काभ्रेमा फरक फरक दुर्घटनामा ३ जनाको मृत्यु


धुलिखेल । काभ्रेमा भएको फरक फरक घटनामा ३ जना व्यक्तिहरूले ज्यान गुमाएका छन् ।
वृद्धाश्रममा सुख्खा पहिरो जाँदा कामदारको मृत्यु
नमोबुद्ध नगरपालिका वडा नम्बर १ कानाकोटमा सुख्खा पहिरो खस्दा एक कामदारको मृत्यु भएको हो । कानाकोट स्थित निर्माणाधीन वृद्धाश्रममा सुख्खा पहिरो खस्दा भवनको दोस्रो तल्लाको पिलर भत्किएको थियो । सोही क्रममा फलामे रडले लागेर पर्सा जिल्लाको सखुवापर्सेनी गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षिय दुर्जन माझीको घटना स्थलमै मृत्यु भएको काभ्रे प्रहरीले जानकारी दिएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्यामपाटीबाट प्रहरी सहायक निरीक्षक (प्र.ह.) लोकनाथ सापकोटाको नेतृत्वमा टोली खटिएको थियो। त्यस्तै, थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय (ई.प्र.का.) मंगलटारबाट प्रहरी निरीक्षक (प्र.नि.) कृष्ण गिरीको कमाण्डमा अर्को टोली पनि परिचालन गरिएको छ। प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक अनुसन्धान जारी राखेको छ।
भुम्लुमा भिरबाट लडेर गिरीको मृत्यु
त्यस्तै, भुम्लु गाउँपालिका वडा नम्बर १, सापिङमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
प्राप्त जानकारी अनुसार, ३५ वर्षीय श्रीकृष्ण गिरी आफ्नै घरदेखि करिब १.५ किलोमिटर पश्चिममा रहेको सापिङ आङगे खोल्सामा मृत अवस्थामा फेला परेका हुन् । घटना दिउँसोको १:२० बजेको समयमा भएको आशंका गरिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) को नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। इलाका प्रहरी कार्यालय (ई.प्र.का.) कार्तिके देउरालीबाट समेत प्रहरी निरीक्षक (प्र.नि.) को कमाण्डमा थप टोली परिचालन गरी अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, गिरी करिब ३५ देखि ४० मिटर अग्लो भीरबाट खसेका थिए। घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको छ। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोटहरू देखिएको प्रहरीले जनाएको छ।
बनेपामा एक महिला मृत फेला
बनेपामा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । बनेपा बसपार्क नजिकै स्थानीय सर्मिला श्रेष्ठको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ ।
घटनाहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ।