Category: स्थानीय खबर

  • डेंगी जोखिम घटाउन खोज र नष्ट गर अभियान

    डेंगी जोखिम घटाउन खोज र नष्ट गर अभियान

    बनेपा । हरेक शुक्रबार साढे १० बजे १० मिनेट खोज र नष्ट गर राष्ट्रिय अभियान सफल बनाउन सबद्ध निकाय र नागरिकहरु लागि परेका छन् । डेंगी लगायतका लामखुट्टेको टोकाइबाट फैलिने रोगहरुको नियन्त्रणमा सरकारले ल्याएको अभियान काभ्रेमा पनि सञ्चालन भएको पाइएको छ । जिल्लाका प्रत्येक स्थानीय तह, स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

    खोज र नष्ट गर अभियान बनेपा नगरपालिका वडा नं. १३ साँगामा सञ्चालन गरिएको छ । कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय,, स्वास्थ्य कार्यालय, जिल्ला स्थित सुरक्षा निकाय, नेपाल आर्मी, बनेपा नगरपालिका प्रमुख उपप्रमुख, वडा नं. १३ का वडा अध्यक्ष एवं नागरिकको सहभागिता रहेको थियो ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको आयोजनामा भएको अभियानमा सरकारी संघसंस्था, प्रतिनिधि एवं नागरिकहरुको उल्लेख्य सहभागितामा सम्पन्न भएको हो । कार्यक्रममा लामखुट्टेको बासस्थान रहने खाल्डाखुल्डी टायरहरुको व्यवस्थापन गरिएको थियो ।

    कार्यक्रममा जिसस प्रमुख दीपक कुमार गौतम, सिडिओ पुन्यविक्रम पौडेल, स्वास्थ्य कार्यालयमा प्रमुख डा. पुरुषोत्तम सेढाई, सुरक्षा निकायका पदाधिकारी एवं बनेपा नगरपालिका प्रमुख शान्तिरन्त शाक्य र उपप्रमुख विमला सापकोटा लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

    त्यस्तै खोज र नष्ट गर कार्यक्रम मंगलटार स्वास्थ्य चौकी, भुम्लु–२ स्थित सिम्थली स्वास्थ्य चौकी, भुम्लुटार स्वास्थ्य चौकी लगायत, स्थानीय तहहरुमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानकै रुपमा सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

  • मण्डनदेउपुरमा कृषि समूहले थाल्यो सामुहिक बाख्रा पालन

    मण्डनदेउपुरमा कृषि समूहले थाल्यो सामुहिक बाख्रा पालन

    मण्डनदेउपुर । मण्डनदेउपुर नगरपालिकामा सामूहिक बाख्रा पालन आरम्भ भएको छ । नगरपालिकाको बाख्रा पकेट क्षेत्र अन्तर्गत वडा नम्बर ११ भाटपोलमा सामुहिक बाख्रा पालन आरम्भ भएको हो ।

    जय लक्ष्मी महिला विकास कृषि समूहले सामूहिक बाख्रा पालन थालनी गरेको हो । सामुहिक बाख्रा पालनको आज एक कार्यक्रमका बीच नगरप्रमुख टोक बहादुर वाईबाले उद्घाटन गर्नुभएको छ । नगरप्रमुख वाईबाले बाख्राबाट राम्रो आयआर्जन गर्न सकिने भन्दै काम गरेर नमुना बन्न आग्रह गर्नुभयो । सामूहिक काम गर्दा आईपर्ने समस्याका बारे चनाखो हुन उहाँले सचेत गराउनुभयो ।

    वडा वडामा पशु स्वास्थ्य प्राविधिक रहेको भन्दै बेला बेला फार्ममा ल्याएर बाख्राको जाँच गराउन आग्रह गर्नुभयो । बाख्रा बस्ने ठाउँ राम्रो बनाउनु पर्नेमा जोड दिनुभयो । ‘बाख्रा बस्ने ठाउँ सफा सुग्घर हुनुपर्छ । रोग लाग्न सक्छ । बेला बेला पशु स्वास्थ्य प्राविधिक ल्याएर जाँच गराउनु होला ।’ मेयर वाईबाले भन्नुभयो ।

    नगरप्रमुख वाईबाले सबै बाख्राको बिमा गर्न अनुरोध गर्नुभयो । ‘बाख्राको बटकुला, पिसाबको निकाश राम्रोसंग गर्नु होला । यो उदाहरणीय बनोस् । अन्य ठाउँका मानिस समेत आएर हेर्ने फार्मका रुपमा विकास गर्न नगरप्रमुख वाईबाको आग्रह गर्नुभयो ।

    उपप्रमुख विष्णुमणि नेपालले योजनाबद्ध काम गर्न अनुरोध गर्नुभयो । जिम्मेवारी विभाजन गरेर काम गर्नु पर्नेमा उहाँको जोड थियो । ‘राज्यको लगानी खेर जान नदिनुहोस्, बाख्रा राम्रोसंग पाल्नुभयो भने तपाई र नगरपालिका समृद्ध हुन्छ । राम्रो कामको सुरुवात गर्नु भएकोछ, यसलाई राम्रोसंग अघि बढाउनु होस् ।’ उपप्रमुख नेपालले भन्नुभयो ।

    वडा अध्यक्ष दिपेन्द्र लामाले बाख्रा पालनका लागि यो स्थान उपयुक्त भएको बताउनुभयो । सामुहिक काम गर्दा सबैले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । ईमान्दारिता पूर्वक काम गर्न समूहलाई आग्रह गर्नुभयो । पर्याप्त अनुगमन र समन्वय गर्न आवश्यक रहेको वडा अध्यक्ष लामाको भनाई थियो ।

    नगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख ध्रुब प्रसाद पराजुलीले यो फार्म नगरपालिकाकै पहिलो सामूहिक बाख्रा पालना भएको बताउनुभयो । स्थानीय बाख्रा र उन्नजातको बोकाको नश्ल मार्फत आयआर्जन बढाउन सकिने उहाँले बताउनुभयो । नगरपालिकाभित्र बाख्रा स्रोत केन्द्रको रूपमा विकास समेत सामूहिक बाख्रा पालन कार्यले मद्दत पुग्ने शाखा प्रमुख पराजुलीले बताउनुभयो ।

    यो सामुहिक बाख्रा पालनका लागि स्थानीय ५१ जनाले ६÷६ हजार रूपियाँ लगानी गरेका छन् । खोरमा अहिले ४० वटा बाख्रा रहेका छन् । खोर निर्माण गर्नदेखि बाख्रा किन्न समेत नगरपालिकाले सहायता प्रदान गरेको थियो ।

  • शरदलाई जिताउन पनौतीले सुरु गऱ्यो संस्थागत पहल

    शरदलाई जिताउन पनौतीले सुरु गऱ्यो संस्थागत पहल

    पनौती । मेरो भ्वाइस युनिभर्समा शीर्ष सातौँ स्थानमा पुग्न सफल गायक शरद हुमागाईंलाई जिताउन संस्थागत रुपमै अभियान थालिएको छ । हुमागाईंको गृह नगर पनौती नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दै सम्पूर्ण पनौती नगरबासी, नेपाली दाजुभाइ एवं विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरुलाई भोट गरि अगाढि बढाउन आग्रह गरेको छ ।

    नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै पनौती नगरपालिका २ कुशादेवीका हुमागाईलाई मेरो भ्वाइस युनिभर्समा जिताउन आग्रह गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिका प्रमुख रामशरण हुमागाईंले शीर्ष सातौँ स्थानमा पुग्नु पनौती बासीहरुका लागि गौरवको विषय भएको बताए ।

    नगरप्रमुख भण्डारीले शरदलाई पहिलो स्थानमा ल्याउन व्यक्तिगत एवं नगरपालिकाको तर्फबाट आग्रह गरेका थिए । पनौतीको नाम उज्यालो पार्ने व्यक्तिलाई सहयोग गर्नु आफ्नो दायित्व भएकोले आफू पनि सहयोग गर्ने र अरुलाई पनि आग्रह गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिका उपप्रमुख गीता बञ्जाराले एउटा इट्टामा अर्को इट्टा थपे जसरी हातमा हात मिलाएर सहयोग गर्न आग्रह गरिन् ।

    इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स ‘ सांगितिक प्रतिस्पर्धात्मक नेपाल सहित विश्वका ५२ देशबाट छानिएका प्रतिस्पर्धी सहभागि भएका थिए । २० वर्षकै उमेरमा गायनमा अगाडि बढेका हुमागाईंलाई मतदान गरेर विजयी बनाइदिन हुमागाईकी आमा विनिता हुमागाईंले आग्रह गर्नुभयो ।

    बनेपाको निष्ट कलेजमा स्नातक बिसिए पढ्दै गरेका शरद बाल्यकालदेखि नै गीतसंगीतमा रुचि राख्दथे । शरदलाई दिवंगत बुबाको गायक बनाउने सपना थियो । तर उनी कक्षा १० मा अध्ययनरत हुदाँ नै पिता गुमाउन पुगे । यद्यपी उनले अध्ययन गरेको बचेको समयमा संगीतको रियाज गरेर आफूलाई अभ्यस्त गराएको बताइएको थियो ।

    पत्रकार सम्मेलन कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले कलासंस्कृति, गीतसंगीतमा गर्व गर्न लायक व्यक्तिहरु नेपालमा उदय भइसकेको बताउनुभयो । सिंगो जिल्ला प्रतिनिधित्व गर्ने भएकाले हुमागाईलाई जिताउनुपर्ने बताउनुभयो । समाचारसँगै आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    त्यस्तै पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले बागमती प्रदेशकै प्रतिनिधित्व गरि पनौतीलाई विश्वसामु चिनाउने अभियानमा बढिरहेका हुमागाईलाई साथ आवश्यक रहेको चर्चा गर्नुभयो । शरदलाई अन्तिम चरणसम्म साथ दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पनौती नगरपालिका वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी एवं काभ्रेली सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

    शरदलाई जिताउन ‘माइ इन्ट्रा’ एप वा मेरो भ्वाइस युनिभर्सको आधिकारिक वेभ ठेगानामा लगइन गरि आइएमई पे, खल्ती, इसेवा वा पे टिएम मार्फत निःशुल्क, एक भोटदेखि २० हजार भोट हाल्न सकिने व्यवस्था छ । काभ्रेपलाञ्चोक जिल्लाको चम्किलो नक्षत्रको रुपमा आएका शरदलाई सबैको साथको आवश्यकता रहेको छ ।

    इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा अर्को रियालिटी’मेरो डान्स युनिभर्स’ को समेत नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

  • बनेपा नगरपालिकाद्वारा सहकारी सम्बद्ध व्यक्तिहरूलाई संवेदनशील बन्न आग्रह

    बनेपा नगरपालिकाद्वारा सहकारी सम्बद्ध व्यक्तिहरूलाई संवेदनशील बन्न आग्रह

    बनेपा । बनेपा नगरपालिकाले सहकारीबाट कर्जा लिइ चुक्ता नगरेका संस्थाका सम्बन्धित सदस्यहरुले सयममानै कर्जा चुक्ता गरिदिनुहुन र वचतकर्ताहरुको वचत रकमको सुरक्षाको लागि सम्बन्धित सहकारी संस्थाहरुका पदाधिकारीहरु पनि संवेदनशिल भई दिनुहुन अनुरोध गरेको छ ।

     

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईले साउन ७ गते एक सूचना जारी गर्दै सहकारी क्षेत्र सो क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई सम्बेदनशील हुन आग्रह गरेका हुन् ।

     

    वचतकर्ताहरुको वचत रकमको सुरक्षाको लागि जिम्मेवार पक्षहरुबाट लापरवाही गरेको पाईएमा बनेपा नगरपालिकाको वाह्रौ नगरसभाबाट भएको निर्णय अनुसार जायजेथा रोक्का गर्ने लगायतका कारबाही प्रक्रियाहरू अगाडि बढ्ने जनाइएको छ ।

     

     

    प्रस्तुत छ बनेपा नगरपालिकाद्वारा जारी सूचना  

     

    यस बनेपा नगरपालिकाको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाहरुबाट कर्जा लिई संस्थाले ताकेता गर्दा पनि नियमानुसार कर्जा चुक्ता नगरेका संस्थाका सम्बन्धित सदस्यहरुले सयममानै कर्जा चुक्ता गरिदिनुहुन र वचतकर्ताहरुको वचत रकमको सुरक्षाको लागि सम्बन्धित सहकारी संस्थाहरुका पदाधिकारीहरु पनि संवेदनशिल भई दिनुहुन अनुरोध गरिन्छ । 

     

    वचतकर्ताहरुको वचत रकमको सुरक्षाको लागि जिम्मेवार पक्षहरुबाट लापरवाही गरेको पाईएमा बनेपा नगरपालिकाको वाह्रौ नगरसभाबाट भएको निर्णय अनुसार सम्बन्धित सहकारी संस्थाले पटक पटक तोकेता गर्दा पनि ऋण नतिर्ने सम्वन्धित ऋणीहरुको हकमा सम्वन्धित सहकारी संस्थाले अनुरोध गरेमा र सहकारी संस्थाका पदाधिकारीको हकमा यस कार्यालयले त्यस्तो अवस्था पाएमा निजहरुको र निजहरुको एकाघरका व्यक्तिहरुको नाममा रहेको जायजेथा रोक्का राख्न तथा स्थानीय स्तरमा सार्वजनिक निकायबाट निजहरुलाई उपलब्ध गराईएका सेवा सुविधाहरु स्थगन गर्न एवं नियमानुसार अन्य कारवाही प्रक्रिया अघि वढाउन सम्बन्धित निकायहरुलाई अनुरोध गरिने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

  • ज्ञानकुञ्जको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ज्ञानकुञ्जको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

    बनेपा । जिल्लाका उत्कृष्ट शिक्षण संस्था मध्यको एक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा बनेपामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

    नव आगन्तुक विद्यार्थीहरुलाई मार्ग निर्देशन गराउने उद्देश्यका साथ आयोजित कार्यक्रममा ख्याति प्राप्त सञ्चारकर्मी एवमं प्रशिक्षक रुपेश श्रेष्ठले विद्यार्थीहरुलाई अबका दिनमा आफ्नो पढाईलाई कसरी नैतिक, व्यावहारिक र व्यावसायीक बनाउने भन्ने बारे प्रशिक्षण दिएका थिए ।

     

    करिब दुई घण्टा सम्म चलेको प्रशिक्षण कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्रतिष्ठानका सञ्चालक एवमं प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । निर्देशक वैद्यले सामाजिक रुपान्तरणका लागि आफू भन्दा ठूलालाई आदर, सानालाई माया, स्नेह दिने बानी बसाली समाजमा उदारहरणीय व्यक्तित्व बन्नुपर्ने बताए ।

    निर्देशक वैद्यले उपस्थित विद्यार्थीप्रति इङ्कित गर्दै आरोह अवरोहका बिच साथ दिनुहुने अभिभावक ज्यूहरुलाई खुसी राख्न सकेमा जीवनमा कहिले पनि असफल हुनु नपर्ने तर्क राख्नुभयो ।

    सहायक कलेज प्रमुख नवराज चौलागाईले कार्यक्रमको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा सञ्चालक आत्माराम थापा, सहायक प्रधानाध्यपक रत्नराज खतिवडा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    Designing future in Management  शीर्षक दिएर आयोजना गरिएको प्रशिक्षण कार्यक्रम निकै फलदायी बनेको सहभागी विद्यार्थीहरुले बताए ।

    नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षा भन्ने मूल नारालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको प्रतिष्ठानले नियमित रुपमा विद्यार्थी लक्षित कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ । यस्ता किसिमको कार्यक्रमहरुबाट सो प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुको पढाईका साथ साथै अतिरिक्त क्रियाकलापहरुमा पनि अब्बल नेतृत्व गर्न सक्ने क्षमतामा वृद्धि हुने बताइएको छ ।

    व्यबस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम, कम्प्युटर साइन्स, अर्थशास्त्र, बजार व्यवस्थापन सम्बन्धी अध्ययन अध्यापन गरिनेका साथै व्यवहारिक र व्यवसायिक शिक्षा मार्फत विद्यार्थीहरुलाई उद्देमी तथा व्यवसायमा अग्रसर हुन सदा सर्वदा उत्साहित गराई राख्ने सो प्रतिष्ठान आम अभिभावक तथा विद्यार्थीहरुको पहिलो शैक्षिक गन्तब्यको रुपमा बिगत १५ वर्ष देखि चिर परिचित रहेको छ ।

    सहायक प्रिन्सिपल चौलागाईंले संस्थामा आवद्ध हुन आउनु भएका सम्पूर्ण विद्यार्थीहरुलाई आगामी दुई वर्षको अवधिभर निश्चिन्त भई गुणस्तरीय शिक्षा तथा आवश्यक शैक्षिक तथा अन्य क्रियाकलापहरुको चरणवद्ध रुपमा सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    यो पनि पढ्नुहोस्ः ज्ञानकुञ्जका विद्यार्थीहरु विभिन्न पेशा तथा क्षेत्रहरुमा नेतृत्वदायी भूमिकामा छन्ः नवराज चौलागाई,

     

  • नमोबुद्ध नगर सभाबाट आ‍.व २०८०/८१ को लागि नीति तथा कार्यक्रम र बजेट पारित

    नमोबुद्ध नगर सभाबाट आ‍.व २०८०/८१ को लागि नीति तथा कार्यक्रम र बजेट पारित

    भकुण्डेवेशी । नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकले आर्थिक बर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम, बजेट र आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

    पहिलो बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक बर्ष २०८०÷८१ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम, नगर उपप्रमुख रत्नबहादुर लामाले  आर्थिक बर्ष २०८०÷८१  को लागि प्रस्तुत गरेको ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको अनुमानित बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो । नगरले आगामी आर्थिक बर्षको लागि चालुतर्फ १७ करोड ९४ लाख २४ हजार १ सय  ९७  र पुँजीगततर्फ ५४ करोड ८१ लाख ४० हजार ६ सय ३० रुपैयाँको बजेट प्रस्ताव गरेको थियो ।

    सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०÷८१ को आर्थिक विधेयक, विधायन समितिका संयोजक एवं नगर प्रवक्ता टिकाबहादुर केसीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०÷०८१ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न बनेको विनियोजन विधेयक पनि सर्वसम्मतीले पारित गरेको छ ।

    न्यायिक समितिका संयोजक समेत रहनुभएका उपप्रमुख रत्नबहादुर लामाले न्यायिक समितिको प्रतिवेदन र प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले चालु आर्थिक बर्ष २०७९÷८० को बार्षिक नगर योजना माथिको वित्तिय प्रगति प्रतिवेदन पनि सर्वसम्मतीले पारित भएको छ ।

    नगर सभाले विभिन्न मितिमा भएका कार्यपालिका बैठकको निर्णयहरु पनि अनुमोदन गरेको छ । सभाले दोश्रो नगरसभाको तेश्रो अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबै जनप्रतिनिधिहरु, नगर सभा सदस्य, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारी, संघीय सरकार, बागमती प्रदेश सरकार, प्रतिनिधि सभा सदस्य, बागमती प्रदेश सभा सदस्य, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, उद्योगी व्यवसायी, प्राज्ञिक व्यक्तित्व, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी लगायत सम्पूर्ण शुभेच्छुक महानुभावहरु तथा सम्पूर्ण नगरवासीमा धन्यवाद ज्ञापन समेत गरेको छ ।

  • बनेपाको नागरिक हुँ भनेर गर्व गर्न लायक बनाउँछौं: शान्तिरत्न शाक्य, प्रमुख बनेपा नगरपालिका

    बनेपाको नागरिक हुँ भनेर गर्व गर्न लायक बनाउँछौं: शान्तिरत्न शाक्य, प्रमुख बनेपा नगरपालिका

    स्थानीय तह निर्वाचन २०७९ मा बनेपा नगरपालिकाको प्रमुखमा शान्ति रत्न शाक्य निर्वाचित हुनुभयो । बनेपा नगरपालिकाको नेतृत्व सम्हालेको एक वर्ष बितिसकेको छ ।

    जनताबाट अनुमोदित भएर आएपछि एक वर्षमा नगरपालिकामा के कस्ता कामहरु भइरहेको छ ? आगामी दिनमा नगरपालिकालाई समृद्ध बनाउन, नगर सौन्दर्यीकरण गर्न र नगरमा रोजगारी सिर्जना गरी समृद्ध नगरपालिका बनाउन के कस्ता कार्ययोजना रहेका छन् ?

    वर्षा याम लागेसँगै टड्कारो बन्ने बनेपा पुलबजार डुबान समाधानका विषका के कस्ता कामहरु भइरहेका छन् ? यिनै विविध विषयमा केन्द्रित रहेर काभ्रेको व्यापारिक नगरका नगरप्रमुख शाक्यसँग काभ्रे पोष्टले विशेष कुराकानीको सारसंक्षेप:

     Ο  निर्वाचन भएको एक वर्ष बित्यो । यो एक वर्षको अवधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

    ३० वैशाख २०७९ मा चुनाव भयो । जेठ ६ गते कार्यभार सम्हालेका थियौँ । आम मतदाताको घरदैलोमा जाँदा हामीले केही बाचा गरेका थियौँ । खानेपानी, शिक्षा सरसफाई र पुलबजार लगायतको क्षेत्र डुबानको समस्या जल्दोबल्दो थियो । यी समस्या समाधान गर्ने बचन मतदातासँग राखेका थियौँ । त्यसै अनुसार पहिलो दिनदेखि नै काम सुरू ग¥यौँ ।

    दुई पटक खोला सफा ग¥यौँ । खानेपानी समस्या समाधान ४ महिना भित्र गर्ने भनेका थियौँ । तीन महिनाभित्र पानी ल्याइयो तर पाइपलाइन, वितरण लाइन र मुख्य पाइपलाइनमा पनि धेरै भएर समस्या देखियो । यद्यपि, कुनैपनि हालतमा खानेपानी खुवाउनुपर्छ भन्ने दृढ विश्वास भएकाले हामी वैशाख १२ गतेबाट सञ्चालनमा ल्याएका छौँ ।

    वितरण लाइनमा अझैपनि ठाउँठाउँमा लिकेजको समस्या छ, त्यो समाधानको काम पनि अगाडि बढाएका छौँ । नगरको ‘कोर’ क्षेत्र भित्र भएको पानीको समस्या निराकरण गर्ने लक्ष्य लिएका छौँ ।

    शिक्षामा २५ वर्ष अघि नै पूर्ण साक्षर नगरकोरुपमा घोषित भएको थियो । अब शैक्षिक गुणस्तरको लक्ष्य लिएर हिँडेका छौँ । साक्षरता ८५ प्रतिशतमा झरेको छ । यसलाई उकास्ने प्रयास गरिरहेका छौँ ।

    नगरमा सामुदायिक विद्यालयको गुणस्तर विकास गर्नका लागि प्रयासहरु गरिसकेका छौँ । यस वर्ष ४ वटा विद्यालयलाई नमुना विद्यालय बनाउने योजना छ । बजेट पनि निकासा भएको छ ।

    स्वास्थ्यमा पनि नगरले काम गरिरहेको छ । नगर अस्पतालको केही समयमअछि उद्घाटन गरेका छौँ । त्यो पनि विस्तार हुँदैछ । प्रत्येक वडामा वडा क्लिनिक सञ्चालन भइसकेको छ । हामीले हामीसँग भएको ४÷५ वटा ठूला–ठूला अस्पताल छन् ।

    शिर मेमोरियल, अपांग, रेयुकाई आँखा अस्पताल, स्पाइनल लगायतका अस्पतालसँग सहकार्य गरेर काम गरिरहेका छौँ । क्यान्सर हस्पिटलसँग सहकार्य छ । शिरमेमोरियलमा हाम्रो मातृ शिशु सम्बन्धि कार्यक्रम छ । स्पाइनलमा पनि १८ वर्षसम्मका बालबालिकाको उपचारमा सहयोग गरिरहेका छौँ ।

    बनेपा बुडोल स्थित रेयुकाई आँखा अस्पतालमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्न आर्थिक स्रोत उपलब्ध गराएका छौँ । र, भौतिक पूर्वाधारको क्षेत्रमा पनि काम तीव्र गतिमा अगाडि बढाएका छौँ ।

     Ο  कोर क्षेत्रमा डुबानको समस्यालाई कसरी लिनु भएको छ ?
    पुल बजार लगायत बनेपा बजार डुबानको समस्यालाई समाधान गर्न खोला सफा गर्ने कार्य हामी भर्खर मात्रै सम्पन्न ग¥यौ । यो समस्या दीर्घकालीन रुपमै समाधानका लागि हामी आगामी दिनमा काम गर्दै अघि बढ्नेछौँ ।

     Ο  नगर भित्रको सडक स्तरोन्नति कहिलेसम्म हुन्छ ?
    धेरै बाटाहरू निर्माण गर्ने योजना छ । तर, यति नै किलोमिटर भनेर वास्तविक डाटा छैन । प्रत्येक दिन नयाँनयाँ बाटो बनाउँदै छौँ । मुख्य बाटोहरुमा कालोपत्रे गर्ने ग्राभेल गर्ने योजना अगाडि बढाएका छौँ । बनेपाबाट नाला, नालाबाट काक्रेसम्मको बाटो बनिसकेको छ ।

    बनेपाबाट घिमिरे गाउँ हुँदै नगरकोट पुग्ने बाटोमा काम गरिसक्यौँ । करिब १ किलोमिटरभन्दा बढी नगरकोटको बाटोमा ग्राभेलिङ गरिसकेको छ । नगरकोको टावरसम्म पुग्न जम्मा १० किलोमिटरको दुरीमा छ । अन्य बाटोबाट ३० देखि ४० किलोमिटर हिँड्नपर्छ । त्यो बाटो प्राथिमिकतामा छ ।

    बासडोलको बाटोमा केही बाधा अड्चन छन् । ठेकेदारको कारणले काम पूरा भएको छैन । साँगा आशापुरीको बाटो बन्दै छ । त्यो ढलान हुँदै छ । अर्को महत्वपूर्ण योजना अरनिको राजमार्ग हो, त्यो पनि बन्दै छ । अघिल्लो नेतृत्वले पनि अरनिको राजमार्ग बनेपा पुलबजारदेखि बुडोलसम्म ग्राभेलिङ पिच गर्ने भन्ने कुरा थियो । त्यस विषयमा डिभिजन सडक कार्यालय भक्तपुरसँग पनि नियमित छलफल भएको थियो ।

     Ο  नगरलाई सुन्दर हराभरा बनाउन कस्तो नीति तथा योजना बनाउनु भएको छ ?
    पुलबजारदेखि बुडोलसम्म घना जनसंख्या भएको क्षेत्र हो । यो विकसित ठाउँपनि हो । यसमा गएको वर्ष नै हामीले सौन्दर्यीकरण गन वृक्षारोपण गर्ने, फुटपाथ व्यवस्थापन गर्यो । फुटपाथ मान्छे हिँड्ने मात्र नभई पसल राख्ने ठाउँ जस्तो देखिएको थियो । यसलाई समाधान गर्न सफल भएका छौँ ।

     Ο  तर, फुटपाथ समस्या पूर्ण समाधान नभएको गुनासो सुनिन्छ नि ?
    समय अनुसार व्यवस्थापन गरेका छौँ । व्यापारीलाई पनि सहज होस् भनेर बिहान ८ः३० बजेसम्म र बेलुकीको समयमा ६ बजेपछिको समय दिएका छौँ । कार्यालय समयमा फुटपाथ पसल राख्न दिएका छैनौँ ।

    रात्रीकालीन समयमा हामीले १ हजार भन्दा धेरै सडक बत्ती राखिसकेका छौँ । बुडोलदेखि भैसेपाटी साँगसम्मको ठाउँमा सम्भव ठाउँमा सडक बत्ती राखिएको छ । मुख्य मुख्यबाटो भएको स्थानमा १४ वटै वडाको विभिन्न स्थानमा सडक बत्ती जडान गरेका छौँ । प्रत्येक वडामा बत्ती जोडिसकिएको छ । तर, सीमित बजेटले काम गर्नुपर्ने भएकाले एक वर्षभित्र सम्भव भएन ।

    सरसफाई नियमित रुपमा भइरहको छ । सहरमा फोहोर नियमित व्यवस्थापन गर्न नसक्दा थुप्रिने गरेको थियो । यो समस्या समाधान भएको छ । फोहोरको नियमति व्यवस्थापन भएको छ । फोहोरलाई बाहिर निकाल्न रोक्यौँ । तरकारी उत्पादन गर्नका लागि किचेनबाट निस्कने जैविक फोहारेरको उचित व्यवस्थापनका लागि हामीले कम्पोस्ट मल बनाउने काम ग¥यौँ ।

    साँगा क्षेत्रबाट अरनिको राजमार्ग विस्तारको काम सुरु भइसकेको छ । यो योजना भदौबाट सुरु हुने योजना छ । यो २ देखि ३ महिनाको समयमा सकिन्छ ।

     Ο  सडक विस्तारमा समितिहरूसँग समन्वय भएको छ कि छैन ?
    बनेपाको कोर क्षेत्रमा भाद्रबाट सडक विस्तार गर्ने भनिएको छ । उहाँहरुको योजना अनुसार समन्वय राम्रो छ । हामीले अनुरोध पनि गरेका छौँ । यो क्षेत्रमा काम गर्दा लथालिङ्ग हुने देखिएको छ । सबै खनिसकेपछि बजार नै विस्थापित हुने देखिन्छ । गाडी रोक्ने ठाउँ हुँदैन । गाडीमा सामान लोड र अनलोड गर्ने कुरा आउँछ, त्यही हुन नपाएपछि कसरी व्यापार गर्नु ?

    त्यो एक दुई वर्ष होला , अहिले भएको खानेपानी पाइपलाइन, ढलको नाली सबै उखेलिने छ । त्यसको व्यवस्थापनका लागि कठिन हुने देखिन्छ । अहिलेको योजनामा पाइपलाईन जस्तो निकालेको छ त्यो त राखिदिनुहुन्छ । बनाउने समयसम्म अस्तव्यवस्त हुने देखिएको छ । सकेसम्म त्यसलाई न्यूनीकरण गर्न साइडमा ड्रेन र ढल बनाइदिन आग्रह गरेका छौँ ।

     Ο  चुनावमा रोजगारी सिर्जनालाई प्राथमिकता दिने भन्नु भएको थियो । बेरोजगार समस्यालाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ? युवालाई स्वरोजगार बनाउने योजना के छ ?

    नगरबासीलाई स्वरोजगार बनाउने हाम्रो लक्ष्य हो । त्यसको लागि कार्यक्रम अगाडि बढिसकेको छ । शैक्षिक क्यालेन्डर अनुसार एसईई पास गरेपछि प्लस–टु स्नातक गर्दै जानुहुन्छ ।

    तर, सिप विकासको लागि खासै त्यसले महत्वपूर्ण भूमिका खेल्न सक्दैन । एक विद्यार्थीले आफ्नो जीवन जिउन सक्ने शिक्षा र सिप दिनुपर्छ भन्ने हाम्रो लक्ष्य हो । उसले ३ महिने ६ महिने तालिम लियो भने सिपको प्रयोग गरि जीवन निर्वाह गर्न सक्छ ।

    विशेष सिप भएका जनशक्ति तयार गर्ने काम गरिरहेको छौँ । अटोमोबाइलको मेकानिक्स अभाव देखिएको छ । जसमा हाम्रा स्थानीयभन्दा पनि बाहिरका मानिसहरु बढी संलग्न छन् । यसमा तालिम दिने योजना छ । यस्ता कामहरु हामीले बनेपाका पोलिटेक्निकसँग सहकार्य गरि अगाडि बढेका छौँ ।  कफी बनाउने तालिम पनि  दिएका छौँ ।

     Ο  नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कसरी अघि बढ्नेछन् ?
    शिक्षा, स्वास्थ्य, रोजगार, खोनपानी, फोहोर व्यवस्थापनको नियममित काम हुनुपर्दछ । संघ र प्रदेशबाट हामीलाई बजेट कटौती भएको छ । बनेपा नगरपालिका व्यापारको हब हो । अरनिको राजमार्ग र विपी राजमार्ग दुई राजमार्गको संगम भएको हिसाबले हामीले व्यवस्थापन गर्नुपर्र्ने छ । चीनकोे सीमा खुलेसँगै ठूला–ठूला सवारीको चाप बढ्ने निश्चित छ । पूर्वतिरका साना ठूला गाडीहरु यहीबाट जाने गर्दछ ।

    पार्किङको समस्या छ । पार्किङ्गको निर्माण गर्नु पर्ने छ । भोलिका दिनमा सडक विस्तार भएपछि पनि अहिलेको जसरी पार्किङ्ग गर्न सम्भव छैन । त्यसको व्यवस्थित गर्न पार्किङ्ग बनाउने विषयमा नगर विकास कोषसँग छलफल भइसकेको छ । डिजाइन र डीपीआरको काम हुँदैछ ।

    नगरपालिकाले बसपार्कको छेउमा भएको जग्गामा करिब १०० बटा गाडी पार्किङ्ग गर्न मिल्ने गरि काम गर्दैछौँ । भोलिका दिनमा समस्या बाइपासको हुन सक्छ । नियमित ठूला गाडी गुड्ने ट्रक आयो भने पूर्णरुपमा नाका खुल्दा ट्राफिक व्यवस्थापनमा समस्या देखिने निश्चित छ । जसको समस्या समाधान गर्न बनेपाको करिडिोरलाई प्रयोगमा ल्याएर व्यवस्थापन गर्नुपर्ने छ ।

    नागरिक शिक्षित भएनन् भने नारा जस्तो दिएपनि नगर विकास हुन सक्दैन । शिक्षामा हाम्रो फोकस छ । हिजो, आज र भोलि पनि शिक्षाको विकास नै हाम्रो प्राथमिकता हो । विद्यालयमा अपेक्षित नतिजा आएमा हामी नमुना विद्यालयको संख्या थप्दै जाने योजना छ ।

    बनेपा नगर क्षेत्रमा सरकारी अस्पताल छैन । सरकारको नियम सरकारले लागु गरेको स्वास्थ्य बिमाको काम गर्न महिनौँ लाइनमा बस्नुपर्ने अवस्था छ । नगर अस्पताल सुरु भएकाले बिमा पनि यहीबाट गर्ने र सेवा थप गरि सुचारु गर्ने अभियानमा लागि परेका छौँ ।

    हामीले मुटुको क्लिनिक पनि सुरु गरेका छौँ । लायन्स क्लब र सहयोगी संस्थाको सहयोगमा मुटुको जाँच सुरु भइसकेको छ । डायलाइसिस मेसिन ल्याउने योजना छ । बनेपा मै मेसिन ल्याउन संघीय सरकारसँग माग गरेका थियौँ । अहिलेको स्वास्थ्य मन्त्रीलाई २–४ वटा मेसिन दिएर सहयोग गर्नुप¥यो भनेका छौँ । डायलाइसिस सेवा सम्भव भयो भने नगर अस्पतालबाट नत्र अन्यत्रबाट भएपनि नगरबासीलाई सेवा दिने योजना छ ।

     Ο  नगरको मुख्य चुनौती के देख्नु हुन्छ ?
    मुख्य चुनौती नै खोनपानीको छ । व्यवस्थापन गर्न अप्ठ्यारो परिरहेको छ । काभ्रे एकीकृत खानेपानी योजना अलपत्र परेको छ । पुरानो पाइपलाइन व्यवस्थित भएकाले मात्रै खानेपानी दिन सकिएको छ । एकीकृत बिच्छ्याएको पाइपलाइनमा पानी पुग्न सकेको छैन । जसरी भएपनि नगरबासीलाई खानेपानी पु¥याउने योजना छ ।

     Ο  प्रदेश र केन्द्रसँग विकासका काममा समन्वय गर्न कतिको कठिन छ ?
    हामीलाई सजिलो छ । हाम्रो क्षेत्रबाट जित्ने माननीयहरुले पनि समन्वय गरिरहनु भएको छ । काभ्रेकै तिर्थ लामा बागमती प्रदेशको मन्त्री बन्नुभयो । नजिकबाट हाम्रो सम्पर्क भएकाले सजिलो छ । आफैँ गएर मन्त्रालयमा समन्वय गर्नुपरको छैन । उहाँ मार्फत हाम्रो समस्याको समाधान भइरहेको छ । हाम्रो माननीयहरुले सहजतापूर्वक काम गरिदिनुहुन्छ ।

     Ο  कला संस्कृतिले भरिएको नगर हो, यसमा के–के काम भए ?
    बनेपामा बस्नेलाई नालाको नालामा बस्नेलाई साँगाको संस्कृति पूर्ण रुपमा जानकारी छैन । जुनसुकै वडाको वा क्षेत्रको भएपनि म बनेपाको हो भनेर गर्व गर्न सक्ने ठाउँमा पुऱ्याउने हो । यसका लागि नगरपालिका टिम लागेको छ ।

    नगरपालिका भित्रका जात्रा लगायतका पर्वमा आर्थिक रुपमा, बौद्धिक लगायतका व्यक्तिगत रुपमा पनि हरेक ठाउँमा सहभागि भएका छौँ । त्यसले मात्र हामलाई पुग्दैन । हामीसँग भएका सम्पदाहरुलाई जोगाउने प्रयासमा छौँ । पुरान सम्पदा बिग्रको भत्केको भएपनि त्यसको संरक्षणमा लागेका छौँ । जसको लागि पुरातत्व विभागसँग समन्वय गरिएका छौँ । त्यसलाई जोगाउन नगरपालिकाले आर्थिक सहयोग गरिएको छ । पुराना बाजागाजा लोप हुने अवस्थामा पुगेको छ । पहिला चण्डेश्वरीको जात्रामा कपालीहरुले बजाउने बाजा बजाउन सकिएन । संम्पदा संस्कृति बचाउनका लागि प्रशिक्षण दिने योजनामा छौँ ।

     Ο  बनेपा कृषिको हब हो, कृषिसँग नगरपालिका कसरी जोडिएको छ ?
    बनेपाको मुख्य क्षेत्र कृषिमा आधारित छ । उहाँहरुको सामग्री बिक्री वितरण गर्न र जीवन उकास्न केन्द्र निर्माण गर्नुपर्छ । बिचौलिया मार्फत जाँदा कृषकले धेरै फाइदा लिन सकेको छैन । त्यसका लागिे हाटबजार बनाउने सञ्चालन गर्ने योजना बनाएका छौँ ।

    कृषि उपज र घरेलु उद्योगबाट उत्पादित सामग्री प्रदर्शनी, बिक्री वितरण गर्नका लागि के गर्न सकिन्छ भनेर अगाडि बढिरहेका छौँ । नगरपालिकाले योजना बनाएर अगाडि बढ्नुपर्ने भएकाले एक वर्षमा योजना सफल नभएपनि अर्को वर्षहरुमा निरन्तरता दिँदै जान्छौँ । आफूले बोलेको र बाचा गरेका कुराहरु पाँच वर्षसम्म पूरा गर्छौं ।

     Ο  अन्य पालिकासँग कस्तो सम्बन्ध छ ?
    बनेपा, धुलिखेल र पनौती नगरपाकिला मिलेर दुई तीन वटा परियोजना संयुक्त रुपमा गर्दैछौँ । यसभन्दा अगाडि काभ्रे एकीकृत खानेपानी आयोजना सुरु भएको थियो ।

    हिजोको दिनमा सम्पन्न हुन नसकेकोले त्यसको जिम्मेवारी हामीलाई छ र यसमा हामी तीनवटै नगरपालिकाका प्रमुख पटकपटक बैठक बसेका छौँ । त्यसलाई टुङ्गोमा पु¥याउन लागि परेका छौँ । हाम्रो समस्या फोहोरमैलाको छ । अहिले हामीले पूर्वाधार लगायतको सम्पूर्ण क्षेत्रमा संयुक्त काम गर्नु आवश्यक छ ।

    फाहोरमैला व्यवस्थापनको सन्दर्भमा धुलिखेलमा तीनवटै नगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धि कार्य गर्ने भनी डीपीआरको काम भइरहेको छ । सडकतर्फ पनौती, बनेपा र धुलिखेललाई जोड्ने करिडोर सडक विस्तारको काम पनि गर्न खोजिरहेका छौँ ।

    आइटी पार्क नजिकैको क्षेत्रलाई व्यापारिक प्रदर्शनी स्थलको रुपमा विकास गर्ने सोच छ । त्यस क्षेत्रमा पार्किङ्गको सम्भावना देखिएको छ । बनेपा संगम स्थल भएकाले भविष्यमा आउने पार्किङ्ग चुनौतीलाई समाधान गर्न पनौती र धुलिखेलका नगरप्रमुखसँग कुराकानी भइरहेको छ ।

    नगरपालिकाले आगामी पाँच वर्षभित्र यातायात र व्यापारको मात्र नभई पर्यटकीय स्थलको रुपमा विकास गर्छु भन्ने संकल्प छ । बनेपा भित्र रहेको नगरकोट जाने गुणस्तरीय सडक बनाउने योजना छ । भौतिक पूर्वाधार व्यवस्थापनका लागि नीजि क्षेत्रलाई आह्वान गर्ने र २०८२ लाई नगरकोट भ्रमण वर्ष कार्यक्रम ल्याउने प्रक्रिया अगाडि बढिरहेको छ । मण्डनदेउपुर, बनेपा, शंकरापुर र चागुनारायण नगरपालिकाको संगम नगरकोटलाई पर्यटकीय हिसाबले अगाडि बढाउन सके बनेपाको समृद्धिमा टेवा पुग्ने विश्वास लिएको छु ।

     Ο  अन्त्यमा नगरबासीलाई के भन्नु हुन्छ ?
    निर्वाचित भएर आएको वर्षदिन पुगिसकेको छ । हामी काम गर्छौ निराश नहुनुहोस् । शिक्षा, स्वास्थ्य, कृषि लगायतका यावत् क्षेत्रमा सम्भव भएजतिका काम गरिरहेका छौँ । एक वर्षमा सबै बाचा पूरा भएका छैनन् । बनेपालाई राम्रो र बस्न लायक बनाउँछौँ । म बनेपाको नागरिक हुँ भनेर गर्व गर्न लायक नगरपालिका बनाउने संकल्प छ ।

     

  • सहयात्राको वार्षिक कार्ययोजना निर्माण कार्यशाला सम्पन्न

    सहयात्राको वार्षिक कार्ययोजना निर्माण कार्यशाला सम्पन्न

    पनौती । पनौती स्थित सहयात्रा देवीस्थान बहुउदेश्यीय सहकारीले वार्षिक कार्ययोजना निर्माण कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ ।

    २०८० आषाढ १६ गते शनिबार संस्थाले आगामी आ.व २०८०/०८१ को लागि लक्षित कार्ययोजना संस्थाको संचालक समिति, सेवा केन्द्र संचालन उपसमिति, विभिन्न कार्यगत उपसमितिका पदाधिकारीका साथै कर्मचारीहरुको संयूक्त बैठकमा व्यवसायिक योजना निर्माण कार्य सम्पन्न गरिएको छ ।

    कार्ययोजना निर्माण संयोजक तथा संस्थाका कोषाध्यक्ष आनन्द सापकोटाबाट तयार गरिएको कार्यक्रम मार्ग चित्र अनुसार कार्यक्रममा संस्थाको स्थापना काल देखि २०८० आषाढ १५ गते सम्मको आर्थिक विवरण, संस्थाले हालसम्म सदस्यहरुलाई दिएको सेवा सुविधा तथा चा.लु आ.वमा सम्पन्न विभिन्न संस्थागत कार्यक्रमहरुको विस्तृत जानकारी संस्थाका प्रमुख व्यवस्थापक गौतम प्रजापतिले प्रस्तुत गर्नुभएको थियो ।

    लेखा तथा सुपरिवेक्षण समिति संयोजक नरहरी भण्डारीले वित्तिय अवस्थाको विश्लेषणमा सुझाव सहित आगामी आ.व. को लागि रणनीतिहरु र आर्थिक मन्दिका कारण श्रृजना भएको अवको अवसर र चुनौतीहरुलाई सुष्म विश्लेषण सहित आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

    संस्थाका सचिव हरिशंकर तिमल्सिनाले संस्थाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमका प्राथमिकता सम्वन्धमा छलफल गर्नुका साथै सामुहिक योजना निर्माण तथा कार्यान्वयन संयन्त्र मार्फत संस्थाले तयार गरेको लक्ष्य प्राप्त गर्न सहज हुने र संस्थाको उन्नति प्रगतिमा सामुहिक योगदानको महत्ववारे  प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा सहभागीहरुले विभिन्न समुहमा रहि संस्थाको सबल पक्ष, सुधार गर्नुपर्ने पक्ष, अवसर तथा चुनौतीहरुको विश्लेषण गराई समुहबाट प्राप्त आगामी वर्षको लागि आवश्यक सल्लाह सुझाव सहित कार्यलक्ष्य तथा योजनाहरुको संकलन गरिएको थियो ।

    कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम संचालन सह सचिव प्रविण दाहालले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्षले सामुहिक जिज्ञासालाई सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा संस्थाको भावी लक्ष्य प्राप्तिका लागि सम्पुर्ण सहभागीहरुबाट आफ्नो सम्भावित योगदान सम्वन्धमा लिखितरुपमा व्यक्तिगत प्रतिवद्धता व्यक्त गरि कार्यक्रम समापन गरिएको थियो ।

  • जन्मदिनको अवसरमा सेवाघरमा पत्रकार बजगाई

    जन्मदिनको अवसरमा सेवाघरमा पत्रकार बजगाई

    बनेपा । काभ्रेली सञ्चारकर्ममा परिचित नाम पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ ।

    बजगाईंले काभ्रेको धुलिखेल नगपालिका वडा नं. १२, स्थित मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर आज आफ्नो जन्मदिन मनाउनु भएको हो ।

    नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहनुभएका बजगाईले असार १८ गते आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर)को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गर्नुभएको हो ।

    उहाँले गत वर्षका जन्म दिन र अवसरहरूमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दैआउनु भएको छ ।

    उहाँले सेवा घरका अभियान्ता अभियान्ता सुरेश हुमागाईलाई चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, मञ्जन, बस, फिनेल, सरफ, फलफूल, बिस्कुटसहित खाद्यान्न र लत्ता कपडा हस्तान्तरण गर्नुभएको थियो ।

    सामग्री बुझ्दै अभियान्ता सुरेश हुमागाईले यस्ता सहयोगी कै कारण सेवा घर असहायको साहारा बन्न सकेको बताउनुभयो ।

    कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं. १२, का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेले यस्तै सहयोगी भावनाका मान्छेहरुको साथले सेवा केन्द्र चलिरहेको भन्दै नगरपालिका र वडाले पनि सेवा केन्द्रलाई जग्गा दिई तयारी भवन उपलब्ध गराएको प्रतिबद्धता जनाउपनुभयो ।

    सेवा घरकी अभियान्ता जुनिता नगरकोटी श्रेष्ठले मानव कल्याण समाजले आफ्ना सात वटा सेवा केन्द्र मार्फत असाहयहरुको सेवा गरि रहेको र सबै सेवा केन्द्रमा गरी अहिले करिव ३ सय जना जति सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएका असहायहरु मानव कल्याण समाजको सेवा केन्द्रमा रहनु भएको बताउनु भयो ।

    सार्वजनिक स्थलहरूमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरूको सेवाको लागि ६ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो । जहाँ सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले जानकारी गराउनुभयो ।

    मानव कल्याण समाजको शाखा कार्यालय काभ्रेमा खुलेदेखि नै पत्रकार बजगाईले आफ्नो जन्म दिन यहि आएर मनाउने गर्नु भएको छ । सेवा घरमा अहिले ७० जना असहायहरुले साहारा पाइरहनुभएको छ ।

  • बालमैत्री नगर बनाउन नमोबुद्धको टोली भीमेश्वरमा

    बालमैत्री नगर बनाउन नमोबुद्धको टोली भीमेश्वरमा

    भकुण्डेवेशी । नमोबुद्ध नगरपालिकाले नगर तथा वडास्तरीय बाल क्लव सञ्जालका पदाधिकारीले बागमती प्रदेशको पहिलो बालमैत्री नगर दोलखाको भीमेश्वर नगरपालिकाको भ्रमण गरेर सोबारे जानकारी लिएका छन् ।

    नमोबुद्धका ११ वटै वडास्तरीय बाल क्लव र नगरस्तरीय बालक्लवका पदाधिकारीहरुले त्यहाँ पुगेर भीमेश्वर नगरपालिका बालमैत्री नगर घोषणा हुन चालेका कदम, प्रकृया, बजेट, नीति तथा कार्यक्रम र योजनाको बारेमा जानकारी लिएका हुन् ।

    बालबालिकाका साथमा नगर प्रमुख कुनसाङ लामा, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष विरबहादुर लामा, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, शिक्षा अधिकृत बुद्धिराज अर्याल, महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवार, लेखा अधिकृत विमल आचार्य, वातारण अधिकृत सन्तोष काफ्लेलगायत सहभागि भएका थिए ।

    नमोबुद्ध नगरपालिकाको टोलीलाई भीमेश्वर नगर उपप्रमुख कमला बस्नेतले स्वागत गर्नुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुनबहादुर कार्कीले नगरपालिका बालमैत्री घोषणा गर्न भएका प्रयास र त्यसयताका कामका बारेमा प्रस्तुती गर्नुभयो ।

    भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदिश अर्याल, महिला तथा बालबालिका शाखामा कार्यरत अधिकृत मंगला मानन्धर, नगर बाल क्लव सञ्जालका सल्लाहकार किरण श्रेष्ठ, विप्लप घिमिरे लगायतले बालमैत्री नगर घोषणा गर्दाका आफ्ना अनुभव सुनाउनुभयो ।

    नगर उपप्रमुख बस्नेतले नगरपालिका ३९ वटा सूचक पूरा गरेर २०७६ सालमा नै बालमैत्री नगर घोषणा भएको जानकारी दिँदै ५१ वटै सूचक पूरा गर्न लागि परिरहेको बताउनुभयो । नमोबुद्ध नगरपालिका पनि बालमैत्री नगर घोषणा गर्न अग्रसर भएकोमा शुभकामना दिँदै उहाँले सफलताको कामना समेत गर्नुभयो ।

    नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले बालमैत्री नगर घोषणाको लागि आवस्यक ५१ सूचक पुरा गर्न नमोबुद्ध लागि परेको भन्दै अन्य कार्यक्रम, बजेट, योजना पनि बालमैत्री बनाउन लागेको बताउनुभयो ।

    नमोबुद्ध नगरपालिको महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जनप्रतिनिधीको अठोट र तदारुकताका कारण नमोबुद्ध बालमैत्री नगर घोषणा उन्मुख भएको बताउनुभयो ।

    बालमैत्री नगर घोषणाको अभियानमा जुटेको नमोबुद्ध नगरपालिकाले सम्बन्धित गतिविधीलाई तिव्रता दिएको छ ।

    पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको नगरपालिकामा ११ वटै वडामा बाल क्लव, विद्यालय स्तरमा बालक्लव गठन भइसकेका छन् भने सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएका छन् ।

    नगरपालिकाले नगरस्तरीय बाल क्लव सञ्जाल, सामुदायिक विद्यालयका बालमैत्री शिक्षक, नगरका कर्मचारी, जनप्रतिनिधी र वडा सचिवलाई बालमैत्री अभियान बारेमा अभिमुखिकरण सञ्चालन गरिसकेको छ ।

    बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागिता सम्बन्धी ५१ वटा सूचकहरु पूरा गरेको हुनुपर्दछ ।