स्थानीय व्यापार प्रवर्धन गर्दै लायकु हाटबजार अघि बढ्दै

बनेपा । बनेपाको ऐतिहासिक लायकु राजमञ्चमा हरेक शुक्रबार लाग्ने हाटबजार स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण थलो बनेको छ । बनेपा नगरपालिकाको सहयोग एवं पहलमा व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको यस हाटबजारले किसान, साना उद्यमी तथा उपभोक्ताहरूलाई प्रत्यक्ष रूपमा जोड्दै लाभ दिइरहेको छ ।

स्थानीय उत्पादन र व्यापारको सहज बजार
हाटबजारमा स्थानीय व्यापारी, किसानहरूले ताजा तरकारी, फलफूल, अन्न, अचार, मह, दुग्धजन्य पदार्थ तथा हस्तकला, वास्तुकला लगायतका सामग्री बिक्रीवितरण गदर्छन् । बनेपा र आसपासका ग्रामीण क्षेत्रका किसान तथा व्यवसायीहरू आफ्ना उत्पादनहरू उपभोक्तासम्म सिधै पुर्याउन हाट बजार मार्फत सफल भएका छन्, जसले बिचौलियाको निर्भरता घटाएको छ ।

नगरपालिकाको पहल र व्यवस्थापन
नगरपालिकाले हाटबजारलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार सुधार, सरसफाइ तथा ट्राफिक व्यवस्थापनमा निरन्तर सहयोग गर्दै आइरहेको छ । हाटबजार स्थानीय उत्पादन प्रवद्र्धन गर्ने मात्र नभई, स्थानीय अर्थतन्त्र चलायमान बनाउने स्रोतसमेत रहेको र यसको प्रभावकारी व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख शान्तिरत्न शाक्यले काभ्रेपोष्टलाई बताए । नगरपालिकाले हाटबजारलाई अझ व्यवस्थित बनाउन तथा व्यापार विस्तार गर्न नयाँ योजना अघि सार्ने तयारी गरिरहेको छ ।

लायकु हाटबजार मेला
लायकु हाटबजार मेलामा उत्साहपूर्ण सहभागिता जनाउँदै स्थानीयहरू

स्थानीय व्यापारी र उपभोक्ताको उत्साह
स्थानीय किसान तथा व्यवसायीहरू यस हाटबजारलाई लाभदायक ठान्दछन् । एक व्यवसायीका अनुसार, “हाटबजारमा व्यापार गर्दा ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क हुन्छ, जसले हामीलाई राम्रो आम्दानी गर्ने अवसर दिएको छ ।“ उपभोक्ताहरू पनि ताजा उत्पादनहरू सहजै पाउने भएकाले खुसी भएर हप्तादिनका लागि आवश्यक सामग्रीहरु हाटबजारबाटै खरिद गर्दछन् ।

बनेपाको लायकु हाटबजार स्थानीय कृषक र व्यवसायीहरूको लागि सस्तो, सहुलियत र स्थिर व्यापारिक अवसर प्रदान गर्दै आइरहेको छ । यसले स्थानीय अर्थतन्त्रलाई सुदृढ पार्न महत्त्वपूर्ण भूमिका निभाइरहेको छ । नगरपालिकाले यसको व्यवस्थापन र विस्तारमा थप सुधार गर्ने प्रयास गरिरहेको छ, जसले भविष्यमा यसलाई अझ प्रभावकारी र समृद्ध बनाउने सम्भावना राख्दछ । हाटबजारको सफलता स्थानीय समुदायको लागि एउटा आदर्श उदाहरण बन्न सक्नेछ । बनेपाको समृद्धि र विकासको अवसरको रुपमा हाटबजारलाई लिन सकिने आम स्थानीयबिच चर्चाको विषय समेत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *