विदेशमै गएर मतदाता नामावली संकलनको तयारी अन्तिम चरणमा: थपलिया

काठमाडौं । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेटघाट भएको छ । निर्वाचनमा आयोगमा भएको भेटमा संघका कार्यकारी अध्यक्ष बद्री केसीले विदेशमा रहेका नेपालीको मताधिकारको अधिकार कार्यान्वयनमा भइरहेको पछिल्लो प्रगति सम्बन्धमा चासो व्यक्त गर्नुभएको थियो । 

उक्त भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलनको प्रक्रिया सुरु भएको र विदेशमै गएर नामावली संकलनको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

आयोगले सम्बन्धित देशका सरकारी निकायसहित गैरआवासीय नेपालीसँग पनि सहकार्य र समन्वय गरेर मतदाता नामावली संकलन गर्ने बताउनुभयो । त्यसका लागि गैरआवासीय नेपाली संघले सहकार्यसमन्वय र सहजीकरण गर्नुपर्ने आयुक्त थपलियाले बताउनुभयो । 

नामावली संकलन लगायतका लागि आवश्यक कानूनसहित केही आन्तरिक तयारी पूरा गरी आयोगले छिट्टै बाँकी काम सुरु गर्ने उहाँको भनाई थियो । 

सो अवसरमा संघका कार्यकारी अध्यक्ष केसीले संघका विभिन्न देशस्थित राष्ट्रिय समन्वय परिषद् र एनआरएनका प्रतिनिधि तथा अभियन्तामार्फत आयोगको काममा सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । भेटमा आयोगका उपसचिव सूर्यप्रसाद गौतम, संघका प्रवक्ता सोम सापकोटा र सरोज दाहालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *