काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ हुँदै
काठमाडौं । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । नेपालमा पहिलोपटक हुने ऐतिहासिक कार्यक्रम ठमेल स्थित छायाँ सेन्टर (क्युएफएक्स सिनेमा) मा हुने बताइएको छ । जनवरी ९ (पौष २५) मा हुने कार्यक्रमले दुवै देश बीच आगामी दिनमा चलचित्र निर्माण, प्रबर्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्य राखिएको छ ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ, र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा संयुक्त रूपमा आयोजना हुने कार्यक्रममा ३ वटा चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ । चलचित्र प्रदर्शनपछि ति चलचित्रका निर्माता, निर्देसक र कलाकारहरुले दर्सकहरु सँग अन्तक्र्रिया समेत गर्ने बताइएको छ । जसबाट सांस्कृतिक आदान प्रदान समेत हुने आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रममा उद्घाटन चलचित्रको रुपमा यीहुई साओ निर्देशित चलचित्र हर स्टोरी (१२३ मिनेट), युडी झाङ निर्देशित चलचित्र मिडसमर्स भ्वाइस (१०५ मिनेट), फेई लङ निर्देशित चलचित्र जी फर ग्याप (१०३ मिनेट) प्रदर्शन गरिने जनाइएको छ ।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिकहरू, र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । यसका साथै नेपालस्थित चिनियाँ दूतावास, नेपाल चलचित्र बिकास बोर्ड र नेपाल पर्यटन बोर्डका बिशिष्ट पदाधिकारीहरुले समेत सहभागिता जनाउनेछन् । त्यस्तै चाइनिज टोलीतर्फबाट चलचित्रका निर्माता, निर्देसक र कलाकार गरी १४ जनाको टिमको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेशनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङ ले गर्ने छन । यस कार्यक्रमले दुवै देशका चलचित्रकर्मीहरू बीच सहकार्यलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।