धुलिखेलमा बस दुर्घटना: २४ जना घाइते

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका-१० शारदा बतासे स्थित बी.पी. राजमार्गमा यात्रु बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

काठमाण्डौँबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो। दुर्घटनामा बसका चालक, सह-चालक सहित २४ जना घाइते भएका छन्। तीमध्ये चालक र सह-चालक गम्भीर घाइते भएका छन् भने उनीहरूको टाउकोमा चोट लागेको काभ्रे प्रहरीले जनाएको छ।

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। घटनास्थलमा अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्र.स.नि. हरि बहादुर काफ्ले को कमाण्डमा ४ जना ट्राफिक प्रहरी सहितको टोली परिचालन गरिएको छ।

दुर्घटनाका कारण बाटो केही समय प्रभावित भए पनि हाल एकतर्फी रूपमा सडक सञ्चालनमा आइसकेको र बस अझै घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *