लगातारको वर्षाले जिल्लामा मच्चाएको वितण्डा

बनेपा । देशभरि नै परेको अविरल वर्षाको कारण जनजीवन अस्तव्यस्त बनेको छ । भारी वर्षाको कारण काभ्रेपलाञ्चोक जिल्लाको दुई राजमार्ग अवरुद्ध देखि बाढी पहिरो, बस्ती डुबान, सडक नै बगाउने सम्मका घटनाहरु घटेका छन् । जसबाट भौतिक र मानवीय क्षति समेत भएको छ । यात्रा कष्टकर बनेको छ भने जिल्लाबाट अन्यत्र स्थानमा यात्रा गर्ने यात्रुहरु बिचल्लीमा परेको र अधिकांश सडक सञ्जाल अवरुद्ध छन् । जिल्लाको विभिन्न स्थानमा रहेको खोला, नदी जस्तै रोशी खोला, सुनकोशी, इन्द्रावती, पुण्यमाता, गेल्डुङ, चा–खोला उर्लिएपछि त्यस क्षेत्र आसपासका मानिसहरु त्रसित र भयवित भएका छन् । खोलानालाको पानीले सतह नाघेपछि आसपासका क्षेत्र डुबान, सडक सञ्जाल अवरुद्ध र जनजीवन प्रभावित भएको छ ।

चाडपर्वको मुखमा मौसम प्रतिकूल बन्दा जीवनस्तर थप कष्टकर बनेको छ । प्रमुख राजमार्गदेखि भित्री सडकहरु आवतजावतका लागि खतरापूर्ण बनेका छन् । निरन्तरको वर्षाको कारण जमिन गल्दा पहाडी क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ । अधिकांश स्थानमा बाढी पहिरोले मानिसहरुमा त्रास पैदा गरेको छ ।

जिल्लामा घटेका मानवीय र भौतिक क्षतिको विवरण

बनेपा नगरपालिका वडा नं.१० पुलबजार क्षेत्र डुबानमा परेसँगै वडा कार्यालय र अरनिको राजमार्ग ठप्प अवस्थामा रहेको छ । बनेपा नगरपालिका वडा नं.१४ खाल्चोकमा पहिरोले दुईजना पुरिएका छन् । बनेपा नगरपालिका वडा नं.१० मा ५ वर्षिय बालक पुरिएका छन् । बनेपा रविओपीदेखि पाँचखालसम्मको सडकमा पहिरो खसेको कारण सडक अवरुद्ध रहेको छ ।

रोशी गाउँपालिका वडा नं.१ स्थित फलामेसाँघुमा रहेको बजार बगाएसँगै अस्पताल र आसपासको बस्ती पुरिएको छ । रोशी खोलाले विपी राजमार्गको नेपालथोक खण्डमा प्रहरीचौकी भन्दा १०० मिटरमाथिको सडक खसेसँग विपी राजमार्ग ठप्प अवस्थमा रहेको छ । रोशी गाउँपालिका वडा नं. ३ भडारेमा एकै घरका दिदीभाइ पुरिएका छन् । रोशी गाउँपालिका नार्के स्थित पहिरोले घरहरु बगाएको छ । त्यसक्षेत्रका मानिसहरु भयावह र त्रसित अवस्थामा रहेका छन् ।

बेथानचोक गाउँपालिका वडा नं.५ च्याल्टीमा पहिरोले पुरिएर ४५ वर्षिय प्रेम बहादुर वाईबाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बाढीको ढिस्को बाटोमा आउँदा पुरिएका हुन् । बेथानचोक गाउँपालिकाको प्रशासकीय भवन डुबानमा परेको छ भने गेल्ढुङ खोला बस्तीमा पसेको छ । बेथानचोक गाउँपालिका वडा नं.४ सलान्दु खोला आसपासका सबै घरटहरा डुबाएको छ ।

धुलिखेल नगरपालिका वडा नं.५ श्रीखण्डपुर र पनौती नगरपालिका वडा नं.५ चौकोटका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् । मण्डनदेउपुर नगरपालिका नयाँगाउँ, नगरकोट सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

पनौती नगरपालिका वडा नं. ११ स्थित थुम्की गाउँ बगाएको छ । त्यहाँका मानिसहरु सम्पर्क विहीन अवस्थामा छन् । पनौतीको सुकुम्बासी बस्तीमा बाढी पसेसँगै मानिसहरु बिचल्लीमा परेका छन् । पनौती वडा नं.१ रयालेस्थित बस्तीमा बाढी पसेर जनजीवन भयावह बनेको छ ।

नमोबुद्ध नगरपालिका वडा नं.५ स्थित धुरपुरेमा बस्ती बगाएको छ । भने त्यहाँका मानिसहरु भयभित अवस्थामा रहेका छन् । तेमाल गाउँपालिका वडा नं.७ चापखोरीमा घर भत्केर एक महिलाको निधन भएको छ ।

भुम्लु गाउँपालिका सुनकोशी र इन्द्रावती नदीले जलसतह पार गर्दा आसपास क्षेत्रमा जोखिम बढेको छ । जिल्लाको दुई विकट गाउँपालिका खानीखोला र महाभारत सञ्चार सम्पर्क विहिन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार अविरल वर्षाका कारण हालसम्म १ महिला, १ पुरुष र १ बालबालिकाको निधन भएको छ । भने ७ महिला र ४ पुरुष बेपत्ता रहेका छन् । एक महिला घाइते अवस्थामा अस्पताल पुर्याइएको छ । ३ महिला र ७ पुरुषको उद्दार गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.