सहयात्राको १८ औं स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पनौती । सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लि.को १८ औं स्थापना दिवसको अवसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। संस्थाको स्वास्थ्य उपसमितिको संयोजन तथा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित शिविरमा ४७१ जना स्थानीय बासिन्दाहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

शिविरमा जेष्ठ नागरिक, महिला, पुरुष, बालबालिका साथै पनौती नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको समेत स्वास्थ्य परीक्षण गरिएको थियो। स्थानीय समुदायलाई स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा आँखाको परीक्षण, नाक कान घाटी, दन्त सेवा, स्त्री रोग, बाल रोग, जनरल मेडिसिन लगायतका सेवाहरू प्रदान गरिएको थियो। साथै, भिडियो एक्सरे, ल्याब परीक्षण तथा ईसीजी सेवा पनि उपलब्ध गराइएको थियो ।

 

२२ जना विशेषज्ञ चिकित्सकहरूको टोलीले सहभागीहरूलाई परामर्श सेवा प्रदान गरेको उक्त शिविरमा पनौती बोडिङ स्कुल, सरस्वती कुञ्ज बोडिङ स्कुल, अरुणोदय बोडिङ स्कुल, काभ्रे बोडिङ स्कुल, बालोद्धार मा.वि, र सिद्धार्थ बनस्थली इन्ष्टिच्यूट गरी ६ वटा विद्यालयका विद्यार्थीहरूको पनि स्वास्थ्य परीक्षण गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन संस्थाका संचालक समिति, उपसमिति तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेले समुदायको स्वास्थ्य सेवामा योगदान पुर्‍याउन यस्ता शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। सहकारी संस्थाका सचिव हरीशंकर तिमल्सिनाले यस्ता शिविरहरूले समयमा नै स्वास्थ्य समस्याको पहिचान गर्न मद्दत गर्ने बताए।

 

संस्थाले यसअघि पनि विभिन्न सामाजिक तथा सदस्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाका प्रमुख व्यवस्थापक गौतम प्रजापतिका अनुसार सहयात्राले ‘बाजे बजै चौतारी कार्यक्रम’ र ‘सहकारी पसल क्रेडिट कार्ड सेवा’ समेत सञ्चालन गरिरहेको छ।

 

स्थानीय बासिन्दाहरूले सहयात्राको यस सामाजिक उत्तरदायित्वलाई प्रशंसा गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *