Tag: बेथानचोक

  • बेथानचोकका किसानलाई दूधमा अनुदान

    बेथानचोकका किसानलाई दूधमा अनुदान

    बेथानचोक । दुध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था (दूध कारोवार गर्ने कृषि, बहुमखी र बहुउद्देश्यीय) हरुले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकम अन्तर्गत बेथानचोकका किसानहरुलाई अनुदान वितरण गरिएको छ ।

    एक कार्यक्रमका बीच आधुनिक कृषि सहकारी संस्थाले थानी महाङ्काल डेरीमार्फत दुध बिक्री गर्ने कृषकहरुलाई अनुदान रकम वितरण गरेको हो । सहकारीले थप अनुदान माग गरेको दश लाख ५८ हजार ३६ लिटर दुधमध्ये दश लाख ५२ हजार लिटर दुधमा मात्रै अनुदान रकम प्राप्त गरेको बेथानचोक वडा नं. २ का वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीमा आवद्ध किसानहरुलाई बाग्मती प्रदेश सरकारले दूध उत्पादनमा आधारित रही प्रति लिटर दुधमा ३ रुपैंया ५६ पैंसा अनुदान दिएसँगै सो रकम हस्तान्तरण गरिएको हो ।

    उहाँले सहकारीमार्फत बेथानचोक गाउँपालिका वडा नं. २ र ३ का १९६ किसान र पनौती नगरपालिकाका ९९ जना किसानले थप अनुदान रकम पाउनु भएको बताउनुभयो । सहकारीले दश लाख ५८ हजार लिटर दुधमा ३७ लाख ४८ हजार ५८३ रुपियाँ अनुदान रकम पाएकोमा बेथानचोकका किसानले २६ लाख ९ हजार ६१५ रुपियाँ र पनौतीका किसानले ११ लाख ३८ हजार ९३८ रुपियाँ प्राप्त गरेका हुन् । एउटा किसानले कम्तिमा चार हजार ३४३ रुपियाँदेखि अधिकतम ५० हजार रुपियाँसम्म अनुदान पाएको सहकारीले जनाएको छ ।

    अनुदान रकम वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले युवा तथा किसानलाई व्यवसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्न गाउँपालिकाले निःशुल्क कृत्रिम गर्भाधान सेवा तथा गाउँपालिका साक्षी बसेर सहुलियत दरमा कर्जा सुविधाको कार्यक्रम अघि बढाएको बताउनुभयो ।

    गाउँपालिका अध्यक्ष अधिकारीले गाउँपालिकाले किसानको तथ्याङ्क सङ्कलन गर्ने काम अघि बढाएको बताउँदै तथ्याङ्क सङ्कलनको काम पुरा भएपछि ‘किसान परिचय पत्र’ वितरण गरिने बताउनुभयो ।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले किसानहरुको समस्या समाधानका लागि गाउँपालिकाले काम गरिरहेको बताउनुभयो । कृषि उपजको उत्पादन गर्न मल, बीउ, सिँचाइमा गरेको खर्च, रोप्दा, गोडमेल र टिपेर बजारसम्म लैजाने खर्च समेत नउठ्ने अवस्थमा यस प्रकारको अनुदानले उत्साह भर्ने बताउनु भयो । उहाँले किसानको समस्या सम्बोधनका लागि स्थानीय सरकारबाट आवश्यक सहजीकरण गर्ने काम भएको पनि बताउनु भयो ।

    कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष कुबेर ढकाल, ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिन, गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, बेथानचोक गाउँपालिका वडा नं. ३ का पूर्व वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ लगायतले किसानहरुले वर्ष दिन भर  बिक्री गरेको दुधको आधारमा प्रदेश सरकारले दिएको अनुदान रकमले किसानहरुलाई पशुपालनमा आकर्षित गरी थप दुध उत्पादन गर्न उत्प्रेरणा दिएको बताउनुभयो ।

    उहाँले सरकारले दुधमा थप अनुदान रकम दिएसँगै किसानहरुले घरदेखि दुग्ध सङ्कलन केन्द्रसम्म गुणस्तरीय र सफा दुध लैजान ध्यान दिनुपर्ने बताउनुभयो । उहाँहरुले किसानले व्यहोरेका समस्याहरुबारे धारणा राख्नु भएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष बलराम बजगाँईले सहकारीमा आवद्ध किसानहरुलाई दुधमा अनुदान रकम प्रदान गर्न ठुलो मिहेनत गर्नुपरेको बताउनुभयो । किसानले दुधमा पाएको अनुदान रकमले उहाँहरुको समस्या टार्न सहज भएको बजगाँईले बताउनुभयो ।

  • बेथानचोकमा दलित एवं महिला सशक्तिकरण विषयक कार्यशाला सम्पन्न

    बेथानचोकमा दलित एवं महिला सशक्तिकरण विषयक कार्यशाला सम्पन्न

    ढुंखर्क । बेथानचोक गाउँपालिका र दलित अधिकार तथा विकास केन्द्र नेपालको सहकार्यमा स्थानीय जनप्रतिनिधिहरुको सशक्तिकरण तथा कानुनी शिक्षा विषयक दुई दिवसीय पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

     

    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दलित आयोगकी सदस्य मिनादेवी सोवले नेपालमा ऐतिहासिक कालखण्डदेखि केन्द्रिकृत, सामन्तवादी र राजतन्त्रात्मक शासन व्यवस्थाका कारण दलित एवं महिलाहरू चौतर्फी शोषण र दमनम परेको बताउनुभयो ।

    दलित, महिला तथा सिमान्तकृत समुदायको पूर्ण मुक्ति बिना लोकतान्त्रिक गणतन्त्र संस्थागत र दीगो हुन नसक्ने बताउनुभयो ।

    पछाडि पारिएका दलित, महिला र सीमान्तकृत समुदायको बहुआयामिक सबलीकरण र सशक्तिकरण बिना समुन्नत, समावेसी र समतामूलक राज्य निर्माण हुन नसक्ने पनि जीकिर गर्नुभयो । त्यसका निम्ति तीनै तहका सरकारले पछाडी पारिएको वर्ग समुदायको उत्थानका निम्ति विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको सोवले प्रष्टयाउनुभयो ।

    कार्यशालाको समापन गर्नुहुँदै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिकाले दलित, महिला एवं सीमान्तकृत समुदायको उत्थानका लागि समन्यायिक रुपमा अवसरहरुको वितरण गर्ने बताउनुभयो ।

    दलित, महिला तथा सीमान्तकृत समुदायको आर्थिक सबलीकरण, सामाजिक एवं राजनीतिक सशक्तिकरण र शैक्षिक पहुँचको अभिवृद्धिका निम्ति उहाँहरुलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आएको र बजेटको सुनिश्चिता पनि त्यसै अनुरुप गरिने बताउनुभयो ।

    बेथानचोक गाउँपालिकाको लक्ष्य मानवीय विकासमा पनि जोड दिने रहेको भन्दै समतामूलक तथा समावेशी विकासका निम्ति उहाँहरु आफैँपनि सचेत, जागरुक र सशक्त हुन आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा विश्व र नेपालको महिला आन्दोलनको संर्घर्षको ईतिहास विषयक कार्यपत्रमाथि आफ्नो प्रशिक्षण समेत प्रस्तुत गर्नुहुँदै बेथानचोक गाउँपालिका तारा राना तिमल्सिनाले नेपालको महिला आन्दोलन योगमाया न्यौपाने, मंगलादेवी सिंह, सहना प्रधान आदि महिलाहरुको उच्च त्याग, बलिदानी र योगदानबाट निरन्तर सफलतातर्फ उन्मूख हुँदै गैरहेको धारणा राख्नुभएको थियो ।

    उहाँले गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटमा महिलाहरुको उत्थान, सबलीकरण र विकासमा प्राथमिकताका साथ जोडदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

    समाजशास्त्री माधव तिमल्सिनाले समतामूलक तथा समावेसी विकासको अभ्यास र चूनौती विषयक कार्यपत्र पेश गर्नुहुँदै स्थानीय सरकारले विकासमा उत्पिडित वर्ग समुदायको समानता र पहुँच सुनिश्चित गर्न विशेष नीति तथा कार्यक्रम ल्याउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाले समतामूलक एवं समावेशी विकासमा मिडियाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    सत्यतथ्य सूचनामाथि जनताको पहुँच नपुगेसम्म राज्यका कार्यक्रमहरुबाट सूसुचित हुन नसक्ने हुँदा त्यसले विकासमा अपेक्षित प्रतिफल दिन नसक्ने ढुंगानाले दाबी गर्नुभयो ।

    कार्यशालामा राष्ट्रिय दलित आयोगको विज्ञ सल्लाहाकार, दलित अधिकार तथा विकास केन्द्र नेपालका अध्यक्ष मेघेन्द्र बिश्वकर्माले लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात जातीय विभेद, अन्र्तजातीय विवाह र छुवाछुतको आवरणमा चौसट्ठी जना दलितहरुको हत्याभएको भन्दै दलित समुदायमाथिको ज्यादती बन्द गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    उहाँले गरिबी, भूमिहीनता, अशिक्षा, भोकमरी र अभाव झेलिरहेका दलित समुदायको मुक्तिबिना राजनीतिक दल र नेताहरुले परिकल्पना गरेको समृद्ध वा समुन्नत नेपालको तस्वीर निकै दुर रहेको बताउनुभयो ।

    कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र अधिकारकर्मीहरु, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, प्रेस काउन्सिल नेपालका पूर्वसदस्य ईश्वरी ओझा, दलित अधिकारकर्मी विष्णु मिजार लगायतले विषयवस्तुमा आफ्नो भनाई राखेका थिए ।

  • बेथानचोकमा निःशुल्क लोकसेवाको कक्षा सुरु

    बेथानचोकमा निःशुल्क लोकसेवाको कक्षा सुरु

    बेथानचोक । बेथानचोक गाउँपालिकाले युवा तथा विद्यार्थीहरू लक्षित गरी निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । सो कक्षामा ३ सय ७५ जनाले सहभागिता जनाउनु भएको छ ।

    गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्दै गरेका वा अध्ययन सकेर खाली बसेका विद्यार्थीहरूका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनु भयो ।

    काठमाडौंको शंखमूलस्थित चैतन्य एकेडेमीसँगको सहकार्यमा जुममार्फत लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो । कक्षा उद्घाटन गर्दै अध्यक्ष अधिकारीले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने घोषणा गर्नुभयो ।

    अध्यक्ष अधिकारीले सबै विद्यार्थीहरूलाई मुलुकको खरिदार, शाखा अधिकृत, प्रमुख प्रशासकीय अधिकृत वा कुनै अन्य सरकारी सेवाको सम्भावना बोकेका व्यक्तिका रूपमा हेरिरहेको बताउनुभयो । सोही अनुरुप तयारी गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो ।

    शिक्षित युवा जनशक्ति विदेश पलायन हुनुभन्दा पनि सरकारी सेवामा आकर्षित भएर स्वदेशमै सेवा गर्न प्रेरित हुन् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको अवधारणा अगाडि सारिएको गाउँपालिका अध्यक्ष अधिकारीको बताउनुभएको छ ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले गत वर्षदेखि नै यो अभियान थालिएको जानकारी दिँदै युवाहरूका लागि प्रभावकारी देखिएकाले आगामी वर्षमा पनि यस कार्यक्रमले निरन्तरता दिइएको र विद्यार्थीहरूलाई लोकसेवा आयोगका कक्षा लिन आफूहरूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

    तालिम कक्षा नेपाल सरकारको लोकसेवा, शिक्षक सेवा, सेना तथा प्रहरी, संस्थान आदिका लागि सहयोगी प्र.प्र.अ. भण्डारीले हुने बताउनु भयो ।

    कक्षा आइक्यु र जिके गरी २ सेसनमा सञ्चालन गर्ने र मुलुकका ख्यातिप्राप्त प्रशिक्षकबाट कक्षा सञ्चालन गरिएको हुँदा यसले प्रभावकारिता पाउने विश्वास राख्नु भएको छ । कार्यक्रममा चैतन्य एकेडेमीका निर्देशक गणेश जोशीले लोकसेवाको तयारी कक्षा लिने विद्यार्थीहरूलाई पूर्ण रूपमा सहयोग गरिने भन्दै आफूहरुले यहाँका विद्यार्थीहरूलाई पूर्ण रूपमा सहयोग गर्ने बताउनु भयो ।

    जोशीले अनलाइनमै नियमित नोट तथा अतिरिक्त सिकाई सामग्रीहरू उपलब्ध गराउने भन्दै गाउँपालिकाले बोकेको लक्ष्यलाई लोक सेवामा सफल भइ सार्थक तुल्याउन आग्रह गर्नुभयो । उहाँले कडा मिहिनेतपछि मात्र सरकारी सेवामा प्रवेश गर्न सहज हुने भन्दै औसत भन्दा अतिरिक्त ज्ञान लिन आवश्यक रहेको र यसैका लागि आफ्नो अनुभवको भरपुर प्रयोग गरि प्रभावकारी कक्षा सञ्चालन गर्ने बताउनु भयो ।

  • बेथानचोकका विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा

    बेथानचोकका विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा

    बेथानचोक । बेथानचोक गाँउपालिकाले मुख्य बजारहरुमा निःशुल्क इन्टरनेट सेवा संचालन गरेको छ । बेथानचोक गाँउपालिकाको आ.ब २०७९/८० को बार्षिक नीति तथा कार्यक्रम अन्तर्गत प्रत्येक वडा कार्यालयका आसपासका मुख्य बजार क्षेत्रहरुमा निःशुल्क इन्टरनेट सेवा सुचारु गरेको हो ।

    नि:शुल्क वाईफाई क्षेत्रहरु वडा न. १ को कार्यालय परिसर, वडा न. २ गेल्डुङ बजार, वडा न. ३ महांकालस्थान , वडा न. ४ को कार्यालय परिसर , वडा न. ५ च्याल्टी र वडा न‌‌‌‌‌. ६ को कार्यालय भुग्देउमा उपलब्ध हुने बेथानचोक गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिनुभयो ।

    डिजिटल बेथानचोक बनाउने उद्देश्य अनुरुप आज बेथानचोक गाँउपालिकाको छ वटै वडामा स्थानीय बासिन्दाहरको अधिक आवतजावत हुने स्थानमा फ्रि वाईफाई सेवा सुरुवात गरिएको हो । कार्यक्रमको  बेथानचोक गाउपालिकाका अध्यक्ष भगवान अधिकारीले शुभारम्भ गर्नुभएको हो । डिजिटल बेथानचोकको नारा साकार पार्न इन्टरनेट सेवाको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

    इन्टरनेट सेवा प्रदायक संस्था अल्ट्रानेट कम्युनिकेशन प्रा.लि संगको सहकार्यमा संचालित फ्रि वाईफाई जोन शुभारम्भ कार्यक्रमा उपाध्यक्ष तारा राना वडा अध्यक्षहरु पुरुषेत्तम तिमल्सिना, कुवेर ढकाल, कृष्ण बहादुर पाख्रिन, प्रमुख प्रसाशकीय अधिकृत राजेन्द्र भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

  • बेथानचोक गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक

    बेथानचोक गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक

    बेथानचोक । काभ्रेको बेथानचाेक गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । बेथानचोक गाउँपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

    स्थानीय तहको निर्वाचन २०७९ बाट बेथानचोक गाउँपालिकाको अध्यक्षमा भगवान अधिकारी रुख चिन्हबाट विजयी भएका छन् । गाउँपालिका उपाध्यक्षमा हसिया हथौडाबाट तारा राना मगर विजयी भएकी छन् ।

    नेपाली काँग्रेसका उम्मेदवार भगवान अधिकारीले ६ हजार १९ मत पाएर विजयी भए भने प्रत्याशी नेकपा एमालेका उम्मेदवार कमल प्रसाद तिमल्सिनाले ३ हजार १ सय ६० मत ल्याएका छन् ।

    त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मदेवार तारा राणा तिमल्सिनाले नकेपा एमालेका उम्मेदवार सरला लामिछाने केसीलाई ९ सय २५ मतले पछाडि पार्दै जित तय गरेकी हुन्। राणाले ४ हजार ४ सय ९८ र नेकपा एमाले उम्मेद्वार लामिछानेले ३ हजार ५ सय ७३ मत प्राप्त गरेका छन् ।

    बेथानचोक गाउँपालिकाको वडा अध्यक्षमा वडा नं. ५ मा बाहेक वडाध्यक्षमा कांग्रेस प्रतिनिधिहरूले जित निकालेका छन् । वडा नं. ५ का उम्मेद्वार राजकुमार वाइबा स्वतन्त्रबाट पुतली चुनाव चिन्ह लिएर चुनावमा होमिएका थिए ।

    अन्य निर्वाचित वडाध्यक्षहरूमा बेथानचोक गाउँपालिकामा वडा नं. १ मा मधुसुदन तिमल्सिना, वडा नं. २ मा पुरुषोत्तम तिमल्सिना, वडा नं. ३ मा कुबेर ढकाल, वडा नं. ४ मा कृष्ण बहादुर लामा, वडा नं. ५ मा राजकुमार वाईबा र वडा नं. ६ मा विष्णु तामाङ निर्वाचित भएका छन् ।