Tag: सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था

  • ‘लहरे बाली आधारभूत व्यावसायिक तालिम’ सम्पन्न

    ‘लहरे बाली आधारभूत व्यावसायिक तालिम’ सम्पन्न

    पनौती । सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत देवीस्थान सेवाकेन्द्र र महांकाल सेवाकेन्द्रको संयुक्त व्यवस्थापन तथा कृषि तथा सामाजिक कार्य उप–समितिको आयोजनामा चैत्र १४ र १५ गते दुई दिने “लहरे बाली आधारभूत व्यवसायिक तालिम” सफलतापूर्वक सम्पन्न भएको छ ।

    तालिममा सहकारीका सदस्यहरुलाई नगदे वाली उत्पादन सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको थियो । तालिममा काक्रों, तितेकरेला र घिरौलाजस्ता लहरेबालीहरुको व्यवसायिक खेती प्रविधि सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।

    तालिम उद्घाटन समारोह पनौती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिपकप्रसाद दाहालको प्रमुख आतिथ्यता तथा कृषि तथा सामाजिक कार्य उपसमितिका संयोजक किसन बहादुर बस्नेतको सभाध्यक्षतामा भएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले कृषकले प्रत्यक्ष या अप्रत्यक्ष रुपमा समाज र राष्ट्रलाई सहयोग गरिरहन्छ, कृषि कर्म बिना कसैले पनि जीवनको कल्पना गर्न नसकिने भन्दै किसानलाई सम्मान र ज्ञान दिन कसैले पनि कञ्जुस्यांई गर्न नहुने धारणा राख्नु भएको थियो ।

    समारोहमा देवीस्थान सेवाकेन्द्र संयोजक धिरजकुमार काफ्ले तथा महांकाल सेवाकेन्द्र संयोजक कृष्णबहादुर श्रेष्ठले आ– आफ्नो मन्तव्य राखेका थिए ।

    तालिम कार्यक्रम पनौती नगरपालिका वडा नं ४ को कार्यालयमा सन्चालन गरिएको थियो । जहाँ ३५ जना सदस्यहरुले सहभागिता जनाएका थिए । २ दिने तालिम प्रशिक्षणमा गणेशकुमार श्रेष्ठ (JTA), यादव सुवेदी (IPM) प्रशिक्षक तथा मोटिभेसनल प्रशिक्षक देव तामाङले बिभिन्न विषयहरुमा सहजीकरण गरेका थिए ।

    संस्थाको सेवा सुविधा, बचत तथा ऋण योजना तथा संस्थाको भावी योजनाबारे जानकारी संस्थाका प्रमुख व्यवस्थापक गौतम प्रजापतिले प्रस्तुत गर्नुभएको थियो ।

    तालिम समापन कार्यक्रममा सहभागी कृषक सदस्यहरुलाई प्रमाणपत्रका साथै सहभागीहरुलाई लहरेबालीको उन्नत जात तथा रैथाने बिऊ समेत वितरण गरिएको थियो । उनीहरुको व्यावसायिक कृषि उत्पादनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । संस्थाका प्रमुख व्यस्थापक गौतम प्रजापतिले यस्ता कृषिमैत्री तालिमहरु निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता जनाएका थिए ।

  • काभ्रे सहकारीमा सहयात्राको नयाँ सुरुवात: बाजे बजै चौतारी तथा क्रेडिट कार्ड

    काभ्रे सहकारीमा सहयात्राको नयाँ सुरुवात: बाजे बजै चौतारी तथा क्रेडिट कार्ड

    पनौती पनौती नगरपालिका वडा नम्बर ६ गुराँसमार्गमा मुख्य कार्यालय रहेको सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारीले समुदाय र सदस्य केन्द्रित नयाँ कार्यक्रमको सुरुवात गरेको छ ।

    सहकारीले काभ्रेपलाञ्चोक जिल्लामै पहिलो पटक बाजे बज्यै चौतारी कार्यक्रम तथा सहकारी पसल क्रेडिट कार्ड सेवा सुरु गरेको हो । संस्थाले पनौती नगरपालिका वडा नं. ४, एैरिगाँउ पुलबजारमा रहेको देवीस्थान सेवाकेन्द्र प्राङगणमा बाजेबजै चौतारी तथा सहकारी पसल क्रेडिट कार्ड अभिमुखीकरण गर्दै कार्यक्रमको औपचारिक सुरुवाता गरेको हो ।

    संस्थाले चालु आ.व. को बार्षिक योजना तथा कार्यक्रम अनुसार शिक्षा उपसमितिको संयोजकत्व तथा देवीस्थान सेवाकेन्द्र संचालन उपसमितिको व्यवस्थापनमा कार्यक्रम सम्पन्न गरिएको उल्लेख गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि एवं पनौती नगरपालिका वडा नं.४ का वडा अध्यक्ष दिपक प्रसाद दाहालले ऐरीगाँउ समुदायका १५ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै संस्थाले जारी गरेको  सहकारी पसल क्रेडिट कार्डका आवेदकहरुलाई कार्ड वितरण गर्नुभएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष दाहालले सहकारीमा समस्या र चुनौतीहरु थपिएको बताउँदै सदस्य आफै पनि व्याजको प्रलोभनमा परि पीडित भएको बताउनुभयो । ठग नियतका केहि सहकारी माफियाहरुका कारण असल सहकारीहरुलाई समेत काम गर्न गाह्रो भएको अध्यक्ष दाहालको स्पष्टोक्ति थियो ।

    कार्यक्रममा संस्थाका प्रमुख व्यवस्थापक गौतम प्रजापतिले संस्थाबाट जारी क्रेडिट कार्डको नीति, नियम, उपयोगिता र कारोबार सिमा बारे जानकारी गराएका थिए ।

    ज्येष्ठ नागरिक जीवन समय व्यवस्थापन विषयक प्रस्तुती सहजीकरण संस्थाका संस्थापक अध्यक्ष देव बहादुर तामाङले गरेका थिए ।

    कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरिशंकर तिमल्सिनाले गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    बाजे बज्यै चौतारी कार्यक्रम के हो ?

    बाजे बज्यै चौतारी कार्यक्रम अन्तर्गत सहकारीले जेष्ठ नागरिकलाई उनीहरूका जीवनमा भोगाईसम्बन्धी घटना भन्न लगाई सम्मान गरिने कार्यक्रम हो । नयाँ पुस्तालाई पुराना पुस्ताका दु:ख र भोगाई बारे जानकारी गराउने उद्धेश्यले कार्यक्रम सुरु गरिएको हो । वृद्दवृद्दालाईको भावनालाई सम्बोधन गर्ने वातावरणको सिर्जना गर्न र वृद्धवृद्धको जीवनका अविष्मरणीय भोगाईलाई समेट्ने कार्यक्रमको ध्येय रहेको छ । जेष्ठ नागरिकलाई आइपर्ने समस्या र त्यसलाई समाधान गर्न गर्नुभएको प्रयास आजको पिढीँलाई मार्गदर्शन समेत हुने संस्थाको विश्वास रहेको छ ।

    सहकारी पसल क्रेडिट कार्ड के हो ?

    दैनिक उपभोग्य वस्तहरू विक्री गर्ने उपभोक्ता सहकारी पसल । जहाँ पैसा नहुँदा पनि सहकारीका सदस्यले अधिकतम ३० हजार सम्मको कारोबार गर्न सक्नेछन् । उक्त क्रेडिट कार्ड मार्फत दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न, तरकारी लगायतका वस्तहरू खरिद गर्न सकिने संस्थाका प्रमुख व्यस्थापक गौतम प्रजापतिले जानकारी दिए । निवेदनको आधारमा सदस्यको सहकारीमा बचत, नियमित मासिक बचत लगायतका मानकका आधारमा सदस्यको अधिकतम कारोबार सीमा तय गरि कार्ड प्रदान गरिने संस्थाले जनाएको छ । त्यसरी ऊधारोमा वस्तु तथा सेवा खरिद गरेवापत सदस्यले ३५ दिनभित्र रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।

    कार्डमा सदस्यको नाम, मोबाइल नम्बर, सदस्यता नम्बर, फोटो समावेश गरिएको हुन्छ । कार्डको पछाडिको भागमा रहेको कार्डको रंगबाट सदस्यले प्राप्त गर्ने अधिकतम कारोबारको जानकारी प्राप्त गर्न सकिने संस्थाले जनाएको छ।

    पहेको रंगले कम, हरियोले मध्यम र रातो रंग भएको कार्ड प्राप्त गर्ने सस्यले अधिकतम कारोबार गर्ने सक्ने संस्थाका प्रमुख व्यवस्थापक गौतम प्रजापतिले जानकारी दिनुभयो । हाल देवीस्थान सेवा केन्द्रमा एक पसल रहेको छ । साथै थप १।२ वटा पसलसँग समन्वय गर्ने तयारी रहेको संस्थाले जनाएको छ । हाललाई क्रेडिट कार्डमा भएको खाता नम्बरको आधारमा कारोबार हुने संस्थाले जनाएको छ । आवश्यक महसुस भएमा संस्थाले निकट भविष्यमा कार्ड स्वाइप गरेर सामान खरिद गर्न मिल्ने सेवा सुचारू गर्ने बताइएको छ ।

     

     

  • सहयात्राको वार्षिक कार्ययोजना निर्माण कार्यशाला सम्पन्न

    सहयात्राको वार्षिक कार्ययोजना निर्माण कार्यशाला सम्पन्न

    पनौती । पनौती स्थित सहयात्रा देवीस्थान बहुउदेश्यीय सहकारीले वार्षिक कार्ययोजना निर्माण कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ ।

    २०८० आषाढ १६ गते शनिबार संस्थाले आगामी आ.व २०८०/०८१ को लागि लक्षित कार्ययोजना संस्थाको संचालक समिति, सेवा केन्द्र संचालन उपसमिति, विभिन्न कार्यगत उपसमितिका पदाधिकारीका साथै कर्मचारीहरुको संयूक्त बैठकमा व्यवसायिक योजना निर्माण कार्य सम्पन्न गरिएको छ ।

    कार्ययोजना निर्माण संयोजक तथा संस्थाका कोषाध्यक्ष आनन्द सापकोटाबाट तयार गरिएको कार्यक्रम मार्ग चित्र अनुसार कार्यक्रममा संस्थाको स्थापना काल देखि २०८० आषाढ १५ गते सम्मको आर्थिक विवरण, संस्थाले हालसम्म सदस्यहरुलाई दिएको सेवा सुविधा तथा चा.लु आ.वमा सम्पन्न विभिन्न संस्थागत कार्यक्रमहरुको विस्तृत जानकारी संस्थाका प्रमुख व्यवस्थापक गौतम प्रजापतिले प्रस्तुत गर्नुभएको थियो ।

    लेखा तथा सुपरिवेक्षण समिति संयोजक नरहरी भण्डारीले वित्तिय अवस्थाको विश्लेषणमा सुझाव सहित आगामी आ.व. को लागि रणनीतिहरु र आर्थिक मन्दिका कारण श्रृजना भएको अवको अवसर र चुनौतीहरुलाई सुष्म विश्लेषण सहित आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

    संस्थाका सचिव हरिशंकर तिमल्सिनाले संस्थाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमका प्राथमिकता सम्वन्धमा छलफल गर्नुका साथै सामुहिक योजना निर्माण तथा कार्यान्वयन संयन्त्र मार्फत संस्थाले तयार गरेको लक्ष्य प्राप्त गर्न सहज हुने र संस्थाको उन्नति प्रगतिमा सामुहिक योगदानको महत्ववारे  प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा सहभागीहरुले विभिन्न समुहमा रहि संस्थाको सबल पक्ष, सुधार गर्नुपर्ने पक्ष, अवसर तथा चुनौतीहरुको विश्लेषण गराई समुहबाट प्राप्त आगामी वर्षको लागि आवश्यक सल्लाह सुझाव सहित कार्यलक्ष्य तथा योजनाहरुको संकलन गरिएको थियो ।

    कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम संचालन सह सचिव प्रविण दाहालले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्षले सामुहिक जिज्ञासालाई सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा संस्थाको भावी लक्ष्य प्राप्तिका लागि सम्पुर्ण सहभागीहरुबाट आफ्नो सम्भावित योगदान सम्वन्धमा लिखितरुपमा व्यक्तिगत प्रतिवद्धता व्यक्त गरि कार्यक्रम समापन गरिएको थियो ।

  • सहयात्रा देवीस्थान साकोसको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न 

    सहयात्रा देवीस्थान साकोसको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न 

    पनौती। पनौती नगरपालिका वडा नं. ६ मा अवस्थित सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    पनौती व्यान्क्वेटमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि पनौती नगर प्रमुख रामशरण भण्डारीले पानसमा बत्ती बालेर सभाको समुद्घाटन गर्नुभएको थियो ।

    सभाको उद्घाटन गर्दै नगरप्रमुख भण्डारीले संस्थामा वित्तीय सुशासन कायम राख्दै बहुउद्देश्यीय क्रियाकलापलाई जोड दिई सदस्यहरुको जिवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । सहकारी मार्फत कृषि, साना उद्योग लगायतका क्षेत्रबाट आर्थिक समृद्धि प्राप्त गर्न सकिने भण्डारीले बताउनुभयो ।

    सभामा साकोसका सदस्य समेत रहनुभएका संविधान सभा सदस्य एवम् कार्यक्रमका बिशिस्ट अतिथि रामहरि सुबेदीले   आफू सहयात्रा सहकारीको कार्य सम्पादन र सुशासन चित्तबुझ्दो रहेकोले सहकारी सदस्य रहेको बताउनुभयो ।

    कार्यक्रमका विशिष्ट अतिथी एवम् पनौती न.पा.वडा न. ६ का वडाअध्यक्ष भिम प्रसाद आचार्यले आफ्नै वडामा रहेको यो सहकारीले आफ्नो अस्तित्व कायम गर्दै प्रतिस्पर्धामा उत्रिन सफल भएकोमा आफू खुसी भएको भन्दै थप सफलताको कामना व्यक्त गर्नुभयो ।

    कार्यक्रमका बिशिस्ट अतिथी पनौती नगरपालिकाका सहकारी रजिस्ट्रार इन्द्र प्रसाद अधिकारीले पनौतीका सहकारीहरु नभागेका र सहकारीको मुल्यमान्यता अवलम्बन गर्दै संस्थाहरु अघि बढेको बताउनुभयो । नगरपालिकाको सहकारी शाखाले आवश्यकता अनुरुपका कार्यक्रम सन्चालन गर्दै आएको बताउनुभयो ।

    संस्थामा विभिन्न विधामा उत्कृष्ठ शेयरसदस्यहरुलाई सम्मान गरिएको थियो । साथै संस्थामा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सागर प्रजापतिलाई समेत कार्यक्रममा सम्मानित गरिएको संस्थाका व्यवस्थापक गौतम प्रजापतिले जानकारी दिनुभयो ।

    संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायणदेवि श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव हरी शंकर तिमल्सिनाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा गरेका कार्य तथा आगामी वर्षका रणनीतिक योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।

    संस्थाका कोषाध्यक्ष आनन्द सापकोटाले आर्थिक प्रतिवेदन मार्फत संस्थाको आर्थिक गतिविधिका विषयमा जानकारी गराउनुभएको थियो । २ हजार ५ सय १२ जना शेयर सदस्य रहेको संस्थामा १७ करोड १० लाख ३४ हजार ८२ रुपैयाँको कुल पुँजी रहेको सापकोटाले जानकारी दिनुभयो ।

    कार्यक्रममा स्थानीय सहकारी र संघ संस्थाका प्रतिनिधिहरु, साकोसका सल्लाहाकारहरु, विभिन्न उप-समितिका पदाधिकारीहरु, सेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।