चलचित्र ‘भाइरल गोर्खे’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । सामाजिक सञ्जालको प्रभाव र यसबाट प्राप्त गर्न सकिने समृद्धिलाई लक्षित गर्दै एक साधारण व्यक्तिले भाइरल हुनका लागि गर्ने जमर्कोलाई रोमाञ्चक ढंगले चलचित्रमा प्रस्तुत टिजरबाट बुझ्न सकिन्छ । जहाँ भाइरल हुने व्यक्तिको रूपमा अभिनेता सौगात मल्ल रहेका छन् । गतिशील अभिनेता मल्ले टिजरमा गोपाल पाँडे पात्रको भाइरल हुन गरेका विभिन्न हरकत र भाइरल भइसकेपछि लाइभ बसेर फ्यानसँग साक्षात्कार गरेको, पत्रकार ऋषि धमलासँग अन्तरवार्ता गरेसम्मका दृश्यहरू रहेका छन् ।
निगम श्रेष्ठ निर्देशित चलचित्र मौलिक तर जल्दोबल्दो विषयवस्तुलाई समावेश गरेर आकर्षक कथावस्तुले दर्शकस्रोताको मन जित्न सक्ने सम्भावना देखिएको छ । कमेडी र सोसल ड्रामा जनरामा बनेको चलचित्रमा मर महर्जनको छायांकन रहेको छ । चलचित्रलाई लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको चलचित्रमा सौगात मल्लसँगै अभिनेत्री सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जङ्ग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् । चलचित्र आगामी २०८२ जेठ ३० गतेबाट प्रदर्शन हुनेछ ।
चलचित्रको ट्रेलरः