पाचँखालको जंगलमा फेला परेको मानव कङ्कालको पहिचान: हत्यामा संलग्न रञ्जितकार पक्राउ

धुलिखेल । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-३ स्थित काफ्लेटी सामुदायिक जंगलमा मानव कङ्काल फेला परेको घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन् । २०८१ फागुन १४ गते दिउँसो करिब २:०० बजे मानव कङ्काल फेला परेको थियो । प्रारम्भिक अनुसन्धानपछि शव पहिचान तथा हत्यामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको काभ्रे प्रहरीले जनाएको छ ।

 

अनुसन्धानका क्रममा उक्त कङ्काल मण्डनदेउपुर नगरपालिका-११ निवासी ३५ वर्षीया निशा लामाको भएको पुष्टि भएको छ। घटनास्थलमा फेला परेको चप्पल, झोला र सोही झोलाभित्र रहेको लेडिज टेलरको बिलमा निशा लामाको नाम उल्लेख भएकाले उनका श्रीमान् राइफल लामाले शवको सनाखत गरेका थिए। मृतक निशा २०८१ असोज १५ गतेदेखि हराइरहेकी थिइन्, उनको खोजतलास भइरहेको थियो ।

 

प्रहरी अनुसन्धानले हत्यामा धुलिखेल नगरपालिका-४ निवासी ३६ वर्षिय सुनिल रञ्जितकार संलग्न रहेको देखाएको छ । उनले निशा लामालाई ढुङ्गाले टाउकोमा पटक–पटक प्रहार गरी हत्या गरेका थिए । हत्यापछि शव जंगलमै लुकाएर उनी फरार भएका थिए।

 

२०८१ फागुन १५ (आज) प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका निमित्त सूचना अधिकारी दिनेश बहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *