पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव चैत २१ देखि

पनौती । पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । महोत्सव राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा हुने भएको हो । रामनवमी, चैते दशैं तथा नव वर्ष २०८२ को पावन अवसरमा हुन लागेको महोत्सव २०८१ चैत्र २१ गते देखि २०८२ बैशाख ३ गते सम्म चल्नेछ ।

पनौती बसपार्कबाट कुशादेवी जाने बाटोमा १०० मिटर अगाडि मुल सडकको देब्रेपट्टि व्यक्तिगत जग्गामा महोत्सव आयोजना गर्न लागिएको हो।

“नेपाली मौलिक संस्कृतिको छुट्टै पहिचान, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने हाम्रो अभियान” भन्न नारालाई आत्मसात गर्दै महोत्सव आयोजना गर्न लागिएको हो ।

मेला पनौती उद्योग वाणिज्य संघसँगको सहकार्यमा अयोजना गर्न लागिएको हो भने व्यवस्थापनको जिम्मा संयुक्त नेपाल मेला महोत्सव ग्रुपले गर्नेछ । महोत्सवको संरक्षकमा पनौती वडा नं. ७ को कार्यालय रहेको छ ।

काभ्रे जिल्लाको सुन्दर नगरी पनौतीको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, साँस्कृतिक, औद्योगिक, हस्तकलालाई प्रबर्द्धन गर्ने, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिनुभयो ।

महोत्सव स्थल प्रवेशमा साधारण शुल्क रु. ८०, विद्यार्थीलाई रु.६० लाग्ने बताइएको छ । त्यस्तै जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएका छन् ।

१४ दिनसम्म चल्ने मेलामा कृषि, घरेलु सामाग्री लगायतका व्यापारिक स्टल रहनेछन् । यसका साथै बालबालिकाहरुको मनोरञ्जनको लागि बालउद्यानको समेत व्यवस्था गरिनेछ। प्रत्येक दिन राष्ट्रिय स्तरको कलाकार सम्मिलित साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनोरञ्जन प्रदान गरिनुका साथै जिल्ला भित्रका नव प्रतिभावान् कलाकारहरुलाई विशेष प्राथमिकता दिइने बताइएको छ ।

महोत्सवमा हिरा देखि जिरा, सुनदेखि नुनसम्म पाइने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रमको शुभारम्भ चैत्र २१ गते हुनेछ ‌। स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, बाजागाजा, मौलिक नाच सहित महोत्सवको समुद्घाटन समारोह गरिने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

पत्रकार सम्मेलन कार्यक्रममा पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाको सभापतित्वमा भएको थियो । कार्यक्रममा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका सानु केसी, पनौती नगरपालिका वडा नं ७ का वडाध्यक्ष सबिन ताम्राकार, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक अध्यक्ष विनोद कुमार न्यौपाने, संयुक्त नेपाल मेला तथा महोत्सव ग्रुपका संयोजक अरबिन्द्र जैसवाल लगायत काभ्रेपलाञ्चोकमा आधारक्षेत्र बनाएर क्रियाशील पत्रकारहरुको सहभागितामा रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार सचित खड्काले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले कार्यक्रममा उद्योग वाणिज्य संघ सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । ऐतिहासिक क्षेत्र पनौती लाई चिनाउन, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन र पनौतीलाई अन्तराष्ट्रिय रुपमा चिनाउन महोत्सव राम्रो माध्यम हुने थापाले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सबिन ताम्राकारले पनौतीलाई राष्ट्रिय अन्तराष्ट्रिय जगतमा चिनाउन महोत्सव प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक अध्यक्ष बिनोद न्यौपानेले पनौतीमा महोत्सव हेर्न आउदा आन्तरिक पर्यटक बढ्ने, विलासी वस्तुहरू भन्दा स्थानीय वस्तुहरूको प्रवर्धनमा महोत्सवले प्राथमिकता दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । ओजेल परेको पनौती बजारको प्रवर्धन गर्न र स्थानीय भेषभुषा प्रवर्धनमा महोत्सव केन्द्रित हुनुपर्ने अध्यक्ष न्यौपानेको भनाइ थियो ।

महोत्सवलाई सफल बनाउन अमूल्य सल्लाह, सहयोग र सहभागिताको लागि आह्वान गरिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *