छेउ न टुप्पो किताबमा मेरो एक दृष्टि – डा. इन्दुल के.सी.

बनेपा । लेखक श्री प्रकाशप्रसाद उपाध्यायज्यूले लेख्नु भएको “छेउ न टुप्पो” शिर्षकको किताब २०७५ सालमा प्रकाशन भएको रहेछ । शब्दार्थ प्रकाशन, चावहिल, काठमाडौंले ७१ पृष्ठ रहेको यो किताबको मूल्य रू.१५०÷– मात्र राखेको छ । वर्तमान समयमा एक कप चियाको मूल्य रू.२५÷– पर्दछ, यसको अर्थले यो किताबको मूल्य ६ कप चियाको मूल्य मात्र देखियो । तर यो बबुरो इन्दुलले पैसा तिर्नु नपर्ने गरी लेखक स्वयमले  “साहित्य स्रष्टा डा. इन्दृुल केसीज्यूलाई सादर समर्पित” भनी स्वहस्ताक्षले लेखि बिना मूल्यमा उपहार स्वरुप प्रदान गर्नुभयो । सित्तैमा पाएपछि एकमाना चुक पनि पिउने नेपाली उखान जस्तै मैले पनि यो किताबको बोक्रा (कभर) देखि भित्रभित्र पनि पल्टाउँदै सरसरति चुसेँ (हेर्न थालेँ) । एक धार्नि चाकु खाएर पनि गुलियोको स्वाद थाहा नपाउने भनेझैं मैले पनि यो किताबको छेउ न टुप्पो फेला पार्न असमर्थ भएँ । तै पनि कनिकुठी गरी मैले त्यो किताबको केहि बुँदाहरुको टिपोट मात्र पुंगमाँगे ढाँचामा यहाँ प्रस्तुत गर्न मैले धृष्टता गरेँ ।
सर्वप्रथम म कुनै समालोचक, साहित्यकार, टिप्पणीकार पनि होइन । केवल साहित्यमा अभिरुचि राख्ने सामान्य पाठक मात्र हुँ । यसैले यो टिपोट (टिप्पणी)मा कुनै बानकि मिलेको, चट्ट परेको रुपमा नहुन सक्छ । क ख रा गर्न – पढ्न थालेको भर्खर कक्षा एकमा पढ्ने विद्यार्थीले कनिकुठी गरी तयार गरेको यो लेखले पाठक वर्गलाई कुनै विशिष्ट कुरा पस्किने छैन भन्ने कुरा मलाई एकिन छ । नेपाली भाषा र हिन्दी भाषाका विगत ४० वर्ष पहिलेदेखि साहित्यका विविध विधामा श्री प्रकाशप्रसाद उपाध्यायज्यूले नेपाली साहित्य भण्डारमा निम्न शिर्षकका कृतिहरु प्रदान गर्नु भएको व्यहोरा यस किताबैमा उल्लेख गर्नु भएको छ :

रेडियो जिन्दगी (अल इण्डिया रेडियोमा चार दशक), वीर गणेशमान सिंह की सङ्घर्ष गाथा, गणतन्त्र के लिए सङ्घर्ष, वीर जाति की अमर कहानी, नेपाली लोककथा सङ्ग्रह (नेपाली र हिन्दीमा), हिन्दी–नेपाली शब्दकोश, नेपाली–हिन्दी शब्दकोश, भारतीय भाषा कोश, हिन्दी–नेपाली वार्तालाप पुस्तिका, छेउ न टुप्पो (निबन्ध–कथा सङ्ग्रह)

यस किताबमा १७ वटा निम्न शिर्षकका लेखहरु समावेश भएका छन् ।
(क) पर्यटनको रोमाञ्च, (ख) यमलोकको यात्रा, (ग) घरमा लेखक, (घ) वेदना, (ङ) उपनामको खोजी, (च) भिजिटिङ कार्ड, (छ) लेखक बन्न खोज्दा, (ज) बहालको घर, (झ) लक्ष्मीको अभिवादन र…., (ञ) कचकच, (ट) रहरको पूर्ति, (ठ) रत्नको खोजी गर्दा, (ड) निचोड, (ढ) एक्काइसौँ शताब्दीको चिन्तन, (ण) प्रतीक्षा, (त) गुन बैगुन, (थ) लन्च आवर, (द) ओउम् शान्ति शान्ति शान्ति
लेखकले यो किताब आफ्ना माता श्रीमती अरुणादेवी एवम्र पिता श्रीअग्निप्रसाद उपाध्यायको पावन स्मृतिमा श्रद्धापूर्ण समर्पण गर्नु भएको छ । मलाई लाग्छ आफ्ना माता पिताको साथै किताब पढ्ने सबै पाठकहरुलाई पनि समर्पण गर्नु भएको होला भन्ने ठान्दछु । लेखक प्रकाशप्रसाद उपाध्याय भन्नु हुन्छ – “लेखन विशेषगरी हास्य व्यङ्ग्य वा वङ्ग्य विनोद लेख्नु निकै गाह्रो काम लाग्दछ किनभने यसमा व्यङ्ग्यको तत्व समावेश गर्दै पाठकलाई हँसाउने प्राथमिक कुरो हुन्छ ।”

यो किताबमा समावेश भएको “कचकच” एउटा लेख भारतको राजधानी दिल्लीको नेपाली सम्मेलनद्वारा गरिने स्मारिका प्रकाशनको दायित्व बोक्नु भएका श्री चूडामणि उपाध्यायज्यूको आग्रहमा लेख्नु भएको यो लेख उक्त स्मारिकामा त्यो लेख प्रकाशित पनि भएको रहेछ । यस किताबमा समावेश भएका लेखहरु नेपाल र भारतबाट प्रकाशित भएका विभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेका लेखहरुको सङ्ग्रह नै “छेउ न टुप्पो” को नामाकरण कुनै अर्कै व्यक्तिले गर्नुभएको रहेछ ।
लेखकहरुले किन किताब लेख्छन् ? भन्ने प्रश्नको जवाफमा काव्य प्रकाशकार मम्मदले साहित्यको उद्देश्यलाई निम्न पदमा उल्लेख गर्नुभएको छ ।
“काव्र्य यशसे डर्थ कृते व्यवहारविदे शिवेत रक्षतये
सघः परमि वृत्तये कान्ता सम्मित यो पदेश युजे”
अर्थात पैसा कमाउनका निमित्त, नाम कमाउनको निमित्त, व्यवहार ज्ञानका निमित्त, अकल्याणबाट बाँच्नका निमित्त, तुरुन्त आनन्द प्राप्त गर्नका निमित्त काव्य (साहित्य)को प्रयोजन हुन्छ ।

नेपाली समालोचनाको रुपरेखा डा. रविलाल अधिकारीको किताबको पृष्ठ १० बाट उद्धृत अन्तमा, प्रकाशप्रसाद उपाध्यायज्यूले आफ्ना रचनाहरु किन लेख्नुभयो । वहाँलाई नै थाहा होला तर मलाई लाग्छ उहाँले आनन्द प्राप्त गर्न लेख्नुभएको हो । यस किताबमा समावेश भएका कथा र निबन्धका शिर्षकहरु त्यस लेखभित्र रहेका विवरणहरु छेउ न टुप्पोसँग मेल खाँदैन । कारण प्रत्येक लेखको प्रारम्भ, मध्य र अन्तिम भागहरुमा लेखकले अति रोचक ढंगमा विविध कुराहरु पस्कनुभएको छ । कथाका पात्रहरु, घटना विवेचना, पात्रहरुको संवाद, हस्यौलो पारामा व्यङ्ग्य, समाजको विभिन्न परिवेश समस्या विसंगतिहरुलाई आफ्नो मौलिक शैलीमा प्रस्तुत गर्नुभएको पाइन्छ । प्रकाशप्रसाद उपाध्यायज्यूको लेखन सशक्त र सजिव हुनुको साथै समाजलाई सुधार गर्नको लागि महत्वपूर्ण सुझाव–सन्देशहरु पनि दिइएको पाइन्छ । यस कारण लेखक एक सफल कथाकार तथा निबन्धकार भन्नेको प्रमाण यो “छेउ न टुप्पो” किताबले नै प्रमाणित गर्दछ । मलाई लाग्छ, यस किताब नेपाली साहित्यका पाठकहरुको लागि पठनिय, संग्रहनिय होला भन्ने नै मेरो ठम्याई हो । तसर्थ प्रकाशप्रसाद उपाध्यायज्यू धन्यवादका पात्र हुनुहुन्छ, उहाँलाई मेरो धन्यवाद छ ।पर्यटनको रोमाञ्च लेखबाट – “म जात र जन्मजात बाहुन तर कर्मबाट लेखक कलाकार । प्वातको सङ्कुचित परिधिमा अल्झिएर कर्मकाण्डको सीमित लक्ष्मण रेखाभित्र साँघुरिएर बस्नको लागि अब न त सबैसित समय छ न कसैको लागि सम्भव नै । सबैले आफ्नो आफ्नो परिधिलाई फराकिलो पार्दै लक्ष्मण रेखालाई नाघ्दै गएका छन् ।” यमलोकको यात्रा शिर्षकको लेखबाट – “एकदिन लेखकले सपना देख्नु भएछ – त्यो सपनाको कुरो हो – मानिसले प्राण त्यागेपछि यमदूतहरुले मृतकलाई उसले गरेका पाप पुण्यको लेखा जोखा गरी चित्रगुप्तको फैसला सुनाउँदै यम लोकको तनावपूर्ण वातावरण, यमदूतको भयावह रुप, कोर्राको तीव्र, भूलोकको भाषामा जातिबाद, कृपाबाद भनौं उनको व्यक्तिगत प्रकृतिको तटस्थता आदि बायो डाटालाई आधार मानी चित्रगुप्तको फैसला – ‘यस मानिसले पुण्य नगरेको भए पनि नर्कवास गर्ने खालको पाप भने गरेको रहेनछ ।’ सपनाबाट बिउँझेर साह्रै डरलाग्दो सपना थियो भन्नु हुन्छ ।” कथा र निबन्ध एकै स्थानमा मिसिएकोले कसैले यस किताबलाई छ्यासमिसे – खिचडी जस्तो थाने भने त्यो उनीहरुको व्यक्तिगत दृष्टिकोण भन्दछु ।

म त यसलाई खिचडी भन्नुभन्दा स्वादिष्ट व्यञ्जन खिर (पाएस) हो भन्ने ठान्दछु । जसरी खिरमा दुध, चामल, चिनीको साथ अनेकौं मसलाहरुको मिश्रण हुन्छ । अर्को शब्दमा भन्नुपर्दा – गंगा र जमुनाको एकाकार हुने स्थान दोभान भने जस्तो कथा र निबन्धको दोभान “छेउ न टुप्पो” यो किताब हो । म पाठक वर्गलाई निःशुल्क सल्लाह दिन्छु यस किताबमा पसेर डुबुल्कि मार्नुस्, शितल कञ्चन जलको साथै यस भित्र बहुमूल्य मोतिहरु पनि पाउनुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.