Author: Kavre Post

  • “अभागी कर्म”: जीवन भोगाइमा आधारित तामाङ गीत

    “अभागी कर्म”: जीवन भोगाइमा आधारित तामाङ गीत

    बनेपा । पछिल्लो समयमा तामाङ सङ्गीतिक क्षेत्रमा प्रवेश गर्दै सनिता स्याङ्तानले आफ्नै प्रस्तुति र जीवन कथामा आधारित “अभागी कर्म” गीत बजारमा ल्याउने भएकी छिन् ।

    गीतमा पृथक शब्दकार धनराज लामा र स्वयं सनिता स्याङ्तानले शब्द रचना गरेका छन्। सङ्गीतकार प्रताप जिम्बाको सङ्गीत रहेको यस गीतलाई एरेन्जर तथा मिक्सिङ कार्साङ लामाले गरेका हुन्।

    गीतमा सायरी स्वर रोजिना पाख्रिनको रहेको छ भने केटातर्फ कोरस कार्साङ लामाले गाएका छन्। केटीतर्फ गायिका सुमिना लो र रञ्जिता तामाङले स्वर भरेका छन्।

    सनिता स्याङ्तान भन्छिन्, “मान्छे पढेर भन्दा परेर चेत्दो रहेछ। आज म यस्तो दुःखको भुमरीमा परेँ। मेरो जस्तै नियति भोग्ने धेरै नारीहरू होलान् । म रोए पनि अरू दिदीबहिनीहरूले सकेसम्म यस्तो दुःख भोग्न नपरोस् भन्ने अभिप्रायले यो गीत सार्वजनिक गर्न लागेको हुँ ।”

    यो गीतले तामाङ समुदायको पीडा र यथार्थ जीवन झल्काउने भएकाले श्रोता-दर्शकलाई भावनात्मक रूपमा समेट्ने बताइएको छ ।

  • लिन इन्टरनेशनल बोर्डिङ स्कुल बनेपाको २४औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

    लिन इन्टरनेशनल बोर्डिङ स्कुल बनेपाको २४औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

    बनेपा । लिन इन्टरनेशनल बोर्डिङ स्कुल बनेपाको २४औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उप-महासचिव भीमसेन केसी रहनुभएको थियो भने विद्यालयका निर्देशक कृष्ण भण्डारी (शिशिर) को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले लिन स्कुलले बनेपा नगरपालिका क्षेत्रमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्न महत्वपूर्ण योगदान दिइरहेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। साथै, उहाँले विद्यार्थीमैत्री, प्रविधिमैत्री र समयसापेक्ष शिक्षाको आवश्यकताबारे चर्चा गर्दै विद्यालयको निरन्तर सफलताको कामना गर्नुभयो।

    विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेको सो कार्यक्रममा वर्षभरिका उत्कृष्ट शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो।

    कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य पूर्णकुमार श्रेष्ठ, काभ्रे प्याब्सनका अध्यक्ष श्याम बहादुर भुजेल, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेशका पूर्वअध्यक्ष दुर्गासिं तामाङ, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, पत्रकार, अभिभावक, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    सोही अवसरमा वर्षका उत्कृष्ट शिक्षक प्रतिमा श्रेष्ठ, उत्कृष्ट खेलाडी (सिनियर) छात्र हिमाल श्रेष्ठ तथा छात्रा दिव्शा तामाङ, जुनियर उत्कृष्ट खेलाडी प्रेरक तामाङ र अपेक्षा तामाङलाई सम्मान गरिएको थियो।

    विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक दीपक तामाङले गर्नु भएको थियो।

  • मादक पदार्थ सेवन गरी आमालाई चिरपट र नगर प्रहरीलाई चुप्पी प्रहार

    मादक पदार्थ सेवन गरी आमालाई चिरपट र नगर प्रहरीलाई चुप्पी प्रहार

    खानीखोला । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा मादक पदार्थ सेवन गरी आफ्नै आमालाई चिरपट प्रहार गर्ने तथा गाउँ प्रहरीलाई चुप्पी प्रहार गरी घाइते बनाउने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    फागुन १८ गते साँझ करिब ५ बजे, खानिखोला गाउँपालिका–५ निवासी २८ वर्षिय विकास भुजेलले मादक पदार्थ सेवन गरी आफ्नी ५० वर्षीया आमा सुनमाया भुजेलमाथि चिरपट प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, तालढुङ्गा पुर्‍याइएको र उनको अवस्था मध्यम रहेको काभ्रे प्रहरीले जनाएको छ ।

    भुजेलले गाउँपालिकाको गेटअगाडि खटिएका खानिखोला गाउँपालिकामा कार्यरत गाउँ प्रहरी ३० वर्षीय पाल्साङ लामामाथि चुप्पी प्रहार गरेका छन् । छाती र ढाडको बायाँपट्टि चोट लागेका लामालाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको बताइएको छ ।

    घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ ।

    घटनापछि चुप्पीसहित पक्राउ परेका विकास भुजेलमाथि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

     

  • विद्यालय शिक्षा सुधारका लागि शैक्षिक मेला: उत्तरदायी नागरिक उत्पादन महानगरको लक्ष्य

    विद्यालय शिक्षा सुधारका लागि शैक्षिक मेला: उत्तरदायी नागरिक उत्पादन महानगरको लक्ष्य

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘गरिखाने शिक्षा महानगरको ईच्छा’ नारालाई सार्थक बनाउँदै शैक्षिक मेला सम्पन्न गरेको छ । 

    महानगर मातहतका सामुदायिक विद्यालयबाट नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।

    कार्यक्रम विद्यार्थीमा प्रभाव र सिकेका ज्ञान बाँड्नका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । कामपाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा मेला आयोजना गरेको हो।

    सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले शैक्षिक सत्रको अन्त्यमा सैद्धान्तिक विषयको लिखित परीक्षा भएजस्तै व्यवहारिक र प्रयोगात्मक कक्षाहरुको नतिजा हेर्ने प्रयोजनको लागि मेला आयोजना गरिएको जानकारी दिनुभयो ।

    सुनिता डंगोल उपमेयर काठमाडौं

    मेलामा विद्यार्थीहरू पारेका वस्तुहरूको अवलोकन हेर्दै काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलशैक्षिक मेलाको उद्घाटन महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बालमैत्री शिक्षण सिकाइबाट असल र सफल नागरिक उत्पादनमा महानगरपालिकाको जोड दिएको बताउनुभयो । 

    मेलामा शिक्षा सुधार बाबको शिक्षा, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षक क्षमता विकास समावेशका कार्यक्रमको बिम्बामा समेटिएका छन्। मेला शिक्षाका लागि महानगरपालिकाको सहरी योजना आयोग, विभाग, स्रोत प्रधानाध्यापक र अध्यापक र शिक्षकलाई सहजीकरण गरिएको थियो ।

    प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थी नृत्य, अभिनय, नाट्य, संवाद माध्यमबाट नविनतम सिकाइ गतिविधि प्रदर्शन थिए । बुक फ्री फ्राइडे भित्रका ३५ दृश्य उपसमूहका स्टल रुचि र नतिजा प्रदर्शित थिए । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी तथा विदेशी पाहुनाकालाई अवलोकनका लागि निमन्त्रणा गरिएको थियो । 

    महानगरपालिका भित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ संस्थागत विद्यालय २ लाख १० हजार ९३४ जना विद्यार्थी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय शिक्षाको विकास, स्तरोन्नति र उच्च अभिवृद्धि उद्देश्यले महानगरपालिकाले शिक्षामा आधारित लगानी बढाएको छ । जसबाट बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शिक्षण सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धिको विश्वास लिइको छ । थप शिक्षा सिकाइमा प्रविधि सूचनाको प्रयोग, बुक फ्री फ्राइडे (एकीकृत सिकाइ, निर्माणात्मक सिकाइ र शिक्षामा सिप), टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । 

  • सम्पत्ति शुद्धीकरण निगरानीमा नेपाल

    सम्पत्ति शुद्धीकरण निगरानीमा नेपाल

    नेपालले सम्पत्ति शुद्धीकरण निवारणका मापदण्ड पूरा गर्न नसक्दा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) ले दुई वर्षका लागि सूक्ष्म निगरानीको सूचीमा राखेको छ । आर्थिक गतिविधिको सूचकांकमा अन्तर्राष्ट्रिय रूपमा सूक्ष्म निगरानीको सूचीमा नेपाल परेपछि यसले पार्ने असरका बिषयमा चर्चा हुन थालेको छ ।

    एफएटिएफले बुँदागत रूपमा नेपाललाई मापदण्ड पूरा गर्न सुझाव दिएकोमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कतिपय सम्पादन गरिएका कार्यसमेत सम्बद्ध निकायलाई समयमा बुझाउन नसक्दा नेपाल ग्रे लिष्टमा परेको बिज्ञहरुको भनाई छ।

    सम्पत्ति शुद्धीकरणको मापदण्ड पूरा गर्ने क्रममा बैङ्क तथा वित्तीय संस्थाले अग्र भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । वित्तीय कारोबार बैङ्क तथा वित्तीय संस्थाबाटै सम्पादन हुन्छ । बैङ्क तथा वित्तीय संस्थामा भौचर भर्दा नै आर्जित सम्पत्तिको स्रोत खुलाउनु पर्ने हुन्छ । त्यसैका निम्ति एफएटिएफको मापदण्ड पूरा गर्ने क्रममा बैङ्क तथा वित्तीय संस्थामा सम्पत्ति शुद्धीकरणसम्बन्धी थप निगरानी गर्न नेपाल राष्ट्र बैङ्कले पनि नियमन गर्दै आएको छ । यसका लागि केन्द्रीय बैङ्कको भूमिका अझ बढी प्रभावकारी हुनुपर्ने देखिन्छ ।

    नेपालमा कतिपय सहकारीहरुले बैक तथा वित्तीय संस्थाको भन्दा बढी कारोबार गरेको पाइन्छ। त्यस्ता संस्थाहरुको पारदर्शितामा नियमन निकायहरूबाट सम्पत्ति शुद्धीकरणका प्रतिबद्धता पूरा भए नभएको कुनै लेखाजोखा छैन ।

    कालो धनलाई सेतो बनाउने, आतङ्ककारी तथा विध्वंसात्मक कार्यमा हुने लगानी रोक्न उच्च सरकारी निकायबाटै उचित कदम चालिनुपर्ने देखिन्छ। कालो धन गैर तौरतरिकाले सेतो बनाउने कार्य रोक्न सरकारी संयन्त्र , बैक बित्तीय क्षेत्र, सहकारी, मालपोत , घरजग्गा मुल्यांकन, क्यासिनो हुण्डी कारोबार लाई उच्च निगरानीमा राख्न आवश्यक छ।

    अन्तर्राष्ट्रिय कानुन, सन्धि, सम्झौताले धनको वैध स्रोत र माध्यमलाई मात्र मान्यता दिएको हुँदा गैरतौरतरिका बाट आर्जित धन सम्पत्ति राज्यले जफत गर्न सक्नुपर्छ । मुलुकमा कालो धन अपराध रोक्न नेपालले जतिसक्दो चाँडो आन्तरिक गृहकार्य पूरा गरी एफएटिएफको दुई वर्षे निगरानीको सुचिबाट हटाई देशलाई कालो सूचीमा पर्नबाट जोगाउन जरुरी छ ।

  • ‘फ्रेमभित्रको कथाः छायाँकार राजन खरेलको यात्रा’

    ‘फ्रेमभित्रको कथाः छायाँकार राजन खरेलको यात्रा’

    नेपाली चलचित्र, वृत्तचित्र र म्युजिक भिडियो छायांकनमा आफ्नो छुट्टै पहिचान बनाएका कुशल छायाँकार हुन् राजन खरेल । खरेलले चिट्ठी, मृत्युकोश, दुर्गामाण्डौं, ह्वेयर एम आई, र अ हिडन लाइफ जस्ता फिचर लेन्थ र सर्ट लेन्थका चलचित्रहरू छायांकन गरेका छन् । साथै, जर्नी टू गोक्यो, खहरेपाँगु, भुम्लु गाउँपालिका, चाँगुनारायण नगरपालिका, फलाँटे, बागमती सभ्यता, चर्चा चौवासको, बनेपाको समृद्धि, गन्तव्य कुशेश्वर, सेभ द मङ्की जस्ता उल्लेख्य वृत्तचित्रहरू र दर्जनौँ म्युजिक भिडियोहरू निर्माणमा उनले छायाँकारको रुपमा रहेर कार्य कुशलता प्रस्तुत गरिसकेका छन् ।

    १२औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा जर्नी टू गोक्यो बाट सर्वोत्कृष्ट डकुमेन्ट्री फिल्म सिनेमाटोग्राफरको अवार्ड जितेका खरेलले, तेस्रो स्पाइनी अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा खहरेपाँगु डकुमेन्ट्रीबाट पनि सर्वोत्कृष्ट डकुमेन्ट्री फिल्म सिनेमाटोग्राफरकै अवार्ड हात पारि सकेका छन् । नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा उनले अ हिडन लाइफ बाट सर्वोत्कृष्ट छायाँकार अवार्ड जित्न सफल भए भने खरेलले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।

    दुबईमा सम्पन्न एमएसएन एक्सिलेन्सी अवार्डमा खरेलले संसारकै अग्लो स्थानमा छायांकन गरिएको म्युजिक भिडियो ‘हाम्रो साझा हिमाल’ बाट वेस्ट सिनेमाटोग्राफर अवार्ड जित्न सफल भए । उक्त म्युजिक भिडियोले “हाईएस्ट अल्टिच्युट म्युजिक भिडियो अन ल्याण्ड” शीर्षकमा गिनिज बुकमा पनि नाम दर्ता गर्न सफल भएको थियो ।

     

    व्यावसायिक रूपमा सफल एवं स्थापित छायाँकार राजन खरेलसँग काभ्रेपोष्ट साप्ताहिकका लागि गरिएको विशेष कुराकानीको सम्पादित अंशः

    ♦ के नेपालमा एक छायाँकार आर्थिक रुपमा सबल बन्न सम्भव छ ?
    दक्ष, आफ्नो कामप्रति लगनशील र जिम्मेवार छायाँकारलाई जीविकोपार्जन गर्न सहज छ । कुशल, छायाँकारले राम्रै आम्दानी गर्न सक्छ । म स्वयं चलचित्र र म्युजिक भिडियो मात्र नभई डकुमेन्ट्री फिल्म र व्यावसायिक विज्ञापन पनि छायांकन गर्ने भएकोले जीविकोपार्जन मात्र होइन, आजको दिनमा राम्रो आर्थिक उपलब्धि समेत प्राप्त गरेको छु ।

    ♦ तपाईंले पारिश्रमिकको विषयलाई लिएर झन्झट व्यहोर्नु परेको छ कि ?
    हुन सक्छ, केहीले यस्तो अनुभव गरेको होलान्, तर मलाई भने अहिलेसम्म त्यस्तो समस्या परेको छैन । म प्रायः कामको संख्या भन्दापनि गुणस्तरमा ध्यान दिन्छु । म कोसँग काम गर्दैछु, कस्तो सम्झौता गरेको छु, र कामको प्रकृति कस्तो छ भन्ने मूल्यांकन गरेर मात्र काम गर्ने भएकाले पारिश्रमिकको विषयमा कुनै झन्झट भोग्नु परेको छैन ।
    चलचित्र र म्युजिक भिडियोहरु भन्दापनि बढी म डकुमेन्ट्री फिल्म र व्यावसायिक विज्ञापनहरूको छायांकन गर्ने गर्छु । यी क्षेत्रहरूले प्रायः समयमै भुक्तानी सुनिश्चित गर्छन् । यही कारणले अहिलेसम्म बोले अनुसारको पारिश्रमिक नपाउने समस्या सामना गर्नुपरेको छैन ।

    ♦ एउटा सफल छायाँकार बन्नको लागि कत्तिको संघर्ष गर्नु पर्यो ?
    म आफैलाई सफल छायाँकार भन्न त सक्दिन किनभने मैले अझै धेरै गर्न बाँकी नै रहेको छ । सिक्ने क्रम हरेक व्यक्तिमा जारि नै रहन्छ जस्तो लाग्छ । तर पनि संघर्षबिना के नै सम्भव छ र ? मैले पनि यो पेशामा स्थापित हुन धेरै संघर्ष गर्नुपऱ्यो । काम सिक्दाको संघर्ष सबैभन्दा ठूलो थियो । नयाँ मान्छे, नयाँकाम र नयाँ वातावरणमा आफूलाई स्थापित गर्न सजिलो थिएन । अर्को चुनौती थियो आफ्नो कामलाई उत्कृष्ट बनाउने प्रयास । सिक्ने क्रममा अग्रजहरूले खुलेर ज्ञान बाँड्न आनाकानी गरेको अनुभव पनि गरें ।
    त्यस्तै, मैले गरेका कामलाई कतिको मन पराइन्छ र तिनले कतिको सफलता पाउँछ भन्ने डर र चुनौती लगातार रहन्थ्यो । तर, ती चुनौतीहरूले मलाई अझ गुणस्तरीय काम गर्न र सधैं रचनात्मक रहन प्रेरित गऱ्यो । नयाँ र सिर्जनात्मक छायांकनको खोजीले नै मलाई यो क्षेत्रमा स्थापित हुन सहयोग ग¥यो । संघर्षले मात्र होइन, लगनशीलता र मिहिनेतले आज म छायाँकारको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छु ।

    ♦ चलचित्र, गीत संगीत तथा डकुमेन्ट्रिको छायाँकन गर्न समयको तालमेल कसरी मिलाउनुहुन्छ ?
    पक्कै पनि, समय व्यवस्थापन गर्न जान्नु नै व्यावसायिक सफलताको एक प्रमुख पक्ष हो । विशेषतः चलचित्र छायांकन गर्दा धेरै समय लाग्ने भएकाले, चलचित्र निर्माण पक्षले तय गरेको समय तालिकालाई प्राथमिकता दिन्छु । चलचित्रको तालिका बाहेकका दिनमा भने अन्य प्रोजेक्टहरूको छायांकन गर्न समय मिलाउँछु ।
    म्युजिक भिडियो र व्यावसायिक विज्ञापन छायांकनका लागि तुलनात्मक रूपमा कम समय लाग्ने भएकाले, खाली रहेका दिनहरूमा ती प्रोजेक्टहरू पूरा गर्छु । डकुमेन्ट्री फिल्मका लागि भने प्रायः मेरो अनूकुल समय मिलाउने गर्छु । किनभने यस विधामा मेरो लगाव र रुचि दुवै उच्च छ । यसरी नै सबै प्रोजेक्टहरूका लागि समय व्यवस्थापन गर्न सम्भव भएको छ ।

    अहिलेसम्म कति जति डकुमेन्ट्री, म्युजिक भिडियो तथा चलचित्रहरु गर्नुभयो र नयाँ तयारी के छ ?
    अहिले सम्म मैले “जर्नी टु गोक्यो, खहरेपाँगु, भुम्लु गा.पा., चाँगुनारायण न.पा., फलाँटे, बागमती सभ्यता, चर्चा चौवासको, बनेपाको सम्वृद्धि, गन्तब्य कुशेश्वर, सेव द मङकी” लगायत दर्जनौ डकुमेन्ट्रिको छायाँकन गरिसकेको छु । त्यस्तै “कर्महारा चेली, हामी किसानी, मलाई बुद्ध, तिमी पागल, म त गीत गाउँछु हजुर, हाम्रो साझा हिमाल” लगायत दर्जन भन्दा बढि म्युजिक भिडियोहरु एवम् होएर एम् आई्, अ हिडन लाईफ, कुइनेटो, दुर्गामाण्डौ, चिट्ठी, मृत्युकोश लगायत फिचर लेन्थ तथा सर्ट लेन्थका चलचित्र हरुमा पनि छायाँकारको रुपमा रहेर मैले काम गरिसकेको छु । टेलि चलचित्र भ्वाइसलेस भ्वाइसमा पनि मैले १४ एपिसोड सम्म छायाँकारको रुपमा रहेर काम गरेको थिएँ। आजभालि केही नयाँ प्रोजेक्टहरुको छायाँकनमा व्यस्त छु । त्यसैगरी, चलचित्र चिट्ठी प्रदर्शनीको तयारीमा छ भने चलचित्र मृत्युकोशको पोष्ट प्रडक्सनको तयारीमा छ । साथै, सर्ट फिल्म “होएर एम् आई” र डकुमेन्ट्री फिल्म “चर्चा चौवासको” विभिन्न महोत्सवहरुमा समावेश भईरहेका छन् । टिभी सिरिज र केहि डकुमेन्ट्री फिल्महरूको सम्झौता समेत भइसकेको छ ।

  • आदिवासी जनजाति युवा महासंघ बागमती प्रदेशको अध्यक्षमा जीवन वाइबा

    आदिवासी जनजाति युवा महासंघ बागमती प्रदेशको अध्यक्षमा जीवन वाइबा

    ♦ अशोक बुद्ध लामा


    बागमती प्रदेशस्तरीय आदिवासी जनजाति युवा महासंघ नेपालको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले जीवन वाइबालाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ। २०८१ फागुन १५ गते सम्पन्न भेलाले वाइबाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति गठन गरेको हो।

    कार्यसमितिमा बिमला हायु, सुनिता आले मगर, सिजन शाक्य उपाध्यक्ष पदमा चयन भएका छन्। सचिवमा शुमित्र मोक्तान, सह–सचिवमा पेमा खाण्डु शेर्पा र पाल्देन लामा, कोषाध्यक्षमा विष्णु माया लामा, सह–कोषाध्यक्षमा मन्जु लोप्चान चयन भएका छन्।

    सदस्यहरूमा कृस मान तामाङ, सञ्जय मोक्तान, सन्तोष कुमार गुरुङ, माया गुरुङ, राज तामाङ रहेका छन्। बाँकी रहेका सदस्यहरूलाई बागमती प्रदेश युवा महासंघमा आबद्ध विभिन्न जातीय समुदायबाट समावेश गर्ने निर्णय गरिएको छ।

    भेलाको अध्यक्षता निवर्तमान अध्यक्ष विलाम मुक्तानले गरेका थिए। प्रमुख अतिथिका रूपमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ सहभागी थिए।

    विशिष्ट अतिथिका रूपमा आदिवासी जनजाति महासंघका उपमहासचिव रामकृष्ण ल्बोन तामाङ, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन कुमार गोले, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य सेतेमान तामाङ, आदिवासी जनजाति युवा महासंघका महासचिव किरण श्रेष्ठ, उपमहासचिव राकेश गुरुङ, सचिव घम्ब घिसिङ (मिलन), सिन्धुपाल्चोक कार्यवाहक अध्यक्ष फुर्वा ग्याल्बो मोक्तान, युवा महासंघका केन्द्रीय सदस्य सुप्रिया राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए।

    बागमती प्रदेशको ११ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको यो अधिवेशनमा दोलखा र चितवन जिल्लाका प्रतिनिधिहरू भने सहभागी भएका थिएनन् ।

  • काभ्रेमा फरक फरक दुर्घटनामा ३ जनाको मृत्यु

    काभ्रेमा फरक फरक दुर्घटनामा ३ जनाको मृत्यु

    धुलिखेल । काभ्रेमा भएको फरक फरक घटनामा ३ जना व्यक्तिहरूले ज्यान गुमाएका छन् ।

    वृद्धाश्रममा सुख्खा पहिरो जाँदा कामदारको मृत्यु

    नमोबुद्ध नगरपालिका वडा नम्बर १ कानाकोटमा सुख्खा पहिरो खस्दा एक कामदारको मृत्यु भएको हो । कानाकोट स्थित निर्माणाधीन वृद्धाश्रममा सुख्खा पहिरो खस्दा भवनको दोस्रो तल्लाको पिलर भत्किएको थियो । सोही क्रममा फलामे रडले लागेर पर्सा जिल्लाको सखुवापर्सेनी गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षिय दुर्जन माझीको घटना स्थलमै मृत्यु भएको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

    घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्यामपाटीबाट प्रहरी सहायक निरीक्षक (प्र.ह.) लोकनाथ सापकोटाको नेतृत्वमा टोली खटिएको थियो। त्यस्तै, थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय (ई.प्र.का.) मंगलटारबाट प्रहरी निरीक्षक (प्र.नि.) कृष्ण गिरीको कमाण्डमा अर्को टोली पनि परिचालन गरिएको छ। प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक अनुसन्धान जारी राखेको छ।

     

    भुम्लुमा भिरबाट लडेर गिरीको मृत्यु

    त्यस्तै, भुम्लु गाउँपालिका वडा नम्बर १, सापिङमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

    प्राप्त जानकारी अनुसार, ३५ वर्षीय श्रीकृष्ण गिरी आफ्नै घरदेखि करिब १.५ किलोमिटर पश्चिममा रहेको सापिङ आङगे खोल्सामा मृत अवस्थामा फेला परेका हुन् । घटना दिउँसोको १:२० बजेको समयमा भएको आशंका गरिएको छ।

    घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) को नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। इलाका प्रहरी कार्यालय (ई.प्र.का.) कार्तिके देउरालीबाट समेत प्रहरी निरीक्षक (प्र.नि.) को कमाण्डमा थप टोली परिचालन गरी अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, गिरी करिब ३५ देखि ४० मिटर अग्लो भीरबाट खसेका थिए। घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको छ। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोटहरू देखिएको प्रहरीले जनाएको छ।

     

    बनेपामा एक महिला मृत फेला

    बनेपामा एक जना महिला मृत  अवस्थामा फेला परेकी छन् । बनेपा बसपार्क नजिकै स्थानीय सर्मिला श्रेष्ठको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ ।

    घटनाहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ।

  • पाचँखालको जंगलमा फेला परेको मानव कङ्कालको पहिचान: हत्यामा संलग्न रञ्जितकार पक्राउ

    पाचँखालको जंगलमा फेला परेको मानव कङ्कालको पहिचान: हत्यामा संलग्न रञ्जितकार पक्राउ

    धुलिखेल । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-३ स्थित काफ्लेटी सामुदायिक जंगलमा मानव कङ्काल फेला परेको घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन् । २०८१ फागुन १४ गते दिउँसो करिब २:०० बजे मानव कङ्काल फेला परेको थियो । प्रारम्भिक अनुसन्धानपछि शव पहिचान तथा हत्यामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको काभ्रे प्रहरीले जनाएको छ ।

     

    अनुसन्धानका क्रममा उक्त कङ्काल मण्डनदेउपुर नगरपालिका-११ निवासी ३५ वर्षीया निशा लामाको भएको पुष्टि भएको छ। घटनास्थलमा फेला परेको चप्पल, झोला र सोही झोलाभित्र रहेको लेडिज टेलरको बिलमा निशा लामाको नाम उल्लेख भएकाले उनका श्रीमान् राइफल लामाले शवको सनाखत गरेका थिए। मृतक निशा २०८१ असोज १५ गतेदेखि हराइरहेकी थिइन्, उनको खोजतलास भइरहेको थियो ।

     

    प्रहरी अनुसन्धानले हत्यामा धुलिखेल नगरपालिका-४ निवासी ३६ वर्षिय सुनिल रञ्जितकार संलग्न रहेको देखाएको छ । उनले निशा लामालाई ढुङ्गाले टाउकोमा पटक–पटक प्रहार गरी हत्या गरेका थिए । हत्यापछि शव जंगलमै लुकाएर उनी फरार भएका थिए।

     

    २०८१ फागुन १५ (आज) प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका निमित्त सूचना अधिकारी दिनेश बहादुर कुँवरले जानकारी दिए ।

  • काभ्रेपलाञ्चोकलाई संसारभर चिनाउन विश्व युवा महोत्सव २०२५ आयोजना गर्दैछौं: दिपक कुमार गौतम

    काभ्रेपलाञ्चोकलाई संसारभर चिनाउन विश्व युवा महोत्सव २०२५ आयोजना गर्दैछौं: दिपक कुमार गौतम

    धुलिखेल। विश्व युवा महोत्सव २०२५ नेपालमै पहिलो पटक आयोजना हुँदैछ । काभेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा यही चैत १४ गतेदेखि १८ गते (मार्च २७- ३१, २०२५) सम्म महोत्सव चल्नेछ ।

    विश्वभरका १० हजार युवा प्रतिनिधिमाझ ५० भन्दा धेरै अन्तरंग र बहिरंग कार्यक्रमहरू सञ्चालन गरिने आयोजक संस्था जिल्ला समन्वय समिति  काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यक्रममा नेपालबाट मात्र नभएर विश्वभरिबाट १ सय भन्दा धेरै देशबाट युवाहरूको सहभागिता रहने बताइएको छ ।

    नेपालको पर्यटन उद्योग प्रवर्धन गर्ने सँगै निराश युवाहरूबिच आशाको सञ्चार गर्दै सम्भावनाको खोजी गर्न कार्यक्रम कोशेढुंगा साबित हुने जिसस काभ्रेपलाञ्चोक प्रमुख दिपक कुमार गौतमले बताएका छन् । एउटा देशको असल अभ्यास अर्को देशले सिक्ने र सिकाउने प्याल्टफर्मको रुपमा समेत कार्यक्रम सहयोगी सिद्ध हुने विश्वास लिइएको छ ।

    विश्व युवा महोत्सव २०२५ आयोजना हुँदा यसबाट काभ्रेपलाञ्चोक जिल्ला र नेपालले कसरी लाभ लिन सक्छ ? यस महोत्सवमा सहभागी युवाहरूले केकस्ता लाभ लिन सक्छन् ? लगायतका विषयवस्तुमा कुराकानी गरिएको छ ।

    कार्यक्रमको पूर्वसन्ध्यामा, महोत्सवको संकल्पकर्ता जिसस काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमसँग काभ्रेपोष्ट र यसको अनलाइन संस्करणका लागि संवाददाता बालकृष्ण बजगाँईले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

     

    ♦ विश्व युवा महोत्सव २०२५ कहिले र कहाँ आयोजना हुँदैछ?

    महोत्सव २०८१ चैतको १४ गतेदेखि १८ गतेसम्म (मार्च २७ देखि ३१) सम्म काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाको विभिन्न स्थानमा आयोजना हुनेछ ।

    ♦ विश्व युवा महोत्सवको उद्देश्य र लक्ष्य बताइदिनुहोस् न?

    नेपालमा पहिलोपटक विश्व युवा महोत्सव (World Youth Festival 2025) मा संसारभरिका १०० भन्दा बढी देशका युवा प्रतिनिधिहरूले भाग लिनेछन् । युवा लक्षित विभिन्न २५ वटा विषयवस्तुमा छलफल, सेमिनार लगायतका कार्यक्रम गर्नेछौं ।

    नेपालको समस्या नीतिमा हो । नीति अत्यन्त महत्वपूर्ण छ किनभने यसले कुनै देश वा समाजको भविष्यको दिशा निर्धारण गर्दछ ।

    अबको नीति कस्तो बन्नुपर्छ? नीति निर्माण कुन हिसाबले गर्नुपर्छ भन्ने हाम्रो प्रमुख प्रयास हो । यहाँको छलफलबाट निस्कने निष्कर्षहरूलाई हामी काभ्रेपलाञ्चोक घोषणापत्र जारी गर्दै नेपाल सरकार र विश्वमै युवाहरूको मुद्धा अघि सार्न संयुक्त राष्ट्रसंघ लगायतका कार्यान्वयन गर्ने निकायमा बुझाउने तयारी छ । महोत्सवको उदेश्य आज नेपालका युवाहरू निराश छन् । निराश युवाहरूलाई आशाको सञ्चार गर्नका लागि गरिएको एक प्रयास हो । हामी विभिन्न देशका युवाहरू जम्मा भएर एउटा देशले गरेको विकास, एउटा देशको असल अभ्यास अर्को देशले सिक्ने र सिकाउने प्याल्टफर्मको रुपमा पनि हामीले यसलाई लिएका छौं ।

    ♦ विश्वभरिका युवालाई नै समेट्ने भनिएको यो महोत्सव महत्वकांक्षी पो भयो कि?

    झट्ट हेर्दा महत्वकांक्षी जस्तो लाग्छ । हामी १ लाख युवाहरूको बिचमा समारोहको उद्घाटन गर्दैछौं । शिक्षा, स्वास्थ्य, युवाहरूको रोजगारी, बेरोजगारी समस्या, आजको सूचना प्रविधि, कृतिम बौद्धिकता (एआई), जलवायु परिवर्तन लगायतका थुप्रै विषयहरूमा छुट्टाछुट्टै छलफल सत्रहरू सञ्चालन गरिनेछ ।

    ♦ काभ्रेपलाञ्चोकका क्षेत्रहरूलाई विश्वमा चिनाउन के कस्ता कार्यक्रम हुँदैछन् त?

    यो एउटा अनुभव आदानप्रदान गर्ने प्लाटफर्मको रुपमा लिन सकिन्छ । यसले हाम्रो देशको विकासका निमित्त र आजका निराश युवाहरूलाई आशाको रक्तसञ्चार महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं । यो महोत्सवमा विभिन्न छलफल सत्रसँगै ५० भन्दा धेरै भित्री र बाहिरी कार्यक्रमहरू हुनेछ । खेलकुद, सांगितिक समारोह, सांस्कृतिक कार्यक्रम, पर्यटन, प्रदर्शनीहरू लगायतका कार्यक्रम यसमा समेटिएको छ ।

    ♦ विदेशी पाहुनाहरूलाई यहाँको समुदायसँग परिचित गराउनु हुन्छ?

    हामी आएका स्वदेशी तथा विदेशी पाहुना, प्रतिनिधिहरूलाई समुदायमा लगेर अन्तर्क्रिया गराउने छौं । लोकल उत्पादन र खानेकुरालाई चखाउनेछौं । हाम्रो देशका जिल्लाका विभिन्न सम्पदाहरूमा लैजाने छौं । विभिन्न ठाउँहरू घुमाउने छौं । जसले गर्दा नेपाल पर्यटन आकर्षणको केन्द्र बनोस् भन्ने पनि हाम्रो लक्ष्य रहेको छ । काभ्रेपलाञ्चोक जिल्लालाई देशमा मात्र नभई विश्व सामु चिनाउने हाम्रो प्रयत्न पनि हो ।

    ♦ विश्व युवा महोत्सवको आयोजना र व्यवस्थापन कसरी भइरहेको छ ?

    काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका स्थित काठमाडौं विश्वविद्यालय परिसर र धुलिखेल हस्पिटलको अडिटरियम हलमा अधिकांश छलफल सत्रहरू हुनेछन् । धेरै कार्यक्रमहरू काठमाडौं विश्वविद्यालय भित्र नै हुनेछन् । चैतको १४ गतेदेखि १८ गतेसम्म (मार्च २७ देखि ३१) सम्म महोत्सव हुनेछ । यहाँ आउनुभएका प्रतिनिधिहरूलाई हामीले धुलिखेल, पनौती, बनेपा, नगरकोटमा व्यवस्थापन गर्नेछौं ।

      ♦कार्यक्रममा कसरी सहभागि हुन सकिन्छ ?

    यहाँ आउने प्रतिनिधिहरूले व्यवस्थापनलाई सजिलो बनाउन रजिस्ट्रेसन शुल्क बुझाउनुपर्ने हुन्छ । सबै रजिस्ट्रेसन विश्व युवा महोत्सव २०२५ को आधिकारिक वेभसाइटबाट अनलाईन तिर्न मिल्ने व्यवस्था मिलाएका छौं ।

    जसमा बास र खानाको प्रबन्ध गर्न ५ दिनको ७,५०० रुपैयाँ तिर्नुपर्नेछ । बेलुकीको बसाई व्यवस्थापन गर्नुपर्दैन भने उहाँहरूले २,५०० रुपैयाँ रजिस्ट्रेसन शुल्क तिरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ ।

    ♦ महोत्सवमा कुन-कुन देशका युवा प्रतिनिधिहरूले सहभागिता जनाउने छन्?

    महोत्सवमा १ सयभन्दा बढी देशका प्रतिनिधिहरूले सहभागिता जनाउनेछन् ।

    ♦ महोत्सव सञ्चालन गर्नका लागि आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ?

    प्रतिनिधिहरू मार्फत प्राप्त हुने रजिस्ट्रेसन शुल्क नै मुख्य आम्दानी स्रोत हो । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश युवा तथा खेलकुद मन्त्रालय, प्रदेशबाट जिल्ला समन्वय समितिलाई प्राप्त हुने सहयोग र केही स्थानीय तहहरूले सहयोग गर्नुभएको छ ।

    ♦ महोत्सवबाट प्राप्त हुने थप अवसर र लाभ के के छन् ?

    विश्वभरिका युवाहरूको जमघट हुने भएकाले पक्कै पनि अन्तर्राष्ट्रिय सम्बन्ध बनाउने अवसर प्राप्त हुनेछ । खुल्ला फोरमको ढाँचामा कार्यक्रम सञ्चालन गरिने छ । विश्व भरि नै युवा नेतृत्व विकास गर्ने र युवा नेतृत्वलाई स्थापित गराउन यसले महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा विश्वस्त छु ।

    ♦ महोत्सवका चुनौतीहरू र सम्भावित समाधानहरू के के हुन्?

    नेपालमा पहिलोपल्ट हुन लागेको यो विश्व युवा महोत्सव २०२५  सम्पन्न गर्न व्यवस्थापकीय पाटो चुनौतीपूर्ण छ । सीमित स्रोत र साधनका बाबजुत हामीले यसलाई सम्पन्न गर्नुपर्नेछ । तर यस चुनौतीलाई अवसरको रुपमा बदलेर हामीले काम गरिरहेका छौं ।

    ♦ यस्ता महोत्सव/सम्मेलनहरूले दीर्घकालीन रुपमा कस्तो प्रभाव पार्छ?

    युवाहरू देश विदेशबाट उत्साहपूर्ण रुपले आउनुहुनेछ । यो वर्षको युथ फेस्टिभलले आगामी दिनमा यस्ता कार्यक्रम गर्नका लागि जगको रुपमा स्थापित हुनेछ । नेपाल आएका युवाहरू फेरिपनि आउन वातावरण बन्नेछ । यसले एउटा वृहत्तर रुप लिनेछ । नेपालका निराश युवाहरू देश छाडेर गइरहेको अवस्थामा संसारभरिका युवाहरू लर्को लागेर नेपाल आउँदा उनीहरूलाई नेपालमै बसेर केही गर्नपर्छ भन्ने कुराको उत्साह, ढाडस र आशा दिने हामीले विश्वास लिएका छौं ।

    ♦ अन्त्यमा के भन्न चाहनुहुन्छ ?

    विश्व युवा महोत्सव २०२५ एउटा व्यक्ति र संस्थाको कार्यक्रम मात्र नभएर समग्र देशको कार्यक्रम हो । यो देश र जिल्लाको प्रतिष्ठासँग जोडिएको विषय हुनाले सबैलाई यसको प्रतिनिधि भएर सहभागि हुन आग्रह छ । महोत्सवको दौरान सञ्चालन हुने छलफल सत्र, खेलकुद, सांस्कृतिक लगायतका कार्यक्रमहरूमा सक्रियतापूर्वक सहभागि हुन अपिल गर्दछु । सबैलाई सबै हिसाबले सहयोग गर्दै कार्यक्रमलाई सफल एवं प्रभावकारी बनाउनका निमित्त भुमिका खेलिदिनुहुन आग्रह गर्न चाहन्छु । धन्यवाद ।