“अभागी कर्म”: जीवन भोगाइमा आधारित तामाङ गीत


बनेपा । पछिल्लो समयमा तामाङ सङ्गीतिक क्षेत्रमा प्रवेश गर्दै सनिता स्याङ्तानले आफ्नै प्रस्तुति र जीवन कथामा आधारित “अभागी कर्म” गीत बजारमा ल्याउने भएकी छिन् ।
गीतमा पृथक शब्दकार धनराज लामा र स्वयं सनिता स्याङ्तानले शब्द रचना गरेका छन्। सङ्गीतकार प्रताप जिम्बाको सङ्गीत रहेको यस गीतलाई एरेन्जर तथा मिक्सिङ कार्साङ लामाले गरेका हुन्।
गीतमा सायरी स्वर रोजिना पाख्रिनको रहेको छ भने केटातर्फ कोरस कार्साङ लामाले गाएका छन्। केटीतर्फ गायिका सुमिना लो र रञ्जिता तामाङले स्वर भरेका छन्।
सनिता स्याङ्तान भन्छिन्, “मान्छे पढेर भन्दा परेर चेत्दो रहेछ। आज म यस्तो दुःखको भुमरीमा परेँ। मेरो जस्तै नियति भोग्ने धेरै नारीहरू होलान् । म रोए पनि अरू दिदीबहिनीहरूले सकेसम्म यस्तो दुःख भोग्न नपरोस् भन्ने अभिप्रायले यो गीत सार्वजनिक गर्न लागेको हुँ ।”
यो गीतले तामाङ समुदायको पीडा र यथार्थ जीवन झल्काउने भएकाले श्रोता-दर्शकलाई भावनात्मक रूपमा समेट्ने बताइएको छ ।