क्रोएसियामा भव्य रूपमा सम्पन्न भयो २५६९ औं बुद्ध जयन्ती


जाग्रेब । “बुद्धको मार्गमा हिँडौं, संसारमा शान्ति फैलाऔं” भन्ने मूल नाराका साथ क्रोएसियाको राजधानी जाग्रेबमा २५६९औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम तामाङ समाज क्रोएसियाको आयोजना तथा शेर्पा किदुग क्रोएसिया र तमु समाज क्रोएसियाको सह-आयोजनामा सम्पन्न भएको हो।
एनआरएनए क्रोएसियाका अध्यक्ष सुर्य बहादुर थिङ (साइमन लामा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिहरूमा युवा व्यवसायी तथा तामाङ समाज क्रोएसियाका संरक्षक दावा लामा, शेर्पा किदुग क्रोएसियाका प्रमुख सल्लाहकार अञ्जली शेर्पा रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए क्रोएसियाका अध्यक्ष साइमन लामाले पहिले एसियाली देशहरूमा मनाइने बुद्ध जयन्ती पछिल्लो समय युरोपियन देशहरूमा फैलिरहेको बताए । सबैजना नेपालीहरूसँगै भएर कार्यक्रम मनाउन पाउँदा नेपालमै भएको महसुस भएको लामाले प्रस्ट्याए ।
कार्यक्रममा शेर्पा किदुग क्रोएसिया अध्यक्ष निमा रेन्जिन शेर्पा, तमु समाज क्रोएसियाका अध्यक्ष सन्तोष गुरुङ, तामाङ समाज क्रोएसियाका वरिष्ठ उपाध्यक्ष बुद्ध लामा, तामाङ समाज क्रोएसियाका सल्लाहकार मिङमार लामा, जनप्रगतिशील क्रोएसियाको अध्यक्ष लोप्साङ लामा, नेपाली चर्चका राम कुमार थामी लगायतका व्यक्तित्वहरू उपस्थित थिए । कार्यक्रममा सबै अतिथिहरूले बुद्ध र बुद्धत्वको बारेमा बोल्दै बुद्धजयन्तीको शुभकामना व्यक्त गरेका थिए ।
स्वागत मन्तव्य तामाङ समाज क्रोएसियाको तर्फबाट रितेश लामाले व्यक्त गरेका थिए । लामाले नेपालको अस्थिर राजनीतिक अवस्थाले गर्दा बुद्ध नेपालमा जन्मिएका हुन् भनेर समेत प्रचार गर्नुपर्ने बाध्यता रहेको बताएका थिए ।
कार्यक्रम रिदम ग्राधा युलिका २, सेन्टर स्क्वायर, जाग्रेबस्थित सभाहलमा आयोजना गरिएको थियो । बिहान ११:४५ बजेबाट सुरु भएको कार्यक्रममा क्रोएसियामा विभिन्न पेशामा संलग्न नेपाली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
धार्मिक विधिअनुसार लामा गुरु कमल योञ्जनद्वारा मोलम पाठ गरि सुरु गरिएको कार्यक्रममा सहभागीहरूले वाङ (आशीर्वाद) पनि ग्रहण गरेका थिए । शान्ति, करुणा र सहिष्णुताको सन्देश बोकेको यस अवसरमा उपस्थित समुदायले बुद्धका शिक्षालाई आत्मसात् गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमका सभापति तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाश चन्द्र तामाङले सम्पूर्ण सहभागीहरूप्रति आभार व्यक्त गरेका थिए । यस्ता कार्यक्रमहरूले परदेशमा नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अध्यक्ष तामाङले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ समाज क्रोएसियाका बरिष्ठ उपाध्यक्ष बुद्ध लामाले बुद्धत्वको बारेमा धारणा प्रस्तुत गरेका थिए । लामाले विश्वमा हिंसा बढिरहेको बेलामा बुद्धको मार्गदर्शनमा हिँड्न सकेमा विश्वभर शान्ति फैलिने अपेक्षा गरे ।
औपचारिक रुपमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विशाल योञ्जन र दिपक तामाङले गरेका थिए ।
नेपालमा जन्मिएर विश्वलाई शान्तिको मार्ग देखाउने महामावन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निर्वाण: संयोगवश एकै दिन अर्थात् वैशाख पूर्णिमामा घटेका कारण यो दिनलाई बुद्ध जयन्तीको रूपमा विशेष मनाइदै आएको छ । विश्वभर बौद्ध धर्मका अनुयायी झण्डै १ अर्ब रहेका छन् ।