Tag: सामुदायिक विद्यालय

  • महानगरका ५५ सामुदायिक विद्यालयका शिक्षकलाई स्काउट एडभान्स तालिम

    महानगरका ५५ सामुदायिक विद्यालयका शिक्षकलाई स्काउट एडभान्स तालिम

    काठमाडौं | काठमाडौं महानगरपालिका शिक्षा विभागको सहयोगमा महानगरका ५५ वटा सामुदायिक विद्यालयका आधारभूत तहको स्काउट तालिम लिएका शिक्षकहरुलाई स्काउटको एडभान्स तालिम दिइएको छ । अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीमा शिक्षकहरुको ७ दिने एडभान्स तालिम कोर्स सञ्चालनमा रहेको नेपाल स्काउट राष्ट्रिय कार्यकारी समिति आयुक्त कोर्स लिडर शिवराम अर्यालले बताउनुभयो ।

    स्काउट तालिम केन्द्र ककनीमा सञ्चालनमा रहेको एडभान्स तालिमको गत शनिबार काठमाडौं महानगरपालिका सहरी योजना आयोग विज्ञ सदस्य शैलेन्द्र झा, काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख गोविन्द्र प्रसाद शर्माले अवलोकन गर्नुभएको थियो । तालिम हलमा एडभान्स कोर्स गरिरहनुभएका शिक्षक शिक्षिकाहरुलाई सम्बोधन गर्दै विज्ञ सदस्य झाले काठमाडौं महानगरपालिकाको नीति बमोजिम सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीहरुलाई सामाजिक क्षेत्र, विपद्का बखत आइपर्ने स्वयंसेवकीय भूमिका निर्वाह गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताउनुभयो । आगामी दिनमा आधारभूत तहका विद्यालयहरुमा पनि स्काउटको तालिम सञ्चालन गर्ने गरि आ.व. २०८१÷८२ को शैक्षिक कार्यक्रममा आधारभूत तहका सामुदायिक विद्यालयहरुलाई सहभागि गराउने महानगरको नीति रहेको सदस्य झाले बताउनुभयो ।

    तालिममा सहभागि शिक्षक शिक्षिकाहरुले राखेका जिज्ञासाको सम्बोधन गर्दै झाले पवित्र उद्देश्यका साथ सामाजिक स्वयंसेवक उत्पादन गर्ने हेतुले सञ्चालनमा ल्याइएको यस कार्यक्रमलाई सफल पार्न र सहयोग गर्न तालिममा सहभागिलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा विभागका विभागीय प्रमुख गोविन्द प्रसाद शर्माले महानगरको सीमित स्रोत र साधनकाबिच आधारभूत तहको स्काउट कोर्स सम्पन्न गरि एडभान्स कोर्स गर्दै रहनुभएका शिक्षक शिक्षिकाहरु आफैँमा दक्ष शक्ति उत्पादन गर्ने हैसियतमा सहभागि हुन आग्रह गर्नुभयो । एडभान्स कोर्स पूरा गरिसकेपछि शिक्षक शिक्षिकाहरुले नै आ–आफ्नो विद्यालयमा स्काउट तालिम दिन सक्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा स्काउट शिक्षकशिक्षिकाहरुले राखेका जिज्ञासाहरुको सम्बोधन गर्दै विभागीय प्रमुख शर्माले स्काउट विद्यार्थी तथा शिक्षकहरुको लागि पोशाक लगायत अन्य सेवा सुविधाका सम्बन्धमा आफ्नो तर्फबाट महानगरमा प्रस्ताव लैजाने र आगामी आ.व.देखि त्यसलाई कार्यक्रममा समेट्न लागिपर्ने बताउनुभयो । स्काउट ब्वाइज, गल्र्स शिक्षकहरुको ७ दिने तालिम सफलतापूर्वक सम्पन्न हुने विश्वास गर्दै दक्ष प्रशिक्षक भएर महानगरको नीति बमोजिम प्रत्येक सामुदायिक विद्यालयमा स्काउट स्वयंसेवक उत्पादन गर्नमा सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकृत नेत्र नारायण पौडेल, ओम प्रसाद गौतम, केशव ज्ञवाली, लक्ष्मी अधिकारी, वि.नि.धनकुमारी भण्डारी, विनिता महत, लेखा अधिकृत तोयन्द्रराज सापकोटा, प्रा.स. प्रल्हाद खतिवडा लगायत महानगर वित्त विभाग एवं आ.ले.प. का कर्मचारीहरूको सहभागिता रहेको थियो ।

    स्काउट एडभान्स कोर्सको तालिम प्रशिक्षक कोर्स लिडर शिवराम अर्याल, अनिता मानन्धर, तालिम आयुक्त मिना लामा, प्रशिक्षक लिला श्रेष्ठ, सुरज खनाल प्रमोद सिग्देल, कृष्ण चालिसेले गर्नुभएको छ । कार्यक्रममा सामुदायिक विकास आयुक्त पुष्पराज शिंखडाको पनि सहभागिता रहेको थियो । जेठ ३० गतेबाट सञ्चालनमा रहेको तालिम असार ४ गते समापन हुने कोर्स लिडर अर्यालले जानकारी दिनुभयो ।

  • महानगरका सामुदायिक बिद्यालय सुधारका लागि प्र.अ. गोष्ठी

    महानगरका सामुदायिक बिद्यालय सुधारका लागि प्र.अ. गोष्ठी

    काठमाडौं । शिक्षा बिकास तथा समन्वय ईकाई काठमाडौंको आयोजना एवं काठमाडौं महानगर शिक्षा बिभागको संयोजनमा महानगर भित्रका ७९ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको सहभागितामा सामुदायिक बिद्यालय सुधारका प्रयास, नीति तथा कार्यक्रम र भावी कार्यदिशा बिषय एक दिने गोष्ठी सम्पन्न भएको छ।

    कार्यक्रमको पहिलो सत्रमा काठमाडौं महानगर पालिका शिक्षा बिभागका बिभागिय प्रमुख सीता राम कोइरालाले काठमाडौं महानगर पालिकाले सामुदायिक बिद्यालयलयको बृहत्तर सुधारका लागि बिद्यालय गौरवका योजना र सुन्दर बिद्यालय कार्यक्रम लागू गरिसकिएको बताउनु भयो।

    प्रधानाध्यापकहरुलाई प्रशिक्षण दिदै शिक्षा अधिकारी कोइरालाले कार्यक्रमको कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी प्रअहरुको भएकाले प्रअहरुको भुमिका महत्त्वपूर्ण रहने बताउनुभयो। “गरि खाने शिक्षा महानगरको ईच्छा” नारालाई सार्थक बनाउन गौरवका योजना ३ वर्षे र सुन्दर बिद्यालय कार्यक्रम १ वर्ष भित्र पूरा गर्ने लक्ष्य महानगरले लिएको बताउनुभयो।

    हाल महानगरका सामुदायिक बिद्यालयमा ३५ हजार बिद्यार्थीहरु अध्यनरत रहेकोमा बि. स.२०८४ सम्ममा महानगरका सामुदायिक बिद्यालयमा सो संख्या ९० हजार पुर्याउने र त्यसका लागि भौतिक सुधार देखि आवश्यक सबै पुर्वाधार महानगरले बनाइसक्ने बताउनु भयो।

    महानगरको नयाँ सोच अन्तरगत सुन्दर बिद्यालय, शिक्षामा सीप, सामुदायिक सिकाई केन्द्रको क्षमता बिकास, सूचना तथा संचार प्रविधिको बिकास र कार्यान्वयन,साक्षर महानगर साक्षर काठमाडौं सुनौलो अवकाश कार्यक्रम लागू गरिसकिएको शिक्षा अधिकारी कोइरालाले जानकारी दिनुभयो।

    शिक्षामा सुधारको थालनी अन्तरगत स्रोतकेन्द्रगत प्राबिधिक सहयोग र अनुगमन,मोबाइल शिक्षकको ब्यवस्था, बिद्यार्थी अभिलेख ब्यवस्थापन तथा निरन्तर मुल्यांकन, दरवन्दी मिलान, कक्षा कोठामा तालिमको प्रयोग, बिद्यार्थी सरसफाइ एवं परिचालन, मुल्यांकन प्रणालीमा सुधार लगायत धेरै कार्यहरु तदारुकताका साथ लागू गरिने बताउनु भयो। शिक्षा नीति अन्तरगत स्थानीय शिक्षा योजना, सुशासन पारदर्शीता, उत्तरदायित्व र उत्प्रेरणात्मक कार्यक्रम अगाडि बढाइने शिक्षा अधिकारी कोइराले प्र.अ.हरु माझ बताउनु भयो।

    कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख नन्दलाल पौडेलले सामुदायिक बिद्यालय सुधारका लागि काठमाडौं महानगर पालिकाले चालेका कदमलाई पुर्णता दिन सामुदायिक बिद्यालयका प्रअ, शिक्षक, बि.ब्य.स. , शिक्षक अभिभावक संघ, बिद्यार्थी, अभिभावक, समुदाय सबै मिलेर सामुदायिक बिद्यालयको गुणस्तर वृद्धिका लागि लागि पर्नुपर्ने बताउनु भयो। राम्रा बिद्यालयका अभ्यासहरुका बारेमा प्रकाश पार्दै ईकाई प्रमुख पौडेलले सामुदायिक बिद्यालयका प्रअहरुले आफू मालिक नभई सेवक भएर काम गर्नुपर्ने बताउनु भयो।

    काठमाडौंका उत्कृष्ट सामुदायिक बिद्यालय मध्य बाट बिश्व निकेतन मा. वि. त्रिपुरेश्वरका प्रधानाध्यापक हेडम्ब राज कडेल र संस्थागत बिद्यालयबाट काव्य स्कुल नयाँ बानेश्वरका प्रधानाध्यापक नवराज बास्कोटाले शैक्षिक गुणस्तर सुधारका लागि बिद्यालयले अवलम्बन गरेका बिषयहरुमा प्र.अ.हरुमाझ प्रकाश पार्नुभएको थियो।

    गोष्ठीमा शिक्षा बिकास तथा समन्वय ईकाइ शाखा प्रमुख युवराज दाहाल, काठमाडौं महानगरपालिका शिक्षा बिभागका शिक्षा अधिकृत ईन्द्र दाहाल, स्रोत ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो। कार्यक्रम कन्या मा.वि. क्षेत्रपाटीमा सम्पन्न भएको हो।

  • सामुदायिक विद्यालयमा राजनीतिक गतिविधि गर्न निषेध

    सामुदायिक विद्यालयमा राजनीतिक गतिविधि गर्न निषेध

    डडेल्धुरा । परशुराम नगरपालिकाले नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयमा राजनीतिक गतिविधि निषेध गरेको छ ।
    नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ देखि लागु हुने गरी राजनीतिक गतिविधि बन्देज गरेको हो ।

    आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम तथा बजेटमा सामुदायिक विद्यालयहरुमा राजनीतिक गतिविधि, बन्द, हड्ताल तथा शैक्षिक गतिविधिमा अवरोध गर्ने खालका क्रियाकलापहरु पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरिएको नगरपालिका स्रोतले जानकारी दिएको छ ।

    सार्वजनिक शिक्षालाई राजनीतिक प्रभावमुक्त, स्वच्छ, नियमित, गुणस्तरीय बनाउँदै विद्यालयलाई शान्ति क्षेत्रको अवधारणालाई मूर्तरुप दिइने अवधारणा अनुरुप कडा नीति अवलम्बन गरिएको नगरपालिका प्रमुख भरत जोशीले बताए ।