को वार्षिक विकास नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु।

    यस गरिमामय नगरसभामा उपस्थित आदरणीय नगर सभा सदस्यज्यूहरु, अब म विषय क्षेत्रगत नीतिहरु प्रस्तुत गर्दछु।
    (क) आर्थिक विकास समिति
    १.कृषि तथा पशुपंक्षी विकास नीतिः
    कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गरिनेछ। राष्ट्रिय एवं प्रादेशिक कृषि नीति बमोजिम कृषि अनुसन्धान, यान्त्रीकरण, व्यवसायीकरण र जलवायु अनूकुलन प्रविधिको प्रवर्द्धन गरिनेछ।
    अर्गानीक खेती प्रवर्धन गर्न प्राङ्गारीक तथा जैविक मल उत्पादनमा विशेष जोड दिईनेछ ।
    जलवायु परिवर्तनको सन्दर्भमा कृषिलाई अनुकुलनका लागि कम क्षेत्रफलमा बढी उत्पादन गर्न किसानहरुलाई विभिन्न किसिमका तरकारी वा बाली उत्पादनका लागि कृषि विशेषज्ञहरुबाट तालिमको व्यवस्था मिलाईनेछ ।
    कृषि सम्बन्धी विस्तृत गुरु योजना, कृषि ऐन, नीति तथा कार्यविधि तयार गरी कार्यक्रमहरु संचालन गरिनेछ।
    खाद्यवस्तु, फलफूल, तरकारी तथा पशुजन्य उत्पादनको लागत घटाउन कृषक सहयोग कार्यक्रम लागू गरिनेछ ।
    कृषि उत्पादन र उत्पादकत्व बढाउन माटो उपचारको लागि “ माटो मिनि ल्याव” तथा गुणस्तरीय “भेटेरिनरी ल्याव ” स्थापना र सञ्चालन गरिनेछ । साथै, घुम्ती बाली उपचार शिविर, माटो परीक्षण शिविर जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ।
    संघीय सरकारको सहयोगमा सम्भाव्यता अध्ययन गरी “विशेष क्षेत्र विशेष बाली” कार्यक्रम सञ्चालन गरिनेछ । एक वडा एक नमुना कृषि तथा पशु फर्म कार्यक्रम सञ्चालन गरिनेछ।
    रासायनिक मलको आपूर्तिलाई सुनिश्चित गर्न कृषि सहकारीसँगको समन्वयमा “ मल बैंक” को स्थापना गरिनेछ । मलको कोटा वृद्धि गर्न आवश्यक पहल र समन्वय गरिनेछ।
    कृषि तथा पशुधन बीमा कार्यक्रमलाई विस्तार गरिनेछ।
    ज्ञानमा आधारित कृषिलाई अगाडी बढाउन कृषक क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ । एक वडा एक भेटेरीनरी प्राविधिकको व्यवस्था गरी पशु स्वास्थ कार्यक्रमलाई जनताको घरदैलोमा पुर्याईनेछ ।
    पशुहरुमा लाग्ने महामारी विरुद्धको खोप अभियानकै रुपमा सञ्चालन गरी पशुधन क्षतिलाई न्यूनीकरण गरिनेछ।
    ताजा कृषि उपजको भण्डारण गरी उपयुक्त मौसममा निकासी र विक्री गर्न दाप्चा क्षेत्र र कानपुर मेथिनकोट क्षेत्रमा सामुहिक रुपमा शित भण्डार (कोल्ड स्टोर) स्थापनाको लागि लगानीलाई प्रोत्साहित गरिनेछ।
    वहुवर्षे नगदेबाली जस्तै चिया, कफि, ड्रयागन फल, कागती, सुन्तला जस्ता वहुवर्षे नगदेबाली उत्पादनलाई प्रोत्साहित गर्न विषेश कार्यक्रम सञ्चालन गरिनेछ।
    “हराभरा करेसाबारी, रोग बिराम डाँडापारी” को भावनालाई चरितार्थ तुल्याउन नगर भित्रका हरेक परिवारलाई विषादी रहित करेसाबारी व्यवस्थित गर्न अभिप्रेरित गरिनेछ।
    भकुण्डे बजारमा रहेको कृषि उपज संकलन केन्द्रलाई कृषि उपज संकलन सरलीकरण र संकलित वस्तुको प्रतिस्पर्धी मूल्यमा बिक्री गर्नेगरी थप सुदृढीकारण गरिनेछ।
    व्यवसायिक कृषि कर्ममा निजी क्षेत्र र युवाहरुलाई आकर्षण गर्न पुरस्कार, सम्मान एवं विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
    अर्गानिक नगरपालिका उन्मुख कार्यक्रमहरु सञ्चालन गर्न संघ, प्रदेश र गैर सरकारी संघ संस्थाहरुसँग समन्वय गरिनेछ। ।
    भू उपयोग नीति र कानून बमोजिम भू उपयोग योजना निर्माण गरीनेछ ।
    खेतियोग्य जमिनको खण्डीकारण रोकी खेतियोग्य जमिनको संरक्षण एवं वैज्ञानिक सदुपयोग गरिनेछ।
    कृषि तथा पशुधन उत्पादनलाई थप प्रोत्साहित गर्न र मूल्य स्थीरीकरण गर्न कषि उद्योग स्थापनार्थ निजी तथा सामुहिक क्षेत्रलाई आकर्षित गरिनेछ ।
    कृषि वनको विकास र विस्तार गर्न बागमती प्रदेश सरकारको “एक स्थानीय तह एक नर्सरी” कार्यक्रमलाई थप विस्तार गरी “एक टोल, एक नर्सरी” कार्यक्रम संचालन गरिनेछ।
    रोशी खोला र दाप्चा खोलाको जलधार क्षेत्रलाई उपयुक्त प्रविधि प्रयोग गरी कृषियोग्य भूमिमा वर्षैभरी सिंचाइ सुविधा उपलब्ध गराउने नीति अनुरुप थप जमिनमा संचाइ सुविधा विस्तार गरिनेछ।
    दुधजन्य तथा मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउन व्यवसायिक पशुपालनलाई जोड दिईनेछ ।
    व्यवस्थित पशु बधशाला संचालनको लागि आवश्यक मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याईनेछ ।
    पशुजन्य रोगको रोकथाम तथा उपचारमा विशेष जोड दिईनेछ ।
    पशु सेवा व्यवस्थापनको लागि नीति तथा योजना बनाई कार्यान्वयन गरिनेछ ।

    २. औद्योगिक विकास र व्यावसयिक प्रवर्द्धन सम्बन्धी नीतिः
    “उद्योग र उद्यमशीलता, नमोबुद्ध नगरको गतिशीलता” भन्ने नारालाई व्यवहारमा उतार्न उद्योग स्थापना र सञ्चालनको लागि उद्योगमैत्री वातावरण सृजना गरिनेछ ।
    भकुण्डेवेशी उपत्यका प्रशासनीक हिसाबले नमोबुद्ध नगरको केन्द्र भए पनि भौगोलिक हिसाबले तेमाल, रोशी, महाभारत लगायतका भेगको पनि केन्द्र भएकोले भकुण्डेलाई यस क्षेत्रको व्यापारीक एवम् औघोगिक शहरको रुपमा विकास गरिनेछ।
    उत्पादनलाई उद्योगसँग जोड्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लगानीकर्ताहरुसँग समन्वय गर्दै मिसन कार्यक्रमलाई संचालन दिदै वृहत पकेट, ब्लक क्षेत्र तथा औद्योगिक ग्राम विकास गर्दै लगिनेछ।
    स्थिर पुँजी पाँच लाख सम्म भएका लघु उद्यमहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण रुपमा छुट गर्ने साथै महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गराएमा त्यस्तो उद्योग वा फर्म नगरपालिकामा दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण छुट दिइनेछ।
    नगरपालिका भित्र सञ्चालित घरेलु, लघु तथा साना उद्योगहरुलाई आफ्नो उत्पादन बढाई रोजगारी प्रवर्द्धन गर्न स्थानीय बैंकहरुसँगको समन्वयमा थप पूँजी व्यवस्थापनार्थ पहल गरिनेछ।
    परम्परागत र घरेलु प्रकारका उद्योगहरुको प्रवर्द्धन गर्न आवश्यक कार्यक्रम र योजना लागू गरिनेछ। ।
    उद्योग र व्यवसाय स्थापना र सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ।
    संघीय र प्रदेश सरकारको समन्वय र सहकार्यमा विशेष आर्थिक क्षेत्रको पहिचान र सम्भाव्यता अध्ययन गरिनेछ। स्थानीय कृषि तथा अन्य कच्चा सामाग्रीको प्रयोग गरी संचालन हुनसक्ने उद्योग तथा व्यवसायहरुको पहिचान गरी त्यस्ता उद्योग सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ।
    ज्ञान, सीप भएका विपन्न र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई बिउ पूँजीको व्यवस्था गरी साना उद्योग स्थापना र संचालन गर्न आवश्यक बिउ पूँजीको व्यवस्था गरिनेछ।
    रोजगार, स्वरोजगार र व्यससायिकता प्रवर्द्धन गर्न उद्यम विकास कार्यक्रम मार्फत सीप विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ।
    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहयोग र सहकार्यमा विभिन्न सीपमूलक तालिम कार्यक्रमहरु संचालन गरिनेछ।
    लघु उद्यम
    आर्थिक तथा सामाजिक रुपमा पिछडिएका समुदायका विपन्न वर्ग खास गरि दलित, जनजाति, महिला, अपाङ्ग, सुकुम्वासी आदिको आर्थिक उत्थानको लागि विभिन्न तालिमको व्यवस्था गरि ती समुदायलाई आर्थिक उपार्जनको लागि सहजिकरण गरिनेछ।
    लघु उद्यमीहरुलाई साना व्यवसाय स्थापना गर्न व्यावसायिक परामर्शको लागि आवश्यक सहजिकरण गरिनुका साथै सर्वसुलभ तरिकाबाट लघु कर्जा उपलब्ध गराउन पहल गरिनेछ ।
    साना व्यवसाय संञ्चालन गर्नका लागि व्यवसायिक योजना तयार गरि व्यवसाय स्थापना तथा दर्ता गर्न सहजिकरण गरिनेछ ।
    स्थानीय उत्पादनहरुको संकलन गरि बजारको मुख्य भाग वा मार्गहरुमा बिक्री केन्द्र नमोबुद्ध उपहार घर मार्फत बिक्री वितरणको व्यवस्था गरिनेछ ।
    स्थानीय स्तरमा उत्पादित वस्तुको खरिद, कच्चापदार्थ खरिद र मौज्दात राख्नको लागि एउटा उद्यम कोष खडा गरिनेछ ।
    उद्यमीहरुलाई प्रोत्साहन गर्न विभिन्न मेला, औद्योगिक प्रदर्शनीहरुको आयोजना गरिनेछ ।
    लघुउद्यमीद्वारा उत्पादित वस्तुको प्रभावकारी बिक्री वितरणको लागि तथा बजारीकरणको लागी बिक्रि अभियान संञ्चालन गरिनेछ । साथै लघुउद्यमीद्वारा उत्पादित वस्तुहरुको उपभोग गर्न नगर भित्रका कर्मचारीहरु, जनप्रतिनिधि ज्यूहरुलाई अभिप्रेरित गरिनेछ ।

    ३. पर्यटन विकास तथा प्रवर्द्धन सम्बन्धी नीतिः
    पर्यटन पूर्वाधार निर्माणको लागि संघ, प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको संयुक्त वा दुई पक्षीय लगानीको प्रवन्ध गरी आयोजना सञ्चालन गरिनेछ । यस्तो प्रकारको पूर्वाधार निर्माणको लागि सार्वजनिक (निजी साझेदरी नीति समेत अवलम्वन गरिनेछ। पर्यटकीय क्षेत्रमा होटल, रेष्टुरेन्ट, होमस्टे आदि सञ्चालन गर्न निजी तथा समुहिक क्षेत्रलाई प्रोत्साहन गरिनेछ।
    जिपलाईन, बन्जी जम्प, ट्रेकिङ जस्ता साहासिक पर्यटनको सम्भाव्यता अध्ययन गरी कार्यक्रम संचालन गर्न निजी क्षेत्रलाई आकर्षित गरिनेछ। • होमस्टे सञ्चालन गर्न चाहने पर्यटन व्यवसायीहरुका लागि विशेष प्याकेज कार्यक्रमहरु संचालन गरिनेछ। दाप्चा पुरानो बजार, फूलबारी, भेडाबारी , कानपुर, कोटतेमाल र काँक्र बजारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक समन्वय र पहल गरिनेछ।
    नमोबुद्ध परिसर वृहत्तर गुरुयोजना बमोजिम नमोबुद्ध परिसरको संरचना निर्माण गर्न नेपाल सरकार, पर्यटन मन्त्रालयसँग बजेट माग गरी कार्यक्रम सञ्चालन गरिनेछ।
    परम्परागत संस्कृति र सम्पदामा आधारित पर्यटन प्रवर्धन गर्न स्थानीय वास्तुकला झल्कने संरचना, सील्पकला, भेषभुषा, लोक गीत, लोक नृत्य, पर्व आदिको संरक्षण गरिनेछ।
    आगामी वर्ष नमोबुद्ध भ्रमण वर्षको रुपमा मनाउन आवश्यक तयारी गरिनेछ। पर्यटनलाई नगर विकासको मुख्य मेरुदण्डको रुपमा विकास गर्ने र हाल भएका मठमन्दिर, गुम्वा, चर्च आदि प्राकृतिक मनोरम दृष्यावलोकन स्थलको पहिचान एवं प्रचार-प्रसार गरिनेछ ।
    प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने र ट्रेकिङ रुटको व्यवस्था एवं विकास गरि पर्यटन व्यवसायलाई ध्यानमा राखेर खोलिने होम स्टे, होटल, लज यातायातका साधनलाई करमा छुट दिर्दै नमोबुद्ध लगायतका धार्मिक स्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिनेछ ।
    नमोबुद्ध दाप्चा-कोटकाली-भिमसेनस्थान-धुंवाकोट-देवीस्थान-रक्तकाली-कोट तिमालरजबम पोखरी-जगबैजेश्वार लगायत नगर भित्र रहेका सम्पूर्ण मन्दिरहरुलाई समावेश गरि धार्मिक पर्यटन परिपथ निर्माण गरिनेछ ।

    ४. रोजगार सम्बन्धी नीतिः
    नगरपालिकले सञ्चालन गर्ने विकास निर्माण एवं अन्य कार्यक्रमहरुलाई रोजगारी सिर्जनासँग आवद्ध गरिनेछ।
    स्थानीय एवं वाह्य श्रम बजारको बदलिँदो मागलाई सम्बोधन गर्नका लागि अर्ध दक्ष र दक्ष श्रमशक्ती विकास गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् र गैर सरकारी संघ संस्थाको समन्वयमा विभिन्न मोडेलका सिपमुलक तथाजीवन उपयोगी तालिम कार्यक्रमहरु सञ्चलन गरिनेछ।
    कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारका लागि रुपान्तरण पहल आयोजना सञ्चालन गरी रोजगारी प्रवर्धन गरिनेछ।
    वेरोजगार व्यक्तिहरुको पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचिकृत गरी प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत न्यूनतम रोजगारी उपलब्ध गराईनेछ।
    आर्थिक रुपले अति विपन्न वेरोजगार व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराउन श्रममूलक प्रविधिको प्रयोग गरी कार्यान्वयन हुने आयोजना छनोट गरिनेछ।
    स्वरोजगार हुन चाहने युवा तथा शैक्षिक वेरोजगार, महिला, दलित, अल्पसंख्यक, अपाङ्ग र विपन्न समुदायका व्यक्तिलाई सहलियतपूर्ण कर्जा प्रवाह गर्न स्थानीय वित्तीय संस्थाहरुको समन्वयमा विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
    वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लगत राखी वैदेशिक रोजगारीबाट आर्जन गरिएको ज्ञान, सीप र पूँजीको प्रयोग गरी स्थानीय स्तरमै थप रोजगारी सिर्जना गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ। नगरपालिकामा रहेका सिपयुक्त जनशक्तिहरुको पहिचान र सूचिकृत गरि श्रम डेस्क मार्फत् परिचालन गर्ने व्यवस्था गरिनेछ ।

    (ख) सामाजिक विकास
    १. खानेपानी तथा सरसफाई नीतिः
    सबै नागरिकलाई आधारभूत सरसफाई र सफा खानेपानी सुविधा उपलब्ध गराउने कार्यक्रम बनाई लागू गरिनेछ ।
    हाल नगर भित्र रहेका सम्पूर्ण प्राकृतिक मुहानहरुको संरक्षण एवं प्रर्वद्धनका निम्ती तत्काल बजेट विनियोजन गर्ने र वर्षातको पानी संकलन प्रविधि विकास गर्दै नगर भित्र खानेपानी व्यवस्थापनका निम्ती ठूला खानेपानी आयोजनाहरु संचालन गरिनेछ।
    प्राकृतिक खानेपानीका मुहान संरक्षण र सदुपयोग गर्न टोल विकास समिति मार्फत संरक्षण अभियान संचालन गरिनेछ ।
    जमिन भित्रको पानी उपयुक्त संचिती कायम गर्न रिचार्ज पोखरीहरु निर्माण गर्ने र वृक्षारोपण कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
    एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै निर्माणाधिन खानेपानी आयोजनाहरुमा बजेट सुनिश्चित गरिनेछ।
    आकासे खानेपानी संकलन गरी भण्डारन गर्ने र पिउन ग्य बनाउने प्रविधि जडान सहितको संरचना निर्माण गर्न सम्बन्धित संघ संस्थाहरुसँग समन्वय गरी कार्यक्रम संचालन गरिनेछ।
    दिगो खानेपानी तथा सरसफाइको लागि थप खानेपानीको स्रोतहरुको पहिचान गरी सम्भाव्यता अध्ययन गरिनेछ।
    ठूला खानेपानी आयोजनाहरु निर्माण र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्थाको लागि संघ तथा प्रदेश सरकारहरु समक्ष बजेट प्रस्ताव पेश गरिनेछ ।
    नगरपालिका भित्र रहेका सुख्खा क्षेत्रहरुको पहिचान गरि अनुकलनका लागि आवश्यक प्रवन्ध मिलाइनेछ ।

    २. शिक्षा, युवा तथा खेलकुद नीतिः शिक्षा:
    विद्यालय उमेरका सबै बालबालिकालाई समय सापेक्ष गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गरिनेछ।
    विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय शिक्षाको मुल प्रवाहमा ल्याउन आवश्यक पलह गरिनेछ । भर्ना अभियानलाई प्रभावकारी बनाईनेछ । विद्यार्थी झिकाउ, टिकाउ र सिकाउको लागि कार्यक्रम बनाई लागू गरिनेछ।
    कक्षा १ देखि ५ सम्म क्रमशः अंग्रेजी माध्यममा पठन पाठन गरिनेछ ।
    प्रविधियुक्त सिकाई प्रवर्धन गर्न संघ, प्रदेश सरकार र शिक्षासँग सम्बन्धित संघ संस्थाहरुको सहयोग समन्वय र सहकार्यमा आवश्यक कार्यक्रम लागु गरिनेछ ।
    विद्यार्थी पोषण कार्यक्रम संचालन संघीय सरकारबाट प्राप्त अनुदानमा नगरपालिकाबाट शतप्रतिशत थपगरी दिवा खाजा कार्यक्रमलाई प्रभावकारी र पोषणयुक्त तवरले पर्याप्त बनाईनेछ ।
    स्थानीय महत्व र आवश्यकताका विषयहरु समावेश गरी स्थानीय पाठ्यक्रम निर्माण गरि लागू गर्न आवश्यक वित्तिय स्रोतको व्यवस्था गरिनेछ ।
    विद्यालयमा प्राविधिकधारका विषयहरु पठन पाठन गर्न सम्भाव्यता अध्ययन गरी सरोकारवालाहरुसँगको सल्लाह सुझाव बमोजिम सम्बन्धित निकायमा पहल गरिनेछ ।
    शिक्षकहरुको पेशागत ज्ञान, सीप, क्षमता अभिवृद्धी गर्न माग र आवश्यकताको आधारमा तालिम, गोष्ठी, सेमिनार, कार्यशाला, प्रवोधिकारण जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ। बालबालिकाको संख्याको आधारमा बालविकास केन्द्रलाई नमुना बालविकास केन्द्रको रुपमा स्थापित गर्दै लगिनेछ।
    नगरपालिकाले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले शिक्षकहरुसँग कार्य सम्पादन सम्झौता गर्ने र सोको प्रभावकारी कार्यान्वयन र अनुगमन, निरीक्षण, परिक्षण र मूल्याङकन गरिनेछ। शिक्षकहरुको कार्य सम्पादन मूल्याङ्कनमा कार्य सम्पादन सम्झौतालाई आधार मानिने व्यवस्था गरिनेछ । दलित, सिमान्तकृत, अपाङ्ग, आर्थिक रुपले विपन्न, अविभावकविहिन, असहाय परिवारका बालविकालाई विशेष छात्रवृत्तिको व्यवस्था गरी शिक्षाप्राप्तीको पहुँच सुनिश्चित गरिनेछ ।
    शिक्षक विद्यार्थी अनुपातको आधारमा वैज्ञानिक मापदण्ड बनाई दरबन्दी मिलान कार्य अगाडी बढाईनेछ ।
    उच्च शिक्षा कार्यक्रम सञ्चालन गर्ने शैक्षिक प्रतिष्ठानहरुलाई अनुदानको व्यवस्था गरिनेछ।
    विद्यालय अनुगमनलाई तालिकाबद्ध र प्रभावकारी बनाईनेछ। अनुगमनबाट देखिएका कैफियतहरुको सुधार भए नभएको जाँच गरि सुधारको लागि आवश्यक पहल गरिनेछ ।
    विद्यालय सुरक्षा सम्बन्धी मापदण्ड बनाई सबै विद्यालयहरुमा लागू गरिनेछ ।
    वैकल्पिक शिक्षाको आवश्यकता पहिचान गरी कार्यक्रमहरु लागू गरिनेछ ।
    काठमाण्डौ विश्वविद्यालयबाट प्राविधिक धारका विषयस्तुहरु पठनपाठन गर्ने गरि शैक्षिक संस्था सञ्चालन गर्न आवश्यक समन्वय गरिनेछ।
    नगरस्तरीय शैक्षिक छात्रवृत्ति कोष स्थापना गरी एक वडा, एक कृषि प्राविधिक उत्पादन गर्न नगर भित्रका शैक्षिक संस्थालाई अनुदान दिईनेछ ।
    नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा आवश्यक भौतिक पूर्वाधार सहित पर्याप्त दरबन्दीको व्यवस्था गर्दै शिक्षक सिकाई केन्द्रको स्थापना र त्रैमासिक भेला गरि शैक्षिक गुणस्तर वृद्धीको लागि पहल गरिनेछ। नगर भित्र कम्तीमा एउटा “ अगुवा विद्यालय” स्थापना गर्दै वार्षिक “सिकाई मेला” को आयोजना गर्ने र आमन्त्रित विज्ञ अतिथि शिक्षकको सुरुवात गरिनेछ।
    निजी विद्यालयको अभ्यास र अनुभव सार्वजानिक विद्यालयको सुधारमा उपयोग गरिनेछ।
    विपन्न परिवारबाट उच्च शिक्षा हाँसिल गर्नको निमित्त आर्थिक सहायत उपलब्ध गरिनेछ।
    नगर भित्रका बाल विकास केन्द्र सञ्चालन भईरहेका विद्यालयहरु मध्ये शुरु बर्षमा १० वटा विद्यालयहरुलाई छनौट गरी प्रारम्भिक साक्षरता तथा गणित कार्यक्रम (ई.एल.एम.) लागु गरिनुका साथै क्रमशः सबै बाल विकास केन्द्र भएका विद्यालयहरुमा उक्त कार्यक्रम सञ्चालन गरिनेछ ।
    शिक्षा नीति तथा ५ वर्षिय शैक्षिक गुरु योजना निर्माण गरि नगरको शैक्षिक अवस्था थप गुणस्तरीय र प्रभावकारी बनाउनेछ ।
    प्रविधिमैत्री एवं शैक्षिक गुणस्तरमा थप टेवा पुयाउने उदेश्यले एक शिक्षक एक ल्यापटप उपलब्ध गराइनेछ । स्काउट शिक्षा तथा कार्यक्रमहरु नीजि तथा सामुदायिक विद्यालयहरुमा संचालन गरिनेछ ।
    संघ,प्रदेश र पालिकाको साझेदारीमा बाल विकास केन्द्रका बाल शिक्षक तथा कर्मचारीहरुको मासिक पारिश्रमिक र भत्तामा निरन्तरता दिइनेछ ।
    विद्यालय शिक्षामा विविधता व्यवस्थापन गर्न एवं विपन्न बालबालिकाको शिक्षामा समन्याय प्रवर्द्धन गर्न अनाथ, टुहुरा, अतिसीमान्तकृत, लोपोन्मुख, अतिविपन्न र दलित बालबालिकालाई विशेष छात्रवृत्तिको व्यवस्था गरिनेछ । विद्यालय शिक्षाको गुणस्तर मापन तथा बृद्धि गर्न आधारभूत र माध्यमिक तह स्तरीय विविध अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
    शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थी सिकाइ अभिवृद्धिसँग आवद्ध गरि आधारभूत र माध्यमिक तहको सिकाइ उपलब्धीका आधारमा उत्कृष्ठ विद्यार्थी तथा शिक्षक छनोट तथा सम्मान कार्यक्रम गरिनेछ ।
    शैक्षिक गुणस्तर अभिवृद्धिका लागि तालिम प्राप्त व्यक्तिको प्रवेश तथा लामो समयसम्म शिक्षण पेशामा आवद्ध भई २ बर्ष भन्दा बढी समय कार्यकाल बाँकी रही निवृत्तिभरण प्राप्त गर्न योग्य भएका विद्यालयमा कार्यरत शिक्षकहरुलाई ससम्मान विदाइ गर्न स्वैच्छिक अवकास कार्यक्रम संचालन गरिनेछ ।
    नगरपालिकाबाट सम्पादन भएका विद्यालय शिक्षाको गतिविधिहरुलाई सम्बद्ध सरोकारवालाहरुलाई जानकारी गराउन अर्धबार्षिक बुलेटिन प्रकाशनको व्यवस्था मिलाइनेछ ।
    विभिन्न विश्वविद्यालयहरुलाई नगर भित्र स्थापना र सञ्चालन गर्नको लागि सहजीकरण गरिनेछ ।
    नगर भित्रका विद्याथीहरुलाई पठन पाठनका लागि आरक्षणको व्यवस्था गर्न विभिन्न विश्वविद्यालयहरुमा पहल गरिनेछ ।
    युवाः
    नगरभित्रका युवाहरुलाई युवा क्लवमार्फत सामाजिक सचेतना अभिवृद्धि गर्न, खेलकुद कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।
    युवाहरुलाई नेपाल स्काउटका कार्यक्रमहरु सञ्चालन गरी अनुशासन र परोपकार जस्ता मानवीय र सभ्य नागरिक निर्माणको लागि प्रोत्साहित गरिनेछ ।
    युवा परिषद्लाई समय सापेक्ष व्यवस्थित गरी युवा सशक्तिकरण र उद्यमशिलता प्रवर्धनको लागि परिचालन गरिनेछ ।
    युवा नेतृत्व विकास, सीप विकास, अन्तरनिहित प्रतिभा विकास, व्यावसायिकता विकास तथा सर्वाङ्गिण विकासको लागि राष्ट्रिय युवा परिषद् र गैर सरकारी संघ संस्थाको सहयोग र समन्वयमा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
    रोजगार र स्वरोजगार हुन चाहने युवाहरुको लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् र बहु प्राविधिक शिक्षालयबाट प्रदान गरिने सीपमूलक तालिम कार्यक्रमका प्याकेजहरु सञ्चालन गरिनेछ ।
    युवाहरुलाई आत्मनिर्भर हुने सिप विकासको तालिमहरु सञ्चालन गरिनेछ ।
    खेलकुदः
    विद्यालयहरुको अतिरिक्त कृयाकलापहरुमा खेलकुदलाई निरन्तर समावेश गरिनेछ।
    राष्ट्रपति सनिङ सिल्ड प्रतियोगिता प्रभावकारी सञ्चालनार्थ बजेटको व्यस्था गरिनेछ ।
    नगर खेलकुद विकास समितिलाई गठन गरी प्रभावकारी बनाई खेलकुद कार्यक्रम एवं प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
    यस नगरपालिकाको वडा नं ४ मा निर्माण सम्पन्न भएको बहुद्देश्यीय कवर्डहल आवश्यक व्यवस्थापन सहित सञ्चालनमा ल्याइनेछ ।
    एक वडा एक खेलकुद मैदानको नीतिलाई निरन्तरता दिईनेछ । • विभिन्न खेलहरुलाई समावेश गरी विद्यालय स्तरीय मेयर कप आयोजना गरिनेछ ।

    ३.स्वास्थ नीतिः
    गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न आवश्यक सबै कार्यक्रमहरु सञ्चालन गरिनेछ।
    सबै स्वास्थ्य संस्थाहरुमा समयमै औषधी एवं स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने प्रबन्ध गरिनेछ।
    स्वस्थ जीवनसँग सम्बन्धित विभिन्न जनजेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ।
    नगर भित्र रहेको स्वास्थ्य चौकिहरुलाई व्यवस्थापकीय तथा भौतिक सुधार गरी स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय एवं थप व्यवस्थित गरिनेछ।
    नमोबुद्ध नगरपालकिाको वडा नं. ९ स्थित दाप्चा नगर अस्पतालको व्यवस्थापकीय तथा भौतिक सुधार गरी १५ शैयामा बढोत्तरी गरिनेछ ।
    प्रादेशिक अस्पतालको रुपमा रहेको मेथिनकोट अस्पताललाई नमोबुद्ध अस्पतालको रुपमा नामाकरण गरि शैया बढोत्तरी गर्न आवश्यक पहल गरिनेछ ।
    मोतिविन्दु भएका व्यक्तिहरुलाई उपचार तथा सामाग्री वितरणको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ। विरामीहरुको स्वास्थ्य उपचारको लागि अस्पताल सम्मको पहुँच सुनिश्चित गर्न थप एम्बुलेन्स व्यवस्था गरिनेछ।
    आकस्मिक विरामी, सुत्केरी, वेसहारा विरामीहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा नीतिलाई निरन्तरता दिईनेछ।
    सुत्केरी पोषण तथा गर्भवती पोषण कार्यक्रम मार्फत मातृ-शिशु स्वास्थ्य प्रवर्धन गरिनेछ ।
    आवश्यक भएका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य प्रविधिकहरुको व्यवस्थापन गर्न आवश्यक रकमको व्यवस्था गरिनेछ ।
    एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
    खोप सेवा, सुरक्षित मातृत्व सेवा, प्रजनन स्वास्थ्य, पोषण सेवहरुलाई प्रभावकारी रुपवा व्यवस्थापन र सञ्चालन गरिनेछ ।
    महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहित गर्न विषेश प्रोत्साहन प्याकेजको व्यवस्था गरिनेछ।
    आयुर्वेदिक र प्राकृतिक चिकित्सा प्रणालीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिनेछ ।
    नगरपालिका भित्र सञ्चालित निजी स्वास्थ्य संस्थाहरुको प्रभावकारी अनुगमन, निरिक्षण र नियमन गरिनेछ।
    जेष्ठ नागरिक वर्ग, पूर्णअशक्त वर्ग र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै सो वर्गलाई लक्षित गर्दै मासिक कार्यतालिका तयार गरी कम्तिमा महिनाको एक पटक दक्ष र विज्ञ जनशक्तिबाट घुम्ती स्वास्थ्य परिक्षण शिविर संचालनमा ल्याईनेछ।
    प्रचलित कानुन बमोजिम तोकिएका निम्न आयस्तर भएका र अति विपन्न वर्गहरुको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम क्रमश संचालन गरिँदै लगिनेछ।
    स्वास्थ्य सम्बन्धी नीति निर्माण, सेवा प्रवाह र जनचेतनाको लागि निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र साझेदारी गरिनेछ ।
    नेपाल सरकारले गम्भिर प्रकृतीको रोग भनी तोकिएका बिरामी नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचका लागि यातायात खर्च उपलब्ध गरिनेछ ।
    स्वासप्रस्वास (दम) को बिरामीलाई आवश्यक पर्ने अक्सिजन सिलीडर को सो सम्बन्धी विरामीलाई पायक पर्ने स्थान वा सम्बन्धित स्वास्थ्य चौकीमा उपलब्ध गराईनेछ ।

    ४. महिला विकास सम्बन्धी नीतिः
    महिला सचेतना तथा सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गरी सर्वाङ्गिण क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गरिनेछ ।
    सबै प्रकारका महिला हिंसा विरुद्ध शुन्य सहनशीलताको लागि महिला जागरण कार्यक्रमहरु सञ्चलन गरिनेछ ।
    गैर सरकारी संघ संस्थासँगको सहयोग र सहकार्यमा सामाजिक, आर्थिक रुपले विपन्न महिलाहरुको जीविकोपार्जनको लागि सीप विकास कार्यक्रमहरु संचालन गरिनेछ ।
    महिला हिंसा प्रभावितहरुकालागि सञ्चालनमा रहेको सेवा केन्द्रलाई थप व्यवस्थित गरी अवाश्यक बजेट विनियोजन गरिनेछ।
    पालिका भित्र विवाह गरि आएका बुहारीहरुका लागि पालिका भित्रैका सामुदायिक शैक्षिक संस्थामा अध्ययन गर्दा कक्षा १२ भन्दा माथीको अध्ययनमा पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
    सकारात्मक विभेदका औजारहरुको प्रयोग गरी एकल, दलित, आर्थिक रुपले विपन्न, वेरोजगार, असहाय महिलाहरुको उत्थान गरिनेछ।
    व्यवसाय सञ्चालन गर्न चाहने पूँजी अभावमा रहेका महिलाहरुलाई सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउन स्थानीय बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गरिनेछ ।
    महिलाहरुमात्र सदस्य रहेको सहकारी संस्थाहरुलाई थप प्रोत्साहन गर्दै त्यस्तै प्रकृतिको सहकारीहरु स्थापनाको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
    किशोरीहरुलाई विभिन्न खाले हिंसा विरुद्ध लड्न आत्मारक्षा तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
    महिलाहरुले उत्पादन गरेको हस्तकला तथा अन्य सामाग्री संकलन तथा विक्री वितरण गर्न नमोबुद्ध उपहार घरको स्थापना गरिनेछ ।
    महिलाहरुलाई नगरभित्र गठन हुने हरेक संघ संस्थामा ५०% सहभागिता अनिवार्य गर्ने र एकल महिला तथा दलित समुदायलाई हरेक कार्यमा करमा छुटको व्यवस्था गर्दै दलित महिला जनजातिलाई ध्यानमा राखेर खोलिने संघ संस्था, उद्योगलाई करमा २०% छुटको व्यवस्था मिलाइनेछ ।
    नगर भित्रका महिलाहरुका लागि लोकसेवा तयारी कक्षाहरु सञ्चालन गरिनेछ ।

    ५. बालबालिका सम्बन्धी नीतिः
    बालमैत्री स्थानीय शासन घोषणा गर्न पुरा गर्नुपर्ने सूचकहरु बमोजिमका कार्यक्रमहरु लागू गरिनेछ। बालश्रमको स्थीतिको मूल्याङकन गरी बाल श्रममुक्त नगरपालिका घोषणा गर्ने कार्यक्रम लागू गरिनेछ ।
    बालबालिकाको सरोकारमा काम गर्ने संघ संस्थाहरुको सहकार्यमा बालबालिकामा हुन सक्ने सबै प्रकारको हिंसा विरुद्दको अभियानहरु सञ्चालन गरिनेछ।
    शासन सञ्चालनको हरेक प्रकृयामा बालवालिकाको प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।
    आयोजना छनोट, तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्दा बाल सरोकारका विषयहरुलाई मध्यनजर गरिनेछ ।
    बाल क्लव, बाल सञ्जाल, बाल इजलास, बाल समुह गठन गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
    बालबालिकाको मनोरञ्जन र प्रकृति सँगको साक्षतकारको निम्ति प्रत्येक वडामा बाल उद्यानको निर्माण गरिनेछ ।
    विशेष आवश्यकता भएका बालबालिकाहरुको संरक्षण, बचाउ, बिकास र सहभागिताको लागि कार्यक्रम सञ्चालन गरिनेछ।
    बालबालिकासँग मेयर कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
    विकास निर्माणका हरेक संरचनालाई बालमैत्री तथा अपाङ्गमैत्री बनाईनेछ।
    बाल विवाह रोक्न विशेष सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
    बालबालिकाहरुको पठन पाठन संस्कृतिलाई प्रोत्साहन गर्न सामुहिक पुस्तकालयको स्थापना गरिनेछ ।

    ६.आदिवासी जनजाती, दलित, अपाङ्ग तथा जेष्ठ नागरिक सम्बन्धी नीतिः
    नेपाल सरकाबाट उपलब्ध गराइने सामाजिक सुरक्षा भत्ता पूर्ण असक्त लाभग्राहीको घर घरमा पुर्याउने व्यवस्थालाई निरन्तरता दिइनेछ।
    जेष्ठ नागरिक मञ्चको सहयोगमा अनुभवी जेष्ठ नागरिकको ज्ञान, सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नेगरी कार्यक्रम सञ्चालन गरिनेछ।
    जेष्ठ नागरिकको सुरक्षा र संरक्षणको लागि सामाजिक संघ संस्थाहरुको समन्वय र सहयोगमा कार्यक्रमहरु सञ्चालन गरिनेछ।
    जेष्ठ नागरिकहरुको पालन पोषणमा वेवास्था गर्ने, हेलागर्ने घटनाहरु निरुपण गर्न कानुनको दायरामा ल्याइनेछ ।
    आदिवासी जनजातीहरुको मौलिक संस्कृति, पहिचान, पद्दती, चाडपर्व, उत्सव, जात्रा, परम्परागत सीप र पेशा संरक्षण तथा संवर्द्धन गर्न विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
    सामाजिक, आर्थिक, राजनीतिक रुपले समाजको मूलधारमा आउन नसकेका आदिवासी जनजातीहरुको पहिचान गरी सशक्तिकरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
    जेष्ठ नागरिकहरुको सम्मानपूर्वक र मनोरञ्जनात्मक जीवनयापनको लागि जेष्ठ नागरिक मिलन केन्द्रको स्थापनाको लागि आवश्यक व्यवस्था गरिनेछ ।
    अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी परिचय पत्र वितरण गर्ने कार्यलाई निरन्तरता दिईनेछ । निर्माणका हरेक संरचनालाई अपाङ्गमैत्री बनाइनेछ ।
    अपाङ्गहरुको क्षेत्रमा कामगर्ने संघ संस्थाहरुसंको सहकार्यमा अपाङ्गहरुको सीप तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ।
    आधारभूत आवश्यक्ता पुरा गर्न नसक्ने पूर्ण रुपले अपाङ्ग व्यक्तिहरुको पहिचान गरी जीवनयापनको लागि आर्थिक सहायता उपलब्ध गराइनेछ ।
    आवश्यक्ता र सम्भावनाको अध्ययन गरी अशक्त स्याहार केन्द्र , अपाङ्ग सीप विकास केन्द्र, जेष्ठ नागरिक आवास केन्द्र स्थापनाको लागि संघ तथा प्रदेश सरकार समक्ष बजेट कार्यक्रम माग गरिनेछ।
    जेष्ठ नागरिकहरुको हेरचाह पालन पोषणमा असल अभ्यास गरिने बुहारीहरुलाई लक्षित गरि “नमोबुद्ध असल बुहारी” पुरस्कारबाट पुरस्कृत गरिनेछ ।

    (ग) पूर्वाधार विकास
    १. भौतिक तथा पूर्वाधार विकास नीतिः
    नगर भित्र रहेका सम्पूर्ण धार्मिक सम्पदाहरुलाई समावेश गरि पूर्वाधारहरुको नियमित मर्मतसम्भार, सञ्चालन, संरक्षण एवं सम्बर्द्धन गर्न निजी क्षेत्र तथा सामुदायिक, सहकारी क्षेत्र र उपभोक्ता समितिहरुलाई प्रोत्साहित गर्ने नीति लिइनेछ।
    पूर्वाधार प्रयोगकर्ताबाट उपयोग कर सङ्कलन गरिनेछ।
    अतिथि सत्कारका लागि नगर अतिथि गृह निर्माण गरिनेछ।
    वडा कार्यालयको भवन निर्माण गर्न वडा नं. १ को लागि आवश्यक बजेट विनियोजन गरिनेछ।
    प्रत्येक वडामा बालमैत्री पार्क, पिकनिक स्पट, चौतारो, पोखरी, खेलमैदान, पुस्तकालय, संग्रहालय, योगकेन्द्र आदि स्थापना गर्दै लगिनेछ।
    सवारी पार्किङ्गलाई व्यवस्थित गर्न सडकका दायाँबायाँ अव्यवस्थित रुपमा सवारी साधन पार्किङ्ग कार्यलाई निरुत्साहित गर्दै व्यवस्थित पार्किङ्ग क्षेत्रहरु निर्माण गरिने छ।
    २६ किलो चरंगेफेदी पक्की पुल निर्माणको कार्यलाई निरन्तरता दिइनेछ।
    दाप्चा पुनरूत्थान कार्यक्रमलाई निरन्तरता दिइनेछ।
    भित्री रिङरोडको रुपमा नगरपालिका भित्रका साविक गा.वि.स.हरुका महत्वपूर्ण मठ, मन्दिर, गुम्बा, चर्च आदि प्राकृतिक सुन्दरतालाई समेट्ने गरी पर्यटकीय सडकको रुपमा भित्री रिङरोड निर्माण गर्नुका साथै नगर कार्यालयलाई सार्वजनिक यातायात मार्फत प्रत्येक वडा सम्म पहुँच विस्तार गरिनेछ ।
    लास्कोटवेशी लिफ्ट सिंचाई, पिपलटार लिफ्ट सिंचाई, खाक्सी सिंचाई, टुनिटारवेशी सिंचाई कार्यक्रमहरुलाई प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन गरिनेछ।
    जीर्ण अवस्थामा रहेका झोलुङ्गे पुलहरुलाई मर्मत सम्भार गर्न आवश्यक बजेटको ब्यवस्था गरिनेछ ।
    नमोबुद्ध परिसरमा स्वीकृत गुरुयोजना बमोजिम बुद्धमुर्ति निर्माण गर्नको लागि आवश्यक आर्थिक सहयोग गरिनेछ ।
    २. सडक तथा यातायात तर्फको विकास नीतिः
    नमोबुद्ध नगरपालिका आर्थिक वर्ष २०७५२०७६ मा निर्माण गरिएको नगरस्तरीय यातयात गरुयोजनालाई पारित गरी सो अनुसार सडक मापदण्डलाई समयसापेक्ष पुनरावलोकन गरिनेछ।
    नमोबुद्ध नगरपालिकाको भकुण्डे बजारमा बढ्दै गएको सवारी चाप एवम् भौतिक निर्माणलाई ध्यानमा राखी रोशीखोला, दाप्चेखोला तथा नौविसेदेखि मेथिनकोट हुँदै बुच्चाकोटसम्म वैकल्पिक सडक सोती खोला करिडोरहरुको निर्माण गरिनेछ ।
    दाप्चा सडक कालोपत्रे कार्यलाई चाडो भन्दा चाँडो चौकीडाँडा वि.पि. राजमार्ग सम्म जोडिने कार्य पुरा गर्न पहल गर्ने, हाल रहेका भकुण्डे चौकीडाँडा सडक, भकुण्डे काँक्रे खाक्सी सडक, भकुण्डे तल्लोहटिया पिपलटार सडक, भकुण्डे दारेगौडा हुँदै गहते सडक, भकुण्डे ऐसेलुचौर हुँदै श्यामपाटी सडक, भकुण्डे फुलबारी सडक, भकुण्डेबाट चरुवा हुँदै भिडाबारी सडक, भकुण्डेबाट काफ्लेथोक, चुहाने जोड्ने सडक, कानपुर बोहोरे कमेरे सडक, पुरानागाउँ सिम्ले बसेरी सडक, चिन्डे विमिरे सडकहरुलाई तत्काल स्तरोन्नती तथा ग्रावेलको व्यवस्था गरिनेछ।
    नगरलाई कालोपत्रे सडक मार्फत छिमेकी पालिकाहरु रोशी गाउँपालिकाको केन्द्र, तिमाल गाउँपालिकाको केन्द्र, पाँचखाल नगरपालिका केन्द्र र धुलिखेल नगरपालिका केन्द्रसँग जोड्ने र नगर भित्र २ वटा कालोपत्रे रिङरोड निर्माण गर्ने।
    गरस्तरीय यातायात गुरुयोजना अनुरुप सडकको निर्माण तथा मर्मत गर्ने व्यवस्था मिलाईनेछ। बाहिरी रिङरोडको रुपमा गहते-पिपलटार-खाक्सी-चौकीडाँडा-लासकोट-डाँडागाउँ कोटतिमाल-कानपुर-बाहोरे-पाँचखाल-बेला-फुलबारी-नमोबुद्ध-विमिरे-सिम्ले हुँदै पुन गहते सम्म कालोपत्रे सडक मार्फतजोडिनेछ ।
    श्यामपाटी अरुबारीचौर पुजारीटापु सडक, श्रीरामवस्ती देवीडाँडा, फुस्रेडाँडा सडक, कानपुर सातमुल कमेरे हुँदै बोहोरे सडक, बुच्चाकोट चरुवा भेडाबारी बोहोरेदोभान सडक, जोरसल्ला महांकाल हुँदै देउराली सडक, नमोबुद्ध नगरपालिका अन्तरपालिका निर्माण अघि बढाइनेछ।
    वडा नं. ३ र ५ जोड्ने सडक निर्माणको कार्यलाई निरन्तरता दिइनेछ ।
    विभिन्न जात जाति, धर्म संस्कृतीहरुलाई लक्षित गरि व्यवस्थीत समाधी स्थलको प्रबन्ध गरिनेछ ।
    व्यवस्थीत पूर्वाधार विकासको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरि कार्यान्वयनमा ल्याइनेछ ।
    ३.विद्युत तथा वैकल्पिक उर्जा सम्बन्धी नीतिः
    राष्ट्रिय प्रशारणको विद्युत बारम्बार अवरुद्ध हुने टोल, बस्तीहरुमा सरोकारवालाहरुको समेत सहभागितामा वैकल्पिक उर्जाको विस्तार गरिनेछ। समुदायको लागत सहभागितामा दुई वर्ष भित्र काठका बिजुली पोललाई स्टीलको पोलले प्रतिस्थापन गरिनेछ।
    सार्वजनिक महत्वका स्थान र मुख्य सडकमा समुदायको साझेदारीमा सौर्य बत्ती जडान गर्ने नीति अवलम्बन गरिनेछ।
    पर्यटकीय क्षेत्रको रुपमा परिचित नमोबुद्ध स्तुपा, गुम्बामा आउने पर्यटकलाई मध्यनजर गर्दै फूलबारी देखि नमोबुद्ध श्यामपाटीसम्म सौर्य सडक बत्ति जडान गरिनेछ ।
    एक घर, एक धारा कार्यक्रम प्रवर्द्धनका लागि विभिन्न प्रविधिहरु मार्फत सञ्चालन भई रहेका परियोजनाहरुलाई विद्युतका लागि अनुदान ब्यवस्था गरिनेछ ।
    ४.बस्ती विकास तथा भूकम्प प्रतिरोधी भवन निर्माण नीतिः
    वस्ती विकासको निम्ती एसियाली मापदण्ड अनुसार नगर भित्रका सम्पूर्ण संरचनामा सडक सञ्जाल, खानेपानी, टेलिफोन, वाईफाई, ढल व्यवस्थापन तथा सडकहरुमा सुन्दर वोट-विरुवाहरुको वृक्षरोपण गर्ने र ५ वर्ष भित्रमा नगरलाई स्मार्ट सिटीको रुपमा विकास गरिनेछ। यस नगरलाई कृषि, आवास तथा औधोगिक क्षेत्रलाई वर्गीकरण गरी व्यवस्थित सहरी विकास र औधोगिककरण गरिनेछ ।
    नगरपालिका क्षेत्रमा निर्माण हुने सबै किसिमका भवन भूकम्प प्रतिरोधी बनाउने नीति लिइनेछ ।
    नमोबुद्ध क्षेत्रको सांस्कृतिक सम्पदालाई संरक्षण गर्न विशेष भवन निर्माण मापदण्ड तथा नमोबुद्ध क्षेत्र विकास कार्यविधि तयार गरी तुरुन्त लागु गरिनेछ।
    पूरातात्विक तथा सांस्कृतिक महत्वका मठ मन्दिर, गुम्बा, चर्च, पाटी पौवा, बिहार, लगायतको संरक्षण गरिनेछ।
    परम्परागत शैलीका घर निर्माणका लागि विशेष कार्यक्रम ल्याइनेछ ।
    (घ) वातावरण तथा विपद् व्यवस्थापन
    १.वातावरण संरक्षण नीतिः
    दिगो विकास लक्ष्यका सूचकहरु पूरा गर्न विशेष नीति तर्जुमा गरी सोहि अनुरुपमा कार्यक्रमहरु संचालन गरिनेछ।
    वातारणलाई प्रत्यक्ष असर पर्ने गरि विकास निर्माण सञ्चालन गर्ने कार्य निरुत्साहीत गरी वातावरण संरक्षणमा जोड दिईनेछ ।
    विभिन्न विषय विज्ञहरुसँग समन्वय गरी वातावरणमैत्री विकास कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
    चौतारा, पोखरी, पार्क, खानेपानीको मुल संरक्षण लगायतका वातावरणमैत्री कार्यहरु गरिनेछ ।
    वातावरणमैत्री घर, टोल, वडा तथा नगर तहका सूचकहरु निर्माण तथा परिमार्जन गरी कार्यान्वयनमा ल्याइनेछ। साथै मूल्याङ्कनका आधारमा पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ।
    सम्पूर्ण टोल, वडा वातावरणमैत्री घोषणा गर्न आवश्यक पूर्वाधार निर्माण गरी वातावरणमैत्री नगर घोषणा गरिनेछ। ।
    वडाहरुसँगको सहकार्यमा सडकको दायाँ बायाँ उपयुक्त स्थलमा स-साना उद्यान (बगैंचा) निर्माण गरिनेछ।
    वातावरणमैत्री झोलाहरुको प्रयोगलाई प्रोत्साहन गर्ने कार्यको प्रारम्भ गरिनेछ।
    नगरभित्र प्राकृतिक विपत्ति र अन्य कृतिम विपत्तिबाट राहतका कार्यक्रम सञ्चालन गर्न नगरपालिका, नेपाल प्रहरी, नेपाली सेना, रेडक्रस, स्काउट लगायत विभिन्न
    संघसंस्थाहरुसँग समन्वय गरिनेछ।
    नगर भित्र रहेका दाप्चा खोला, सोती खोला लगायत अन्य खोलाहरुको मापदण्ड तोकी खोलाको दायाँवायाँ कोरिडोर निर्माण गरी दुवैतर्फ वृक्षारोपण गरिनेछ।
    नगरपालिका भित्रका बजार क्षेत्रहरुलाई लक्षित गरी सार्वजानिक शौचालयहरुको निर्माण गरिनेछ ।
    युवा र बेरोजगार जनशक्तिलाई लक्षित गरी स्थानीयहरुसँगको सहकार्यमा विपन्न परिवारका लागि कबुलियती वन र सामुदायिक वनको खाली जमिन, सार्वजनिक, पर्ती, ऐलानी तथा नदि उकासको जग्गामा फलफूल, जडीबुटी तथा आयमा वृद्धि हुने विरुवाको उत्पादन तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ।
    पोलिथीन झोलाको प्रयोगलाई निरुत्साहित अभियान सञ्चालन गरिनेछ।
    वि.पी. राजमार्गको दाँया र बाँया क्षेत्रमा उद्योग स्थापना गर्दा वातावरण तथा जनजीवनमा प्रत्यक्ष असर नपर्ने गरि संचालन गर्ने व्यवस्था मिलाइनेछ। नमोबुद्ध नगरपालिकाको सिमा प्रारम्भ भए पछिको नमोबुद्ध दाप्चा सडक खण्डको दायाँ बायाँ भागमा बगैंचा, पर्यटकहरुलाई आकर्षण गर्ने गरी पार्क निमार्ण तथा सरसफाई कार्यक्रम गरिनेछ ।
    घरको फोहोर घरैमा व्यवस्थापन गर्न प्रोत्साहन गर्ने नीति लागु गरि स्वच्छ शहरको प्रवर्द्धन गरिनेछ ।
    २. विपद् व्यवस्थापन नीतिः
    आकस्मिक सेवाका सवारी साधनहरु जस्तै एम्बुलेन्स, दमकल आदि साधनलाई नगर भित्र तथा छिमेकी पालीकाहरुलाई समेत विपद्को बेलामा निःशुल्क सञ्चालन गरिनेछ।
    गठन भएका सम्पूर्ण वडा स्तरीय विपद् व्यवस्थापन समिति र नगर स्तरीय विपद् व्यवस्थापन समितिलाई आवश्यक तालिमको व्यवस्था गर्दै स्रोत साधनयुक्त बनाई तयारी अवस्थामा राखिनेछ। प्राकृतिक प्रकोपमा परेका परिवारको राहत तथा पुनर्स्थापनमा जोड दिइनेछ ।
    नगरपालिकाद्धारा निर्मित विपद् व्यवस्थापन तथा प्रतिकार्य योजनाको आधारमा विपदको पूर्व तयारी गर्ने कामलाई विशेष प्राथमिकता दिनुका साथै नगरपालिकामा आपतकालीन उद्धार तथा राहत कोष र सामग्रीको थप व्यवस्था गरिनेछ ।
    ३.फोहोरमैला तथा सरसफाइ सम्बन्धी नीतिः
    ‘फोहर जसले उत्पादन गर्दछ व्यवस्थापनको मूल्य उसैले तिर्नुपर्दछ, लिदैन म फोहोर, घरमै बनाउछु यसलाई मोहोर‘ भन्ने सिद्धान्त र फोहोरबाट मोहर बनाउने नीतिलाई अवलम्बन गर्दै नगर क्षेत्रमा उत्सर्जन हुने फोहरमैलालाई व्यवस्थित ढंगले व्यवस्थापन गरिनेछ। फोहरमैला उत्सर्जन स्थलमा नै कुहिने र नकुहिने फोहर छुट्याई कुहिने फोहरलाई मल बनाई करेसाबारीमा प्रयोग गर्ने गराउने नीति अवलम्बन गरिनेछ।
    वडास्तरमा उत्सर्जन हुने फोहर वडास्तरमा नै विसर्जन गर्ने तथा श्रोतमा नै प्रकृति अनुसार छुट्याउने व्यवस्था मिलाउन वडा समितिहरुलाई प्रोत्साहित गर्ने नीति
    अवलम्बन गरिनेछ।
    दिसाजन्य लेदो व्यवस्थापन तथा फोहोरमैला व्यवस्थापनकालागि आवश्यक औजारको खरिद गरी विसर्जनकालागि उपयुक्त स्थान छनौट गरी गैर सरकारी क्षेत्रको सहकार्यमा आवश्यक कार्य प्रारम्भ गरिनेछ र प्रविधिको प्रयोग गरी दिसाजन्य फोहोरहरुको उचित ठाउँमा व्यवस्थापन गर्न आवश्यक व्यवस्था मिलाईनेछ।
    फोहोरमैला व्यवस्थापनको लागि सबै वडामा जान सक्ने सवारीसाधनको व्यवस्थापन गरिनेछ।
    (ङ) संस्थागत विकास तथा सुशासनः
    १.सूचना संचार तथा प्रविधि विकास सम्बन्धी नीतिः
    नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा विषयगत शाखा वा इकाईको सेवा प्रवाहलाई सम्भव भएसम्म सूचना प्रविधिमैत्री बनाउन आवश्यक बजेट
    व्यवस्था गरिनेछ।
    नगरको मुख्य-मुख्य चोकहरुमा निःशुल्क वाई-फाई नेटको व्यवस्था गरिनेछ ।
    नगरका मुख्य चोक, बजार, धार्मिक पर्यटकीय क्षेत्र तथा सम्वेदनशील स्थलहरुमा सिसिटिभी जडान, निःशुल्क वाइफाइ सेवा विस्तार, सूचना केन्द्रहरुको व्यवस्थित सञ्चालन, नेटवर्किङ्ग विस्तार लगायतका कार्यहरु गरिनेछ।
    नगरवासीको सूचना प्राप्त गर्ने अधिकारलाई सुरक्षित गर्नको लागि नगर भित्र पत्रपत्रिका, एफ.एम. रेडियो, अनलाईन मिडिया सञ्चालन गर्न सम्बन्धित संघ संस्था, व्यक्तिलाई प्रोत्साहन गरिनेछ ।
    नगरवासीलाई सूचनाको हकको सुनिश्चित गर्ने उदेश्यले दैनिक वा साप्तहिक रेडियो कार्यक्रम सञ्चालन गरिनेछ ।
    नमोबुद्ध नगरपालिकालाई स्मार्ट तथा समृद्ध नगर विकासकालागि आवश्यकता पहिचान गरी चरणवद्ध रुपमा समय सापेक्षित प्रविधिमैत्री नमोबुद्ध विकास गर्ने नीति लिइनेछ ।
    नेपाल पत्रकार महासंघ सहित पत्रकारितासँग सम्बन्धित संघसंस्थाहरुसँगको सहकार्यमा संचार क्षेत्रको प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ।
    २.संस्थागत विकास तथा मानव संसाधन सम्बन्धी नीतिः
    नगरपालिकाका आम नगरवासी र नगरपालिका बीच सूचना आदान प्रदानमा सहजता ल्याउन एवं नगरवासीका गुनासाहरुलाई समयमै सम्बोधन र भेटघाटको लागि समेत सहजता एवं सरलता ल्याउन तथा सेवा प्रवाहमा सुधार ल्याउन “हेलो नमोबुद्ध” मोबाइल एप्स र “हेलो मेयर कक्ष’ स्थापना गरी संचालनमा ल्याईनेछ।
    गुनासो व्यवस्थापन प्रणाली, नमोबुद्ध एप्स, टोल फ्री नम्बर, हेलो नमोबुद्धको पेज संचालन गरिनेछ। नगरपालिकाबाट हुने सबै किसिमको भुक्तानीहरु बैंकिङ प्रणालीबाट गराई विद्युतीय कारोवारको व्यवस्था गरिनेछ। नगरपालिकाले सम्पूर्ण वडा समेट्ने गरी नगरको आम्दानी, खर्च, कार्य प्रगति विवरण त्रैमासिक बुलेटिन मार्फत प्रकाशन गर्ने व्यवस्था गरिनेछ ।
    कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ।
    नेपाल सरकारबाट स्वीकृत अन्तरिम सँगठन संरचना तथा दरबन्दीको पूर्ण पालना गर्दै सो सँगठन संरचना तथा दरबन्दी भित्र नपर्ने साविकदेखि निरन्तर सेवा गरी रहेका कर्मचारीहरुको वृत्ति विकासको सुनिश्चतताकालागि जनशक्ति तथा व्यवस्थापन सर्वक्षण गरी आवश्यक दरबन्दी/पद कायम गर्न संघीय सरकारसँग समन्वय गरिनेछ।
    हरेक वडामा प्रत्येक आर्थिक वर्षमा कम्तिमा एक वटा योजना महिला मात्र सम्मिलित उपभोक्ता समिति मार्फत सञ्चालन गरिनेछ र उत्कृष्ट कार्य गर्ने उपभोक्ता समिति र निर्माण व्यवसायीलाई पुरस्कृत गरिनेछ।
    नापी कार्यालयको सहकार्यमा नगरभित्र बनेका लगतकट्टा गर्न बाँकी रहेका सडकहरुको लगतकट्टा गरी सार्वजनिक सडकमा रुपान्तरण गरिनेछ।
    नमोबुद्ध नगरपालिकाको चौतर्फी एवम् साझेदारीमा विकास गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नगरपालिकाहरुसँग भगिनी सम्बन्ध स्थापना गरिनेछ ।
    डिजिटल नापी गर्ने कार्य विभिन्न सरकारी निकायहरुसंग समन्वय गरी शिघ्र कार्यान्वयनमा ल्याईनेछ ।
    वित्तिय शुसासन कायम गर्न शून्य बेरुजुको नीति अवलम्बन गरिनेछ ।
    नगरपालिकामा हुने हरेक कार्यको तथ्याङ्क तथा विवरण विद्युतिय माध्यमबाट अभिलेखिकरण गरि सञ्चार माध्यमबाट दैनिक वा साप्ताहिक रुपमा सार्वजनिक गर्ने
    नीति अवलम्बन गरिनेछ ।
    सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री र जवाफदेही बनाउन प्रविधिमैत्री सेवा व्यवस्थापनमा जोड दिईनेछ ।
    पर्यटकीय क्षेत्रको रुपमा परिचित नमोबुद्ध परिसरको व्यवस्थापन, प्रवर्द्धन तथा विकासको लागि नमोबुद्ध विकास समितिको परिकल्पना सहितको सोहि बमोजिमको आवश्यक कानून तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
    ३.राजस्व परिचालन सम्बन्धी नीतिः
    अनलाइन मार्फत राजस्व बुझाउन र आर्थिक कारोबारहरु यस आर्थिक वर्षबाट कनेक्ट आइ.पि.स. प्रणालीबाट सुरु गरिनेछ।
    कर सहुलियत प्रदान गर्न आवश्यक कानुनी व्यवस्था गरिनेछ।
    उत्पादनमूलक क्षेत्रमा लगानी (पार्किङ स्थल, शौचालय, घरटहरा निर्माण गरी भाडामा दिने) गरी आयस्रोत बढाउने कार्यको थालनी गरिनेछ।
    लेखा परिक्षणबाट औल्याइएका बेरुजु तथा सुझावहरुलाई आगामी दिनहरुमा कार्यान्वयन गर्दै बक्यौता, बेरुजु एवं पेश्की फछ्यौट गर्ने कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ।
    बुद्धचित्त माला प्रवर्द्धन कार्यक्रम संचालनमा ल्याइनेछ।
    ४. सम्बन्ध, सहकार्य तथा साझेदारी नीतिः
    तीनै तह सरकारको सहकार्य, समन्वय र सहयोगमा विभिन्न नगर गौरवका आयोजनाहरु संचालन गरिनेछ।
    सार्वजनिक निजि साझेदारी कार्यक्रमलाई विशेष प्राथमिकतामा राखी नगर गौरवका आयोजनामा सार्वजनिक र नीजि क्षेत्रको लगानीलाई सुनिश्चितता गरिनेछ र नीजि क्षेत्रको लगानी, सहकार्य, समन्वय र सहयोगमा विभिन्न भौतिक निर्माणका आयोजनाहरु संचालन गरिनेछ।
    अन्य स्थानीय तहरुसँग साझा सरोकारका विषयहरु जस्तै फोहोर व्यवस्थापन केन्द्र, अग्नी नियन्त्रण, सडक हरियाली, प्लाष्टिक नियन्त्रण, स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन, नदी नियन्त्रण, सिंचाई, खानेपानी आदीहरुमा सहकार्य गरिनेछ ।
    ५. सामाजिक परिचालन तथा सामाजिक सशक्तिकरण नीतिः
    वडा समितिहरुसँगको समन्वयमा वडा तथा टोल विकास समिति निर्माण गरि उक्त समितिलाई सामाजिक कार्य गर्न परिचालन गरिनेछ ।
    विभिन्न विवाद स्थानीय स्तरमा नै मेलमिलापकर्ताको माध्यमद्वारा मेलमिलाप गर्ने गराउन वडास्तरीय संयन्त्र परिचालन गरिनेछ। • सुशासन प्रवर्द्धन तथा भष्ट्राचार नियन्त्रणका लागि सरकारी, गैरसरकारी र निजी सबै क्षेत्रमा सदाचार प्रणाली विकास गरिनेछ ।
    ६.गैर सरकारी संस्था सम्बन्धी नीतिः
    गैर सरकारी क्षेत्रको समन्वयकालागि नगरपालिकामा स्थापित गै.स.स. समन्वय कक्ष मार्फत नगरपालिका भित्रको सबै क्षेत्रमा विकास तथा सामाजिक कार्य सम्पन्न गर्न तथा परिचालन गर्नका लागि सहकार्य गरिनेछ।
    एकद्धार प्रणाली मार्फत नगरपालिकाको नीति कार्यक्रममा सहयोग पुर्याउने खालका कार्यक्रम भएमा वा रहेमा सञ्चालन गर्ने गैरसरकारी संस्थालाई स्वीकृति दिने नीति अवलम्बन गरिनेछ।

    ७.न्यायीक समिति नीतिः
    न्यायीक समिति मार्फत छिटो छरीतो र सर्वसुलभ ढंगले न्याय सम्पादनको व्यवस्था मिलाईने छ ।
    न्यायीक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिको लागि अभिमुखीकरणको व्यवस्था गरिनेछ ।
    मेलमिलापको माध्यमबाट वडा स्तरमा मेलमिलापकर्ताहरुको सकृयतालाई प्रवर्द्धन गरी यथाशिघ्र विवाद सामाधान गरिने छ ।
    न्यायमा आम नगरिकको पहुँच सुनिश्चित गर्न स्थानिय न्यायीक समितिको कार्यालयलाई व्यवस्थित बनाईने छ ।
    घरदैलोमा न्यायीक समिति नाराका साथ वडा स्तरमा घुम्ति कानुनी शिविर संचालन गरी कानून सम्बन्धी अभिमुखीकरण तथा स्थानीय जनताको घर दैलोमा पुगि विवाद समाधान गरिनेछ ।
    आदरणीय नगरसभाका सदस्यज्यूहरु,
    नमोबुद्ध नगरपालिकालाई समृद्ध, समुन्नत, गतिशील, भष्ट्राचारमुक्त, सुशासनयुक्त र न्यायपूर्ण बनाउँदै हरेक क्षेत्रमा उत्कृष्ट, उदारणीय र नमुना नगरको रुपमा अगाडी बढाईनेछ। नागरिकको हित, कल्याण, सुख, सम्वृद्धि र असल जीवन प्रणालीको विकासका लागि नमोबुद्ध नगरपालिका दृढ संकल्पित रहेको छ। नगरपालिका भित्र उत्पादन र उत्पादकत्व वृद्धि, गुणस्तरीय जनशक्ति उत्पादन र रोजगारी सृजना मार्फत समाजमा विद्यमान गरिबी र असमनताहरुलाई न्यूनीकरण गर्दै सामाजिक न्याय सहितको आर्थिक सम्वृद्धि हासिल गर्न यो नीति तथा कार्यक्रम सहयोगी हुने विश्वास लिएको छु।
    अन्तमा, नमोबुद्ध नगरपालिकाले विगतका असल र जनमुखी नीति तथा कार्यक्रमलाई निरन्तरता दिई वितरणमुखी भन्दा उत्पादनमुखीमा आधारित कार्यक्रम संचालन सहितको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र यस अवसरमा हामो निमन्त्रणा स्वीकार गरी अमूल्य तथा व्यस्त समयको बाबजुद यस नगर सभामा पाल्नु भएका नगरपालिकाका सभा सदस्यज्यूहरु, कर्मचारीहरु, संचारकर्मीहरु लगायत सरोकारवाला सबैमा हामी आभारी छौं।
    नगरपालिकाको नीति तर्जुमा तथा कार्यक्रम तर्जुमाका क्रममा सहभागितामूलक योजना प्रकृयाका सबै चरणमहरुमा सहभागी हुनु हुने र सहजीकरण गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै यस कार्यलाई सफल र प्रभावकारी रुपमा कार्यान्वयन गर्नकालागि सम्बद्ध सबै पक्षबाट सदाझै सल्लाह, सहयोग र सुझावको अपेक्षा गर्दै वार्षिक नीति तथा कार्यक्रम तर्जुमा कार्यमा सक्रिय एवं रचनात्मक सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद दिन चाहन्छु र कार्यान्वयनकालागि पनि उचित साथ र सहयोगको अपेक्षा गर्दछु। नगरको अधिकार, श्रोत साधन, उत्तरदायित्व, पारदर्शिता र जवाफदेहिता सहितको स्थानीय सरकारको रुपमा स्थापित नमोबुद्ध नगरपालिकाको आर्थिक समृद्धि र स्थानीय स्तरमा लोकतन्त्रको अभ्यासको
    क्रममा सहयोग गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, प्रदेश सरकार, संघीय सरकार लगायतमा समृद्ध नमोबुद्ध नगरपालिका निर्माणमा आवश्यक सहयोग गर्नु भएकोमा हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दछौ।

  • चण्डेश्वरी साकोसको ३० औं वार्षिक साधारण सभा सम्पन्न

    चण्डेश्वरी साकोसको ३० औं वार्षिक साधारण सभा सम्पन्न

    नबिन भट्ट बादेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन

    बनेपा । बनेपा तिनदोबाटो अवस्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । चण्डेश्वरी हजुरको हातमा: हजुरको सम्वृद्धि चण्डेश्वरीको साथमा भन्ने नारालाई आत्मसाथ गर्दै सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहयोग गर्ने उदेश्य संस्थाले लिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका निवर्तमा अध्यक्ष विकास बादेले विश्वभर फैलिएको कोभिड महामारीको समययता गत आर्थिक वर्षदेखि देखिएको तरलता अभाव र वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको परिस्थितिमा समेत सदस्यहरूको साथ सहयोग र मायाले संस्था अगाडि बढिरको बताउनुभयो ।

    कार्यक्रममा संस्थाका सचित राम प्रसाद श्रेष्ठले आ.व. २०७८|०७९ को समिक्षा र आव २०७९|०८० को लागि कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । चण्डेश्वरी साकोसमा ८ हजार १ सय ३३ सदस्यहरू रहेका सचिव श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा सम्बोधन गर्दै सचिव श्रेष्ठले संस्थाको कार्यक्षेत्र काभ्रे जिल्लाभर रहेतापनि अहिलेको कार्यालयबाट समेट्ने नसकिने हुँदा नाला, पनौती, भकुण्डे, पाँचखाल र धुलिखेलबाट पाँचवटा सेवा केन्द्र खोल्ने प्रस्ताव सभामा गरिएको थियो ।

    चन्डेश्वरि बचत तथा ऋण सहकारी सस्था लि.को सम्पन्न ३० औं वार्षिक साधारणको सभाले सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाइ निर्विरोध चयन गरेको छ । नव निर्वाचित सञ्चालक समिति नबिन भट्ट बादेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको छ । सहकारीको नयाँ कार्यसमिति उपाध्यक्षमा रमेश काजी श्रेष्ठ, सचिवमा बुद्धरत्न मानन्धर, सह-सचिव रोशना राजवंशी, र लेखा समिति संयोजस राम प्रसाद श्रेष्ठ चयन निर्विरोध चयन भएका संस्थाका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहाल (राजन)ले जानकारी दिनुभयो ।

    संस्थाको ३० औं वार्षिक साधारण सभा बनेपा पार्टी भेन्युमा सस्थाका निबर्तमान अध्यक्ष बिकास बादेको सभापतित्व र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो ।

     

  • आभाष साकोसको १३ औं साधारण सभा सम्पन्न

    आभाष साकोसको १३ औं साधारण सभा सम्पन्न

    जेष्ठ सदस्य, उत्कृष्ट कारोबार गर्ने सदस्य, एसइईमा उत्कृष्ट अंक ल्याउने छात्र छात्रा र कर्मचारीलाई सम्मान

    बनेपा । बनेपा नगरपालि वडा नंं. ८ तीनदोबाटोमा अवस्थित आभाष बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    संस्थाको १३ औँ बार्षिक साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव प्रकाश कायस्थले संस्थाले संचालन गरेको सुरक्षा कोष अन्तर्गत आवद्ध सदस्यको कालगतिले मृत्यु भएका ३ जनाको परिवारलाई प्रति सदस्य १० हजार, क्यान्सर पिडित ३ जना सदस्यलाई प्रति सदस्य २५ हजार तथा विभिन्न रोग लागेका ३७ जना सदस्यलाई उपचार गर्न प्रति सदस्य १० हजार सहयोग गरेको जानकारी दिए ।

    सभामा संस्थाको छोरी अभियान अन्तर्गत यो वर्ष २ जना सदस्यलाई २० हजार सहयोग गरेको पनि बताइएको थियो । उनले सदस्यहरुलाई सहकारी शिक्षा तालिम लगायतको कार्य गर्दै आएको जानकारी दिए ।

    त्यसैगरी सभामा संस्थाका कोषाध्यक्ष धर्मभक्त प्रधानले आर्थिक वर्ष ०७८।०७९ को आर्थिक प्रतिवेदन तथा ०७९।८० को कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । उनले यस आर्थिक वर्षमा ७१ करोड ६४ लाख १२ हजार ७ सय ३२ रुपैयाँको कुल कारोबार गरेको जनाए ।

    संस्थाले ५६ करोड ६९ लाख २४ हजार ३ सय ५० रुपैयाँ ऋण लगानी गरी ७७ लाख ८९ हजार ५९ रुपैयाँ खुद मुनाफा गरेको संस्थाले जनाएको छ ।

    ५ हजार ८ सय ३२ सदस्य रहेको संस्थाको पनौती र भकुण्डेमा सेवाकेन्द्र रहेका छन् । संस्थाले एबिबिएस तथा एसएमएस अलर्ट र रेमिटेन्स सेवा प्रदान गर्ने गरेको जनाइएको छ । साधारण सभाले संस्थाका जेष्ठ सदस्य, उत्कृष्ट कारोबार गर्ने सदस्य, सदस्यका छोरा छोरीमध्ये एसइईमा उत्कृष्ट अंक ल्याउने छात्र छात्रा, र कर्मचारीलाई समेत सम्मान गरेको छ ।

    सभा बनेपा नगरापालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष दिनेशराज कायष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • बुडोल सामुदायिक साकोसको २३ औं वार्षिक साधारण सभा सम्पन्न

    बुडोल सामुदायिक साकोसको २३ औं वार्षिक साधारण सभा सम्पन्न

    • सबैको सहयोगबाट संस्था अगाडि बढ्छ: अध्यक्ष केसी

    बनेपा । काभ्रेको बनेपामा मुख्य कार्यालय रही काभ्रे जिल्लाभर कार्यक्षेत्र रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    साकोसको वार्षिक साधारण सभा क्षेत्रगत रुपमा बनेपा, धुलिखेल र नाला गरी ३ क्षेत्रमा सम्पन्न भएको हो । बनेपामा संस्थाका अध्यक्ष कैलाश केसी, धुलिखेलमा लेखा सुपरीवेक्षण समिति संयोजक पूर्णबहादुर कार्की र नालामा सचिव जयराम थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको संस्थाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष कैलाश केसीले यही आर्थिक वर्षभित्र जिल्लाको नमोबुद्ध नगरपालिका अन्तर्गत भकुण्डेवेशी सेवा केन्द्रको स्थापना गर्ने बताउनुभयो । त्यस्तै अध्यक्ष केसीले सदस्यहरूलाई आफ्ना, सल्लाह, सुझाव दिन आग्रह गर्दै सबैको सहयोगवाट संस्था अघि बढ्ने बताउनुभयो ।

     

    सभामा बनेपा क्षेत्रको कार्यक्रम संचालन लेखा सुपरिवेक्षण समतिकी सदस्य शर्मिला नेपालले, स्वागत मन्तव्य संचालक समिति सदस्य गीता कुँवर क्षेत्रीले र प्रतिवेदन प्रस्तुत सह–कोषाध्यक्ष राधाकृष्ण श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । धुलिखेल क्षेत्रको कार्यक्रम संचालन पूर्व शिक्षा अधिकृत नविन बडालले, स्वागत मन्तव्य संचालक समिति सदस्य गायत्री खड्काले र प्रतिवेदन प्रस्तुत उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले प्रस्तुत गर्नु भएको थियो ।

    नाला क्षेत्रको कार्यक्रम संचालन टुकुचा जागरण सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य जयराम श्रेष्ठले, स्वागत मन्तव्य संचालक समिति सदस्य अनिला श्रेष्ठ र प्रतिवेदन प्रस्तुत सहसचिव प्रकाश भुर्तेलले प्रस्तुत गर्नु भएको थियो ।

     

    सभामा कुल सदस्य संख्याको ५९ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको र संस्थामा आवद्ध शेयर सदस्यहरुलाई शेयर लाभांश र बाल बचतकर्ता सदस्यहरुलाई बचतको आधारमा कापि, पेन्सील र पेन वितरण आगामी असोज ६ गतेदेखि वितरण गरिने संस्थाले जनाएको छ ।

     

    बुडोल सामुदायिक साकोसले सदस्यको हितलाई विशेष प्राथमिकतामा राखी योजना एवं कार्यक्रम गर्ने संस्थाका का‍.मु. नायब प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले बताउनुभयो।

  • काभ्रे महोत्सव २०७९ सुरु

    काभ्रे महोत्सव २०७९ सुरु

    बनेपा । काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा आजबाट बनेपामा काभ्रे महोत्सव सुरु भएको छ । पाँचौ काभ्रे महोत्सव-२०७९ व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि  नारालाई आत्मसाथ गर्दै आयोजित महोत्सवको उद्घाटन बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले गरेका छन् । मन्त्री श्रेष्ठले स्थानीय पालिकाहरू र प्रदेश सरकार समन्वय गरेर औधोगिक योजना बनाउने, रकम विनियोजन गर्ने जस्ता कार्य अघि बढाइ औधोगिक क्रियाकलाप अगाडि बढाउन आग्रह गरे ।

     

    सबै मिलेर अगाडि बढ्न सकेमा नेपाली जनताको आयस्तरमा सुधार गर्न सकिने मन्त्री श्रेष्ठको भनाई थियो । उद्योग वाणिज्य संघको हकहितमा बागमती प्रदेश सरकार तत्पर रहेको मन्त्री श्रेष्ठको भनाई थियो ।

     

    नेपाल उद्योग वाणिज्य महासंघका महासचिव अञ्जन श्रेष्ठले मेलालाई विशिष्टीकरण गरी स्थानीय कला र वस्तुको प्रदर्शनी गर्नुपर्नेमा जोड दिए । व्यवसायीहरूको मानमर्दन नहुनेगरी अनुगमन गर्नको लागि प्रशासनसँग उनले अनुरोध गरे ।

    उद्घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ ले नगर वा पालिका प्रमुखसँग व्यवसायी सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काभ्रे जिल्ला प्राकृतिक रुपले सुन्दर भएको र यहाँको कलासंस्कृति, र स्थानीय वस्तुको प्रवर्धन गर्न आयोजना गरिएको मेलाको सफलताको शुभकामना दिनुभयो । जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतमले कार्यक्रमलाई सम्बोधन गर्दै मेला सफल बनाउन जिल्ला समन्वय समितिको तर्फबाट आवश्यक सहयोग र समन्वय रहने बताउनुभयो ‌। गौतमलेे १३ दिने महोत्सवको पूर्ण सफलताको कामना गर्नुभएको थियो ।

    कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले आवश्यक पूर्वाधारको सम्पूर्ण तयारी नसरी हतारहतारमा महोत्सव गर्दाखेरि व्यवस्थापनमा कमजोरी रहेपनि मेला सफलताताको कामना गर्नुभयो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जुले १३ दिने मात्र नभई सदावहार रहनुपर्ने र स्थानीय वस्तुहरू, कलासंस्कृतिको जोगर्नातर्फ स्थायीरूपमै गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनि कार्यक्रम पूर्ण सफलताको कामना गर्नुभएको थियो ।

    मेला १३ दिनसम्म आयोजना गरिने र मेलाको अवलोकनबाट फाइदा लिन सक्ने काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र बैदारले बताउनुभयो । साथै महासचित बैदारले महोत्सवमा बिक्रीवितरण हुने सामग्रीहरू विशेष छुटमा विक्री वितरण भइरहेको बताउनुभयो ।

    काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेंको सभाध्यक्षमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासँघका स्थानीय, जिल्लागत एवं केन्द्रिय अध्यक्ष, सदस्यहरूको उपस्थिति रहेको थियो । त्यसैगरी उद्योग वाणिज्य संघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, केन्द्रिय सदस्य सुरकृष्ण वैध, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रताप वैद्य, महासचिव रविन्द्र वैदार, पत्रकार महासँघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पूर्व अध्यक्ष मोतिराम तिमल्सिना लगायतका सक्रिय सञ्चारकर्मीहरू, बनेपाका विभिन्न विद्यालयबाट विद्यार्थी, शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष ग्रुबेन तौजलेले गरेका थिए ।

    कार्यक्रमको दौरान वर्षाले बिथोल्ने प्रयास गरेतापनि आयोजकले यसलाई शुभ सुरुवातको रुपमा लिएको छ । भोलिबाट नियमित रुपमा सांस्कृतिक, खेलकुद, स्थानीय एवं व्यावसायिक सामाग्रीहरूको व्यापक प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।