‘फ्रेमभित्रको कथाः छायाँकार राजन खरेलको यात्रा’


नेपाली चलचित्र, वृत्तचित्र र म्युजिक भिडियो छायांकनमा आफ्नो छुट्टै पहिचान बनाएका कुशल छायाँकार हुन् राजन खरेल । खरेलले चिट्ठी, मृत्युकोश, दुर्गामाण्डौं, ह्वेयर एम आई, र अ हिडन लाइफ जस्ता फिचर लेन्थ र सर्ट लेन्थका चलचित्रहरू छायांकन गरेका छन् । साथै, जर्नी टू गोक्यो, खहरेपाँगु, भुम्लु गाउँपालिका, चाँगुनारायण नगरपालिका, फलाँटे, बागमती सभ्यता, चर्चा चौवासको, बनेपाको समृद्धि, गन्तव्य कुशेश्वर, सेभ द मङ्की जस्ता उल्लेख्य वृत्तचित्रहरू र दर्जनौँ म्युजिक भिडियोहरू निर्माणमा उनले छायाँकारको रुपमा रहेर कार्य कुशलता प्रस्तुत गरिसकेका छन् ।
१२औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा जर्नी टू गोक्यो बाट सर्वोत्कृष्ट डकुमेन्ट्री फिल्म सिनेमाटोग्राफरको अवार्ड जितेका खरेलले, तेस्रो स्पाइनी अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा खहरेपाँगु डकुमेन्ट्रीबाट पनि सर्वोत्कृष्ट डकुमेन्ट्री फिल्म सिनेमाटोग्राफरकै अवार्ड हात पारि सकेका छन् । नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा उनले अ हिडन लाइफ बाट सर्वोत्कृष्ट छायाँकार अवार्ड जित्न सफल भए भने खरेलले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।
दुबईमा सम्पन्न एमएसएन एक्सिलेन्सी अवार्डमा खरेलले संसारकै अग्लो स्थानमा छायांकन गरिएको म्युजिक भिडियो ‘हाम्रो साझा हिमाल’ बाट वेस्ट सिनेमाटोग्राफर अवार्ड जित्न सफल भए । उक्त म्युजिक भिडियोले “हाईएस्ट अल्टिच्युट म्युजिक भिडियो अन ल्याण्ड” शीर्षकमा गिनिज बुकमा पनि नाम दर्ता गर्न सफल भएको थियो ।
व्यावसायिक रूपमा सफल एवं स्थापित छायाँकार राजन खरेलसँग काभ्रेपोष्ट साप्ताहिकका लागि गरिएको विशेष कुराकानीको सम्पादित अंशः
♦ के नेपालमा एक छायाँकार आर्थिक रुपमा सबल बन्न सम्भव छ ?
दक्ष, आफ्नो कामप्रति लगनशील र जिम्मेवार छायाँकारलाई जीविकोपार्जन गर्न सहज छ । कुशल, छायाँकारले राम्रै आम्दानी गर्न सक्छ । म स्वयं चलचित्र र म्युजिक भिडियो मात्र नभई डकुमेन्ट्री फिल्म र व्यावसायिक विज्ञापन पनि छायांकन गर्ने भएकोले जीविकोपार्जन मात्र होइन, आजको दिनमा राम्रो आर्थिक उपलब्धि समेत प्राप्त गरेको छु ।
♦ तपाईंले पारिश्रमिकको विषयलाई लिएर झन्झट व्यहोर्नु परेको छ कि ?
हुन सक्छ, केहीले यस्तो अनुभव गरेको होलान्, तर मलाई भने अहिलेसम्म त्यस्तो समस्या परेको छैन । म प्रायः कामको संख्या भन्दापनि गुणस्तरमा ध्यान दिन्छु । म कोसँग काम गर्दैछु, कस्तो सम्झौता गरेको छु, र कामको प्रकृति कस्तो छ भन्ने मूल्यांकन गरेर मात्र काम गर्ने भएकाले पारिश्रमिकको विषयमा कुनै झन्झट भोग्नु परेको छैन ।
चलचित्र र म्युजिक भिडियोहरु भन्दापनि बढी म डकुमेन्ट्री फिल्म र व्यावसायिक विज्ञापनहरूको छायांकन गर्ने गर्छु । यी क्षेत्रहरूले प्रायः समयमै भुक्तानी सुनिश्चित गर्छन् । यही कारणले अहिलेसम्म बोले अनुसारको पारिश्रमिक नपाउने समस्या सामना गर्नुपरेको छैन ।
♦ एउटा सफल छायाँकार बन्नको लागि कत्तिको संघर्ष गर्नु पर्यो ?
म आफैलाई सफल छायाँकार भन्न त सक्दिन किनभने मैले अझै धेरै गर्न बाँकी नै रहेको छ । सिक्ने क्रम हरेक व्यक्तिमा जारि नै रहन्छ जस्तो लाग्छ । तर पनि संघर्षबिना के नै सम्भव छ र ? मैले पनि यो पेशामा स्थापित हुन धेरै संघर्ष गर्नुपऱ्यो । काम सिक्दाको संघर्ष सबैभन्दा ठूलो थियो । नयाँ मान्छे, नयाँकाम र नयाँ वातावरणमा आफूलाई स्थापित गर्न सजिलो थिएन । अर्को चुनौती थियो आफ्नो कामलाई उत्कृष्ट बनाउने प्रयास । सिक्ने क्रममा अग्रजहरूले खुलेर ज्ञान बाँड्न आनाकानी गरेको अनुभव पनि गरें ।
त्यस्तै, मैले गरेका कामलाई कतिको मन पराइन्छ र तिनले कतिको सफलता पाउँछ भन्ने डर र चुनौती लगातार रहन्थ्यो । तर, ती चुनौतीहरूले मलाई अझ गुणस्तरीय काम गर्न र सधैं रचनात्मक रहन प्रेरित गऱ्यो । नयाँ र सिर्जनात्मक छायांकनको खोजीले नै मलाई यो क्षेत्रमा स्थापित हुन सहयोग ग¥यो । संघर्षले मात्र होइन, लगनशीलता र मिहिनेतले आज म छायाँकारको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छु ।
♦ चलचित्र, गीत संगीत तथा डकुमेन्ट्रिको छायाँकन गर्न समयको तालमेल कसरी मिलाउनुहुन्छ ?
पक्कै पनि, समय व्यवस्थापन गर्न जान्नु नै व्यावसायिक सफलताको एक प्रमुख पक्ष हो । विशेषतः चलचित्र छायांकन गर्दा धेरै समय लाग्ने भएकाले, चलचित्र निर्माण पक्षले तय गरेको समय तालिकालाई प्राथमिकता दिन्छु । चलचित्रको तालिका बाहेकका दिनमा भने अन्य प्रोजेक्टहरूको छायांकन गर्न समय मिलाउँछु ।
म्युजिक भिडियो र व्यावसायिक विज्ञापन छायांकनका लागि तुलनात्मक रूपमा कम समय लाग्ने भएकाले, खाली रहेका दिनहरूमा ती प्रोजेक्टहरू पूरा गर्छु । डकुमेन्ट्री फिल्मका लागि भने प्रायः मेरो अनूकुल समय मिलाउने गर्छु । किनभने यस विधामा मेरो लगाव र रुचि दुवै उच्च छ । यसरी नै सबै प्रोजेक्टहरूका लागि समय व्यवस्थापन गर्न सम्भव भएको छ ।
♦ अहिलेसम्म कति जति डकुमेन्ट्री, म्युजिक भिडियो तथा चलचित्रहरु गर्नुभयो र नयाँ तयारी के छ ?
अहिले सम्म मैले “जर्नी टु गोक्यो, खहरेपाँगु, भुम्लु गा.पा., चाँगुनारायण न.पा., फलाँटे, बागमती सभ्यता, चर्चा चौवासको, बनेपाको सम्वृद्धि, गन्तब्य कुशेश्वर, सेव द मङकी” लगायत दर्जनौ डकुमेन्ट्रिको छायाँकन गरिसकेको छु । त्यस्तै “कर्महारा चेली, हामी किसानी, मलाई बुद्ध, तिमी पागल, म त गीत गाउँछु हजुर, हाम्रो साझा हिमाल” लगायत दर्जन भन्दा बढि म्युजिक भिडियोहरु एवम् होएर एम् आई्, अ हिडन लाईफ, कुइनेटो, दुर्गामाण्डौ, चिट्ठी, मृत्युकोश लगायत फिचर लेन्थ तथा सर्ट लेन्थका चलचित्र हरुमा पनि छायाँकारको रुपमा रहेर मैले काम गरिसकेको छु । टेलि चलचित्र भ्वाइसलेस भ्वाइसमा पनि मैले १४ एपिसोड सम्म छायाँकारको रुपमा रहेर काम गरेको थिएँ। आजभालि केही नयाँ प्रोजेक्टहरुको छायाँकनमा व्यस्त छु । त्यसैगरी, चलचित्र चिट्ठी प्रदर्शनीको तयारीमा छ भने चलचित्र मृत्युकोशको पोष्ट प्रडक्सनको तयारीमा छ । साथै, सर्ट फिल्म “होएर एम् आई” र डकुमेन्ट्री फिल्म “चर्चा चौवासको” विभिन्न महोत्सवहरुमा समावेश भईरहेका छन् । टिभी सिरिज र केहि डकुमेन्ट्री फिल्महरूको सम्झौता समेत भइसकेको छ ।