क्रोएसियामा ग्याल्पो ल्होसारको रौनक: शेर्पा समुदायको सांस्कृतिक धरोहरको उत्सव


क्रोएसियाको राजधानी जाग्रेबमा ग्याल्पो ल्होछार लक्षित कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको छ । शेर्पा समुदायको मौलिक, सांस्कृतिक पर्व ग्याल्पो ल्होछार कार्यक्रम राजधानी जाग्रेब स्थित ‘प्रेच्को २ ए’ मा सम्पन्न भएको हो ।
२१५२ औं स्यिङ मो डुल ल्हो ग्याल्पो ल्होछार लक्षित कार्यक्रम शेर्पा किदुग क्रोएसियाको आयोजनामा भएको हो । कार्यक्रम शेर्पा समुदाय लगायत ल्होछार प्रेमी नेपालीहरूकाबिच मनाइएको थियो । नेपालमा फागुन १६ गते मनाइएको यस पर्वलाई क्रोएसियामा कार्यरत नेपालीहरूलाई सहज हुने हिसाबले मार्च २ तारिख आइतबारको दिन भव्यताका साथ मनाइएको हो ।
प्रवासमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मौलिक कला, संस्कति, भेषभूषा, परम्पराको संरक्षण गर्न र भावनात्मक एकतामा सूत्रबद्ध गर्न कार्यक्रम आयोजना गरिएको आयोजक शेर्पा किदुग क्रोएसियाले जनाएको छ ।
एनआरएनए क्रोएसियाका सल्लाहकार एवं आप्पा कम्पनीका प्रबन्ध निर्देशक दावा लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम शेर्पा किदुग क्रोएसियाका अध्यक्ष निमा रिञ्जन शेर्पाको सभापतित्वमा सम्पन्न भएको हो ।
समारोहमा विशेष अतिथि एनआरएन क्रोएसियाका उपाध्यक्ष हर्क साहु, एनआरएनए क्रोएसियाका कोषाध्यक्ष दुर्गा अधिकारी, जन प्रगतिशील क्रोएसियाका अध्यक्ष लोब्साङ लामा, सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष बासु ओझा, तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाशचन्द्र तामाङ, बरिष्ठ उपाध्यक्ष बुद्ध लामा, उपाध्यक्ष सन्जय लामा, बुद्ध मार्टका संचालक बिकास मेचे लगायतले शुभकामना मन्तव्य मार्फत कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा नेपालबाट आएका ख्यातिप्राप्त गायक प्रदिप लामाले ‘याङसारी माया’ लगायत आधा दर्जनभन्दा बढी गीतहरू गाउँदै मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा बेल्जियमबाट आएका गायक सोनम शेर्पा (कोसिस)ले मुटु साटेर लगायत आधा दर्जन सांगितिक प्रस्तुति दिँदै कार्यक्रमलाई सांगितिक माहौल सिर्जना गरेका थिए । त्यस्तै कार्यक्रममा गायक आङफुर्वा शेर्पाले सांगितिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा तासी लामु शेर्पा, फुर्बा छोकी शेर्पा, पुदोमा शेर्पा, फुलि शेर्पा, जङ्गमु शेर्पा, शङ्गमु शेर्पाले शेर्पा सुदायको मौलिकता झल्काउने, परम्परागत नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै सुजिता तामाङ, क्यालिआना तामाङ, ग्याल्छेन तामाङ र छयोङ तामाङले सामुहिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय कलाकार गायिका दिपा तामाङ, गायक बुद्ध लामा, अजित थकाली, गगन तामाङ, विकास मेचेले आ-आफ्नो प्रस्तुति दिएका थिए । सांस्कृतिक तथा शुभकामना प्रदान गर्दै सम्पन्न भएको ल्होछार विशेष कार्यक्रमको सञ्चालन गगन तामाङले गरेका थिए ।
कार्यक्रमको उत्तरार्धमा ग्याल्पो ल्होछार लक्षित विशेष कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्ने संघसंस्था तथा व्यक्तित्वहरूलाई शेर्पा किदुग क्रोएसियाले सम्मानपत्र, दोसल्ला र मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो ।
यस वर्ष शेर्पा समुदायले २१५२ औं ग्याल्पो ल्होसार मनाएका हुन् । नेपालमा ग्याल्पो ल्होछारको अवसरमा राजधानी काठमाडौं लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइएको थियो । भने विश्वभर छरिएर रहेका नेपालीहरूले आफू कार्यरत विदेशी भूमिमा संगठित हुँदै ल्होछार कार्यक्रम मनाएका हुन् । कार्यक्रमले प्रवासमा नेपाली समुदायबिच भेटघाटको वातावरण बनाउने मात्र नभई एकताको भावना बढाउन, आपसी सञ्चार, सद्भाव, भातृत्व बढाउँदै सांस्कृतिक धरोहरलाई संरक्षण गर्न एकताबद्द हुने विश्वास लिइएको छ । व्यस्तता र नियमबद्ध दैनिक कार्यतालिकामा चलेको जीवनमा हर्ष, उमंग र सकारात्मक ऊर्जाको सञ्चार गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका निर्वाह राख्ने गर्दछन् ।