Category: स्थानीय खबर

  • पिपुल्स बचतको १६ औं साधारण सभा सम्पन्न

    पिपुल्स बचतको १६ औं साधारण सभा सम्पन्न

    बनेपा । बनेपा स्थित पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ वार्षिक साधारणसभा शनिबार बनेपामा संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षता र बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हुमागाईले वास्तविक सहकारीले राम्रो काम गरेर समाजलाई पु¥याएको योगदानको प्रशंसा गरेका थिए । मन्त्री हुमागाईंले प्रदेश सरकारले २ लाख मेट्रिक टन रासायनिक मल उत्पादन गर्ने गरी कारखाना स्थापनाको संभाव्यता अध्ययन गरिएको र कृषि औजार कारखाना स्थापनाको प्रकिया अघि बढेको बताए ।

    कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन सचिब देवेन्द्र श्रेष्ठले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सन्तोष कुमार घिमिरेले र लेखा प्रतिवेदन संयोजक रजिव श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक वर्ष २०७८÷०७९ को कुल वासलात ३१ करोड ५५ हजार, शेयर पुजी २ करोड ८० लाख, बचत हिसाब २५ करोड ४६ लाख, ऋण लगानी २४ करोड ३३ लाख, जगेडा तथा कोषहरु १ करोड ७५ लाख र शेयर सदस्य ५ हजार ९ सय ५२ जना रहेको संस्थाका प्रबन्धक नवराज सापकोटाले जानकारी दिए ।

    कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, बनेपा नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष जितेन्द्र नकर्मी, सहकारीकर्मी साधुराम दाहाल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले सहकारीका आयामहरुको विषयमा चर्चा गरेका थिए ।

    साधारण सभाकै अवसरमा बार्षिक उत्कृष्ट विधा अन्र्तगत १० जना उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई एवं उत्कृष्ट कर्मचारीमा आफ्नो जिम्मेवारी पूरा गर्दै अनवरत रुपमा कार्य सम्पादन गर्दै आउनुहुने सहायक एलिना सुवाललाई समारोहमा सम्मान गरियो । कार्यक्रममा धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष पवन राज कर्णजीत एवं सञ्चालन सह–कोषाध्यक्ष सरोज श्रेष्ठले गरेका थिए ।

  • यु एम  सहकारीको ११ औँ साधारण सभा सम्पन्न

    यु एम सहकारीको ११ औँ साधारण सभा सम्पन्न

    बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. १० पुल बजारमा अवस्थित यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारण सभा सम्पन्न भएको छ ।

     

    काभ्रे र सिन्धुपाल्चोक गरि ८ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरेको साकोसका अध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए । यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पुँजी ५ करोड भन्दा बढि रहेको अध्यक्ष श्रेष्ठले  जानकारी दिए ।

     

    आफ्नै भवनमा साधारण सभा सम्पन्न गरेको साकोसले उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट कारोबारीलाई सम्मान समेत गरेको छ । कार्यक्रममा रोनिशा श्रेष्ठ उत्कृष्ट बाल बचतकर्ता, सुर्य रत्न शाक्य उत्कृष्ट बचतकर्ता, बिद्या मानन्धर उत्कृष्ट बचत कर्ता ,सिर्जना बज्बुल उत्कृष्ट नियमित बचतकर्ता सम्मानित भएका थिए । कार्यक्रममा कान्छी भुजेल जेष्ठ उत्कृष्ट बचतकर्ता, पुर्णराज खिचा, बिरेन्द्र धिनान्जु उत्कृष्ट कारोबारकर्ताबाट सम्मानित भएका छन् ।

     

    कार्यक्रमका प्रमुख अतिथि काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेंले सहकारीलाई विश्वशनिय बनाउनु पर्ने बताए । पछिल्लो समय सहकारीको बारेमा नकारात्मक समाचार आइरहेको भन्दै उनले बचतकर्तालाई विश्वास गर्ने गरी संस्थाका क्रियाकलाप सञ्चालन गर्न आग्रह गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष रामशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • नेकपा एमाले चौंरीदेउराली – काठमाण्डौं मञ्चको अध्यक्षमा गौतम सर्वसम्मत

    नेकपा एमाले चौंरीदेउराली – काठमाण्डौं मञ्चको अध्यक्षमा गौतम सर्वसम्मत

    बनेपा । आगामी मंसिर ४ मा हुने  प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको पुर्वसन्ध्यामा नेकपा एमाले चौंरीदेउराली-काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षमा युवा नेता अमृत गौतम सर्वसम्मत चयन भएका छन् ।

    कार्यक्रम नेकपा एमाले काभ्रे इन्चार्ज, पोलिट्व्युरो सदस्य पूर्व मन्त्री गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बास्कोटाले नेकपा एमाले टोलटोलमा जान आवश्यक रहेको र आगामी निर्वाचनमा नेकपा एमालेले सानदार विजय हाँसिल गर्ने उद्घोष गरे ।

    त्यस्तै मञ्चका नवनिर्वाचित अध्यक्ष गौतमले नेपालका राजनीतिक दलहरु प्रतिको वितृष्णा एवं बहुदलिय व्यवस्था प्रति खडा भएको राजनीतिक चुनौतीलाई वैचारिक रुपमा चिर्नका  लागि आफू सक्रिय रहने बताए । आगामी निर्वाचनमा अपेक्षित परिणाम हाँसिल गर्ने गरी जिम्मेवारी पूरा गर्ने प्रण समेत गौतमले लिएका छन् ।

    सम्पर्क मञ्चको अध्यक्षको जिम्मेवारी प्रदान गरिएकोमा गौतमले नेकपा(एमाले) चौंरीदेउराली गाँउपालिकाकाका नेतृत्व, समकक्षीहरू लगायतका व्यक्तिहरूलाई आभार प्रकट गरेका छन् । सबैको साथ, सहयोग अनि सद्भाव प्राप्त भइरहने विश्वास समेत गौतमले लिएका छन् ।

    कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य नविना लामा, नेकपा एमाले काभ्रेका उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, स्थानीय चुनावमा चौरीदेउराली गाउँपालिका अध्यक्षका प्रत्याशी जितराम लामा, युवा संघका नेता विक्रम चौलागाईं लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण दिइएको थियो भने मञ्चले नयाँ कमिटी पदाधिकारी समेत पूर्णता पाएको छ ।

  • ‘काभ्रे महोत्सव २०७९’ असोजमा आयोजना गरिने

    ‘काभ्रे महोत्सव २०७९’ असोजमा आयोजना गरिने

    बनेपा । ‘व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि’ को नारा आत्मसाथ गर्दै आगामी असोज ३ गतेदेखि १५ गतेसम्म बनेपाको उग्रेश्वर महादेव मन्दिर परिसरमा काभ्रे महोत्सव २०७९ आयोजना गरिने भएको छ ।
    काभ्रे उद्योग वाणिज्य संघले बडा दशैंको पुर्वसन्ध्यामा गर्ने कार्यक्रममा उपत्यकाका जिल्लाहरू, काभ्रे, सिन्धुली, दोलखा लगायतकाका बासिन्दाहरूले लाभ लिन सक्ने उल्लेख गरेको छ ‌। काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेंले कोभिड पछि थलिएको अर्थतन्त्र उकास्न महोत्सव फलदायी हुने बताउनु भयो ।
    महोत्सवमा स्थानीय कलासंस्कृति, औधोगिक व्यापार, घरेलु उत्पादन, कृषि, पर्यटन प्रवर्धनको जमर्को गर्ने र साथमा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारको बेजोड हास्यव्यङ्ग्य एवं साँस्कृतिक प्रस्तुति रहने काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले जानकारी दिनुभयो ।
    कार्यक्रममा व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासँघका सस्य सुरकृष्ण बैद्य, काभ्रे उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष/सल्लाहकारहरू एवं जिल्लामा रहेर विभिन्न सञ्चारमाध्यममा सक्रिय सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
    १३ दिन आयोजना हुने महोत्सवको सम्बन्धमा काभ्रे वाणिज्य संघले जानकारी गराउन तथा सुझाव लिनको लागि आज भदौ २२ गते काभ्रे उद्योग वाणिज्य सँघको भवनमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
  • मोतियाविन्दुको निःशुल्क उपचार गर्न सम्झौता

    मोतियाविन्दुको निःशुल्क उपचार गर्न सम्झौता

    भकुण्डेवेशी ।  नमोबुद्ध नगरपालिकाले मोतियाविन्दु भएका नगरवासीलाई निशुल्क उपचार (शल्यक्रिया) को व्यवस्था मिलाएको छ ।

    रेयुकाई एइको मासुनासा आँखा अस्पताल बनेपासंग सम्झौता गरेर निःशुल्क उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए ।

    नगरबासीहरूलाई दृष्टिको समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाएको नगर प्रमुख लामाले बताए । प्रमुख लामाका अनुसार मोतियाबिन्दुको समस्या भएकाले वडाबाट सिफारिस लिएर बनेपास्थित रेयुकाई आँखा अस्पतालबाट सेवा लिन सक्नेछन् ।

    वडाको सिफारिस लिएर आउने सबैलाई निःशुल्क उपचारको व्यवस्था मिलाइने अस्पताल सञ्चालक समितिका महासचिव हिरामणि शर्माले जानकारी दिए ।

    नगरपालिका र अस्पतालविच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । नगरपालिकाको तर्फबाट प्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल र अस्पतालको तर्फबाट अध्यक्ष मधुप्रसाद आचार्य र महासचिव हिरामणि शर्माले हस्ताक्षर गर्नुभएको छ ।

    मोतियाविन्दु पहिचानको लागि नगरपालिकाले अस्पतालको प्राविधिक सहयोगमा विभिन्न समयमा आँखा शिविर समेत गर्दै आएको छ ।

  • विपद न्यूनिकरणका लागि परामर्श बैठक सम्पन्न

    विपद न्यूनिकरणका लागि परामर्श बैठक सम्पन्न

    धुलिखेल । जिल्ला विपद् व्यवस्थापन समितिको परामर्श बैठक प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ । विपद् जुनसुकै बेला आउन सक्ने र सरकार एवं तालुकदार निकायहरु सजग र विपद् प्रतिकार्य गर्न पूर्व तयारी गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । काभ्रेमा १३ वटा स्थानीय तह रहेको र हरेक पालिकामा फरक फरक खालको विपद्का घटना हुन सक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेको जिकिर थियो । जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधि सहभागी विपद् व्यवस्थापन परामर्श बैठक विपद् न्यूनीकरणमा सहयोग पु¥याउने सामाजिक संस्थाले समन्वय गरेका थिए । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जिल्लामा हुने हरेक विपद्का घटनामा स्थानीय सरकारले तत्काल सम्बोधन गर्नु पर्ने बताउनु भयो ।

    विपद् न्यूनीकरण गर्न स्थानीय सरकारको ठुलो भूमिका हुने कुरा प्रष्ट पार्दै जिसस प्रमुख गौतमले घटना हुनै नदिन र घटना भएपनि छोटो समयमा न्यूनीकरणको अभ्यास स्थानीय सरकारले थालनी गर्नुपर्ने बताउनुभयो । प्रमुख गौतमले प्राकृतिक प्रकोपका घटनामा जिल्लामा रहेका खानी तथा क्रसरहरू पनि प्रमुख माध्यम रहेको बताए । उनले सबै उद्योगहरु मापदण्ड भित्र रहेर सञ्चालन गर्न अनुरोध गर्नु भयो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लाका विपद् व्यवस्थापनको चित्रण गर्नुभएको थियो । प्रजिअ पाण्डेले विपद् व्यवस्थापनको लागि आवश्यक सामग्री र जनशक्ति जस्तै दमकल, एम्बुलेन्स, शव वाहन लगायतका अत्यावश्यक सवारी साधन सञ्चालन गर्न एकीकृत संयन्त्र आवश्यक रहेको बताउनु भयो । क्रसर र खानीका कारण आउन सक्ने दुर्घटना न्यूनीकरण तथा विपद् व्यवस्थापनका लागि सबै पक्ष सचेत रहनु पर्ने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जोड दिनु भयो ।

    परामर्श बैठकमा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा, मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेल, चौरी देउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई, बेथान्चोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवा लगायतले स्थानीय तहमा विपद् व्यवस्थापनका लागि भएका प्रयास तथा विपदको जोखिमका बारेमा धारणा राखेका थिए ।
    जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुले विपद् व्यवस्थापनका लागि आउन सक्ने जोखिम र स्थानीय सरकारको तयारीका बारेमा धारणा राखेका थिए । नेपाली सेना कालीजंग गणका गणपति कर्णेल मिलन थापा, प्रहरी प्रमुख एसपी चक्रराज जोशी, सशस्त्र प्रहरी प्रमुख सुरेन्द्र बुढाथोकी, राष्ट्रिय अनुसन्धानका प्रमुख नगेन्द्रप्रसाद दाहाल, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोथम सेढाई, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी लगायतका संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    विपद् व्यवस्थापनका लागि सरोकारवाला कार्यालयका प्रतिनिधिहरुले बैठकमा विपद् रोकथामका लागि कार्यालयले गर्ने योजनाका बारेमा प्रस्तुती गरेका थिए । बैठकले विभिन्न निर्णय गर्दै कार्यक्रमको समापन गरेको थियो ।

  • पनौतीमा पर्यटक सूचना केन्द्रको पुनः सुभारम्भ

    पनौतीमा पर्यटक सूचना केन्द्रको पुनः सुभारम्भ

    पनौती । पनौती पर्यटन विकास केन्द्रको १५ औ स्थापना दिवसको मिति २०७९ साउन ११ गतेका पनौती वडा नं. ७ स्थित योमरी स्तम्भमा पनौती पर्यटक सूचना केन्द्रको पुन सुभारम्भ पनौती नगरपालिका मेयर रामशरण भण्डारीद्धारा उद्घाटन गरि गरि मनाईयो । यस सस्थाका अध्यक्ष राजेन्द्रमहाजुको सभापतीत्वमा भएको कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारी ज्यू प्रमुख अतिथि, पनौती नगर पालिका वडा नंं. ७ का वडा अध्यक्ष सविन ताम्राकार ज्यू विशिष्ट अतिथि, यस सस्थाका सस्थापक अध्यक्ष सुरेश सैजु, प्रेश युनियन का केन्द्रिय सदस्य नारायण सापकोटा , विदेश पाहुना लगायत विभिन्न सघंसस्थाका पदाधिकारी र यस संस्थाका सदस्यहरुको माझमा पनौतीमा आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पनौतीको सहि जानकारी दिनको लागि यो सूचना केन्द्रको सेवा उपलब्ध गराएको अध्यक्ष राजेन्द्र महाजुले जानकारी दिनुभयो ।

    संस्थापक अध्यक्ष सुरेश सैजुले पनौतीमा यस सस्थाले पनौती होमस्टे, पनौती महोत्सव, देवीनाच, पनौतीको १२ वटा वडाहरुको फोटो प्रर्दशनी लगायत विभिन्न कार्य गरि पनौतीको प्रचारप्रसार गरिरहेकोमा पनौती नगरपालिका र स्थानिय वडाको साथ र सहयोग र सहकार्य गरि पनौतीको पर्यटनबाट स्थानिय समुदायको आयआर्जन वृद्धिमा सहयोग हुने कुरा गर्नुभयो ।

    पनौती न. पा. वडा नंं. ७ का वडा अध्यक्ष सविन ताम्राकारले आफ्नु वडाले पर्यटन लाई केन्द्रमा राखेर काम गर्ने र आवश्यक सहयोगको लागि सधै तयार भएको जानकारी दिनुभयो ।

    नगरप्रमुख रामशरण भण्डारीले पनौती पर्यटन विकास केन्द्रको योगदानको कदर गर्दै हातेमालो गर्दै अगाडी बढ्ने कुरा गर्नुभयो । यस कार्यक्रममा खाजाको रुपमा योमरीको व्यवस्थापन गरि स्थानिय श्रम र सिपको सदुपयोग गरिएको अध्याक्ष राजेन्द्र महाजुले बताउनुभयो ।

  • चौंरीदेउरालीलाई एम्बुलेन्स उपहार

    चौंरीदेउरालीलाई एम्बुलेन्स उपहार

    चौंरीदेउराली । चौंरीदेउराली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिकालाई एम्बुलेन्स उपहार स्वरुप एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

    एम्बुलेन्स गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंलाई हस्तान्तरण गरिएको थियो । पालिकाको जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै एम्बुलेन्सको लागि निवर्तमान अध्यक्ष दिननाथ गौतम र वर्तमान अध्यक्ष चौंलागाईंले पहल गरेकी थिइन् ।

    काभ्रेको विकट क्षेत्र भनेर चिनिने कोशीपारीको चौंरीदेउराली गाउँपालिकाका जनतालाई एम्बुलेन्सको अपुग भएपछि निवर्तमान अध्यक्ष गौतम र वर्तमान अध्यक्ष चौंलागाईंले पहल गरेका थिए ।

    ‘गाउँपालिकामा भएको एम्बेलेन्सले मात्र जनताको सेवा गर्न निक्कै कठिन थियो । भौगोलिक विकटताले गर्दा विरामी जनतालाई सेवा दिन गाह्रो थियो ।’ अध्यक्ष चौंलागाईंले भनिन्, ‘अब नयाँ एम्बुलेन्स पाएपछि ठूलै राहत मिलेको छ । एम्बुलेन्सको अभावकै कारण अब जनताले स्वास्थ्य उपचारबाट बञ्चिन हुनुपर्दैन ।’ अध्यक्ष चौंलागाईंले एम्बुलेन्सको लागि विशेष पहल गर्ने अर्थमन्त्री जनार्दन शर्मा र निवर्तमान अध्यक्ष दिननाथ गौतमलाई धन्यवाद दिएकी छिन् ।

  • स्थानीय तहमा न्याय निरुपणको विषयमा एक दिने अन्तरक्रिया सम्पन्न

    स्थानीय तहमा न्याय निरुपणको विषयमा एक दिने अन्तरक्रिया सम्पन्न

    धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा स्थानीय तहमा परेका उजुरी एवं मुद्दा फर्छ्यौट एवं विवाद निरुपण सम्बन्धमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ‌। जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको अध्यक्षतामा बसेको छलफल कार्यक्रममा स्थानीय स्तरमा उठ्ने बिबाद एवं मुद्दालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।

    कार्यक्रममा उपस्थित न्याय समितिका पदाधिकारीको प्रश्न एवं गुनासाहरूको प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईले सम्बोधन गर्दै स्थानीय तहमै सम्बोधन गर्न सकिने र कानुनको दायरा लगायत बिषय सम्बन्धमा प्रस्ट्याउनु भएको थियो ।

    छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सुरक्षा सम्बन्धी विषयलाई मात्र आफूहरूले कार्यान्वयन गर्न सकिने हुँदा स्थानीय स्तरमा ससना झैझगडा मिलापत्र गरेमा स्थानीय तह जिम्मेवार हुने र जिल्लामा पनि अधिक कार्यभार नहुने बताउनुभयो ।

    आफन्त आफन्तको झगडा एवं स्थानीय स्तरमै समाधान गर्न सकिने विषयहरूलाई स्थानीय स्तरमै समाधान हुँदा प्रहरीलाई सहज हुने काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले बताउनुभयो ।

    कार्यक्रमको समापन गर्दै जिसस प्रमुख गौतमले स्थानीय जनप्रतिनिधि एवं स्थानीय न्यायसमितिका पदाधिकारीहरूलाई दलगत स्वार्थबाट अघि बढेर हातेमालो गर्दै जनताको सुख दु:खमा सहयात्री हुन र स्थानीय स्तरका बेमेल झैझगडा स्थानीय तहमै समाधान गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा जिसस प्रमुख दिपक गौतम, जिसस उपप्रमुख रिम बहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, काभ्रे प्रहरी प्रमुख चक्रराज जोशी, जिल्ला समन्वय अधिकारी भीमप्रसाद भट्टराई, स्थानीय तहका उपप्रमुख एवं न्याय समितिका संयोजकहरू, न्याय समितिका सदस्यहरु, मेलमिलापकर्ता, जिसस पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

  • बनेपामा पानीपुरी चटपटे लगायत खुला ठेलामा खाद्य वस्तु विक्री वितरणमा रोक

    बनेपामा पानीपुरी चटपटे लगायत खुला ठेलामा खाद्य वस्तु विक्री वितरणमा रोक

    बनेपा । काभ्रेको बनेपा नगरपालिकाले हैजा, झाडापखाला लगायतका सरुवा रोगबाट बच्न पानीपुरी चटपटे लगायतका खुला सामग्री विक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै हैजा झाडापखालाबाट बच्न नगरबासीलाई आग्रह गरेको छ ।

     

    हाल काठमाडौं उपत्यकामा हैजा झाडापखालाका बिरामीहरू देखापरिरहेको सन्दर्भमा बनेपा नगरपालिकामा पनि संक्रमण हुन सक्ने भएकाले सुरक्षित रहन खुल्ला खाद्यवस्तु उपभोगमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।

     

    वर्षा याममा अधिक मात्रामा हैजा झाडापखाला फैलिन सक्ने भएकाले चर्पीमा मात्र दिसापिसाब गर्न, दिसापिसाब गरी सकेपछि साबुन पानीले मिचिमिची हात धुन, खाना खानु बनाउनु अगाडि साबुन पानीले हात धुन, पानी शुद्धीकरणका विविध उपाय अपनाएर मात्र पिउन एवं बासी, सडेगलेको, झिङ्गा भन्केको खानेकुरा नखान आम नगरबासीहरूलाई नगरपालिकाले आग्रह गरेको छ ।