मुखको हेरचाह नगरेमा हृदय र मस्तिष्कमा गम्भीर समस्या उत्पन्न हुने

धुलिखेल । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले मुख स्वास्थ्य दिवस २०२५ को अवसरमा सञ्चारकर्मी र सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यालयले मुखको हेरचाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मुखको सरसफाईमा हेलचेक्राइ गर्दा हृदयघात, अलजाइमर्स र निमोनियाको जोखिम हुन सक्ने तथ्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा दन्त चिकित्सक डा. दिपा आचार्यले मुख स्वस्थ नहुँदा हुन सक्ने जोखिमबारे जानकारी गराएकी हुन् । डा. आचार्यका अनुसार, मुख स्वस्थ नुहँदा धमनी बन्द भई हृदय घात र स्ट्रोकको जोखिम हुन सक्छ । मुखमा भएका केही कीटाणुहरू फोक्सोमा जाँदा यसले निमोनिया निम्त्याउन सक्ने, पेरियडोन्टाइटिस भनिने गिजाको रोग, अवधि नपुगी बच्चा जन्मिने र कम तौलको बच्चा जन्मिने समस्या देखिन सक्ने जानकारी दिइन् । मुख स्वस्थ नहुँदा गिजाको रोग लाग्न सक्ने र मानिसहरूलाई रगतमा चिनीको मात्रा नियन्त्रण गर्न गाह्रो हुने बताइएको छ ।

नियमित मुखको हेरचाहले मधुमेह नियन्त्रणमा सुधार गर्न सकिने डा. आचार्यले बताइन् । उनका अनुसार, जिन्जिभाइटिस ब्याक्टेरिया मस्तिष्कमा जान सक्ने र मस्तिष्कका कोषहरूको सूजन र विनाश निम्त्याउँछ । यो अल्जाइमर रोगसँग जोडिएको हुन सक्छ ।

हरेक बर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाउदै आइरहेकोमा जनस्वास्थ्य कार्यालय काभ्रेले मुख स्वास्थ्यको महत्व र समग्र स्वास्थ्यमा यसको प्रभाव बारे आम नागरिकमा जनचेतना जगाउन रोकथाममा जोड दिनुका साथै स्वस्थ मुख सम्बन्धी अभ्यासहरूलाई प्रवद्र्धन गर्न, नियमित दाँत परिक्षण गरि रोग भार कम गर्न सञ्चारकर्मी एवं सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । यस बर्ष मुख दिवस २०२५ को नारा ‘स्वास्थ मुखः सकारात्मक सोच’ रहेको छ ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक प्रमुख रागिश्री कक्षपति श्रेष्ठले मुखको स्वच्छता र आहारसँग सम्बन्धित स्वस्थ व्यवहार अपनाउनु पर्ने बताइन् । प्रमुख श्रेष्ठका अनुसार दाँत किराले खाने, गिजाको सामान्य संगै जटिल समस्या, मुखको क्यान्सर, मुख –दाँतमा चोटपटक, ओठ र तालु चिरिएको मुखका प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिएको बताइन् ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले मुख स्वास्थ्यका तौरतरिका र यसका जोखिमका बारे सचेतना फैलाउन सञ्चार क्षेत्रले आवश्यक भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । जनस्वास्थ्य कार्यालय काभ्रेका पद्मराज कैनीले एक साथ धेरै जनसंख्यामा स्वास्थ्य सन्देश फैलाउन विश्व मुख स्वास्थ्य दिवसका अवसरमा सञ्चारकर्मी र सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *