शी लिड्स आइकनको सर्वोत्कृष्ट ३ का लागि काभ्रेबाट २ जनप्रतिनिधि प्रतिस्पर्धामा

बनेपा । उत्कृष्ट महिला जनप्रतिनिधि चयनको एक प्लाटफर्म सि लिड्स आइकनको प्रतिस्पर्धामा काभ्रेपलाञ्चोक जिल्लाबाट दुई जनप्रतिनिधि प्रतिस्पर्धामा छन् । बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा दाहाल र बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना शी लिड्स आइकन प्रतियोगितामा उत्कृष्ट २७ मा पर्न सफल भएका हुन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरु मध्ये काभ्रेबाट २ जना प्रतिस्पर्धामा समेटिएका थिए ।

शी लिड्स आइकन २०८१ कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका ७५३ स्थानीय तहमा निर्वाचित प्रमुख /मेयर वा  उपप्रमुख/उपाध्यक्षहरुमध्ये उत्कृष्ट २७ चयन भएका छन् । विशेषगरि महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिताका क्षेत्रमा प्रेरणादायी, र उत्कृष्ट कार्य सम्पादनमा नेतृत्व गर्ने महिला जनप्रतिनिधिलाई विश्वसामु चिनाउने परियोजनाको मुख्य उद्देश्य रहेको छ ।

त्यस्तै राजनैतिक क्षेत्रबाट टाढा रहनु भएका वा सुरुवाती अवस्थामा रहनु भएका महिलालाई हौसला र ऊर्जा प्रदान गर्ने, महिला अधिकारका लागि आवश्यक नीति, योजना निर्माणमा समेत टेवा पु¥याउने लगायतका महिलामुखी उद्देश्य परियोजनाको रहेको छ ।

जनप्रतिनिधिले सम्पादन गरेको काम, निर्याणयक मण्डलको मूल्याङ्कन र जनताको मतदानको आधारमा विश्लेषणसहित उत्कृष्ट ३ जनप्रतिनिधि छनोट गर्ने कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले जानकारी दिइन् । महिला जनप्रतिनिधिको सक्रियता र कार्यसम्पादन सम्बन्धी विशेष वृत्तचित्र बनाई महिला जनप्रतिनिधिलाई विश्वसामु पु¥याउने र चिनाउने आयोजक संस्थाले जनाएको छ । यही नै उनीहरुलाई पुरस्कार हुने संस्थाको भनाई छ ।

कार्यक्रमको फाइनल मंसिर महिनामा आयोजना गरिने र त्यसअघि छनौट हुनुभएको उत्कृष्ट २७ जनाको फिचर आर्टिकल प्रकाशन गर्ने, फोटो डकुमेन्ट्री तयार गर्ने र देशका ५० स्थानीय तहमा प्रस्तुत गरिने शी लिड्स आइकनका कार्यक्रम विकास प्रमुख सम्राट थापाले जानकारी दिए ।

उत्कृष्ट २७ मा परेसँगै उत्कृष्ट ३ मा पुग्न जनताको मतको लागि काभ्रेपलाञ्चोकका दुई प्रतिनिधिले अपिल गरेका छन् । बनेपा नगरपालिका उप–प्रमुख सापकोटाको भोटिंग आईडी १६ छ । सापकोटाले जनप्रतिनिधि भएपछि न्यायिक सहयोग कोष स्थापना गरेको बताएकी छन् । जसले आर्थिक रुपमा कमजोर, एकल महिला, ज्येष्ठ नागरिक, दलित, सिमान्तकृत बालबालिकाको न्यायमा पहुँच पुगेको उनको भनाई छ । यस्तै गृहणी महिलालाई उद्यमी बनाउन सिपमुलक तालिम दिई उद्यमशीलता प्रवर्धन, महिला उद्यमीहरुका लागि हाटबजार र बजारमेला सञ्चालन, उच्च शिक्षामा दलित छात्रा छात्रवृत्तिका कार्यक्रम, वडामा आमा समुह गठन गरी सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना लगायतका कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

त्यस्तै काभ्रेबाटै प्रतिस्पर्धामा उत्रिएकी बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाको भोटिंग आइडी १५ रहेको छ । समाजमा रहेको जातजाति, लैंगिक र वर्गीय भेदभावलाई न्यून गर्नका लागि आफुले विपन्न, दलित, जनजाति र एकल महिला कृषकहरुलाई भैंसी वितरण, सुन्तला, कागती, विवि, जस्ता फलफूल खेती प्रवर्धन लगायतका न्यायिक कार्यहरु सम्पादन गर्दै आइरहेको बताइन् ।

जनताको भोट, निर्णायकको मत र कार्यसम्पादनको विश्लेषण गरि सर्वोत्कृष्ट तीन जनालाई छनोट गरिने आयोजकले जनाएको छ । २७ उत्कृष्ट मध्ये ३ जनालाई सर्वोत्कृष्ट महिला जनप्रतिनिधिको रुपमा छनौट गरिने छ । अनि ८ महिना अगाडि उहाँहरूले भर्नु भएको फारामको आधारमा वृत्तचित्र (डकुमेन्ट्री) निर्माण गरिने आयोजक संस्थाले जानकारी दिएको छ । यसबाट उहाँहरुलाई विश्वव्यापी चिनारी मिल्ने र जवाफदेही बनाउन यसले थप सकारात्मक दबाब दिने आयोजकको दाबी छ ।

उहाँहरूलाई भोट गर्न इसेवा एपको भोटिङ सेक्सनमा गएर शी लिड्स आइकनमा क्लिक गरि भोट गर्न सकिन्छ । साथै मोबाइलको मेसेज बक्सबाट एसएलआई स्पेस भोटिङ कोड लेखी 31003 मा भोट गर्न सकिन्छ । भोटिङ यही असोज १५ गते सम्म खुला रहने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.